
रञ्जना लम्साल, कावासोती, चैत्र २५-
सिउँदोमा सिन्दुर, घाँटीमा पोते र हातमा चुरा अर्थात सौभाग्यको प्रतिक । साथमा ८ वर्षे छोरीको मुख हेर्दै श्रीमान आउने प्रतिक्षामा ९ बर्ष बितिसक्यो देउनी कुमारी खण्डलुकको । २७ बर्ष काटेकी देउनीले संर्घषका धेरै उतारचढाव पार गरि सकिन । जिन्दगीले धेरै सिकायो । ननिदाएको रात र नखाएको दिनको त के हिसाब भयो र ? दयाले दिएको एक मुठ्ठी चामल पानीमा भिजाएर खाएको सम्झना गर्दा उनको मुटु चसक्क हुन्छ, आँखा रसाउँछन् ।
निस्ती गाउँपालिका ३ बस्ने तारा बहादुर खण्डलुक रोजगारीका लागि मलेशिया गएको ९ बर्ष पुरा भयो । ३ महिनाको गर्भमा रहेकी छोरी ८ बर्ष पुरा भईन् । बाबा कस्ता छन् आमा, काला छन् की गोरा भनेर छोरीले सोध्दा उनी भक्कानिएर रुन्छिन् । बाबाको मुखै नदेखेकी छोरीले सबैका बाबा आउँदा मेरा किन आउँदैनन् भनेर बारम्बार सोधिरहन्छीन् । तर त्यसको उत्तर छैन देउनीसँग ।
बिदेश गएको २६ महिनासम्म सम्पर्कमा रहेर एकाएक तारा बहादुर सम्पर्कमा कम आउन थाले । उताबाट फोन आउन छोडेपछि देउनीले यताबाट धेरैपटक सम्पर्क गर्ने प्रयास त गरिन् तर फोनमा पनि उनी बोल्न छोडे । एकपटक फोनमा आमा छोरी झुण्डीएर वा बिष पिएर मरेपनि हुन्छ भनेर रुखो कुरा गरेका उनी त्यसपछि सम्पर्कमा छैनन ।
देउनीलाई प्रत्येक पिडाको हिसाब किताब हुनुपर्छ भन्ने लाग्छ । तर उ नेपाल आएर । श्रीमानले घरबाट निस्की भने । परिवारका अरु सदस्यले पनि घरमा नबस् भनेपछि काखकी छोरी लिएर बेलुकी ७ बजे निस्कीएकी देउनीलाई सम्बन्ध तोड्न परेपनि श्रीमान् नेपाल आएपछि तोड्न मन छ ।
देउनीले खेतीकिसानी गरेर आफ्नो र छोरीको लालनपालन गरिरहेकी छन् । आफू जस्तोसुकै दुःख सहन तयार भएपनि छोरीको भविष्य विनाकारण अनिश्चित बनाउने कुराले देउनीलाई राती निदाउन दिंदैन ।
घर सल्लाहामा १ लाख १० हजार ऋण लिएर बिदेश पठाएको श्रीमानले किन यसरी माया मारे त्यो पनि उनलाई थाहा छैन । श्रीमानले अर्को बिहे गरेको हल्ला सुन्छीन उनी । तर बिहे नै गरेको भए पनि आफ्नो र छोरीको हकको लागि उनी श्रीमानको खोजीमा भौतारिएकी छन् ।
श्रीमानको बोली बचन रुखो छ । तर पनि उनलाई घर फर्काउने आश नमारेकी देउनीले सुरक्षित आप्रवाशन सुचना तथा परामर्श केन्द्र कावासोतीमा निवेदन दिएकी छन् ।
तारा बाहादुरलाई फर्काउन प्रवासी नेपाली समन्वय समिति मार्फत पहल गरिएको र उनको फोनमा सम्पर्क भयो भने उनलाई फर्काउन सक्दो प्रयास गर्ने सामी परियोजनाका कार्यक्रम संयोजक रितुराम सोती थापाले बताएका छन् ।
यो पनि पढ्नुहोस् बलादियाको काममा पठाउन नसकेपछि हस्ताक्षर नमिल्ने चेक दिएर फरार