मलेशियामा हराएका चन्द्रमानलाई कहिं देख्नु भएको छ ?

उनी हुन् चन्द्रमान फाल । साविक नवलपरासी, देउराली गाविस वडा नं ७ तल्लो रुम्सी रिपा (हाल हुप्सेकोट गाउँपालिका ४) का फाल बैदेशिक रोजगारीका लागि मलेशिया गएको ६ बर्ष भयो । बिहे गरेको ९ महिनामा उनी मलेशिया हिंड्दा उनकी श्रीमती खिनीसरा गर्भवती थिईन् । छोराको भविष्य उज्वल बनाउन मलेशिया पुगेका चन्द्रमानका कारण आज त्यहि छोरा र परिवारको जीवन अन्धकार तर्फ धकेलिदै छ ।

६ महिनाको गर्भमा रहेको छोरा पनि ६ बर्षको लाग्यो । तर मलेशिया गएका चन्द्रमान घर फर्किएनन् । मलेशिया गएको चार बर्षसम्म राम्रै कुराकानी हुन गरेपनि विगत दुई बर्षयता घर परिवारसँग उनको कुनै सम्पर्क छैन । चार बर्षसम्म चार पाँच लाख जति पैसा पनि पठाए उनले । तर हाल उनी कुन ठाउँमा कुन अवस्थामा छन् परिवारलाई कुनै अत्तोपत्तो छैन ।

फोन सम्पर्क हुँदासम्म यो महिनामा त्यो महिनामा आउँछु भन्दै कुरा गर्थे चन्द्रमान । तर जव घर फर्किने समय आउँथ्यो अनि सम्पर्कमा आउँदैनथे । आज दुई बर्ष भयो सम्पर्क नभएको खिनीसरा भन्छिन् “छोराले पनि बाबा कहिले आउने भनेर सोध्न थाल्यो मसँग केहि जवाफ छैन त्यसैले उसलाई खोजिदिन पर्यो ।”

श्रीमान् खोजिदिन आग्रह गर्दै आप्रवासी स्रोत केन्द्र, कावासोती आईपुगेकी खिनीसराले बाख्रापालन, खेती किसानी गर्दै जीविका चलाउँदै आएकी छन् । सासुले छोरीलाई जस्तै माया पनि गर्छिन । तर जुन मान्छेको साथ लागेर त्यो घरमा आएको हो त्यहि मान्छे यसरी बेखवर हुँदा र छोराको लगातारको प्रश्नको जवाफ नपाउँदा उनलाई कहा जाउँ, कसो गरुँ भन्ने हुन्छ ।

खिनीसरा २६ बर्षकी भईन । १९ बर्षमा भागेर चन्द्रमानसँग बिहे भएको हो । “तर माया गरेर होईन बिहे गरेपछि मात्र माया गरेको” अनुहारको पिडा लुकाउदै हाँस्न खोज्छिन उनी । भन्छिन “मगरहरुको त पहिला भाग्ने नै चलन हुन्छ नी ।”

पैसा कमाउन सके सकेनन् त्यो कुराले कुनै पिरलो छैन खिनीसरालाई । बस श्रीमान नेपाल फर्किदिए नेपालमै केहि गरेर खान हुन्थ्यो भन्ने लाग्छ उनलाई । श्रीमानले पठाएको चार पाँच लाखको सदुपयोग गर्दै घर बनाउन जग्गा किनेकी छन् उनले । सासु, नन्द अनि छोरा लिएर बसिरहेकी खिनीसरालाई कहिल्यै फोनमा झगडा समेतनपरेको श्रीमानले किन यसरी बेवास्ता गरे अनुमान गर्न सकेकी छैनन् ।

यदि तपाईले यी चन्द्रमान फाललाई देख्नुभएको छ भने परिवारको सम्पर्कमा ल्याउन सहयोग गरिदिनुहोला । तपाईको सानो सहयोगले उनी परिवारको सम्पर्कमा आउन सक्दछन् र खिनीसराको चिन्ता हटाउन र परिवारको पुनर्मिलनमा मद्धत मिल्न सक्छ । उनका बारेमा तपाईसँग कुनै जानकारी भएमा आप्रवाशी स्रोत केन्द्र, कावासोतीको फोन नं ०७८-५४०३११ मा सम्पर्क गरेर जानकारी दिनसक्नुहुन्छ ।

यो पनि पढ्नुहोस् मलेशियामा कार्यरत नेपाली भन्छन् ‘मलेशिया त आउदै नआउनु’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय