नेपालीको प्रमुख गन्तव्य मध्येको एक युएई: के छन् अवसर, के छ नेपालीको योगदान ?

राम तामाङ- 
नेपालीको एउटा मुख्य रोजाईको श्रम गन्तव्य मुलुक संयुक्त अरव इमिरेट्स (युएई) मा हाल कति नेपाली छन् भन्ने जानकारी सायद हामीसँग नहोला । किनकी कोरोनाको महामारीका कारण युएईमा धेरै कम्पनीहरू बन्द भए, धेरैले जागिर गुमाए, धेरै नेपालीहरू घर फर्किए । सो अप्ठ्यारो समयमा युएईमा कार्यरत लगभग २४ प्रतिशत नेपालीहरू घर फर्किएको सरकारी तथ्याङ्कले देखाउँछ । बर्ष २०२० र २०२१ ले धेरैलाई समस्यामा पार्यो र अफ्ठ्यारो जीवन बिताउनुपर्यो । तत्पश्चात भने युएईले राम्रो गति लिएको छ । पुन: पहिलेकै रूपमा फर्किएको छ र रोजगारी, अध्ययन र व्यवसायका लागि नेपालीहरूको आगमनमा फेरि वृद्धि भएको छ । गत जुलाई २०२३ सम्मको तथ्याङ्क अनुसार युएईको कुल जनसंख्या १ करोड १ लाख, ७० हजार रहेको छ जुन गत वर्ष अर्थात २०२२ को भन्दा ०.८९ प्रतिशतले बढी हो ।

जिएमआईले गरेको पछिल्लो सर्वेक्षण अनुसार, युएई संसारभरका २०० विभिन्न देशहरूबाट आएका ९० लाख भन्दा बढी विदेशीहरूको एउटा साझा घर हो । तर यहाँका स्थानीय नागरिकहरू भने ११ लाख ७० हजार मात्र छन । अचम्मको कुरा के छ भने, यूएईमा प्रवासी जनसंख्या स्थानीयहरूको संख्या भन्दा धेरै ठूलो छ । सो अध्ययनले युएईमा जनघनत्व प्रति व्यक्ति १२१.५९ वर्ग किलोमिटर देखाउँछ र सबैभन्दा धेरै दुबई, आबुधाबी र शारजाँहमा मानिसहरू बसोबास गर्दछन । यहाँ कार्यरत नेपालीहरूको संख्या भने ३ लाख २१ हजार रहेको छ । अग्लो भवन, मरुभूमि, तेल र पर्यटनको लागि परिचित, संयुक्त अरब इमिरेट्स संसारको सबैभन्दा विकसित देशहरू मध्ये एक हो । संयुक्त अरब इमिरेट्सको विकास र समृद्धिमा वर्तमान जनसंख्याको भूमिका एकदम मुख्य रहेको देखिन्छ । तपाई पनि यदि युएईलाई आफ्नो कर्मथलो बनाउन चाहनुहुन्छ वा व्यापार ब्यबसाय गर्न चाहनुहुन्छ भने यो लेखले पक्कै सहयोग गर्नेछ र चुनौतीपूर्ण रणनीति बनाउन अवश्य साथ दिनेछ । यस लेखमा मध्यपूर्वको वित्तीय केन्द्र दुबई सहित युएईका सबै इमारातहरूमा रहेका विविध जनसंख्याका बारे अन्तर्दृष्टि दिने प्रयास गरिएको छ ।

– युएईबारे एक चाखलाग्दो तथ्य यो हो कि यहाँ स्थानीयहरुले भन्दा प्रवासी श्रमिकहरूले यसको वृत्तिविकासमा अधिक योगदान गर्दछन् ।
– आफ्नो बलियो अर्थतन्त्रका कारण, यूएई एसियाली र अफ्रिकी नागरिकहरुका लागि बस्न र काम गर्नको लागि सुरक्षित गन्तव्य हो

– राजनीतिक र आर्थिक स्थिरताका कारण तुलनात्मक रूपमा विश्वभरका लगानीकर्ताहरूले युएईमा व्यापार खोल्नलाई सस्तो र अधिक दिगो रूपमा हेर्दछन् ।

