छोरो घर फर्किने आश

अर्जुन काफ्ले, पथरी, मोरङ्ग
विदेशवाट जो कोहि गाउँ फर्केपनि उर्लावारी २ सुन्झोडाकी नरमाया वोहोरालाई तिनले कतै आफ्नो छोरो नवराजको केहि खवर पो ल्यायो कि भन्ने आश लाग्छ । कमाउन मलेसिया गएका नवराजले फोन नगरेको तीन बर्ष भयो । मलेसिया जाँदा लागेको ऋण श्रीमानले नतिरेपछि नवराजकी श्रीमती सिर्जना कमाउन कुवेत पुगेकी छन् । बुहारीले पठाएको पैसाले घर खर्च चलाउदै आएकी नरमायाको आश भनें अझै पनि छोरो घर फर्केला भन्ने छ ।

वैदेशिक रोजगारीका क्रममा धेरै पटक मलेसिया र कतार आउजाउ गरेका नवराज पछिल्लो पटक चार बर्ष अगाडी मलेसिया गएका हुन् । कम्पनी राम्रो परेन, कमाए भएन भन्ने नवराज मलेसियामा कम्पनी छोडेर अवैधानिक रुपमा काम गर्न थालेकोसम्म थाहा छ परिवारलाई । ‘खै कमाइ राम्रो छैन आमा भन्थ्यो तर अहिले त खोज खवर र्नै छैन’ नरमायाले बताइन् ।

ऋण लिएर मलेसिया गएका नवराजले पैसा पठाउन सकेनन्, यता ऋण तिर्नुपर्ने दवाव बढ्दै गयो । त्यसैले एक बर्ष अगाडी दुई छोरा सासुलाई जिम्मा लगाएर नवराजकी श्रीमति सिर्जना कुवेत गइन् । उनैको कमाईले अहिले घर चल्दैछ ।

मलेसिया आउजाउ नवराजका लागि नौलो होइन । १५ वर्ष अगाडी नै उनी सो मुलुक गएर पाँच बर्ष काम गरेर फर्केका हुन् । गुनासो उहि थियो, कमाई भएन । नेपाल फर्केपछि केहि समय गाउँमै काम गरेका उनी फेरी कतार गए । बर्मा गयो कर्मसँगै नेपाल आयो कपालसँगै भने झैं कतारमा पनि आम्दानी भन्दा धेरै दु:ख भएको बताउँथे उनी । १२ बर्षभन्दा धेरै विदेशमा विताएका छोराको कमाई नभएको देखेकी नरमायाको दुखेसो छ ‘विदेश भनेर के गर्नु मेरा छोराको कर्ममा दु:ख मात्र लेखेको हो की ?’ श्रीमान गुमाएको पिडा त एकातिर छँदैछ नरमायालाई, अर्कातिर कमाएर पाल्नु पर्ने छोरो पनि तीन बर्षदेखि सम्पर्कविहिन भएपछि समस्या थपिएको छ । सुकुम्वासी क्षेत्रमा एउटा जिर्ण घर छ जसले जसोतसो ओत दिएको छ नरमायाको परिवारलाई । नरमायाका जेठा छोरा पनि वौद्धिक अपाङ्ग छन् । कमाइ गर्ने आश गरेको छोरो नवराज पनि मलेसियामा नै लापत्ता भएपछि दु:खको सागर बढेको छ ।

नवराजले काम गर्ने कम्पनीको न नाम थाहा छ न ठेगाना नै । खोजखवरको प्रयास गरेपनि हात लाग्यो शुन्य भएको छ । नरमायासँग नवराजको एउटा पुरानो फोटो र म्याद सकिएको राहादानी बाहेक अरु केहि चिनो छैन । नरमायालाई नातिहरु छोरोको जिम्मा लगाएर मात्रै मर्ने धोको छ ।
यो तस्वीरमा देखिएका नवराज बोहोरालाई तपाईले मलेसियामा कतै देख्नु भएको छ की ? यदि देख्नु भएमा उनलाई घर फर्काउन सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय