कमाउन मलेसिया गएको छोरो हराएपछि

विकास खत्री पाल्पा तानसेनका हुन् । २०६९ सालको साउनमा उनी कमाउन मलेसिया उडे । तीन वर्षको भिसामा मलेसियाको एक बेकरीमा काम गर्न गएका उनी दुई वर्षसम्म परिवारको सम्पर्कमा नै थिए । २०७१ मंसिर देखि भनें उनी बेखवर छन् ।

“मलेसिया गएपछि पनि फोनमा कुराकानी भइरहन्थ्यो” विकासकी आमा विष्णुले देशपरदेशसँगको कुराकानीमा भनिन्, “खै काम गाह्रो छ पनि भन्दैनथ्यो, पैसा पनि पठाइरहेको थियो तर अकस्मात यसरी सम्पर्कविहिन हुँदा अचम्म लागेको छ ।”

विष्णुका तीन छोरा मध्ये जेठो विकास २०६९ साउन १६ गते घरबाट विदावारी भएर हिंडेका थिए । उनी सुरुमा मलेसियाको जोहरबारुमा रहेको विग एपल नामको बेकरीमा काम गर्न गएका हुन् । विकास मलेसिया भएको दुई वर्षपछि उनकी श्रीमतिले अर्कै व्यक्तिसँग विवाह गरिन् । त्यसको दुई महिनासम्म विकास परिवारको सम्पर्कमा नै थिए । २०७१ को भदौ, असोजतिर विकासले आमालाई फोन गरेर आफू घर आउन चाहेको बताए । आमाले तीन वर्षको लागि गएको मान्छे किन विचमै फर्किन लागिस्, काम गाह्रो छ भनें आईज अन्यथा तीन वर्ष पुर्याएर फर्किए राम्रो भन्ने सल्लाह दिइन् । हुन्छ भनेर फोन राखेका विकासले आमालाई त्यसपछि केहि पैसा पनि पठाए । तर त्यसको दुई तीन महिना पछि देखि उनी सम्पर्कविहिन भए ।

विकाससँग कुराकानी हुने गरेको मोवाइल नम्वर बन्द भयो । उनी चुँडिएको चङ्गा झैं मलेसियामा हराए । छोरो सम्पर्कविहिन भएपछि आमा विष्णुले मलेसियाको जोहरबारुमा रहेको एउटै कम्पनीका काम गर्ने विकासका साथिलाई फोन गरिन् । उनले विकासले कम्पनी छोडेर भागेको र आफ्नो पनि सम्पर्क नभएको बताए । तर पनि भनिन्छ नी बग्दै गरेको मान्छेलाई परालको त्यान्द्रोको पनि सहारा हुन्छ । विष्णुले विकासका तिनै साथिलाई निरन्तर फोन गरिरहिन् कतै विकाससँग सम्पर्क भइहाल्यो की भनेर । पछि ति व्यक्तिले पनि त्यो नम्वर बन्द गरे । अव छोरो खोज्ने कुनै ठाउँ, सुत्र केहि बाँकी रहेन । पाल्पामा बस्ने विष्णुलाई छोरो खोज्ने उपाय अरु कुनै भएन । परिवारसँग भएको उनको तस्वीर यहि हो ।

जेठो छोरो विकास सम्वर्कविहिन भएको आठ बर्ष वितिसकेपनि छोरो एक न एकदिन घर फर्केला भन्ने आशा भनें मरेको छैन विष्णुको । उनले छोरोको खोजि गरिदिन आग्रह गर्दै भनिन्, “म एक्लै कहाँ जाने कसलाई गुहार्ने थाहा छैन, मेरो छोरोलाई सम्पर्क गराइदिन सक्ने मेरो लागि भगवान नै हुनुहुनेछ ।”

६ मंसिर २०७९, मंगलवार