– स्वतन्त्र राष्ट्र बनेदेखि युएईले लाखौं आप्रवासीहरूलाई आश्रय दिएको छ । युएईले तेल र पूर्वाधार गतिविधिहरू पत्ता लगाउँदा, रोजगारी र लगानीको अवसरको खोजीमा रहेका प्रवासीहरू दुबई, अबुधाबी र यस क्षेत्रका अन्य मुख्य शहरहरूमा आएर बसोबास गर्न थाले ।

– कुनै अनुमानित तथ्याङ्क उपलब्ध नभए पनि भारत, पाकिस्तान, बंगलादेश, नेपाल, अफगानिस्तान, फिलिपिन्स र केही अफ्रिकी देशहरूबाट हजारौं मानिस हरेक महिना रोजगारीको खोजीमा दुबई र अबुधाबी आईपुग्छन्।

संयुक्त अरब ईमारात एक परिचय (देश प्रोफाइल)
१९ औं शताब्दीमा बेलायत र इमिरेट्सबीच भएको सन्धिबाट युएईले आफ्नो यात्रा सुरु गरेको हो । इमिरेट्सको गठबन्धनलाई त्यसबेला ‘ट्रसियल राज्यहरु’ भनिन्थ्यो । बेलायती सन्धिबाट मुक्त भएपछि युएईको जन्म भयो । यो अरब प्रायद्वीपको पूर्वी छेउमा अवस्थित छ । यो सात इमिरेट्सको महासंघ हो । अबुधाबी (राजधानी), दुबई, शारजाह, अजमान, उम्म अल क्वाइन, रस अल खैमाह र फुजैराह । यो देश ८३,६०० बर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ र यसले तेल क्षेत्रमा धेरै निर्भर गर्छ । तर हाल पर्यटन र उत्पादनलाई पनि उत्तिकै महत्व दिन्छ ।

युएईमा एउटा एकल सल्लाहकार निकाय, सातवटै राज्यको एउटै फेडरेशन, सुप्रिम काउन्सिलको रूपमा चल्दछ । हाल, परिषद्का अध्यक्ष शेख मोहम्मद बिन जायद अल नाह्यान छन, भने उपाध्यक्ष तथा प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मकतूम छन । यहाँको आधिकारिक भाषा अरबी हो, आधिकारिक धर्म इस्लाम हो, र यहाँ प्रयोग गरिएको मुद्रा दिरहाम भनिन्छ । युएई धेरै अन्तर्राष्ट्रिय संस्थाहरू जस्तै ओपेक, संयुक्त राष्ट्र संघ, जिसीसी, आदिको क्रियाशिल सदस्य हो । सन १९५० मा युएईको जनसंख्या लगभग ७०,००० मात्र थियो तर १९५० को अन्त्यमा तेलको खोज संगै एक ठूलो आर्थिक र सामाजिक रूपान्तरण सुरु भयो । पूर्वाधारको काम तीव्र गतिमा हुन थालेपछि वैदेशिक श्रमको आवश्यकता बढ्दै गयो । त्यसबेलादेखि यूएईले व्यापार, घरजग्गा, निर्माण आदि जस्ता चाँडो आर्थिक विकासमा टेवा पुग्ने कुराहरूमा केन्द्रित हुन थाल्यो र यस हलचलबाट लाभ उठाउन ठूलो संख्यामा मानिसहरूलाई युएई भित्र ल्याउन मेहनत गरेको देख्न सकिन्छ ।

विश्व बैंकको पछिल्लो तथ्यांक अनुसार युएईको साक्षरता दर ९८ प्रतिशत छ । यो सन २००५ मा ९० प्रतिशत र २०१९ मा ९६ प्रतिशत थियो । यसको मतलव सरकारको सामाजिक आर्थिक नीतिका कारण देशमा साक्षरता दरमा निरन्तर वृद्धि भएको छ ।


आर्थिक विकास र रोजगारीका अवसरहरु:
स्थानीय र प्रवासीहरूका लागि द्रुत वृद्धि हुने अर्थव्यवस्था र रोजगारीका अवसरहरूका कारण विश्वभरका मानिसहरूको रोजाईमा युएई पर्दछ । जब आर्थिक वृद्धिको कुरा आउँछ, युएईले २०२२ र २०२३ मा ५०१ बिलियन अमेरिकी डलर बराबरको जिडिपीमा योगदान गर्दै मध्य पूर्वको पाँचौं ठूलो अर्थव्यवस्था बनेको छ जुन २०२६ सम्म ५५८.७१ बिलियन डलर पुग्ने अपेक्षा गरिएको छ । विज्ञहरूले महामारी पछाडी अध्यागमनको भविष्यवाणी गर्दै, देशको जनसंख्या वृद्धिको ढाँचा साँच्चै ठूलो रूपमा परिवर्तन भएको छ कि भनेर हेर्नको लागि पछिल्लो तथ्याङ्कहरू हामीले हेर्नु महत्त्वपूर्ण छ ।

बहुसांस्कृतिक, बहुभाषिक र प्रवासी–मैत्री कानूनका कारण, युएई साँच्चै र सधैं विदेश बसोबास गर्नेहरूको लागि सुरक्षित आश्रयस्थान बनेको छ । २०० भन्दा बढी देशका नागरिकहरूले युएईलाई आफ्नो घर बनाएका छन् । यहाँको जनसङ्ख्याको धेरैजसो हिस्सा आप्रवासीहरूको छ र आगामी वर्षहरूमा पनि यो प्रवृत्ति उस्तै रहने सम्भावना छ । हामी देख्न सक्छौं कि यूएईका लगभग सबै बासिन्दाहरूले सहरी घरहरू मन पराउँछन् र दुबई, शारजाँह र अबुधाबी जस्ता प्रमुख शहरहरूमा बसोबास गर्छन् । २०२३ मा, युएईले आफ्ना नागरिकहरूको जीवनस्तर सुधार गर्न केही नवीन र रोमाञ्चक उपायहरू लागू गर्ने अपेक्षा गरिएको छ । यी मध्ये प्रभावकारी कामदार बीमा योजनाहरूको कार्यान्वयन, बेरोजगार बिमा योजना, प्लास्टिकजन्य झोलामा रोक, प्लास्टिकका कम्बल प्रतिबन्ध, र आप्रवासीहरूका लागि पारिवारिक कानूनको नियमन सम्बन्धि योजनाहरू हालसालै लागू गरिसकेको अवस्था छ । यी व्यापक दायरा भित्र रहेका उपायहरूबाट विविध कार्यनीति तथा रणनीति लागू हुने भएकाले २०२३ मा हामीले देशको बढ्दो जनसंख्यामा यसको प्रभाव पक्कै देख्ने छौं ।

२०२३ युएईको जनसांख्यिकी तथ्याङ्क वर्गिकरण
२०२३ मा, यूएईको कुल जनसंख्या १ करोड १ लाख ७० हजार मध्ये पुरुषको जनसंख्या ६८.५८% अर्थात् ६९ लाख ७० हजार र महिलाको जनसंख्या ३२ लाख २ हजार रहेको छ, जुन कुल जनसंख्याको ३१.४२% मात्र हो । महिला पुरूष बिचको संख्यामा यो ठूलो भिन्नता हुनुमा आप्रवासी पुरूष कामदारहरूको बढ्दो संख्यालाई श्रेय दिन सकिन्छ, किनकि आप्रवासीहरूका लागि उपलब्ध कामहरू अधिकांश पुरुष श्रममा निर्भर छ । कतिपय सामाजिक र साँस्कृतिक कारणहरूले गर्दा पनि हरेक लिङ्गलाई प्रदान गरिने भूमिका र अवसरहरूबाट पनि प्रभाव परेको देख्न सकिन्छ जसले लैङ्गिक असमानता निम्त्याएको जस्तो पनि देखिन्छ । यहाँ याद राख्नु पर्ने कुरा के हो भने यी तथ्याङ्कहरू क्षेत्र र उमेर समूहको आधारमा भिन्न पनि हुन सक्छन् ।

युएईमा मृत्यु दर अत्यन्त कम छ, यहाँ जन्म दर मध्यम स्तरमा छ । मानिसहरू लामो समयसम्म बाँच्न थालेका छन्, र जनसंख्याको आकार बढ्दै गएको छ । यसले लामो आयु मापनमा योगदान पुर्‍याउने देखिन्छ र राम्रोसँग विकसित स्वास्थ्य सेवा प्रणालीलाई संकेत गर्दछ । आप्रवासी जनसंख्या (उमेर समूह २५–५४ वर्ष) सबैभन्दा बढी ६५ लाख २० हजार व्यक्तिहरू छन् जुन अन्य उमेर समूहहरू भन्दा उल्लेखनीय रूपमा बढी देखिन्छ । लिङ्ग विभाजन र उमेरका आधारमा र अघिल्लो तथ्याङ्कको सन्दर्भमा, हामी विभिन्न उमेर समूहको आधारमा विश्लेषण गर्न सक्छौं । ६५ वर्ष वा सोभन्दा माथिका वृद्ध जनसंख्याको धेरै कम दर देख्न सकिन्छ । ६५ बर्ष माथिका पुरुष जनसंख्या १ लाख ४० हजार र महिला जनसंख्या ६० हजार रहेको छ । यसले पुरुष र महिला जनसंख्या बीचको भिन्नता कम गर्ने उमेर समूहमा मात्र सीमित नभएर हरेक वर्गमा थोरै मार्जिनमा रहेको जनाउँछ ।

कुन राज्यमा धेरै छन् आप्रवासी कामदारहरू
विश्वव्यापी रूपमा प्रवासीहरूको लागि प्रवास गन्तव्यको रूपमा यसको लोकप्रियताको कारण, युएईको सात इमिरेट्सहरू मध्ये सबैभन्दा ठूलो जनसंख्या, दुबईमा बसोबास गर्छ, जहाँ ३६ लाख १ हजार २७३ जना भन्दा बढिको बसोबास भएको देखिन्छ । त्यसपछि शारजाँहमा १८ लाख ३१ हजार जनसंख्या बसोबास गर्छन । अर्को सबैभन्दा ठूलो शहर, अबुधाबीमा १५ लाख ६७ हजार जनसंख्या रहेको छ जबकि अजमानमा ५ लाख ४८ हजार ४६० जना बसोबास गर्छन । रस अल–खैमाहमा ३ लाख ४५ हजार मानिसहरू छन् भने फुजैराहमा २ लाख ५६ हजार २५६ जना मानिसहरू बस्छन् । उम्म अल क्वोइनमा भने ४९ हजार १५९ जना मानिसहरूको बसोबास छ जुन सबैभन्दा कम जनसंख्या भएको इमिरेट्स हो ।

रोजगारीका अवसरहरूको उपलब्धता, आयकर लागू नहुनु, जीवनको उच्चस्तर र अन्य विशेषताहरूले यूएईलाई आप्रवासीहरूको लागि प्रमुख गन्तव्य बनाएको छ । एक्सप्याट एसेन्शियल इन्डेक्समा युएई बहराइनपछि दोस्रो स्थानमा छ । वैदेशिक रोजगारीको कुल जनसंख्या लगभग ८८.५२% अर्थात् ९० लाख छ, जबकि युएई नागरिक मात्र ११.४८% अर्थात् ११ लाख ७० हजार मात्र छन् । युएईका नागरिकहरू अल्पसंख्यक भएका कारणले, २०२३ मा युएई क्याबिनेटले सबै आर्थिक क्षेत्रहरूमा मूल निवासी नागरिकहरूका लागि थप रोजगारीका अवसरहरू दिलाउन ईमिरातीकरण अभियान शुरू गरेको छ जहाँ हरेक कम्पनी मा २० जना विदेशी कामदार राखेपछि १ जना युएई नागरिकलाई अवश्य जागिर दिएर राख्नुपर्ने नियम लागू गरेको छ ।

कुन देशका कति नागरिक छन् युएईमा
विदेशी कामदारहरूमध्ये २८ लाख भारतीयहरू यहाँ कार्यरत छन जुन उच्च स्थानमा छ । त्यसपछि पाकिस्तानीहरू १२ लाख ९० हजार छन । अन्य राष्ट्रियताहरूमा बंगलादेशी ७ लाख ५० हजार, फिलिपिन्स ५ लाख ७० हजार, इरानी ४ लाख ८० हजार, इजिप्टियन ४ लाख ३० हजार, नेपाली ३ लाख २० हजार, श्रीलंकाली ३ लाख २० हजार र चिनियाँहरू २ लाख २० हजार लगायत अन्य देशमा करिब २ लाख कामदारहरू छन् । धर्म र संस्कृतिको विविधताले युएईलाई सहअस्तित्व र बहुसांस्कृतिकताको देश भनेर चिनाएको छ । समावेशी शैक्षिक नीतिहरू जस्ता थप उपायहरूसँगै देशले सांस्कृतिक विविधताको चेतना र प्रवद्र्धनलाई बलियो बनाउँदै गएको छ ।

दुबई नै किन रोजाई
बढ्दो अर्थतन्त्र र विविध अवसरहरूलाई ध्यानमा राख्दै आप्रवासीहरूका लागि दुबई पहिलो रोजाइ हो । यो एक समृद्ध संस्कृति, प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मध्य पूर्वको व्यापार केन्द्र हो । त्यसैले माथि उल्लेख गरिए अनुसार यो युएईको सबैभन्दा धेरै जनसंख्या भएको इमिरेट्स हो । दुबईमा उच्च जनसंख्या वृद्धि दरका लागि धेरै कारकहरू छन्, ती मध्ये सबैभन्दा महत्त्वपूर्ण भनेको विश्वव्यापी दृष्टिकोण हो जसका कारण धेरै विदेशी नागरिकहरु यस क्षेत्रमा बसोबास गर्ने क्रम बढ्दै गएको छ । ३० वर्षमा, जनसंख्या लाखौंले बढेको छ । दुबई एक्स्पो २०२० ले मात्र लगभग २,७०,००० थप रोजगारीका अवसरहरू सिर्जना गरेको थियो ।

युएईमा धार्मिक जनसंख्या
यद्यपि युएईमा ईस्लाम मुख्य धर्म हो जसमा ७६.९% मानिसहरूले यसलाई अभ्यास गर्छन्, हामीले यो याद गर्नुपर्दछ कि यो देश धेरै विदेशीहरूको घर हो । त्यसैले मुस्लिमहरूसँगै यहाँ हिन्दु तथा बौद्धहरू (१०%), क्रिस्चियनहरू (९%), र अन्य धर्महरू (५%) फस्टाएको देख्न सकिन्छ । यहाँ जातीय तथा धार्मिक सदभाव कहिल्यै खल्बलिएन किनभने यहाँको नियम तथा कानूनले यसलाई एकदम वर्जित गरेको छ । धार्मिक सहिष्णुतामा मध्यपूर्वमै एक नम्बरमा पर्ने यो देशमा हरेक धर्मावलम्बीहरूको आफ्नै पूजास्थलहरू छन् । हिन्दुहरूका लागि बरदुबई तथा जेबेल अलि क्षेत्रमा २ वटा मन्दिरहरू छन्, शिखहरूका लागि जेबेल अलिमा छुट्टै गुरूद्वारा छन्, बुद्धिष्टहरूका पनि सतुवा र गारहुद २ ठाउँमा आफ्नै पूजास्थलहरू छन् भने क्रिष्टियनहरूका पनि जेबेल अलि, उद मेथा लगायत थुप्रै ठाउँमा चर्चहरू देख्न सकिन्छ । युएईमा नेपालीहरूले पनि विभिन्न ठाउँमा धार्मिक अनुष्ठानहरू गरेर आफ्नो पहिचान बचाईरहेको देख्न सकिन्छ । एक विश्वव्यापी सहर भएकोले, यो शहरले इसाई, सिख र हिन्दू लगायत धेरै धर्महरूको पनि विकास गरेको देख्न सकिन्छ ।

नेपाल युएई कूटनीतिक सम्बन्ध
नेपाल र संयुक्त अरब इमिरेट्सबीच २२ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपालले ११ अप्रिल २००४ मा चार्ज डी अफेयर्सस्तरमा अबुधाबीमा आफ्नो आवासीय दूतावास स्थापना गर्यो र २१ डिसेम्बर २००७ मा राजदूतस्तरमा स्तरोन्नति गर्यो । यसैगरी, युएईले १० मे २०१६ मा काठमाडौंमा राजदूतस्तरमा आफ्नो आवासीय मिसन स्थापना गरेसंगै द्विपक्षीय स्तरमा दुई देशले आपसी समझदारी र सहयोगमा आधारित मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध बनाएका छन् । बहुपक्षीय तहमा नेपाल र युएई दुवै संयुक्त राष्ट्रसंघ र असंलग्न आन्दोलनका सदस्यका रूपमा नवीकरणीय ऊर्जा, जलवायु परिवर्तनदेखि विश्व शान्ति र आतंकवाद विरुद्धको लडाई जस्ता महत्वपूर्ण विश्वव्यापी मुद्दाहरूमा साझा विचार राख्छन् । नेपाल र युएईबीच पर्यटन, नवीकरणीय ऊर्जा र मानव संसाधन विकासका क्षेत्रमा सहयोगको प्रचुर सम्भावना छ । नेपालले आगामी दिनमा युएईसँगको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउन चाहन्छ ।

युएई, नेपाली आप्रवासी काम र बस्नका लागि पाँच प्रमुख गन्तव्य देशहरू मध्ये एक हो । हालसम्म नेपालबाट आएका कुल आप्रवासीमध्ये १२ प्रतिशत यूएईमा बस्दछन् । यसैगरी, नेपाल युएईका लागि वैदेशिक श्रमको सबैभन्दा महत्वपूर्ण स्रोत देश हो, यस देशमा रहेका विदेशीहरूको सातौं ठूलो समूह हो । सुरक्षा, ड्राइभिङ, सेल्स, आतिथ्यता, निर्माण, सरसफाई आदि क्षेत्रमा नेपाली कामदारको यहाँ ठुलो माग छ । नेपालले यो देशमा अर्धदक्ष र दक्ष जनशक्तिलाई तालिम दिएर पठाउने हो भने नेपाली कामदारहरू धेरैको घर परिवार चल्छ । नेपाली भन्ने वित्तिकै राम्रो काम गर्ने, लगनशिल, इमानदार र उत्कृष्ट प्रदर्शन गर्ने भनेर यहाँ चिनिएता पनि पछिल्लो समय नेपालीहरू मादक पदार्थ र दुव्र्यसनीका कारण ड्युटी समयमा नजाने, मोबाईल बन्द गरेर बस्ने र जिम्मेवारपूर्वक काम नगर्ने आदि विविध कारणले धेरै नेपालीहरू विस्थापित भइरहेका छन् । राम्रो काम गर्ने नेपालीहरू सुनौलो भविष्यका कारण गतिलो गन्तव्य खोज्दै युरोप, अमेरिका, क्यानाडा, अष्ट्रेलिया आदि देशमा रोजगार स्थान्तरण तथा पलायन भइरहेको अवस्था पनि छ ।

युएई नेपालको लागि रेमिट्यान्स आम्दानीको चौथो ठूलो स्रोत देश हो । हुण्डी/हवाला मार्फत लेनदेनको पैसा नेपाल पठाउन गैरकानूनी भएकाले युएईबाट नेपाल जाने अधिकांश रेमिटेन्स वाणिज्य बैंक, रेमिटेन्स कम्पनीहरू र मनी ट्रान्सफर एजेन्सीहरू जस्ता बैंकिङ च्यानलहरूबाट पठाउँछन् । देशमा विद्यमान बेरोजगारी र वितृष्णाका कारण यहाँ आउने नेपालीहरूको संख्या दिनानुदिन बढिरहेको छ । धेरैको उद्देश्य भनेको केहि समय युएई बस्ने र अन्य गन्तव्य तिर लाग्ने सोचका कारण पनि युएई सबैको श्रम गन्तव्य भएको हो ।

नेपाली राजदुतावास आबुधाबी तथा दुबई कन्सुलेट स्थापना
वर्तमान तथ्याङ्कले नै युएईमा सबैभन्दा धेरै नेपालीहरूको बसोबास दुबई राज्यमा भएको देखिन्छ । युएई देशको राजधानी आबुधाबी रहेसंगै सबै देशका कुटनीतिक केन्द्रहरू राजधानीमा रहनु समय सान्दर्भिक छ । तर नेपाली जनसंख्याको चाप र बसोबासको हिसाबले हेर्ने हो भने दुबई राज्यमा पनि एउटा सानो भएपनि कन्सुलेट खोल्नुपर्ने अपरिहार्य देखिन्छ । उत्तरी राज्यहरू रस अल खैमह, फुजैराह, उम अल क्वेन, अजमान आदि क्षेत्रमा बसोबास गर्ने नेपालीहरूका लागि पनि दुबईमा कन्सुलेट स्थापना भयो भने धेरै राहत मिल्थ्यो । यस क्षेत्रमा रहेका आम नेपालीको चाहना पनि यहि हो जसले आबुधाबीसम्मको लामो दुरि, लामो यात्रा र खर्च बचाउन सक्थ्यो । परराष्ट्रस्तरका तथा मन्त्रिमण्डलमा रहेका थुप्रै मन्त्रीहरू यहाँ आएर यो समस्या बुझेर गएपनि २००७ देखिको यो माग अहिलेसम्म पुरा हुन सकेको छैन ।

नेपाली संघसंस्थाहरू तथा व्यवसायीहरू
युएईमा पछिल्लो तथ्याङ्क अनुसार ८२ वटा नेपाली संघसंस्थाहरू क्रियाशिल छन् । विभिन्न जिल्ला स्तरीय, जातीय, प्रान्तीय, राजनीतिक, कलाकार, खेलकुद आदि क्षेत्रमा यस्ता संघसंस्थाहरू समाजका लागि योगदान दिने खालका कामहरू गरिरहेका छन् । धेरै संघसंस्थाहरू युएई सरकारको कानूनत: दर्ता छैन । नेपाल एशोसियसन र नेपाली बिजनेस काउन्सिल युएई मात्र वैधानिक रूपले दर्ता भएर चलेको संस्था हुन । नेपाली समाज युएई, गैर आवासीय नेपाली संघ, तथा इनास युएई पनि श्रमिक उद्धारमा सबैभन्दा धेरै क्रियाशिल संस्था मध्येमा पर्दछन् । खेलकुद क्षेत्रमा पनि यहाँ लगभग २८ वटा फुटबल क्लबहरू, २२ वटा भलिबल क्लबहरू छन् । ब्याडमिण्टन, क्रिकेट, तास, चेस, स्नुकरआदि पनि यहाँ रूचाईएका खेलहरू हुन् ।

नेपालका हरेक चाडपर्वहरू दशैं, तिहार, तिज लगायत नयाँ बर्ष आदिमा कार्यक्रम गर्न र दर्शक श्रोता तान्न यहाँ ठूलै चहलपहल हुन्छ । नेपाल देखि चर्चित विभिन्न गायक, गायिका, कलाकारहरू, नायक, नायिका, मोडलहरू आदिको यहाँ बेजोड माग हुन्छ । कोरोनाकाल पछि नेपाली लगानीमा खोलिएका थुप्रै ब्यापार व्यबसायहरू पनि यहाँ मनग्गे रूपमा फस्टाएको देखिन्छ । प्राय: गरी नेपालीहरूले यहाँ रेष्टुरेण्ट, क्याफे, सलुन, पार्लर, फुडस्टफ, ट्राभल्स, ज्वेलर्स, टेलर्स, टाईपिङ्ग, युटिलिटी, फेसिलिटी, म्यानपावर, गेष्ट हाउस, क्लब, कन्सल्टेन्सी, गाडी वर्कशप, मोबाईल मर्मत, ग्राफिक्स स्टुडियो आदि सञ्चालन गरेका छन् भने अवैधानिक रूपमा कोठा पार्टिसन, बेडस्पेस भाडामा दिने, घरायसी मेस चलाउने, अचार, घ्यु तथा गुन्द्रुक इकमर्स देखि नेटवर्क मार्केटिङ्ग, क्रिप्टो करेन्सी, मदिराको कारोवारसम्म गर्दछन् । सबै ईमिरेट्समा गरेर नेपालीहरूको यहाँ करिब ठूलो सानो गरेर २ सय २० वटा व्यवसायहरू सञ्चालित छन् ।

निष्कर्ष
युएईको वर्तमान विकासमा साँच्चै नेपालीको भविष्य जोडिएको छ । विश्वकै अग्लो भवन बुर्ज खलिफा बनाउँदा नेपालीले गरेको योगदान भनौं वा विभिन्न शेख प्यालेसमा कार्यरत नेपाली पुलिस, बडि गार्ड वा सुरक्षा गार्ड भनौं या विभिन्न सरकारी तथा निजी हस्पिटलमा कार्यरत नेपाली डक्टर, नर्स, सर्जन आदि हुन, सबैले यो देशमा सेवा गरे पनि आखिर नेपालमा आफ्नो कमाई पठाएर नेपाललाई टेवा पुर्याइरहेका छन् । थोरै तलबमा काम गर्ने श्रमिक हुन् वा धेरै तलव कमाउने काममा संलग्नहरु हुन्, सबै परिवारका खातिर मरिमेटिरहेका छन् जसको लाभ राज्यले पनि प्राप्त गरिरहेका छ । उच्च दक्ष कर्मचारी हुन् वा न्यून दक्ष श्रमिक, सबैले उत्तिकै महत्व दिएर देश विकासमा रेमिटान्स पठाएर होस्टेमा हैसे गरिरहेका छन् । सायद राज्यले युएईमा कार्यरत यी नेपालीको योगदानलाई विर्सेको छैन ।
(तामाङ युएईमा कार्यरत छन्)

What’s your Reaction?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय