छोरो पर्खिदै आमा

अर्जुन काफ्ले, मोरङ-

भनिन्छ १२ वर्षमा खोलो पनि फर्किन्छ । तर १७ वर्ष वित्यो उर्लावारी २ भुसीकी मिना छेकी शेर्पाले जेठो छोरो बुद्धिमानको बाटो हेरेको । न उनी घर फर्किए न उनका बारेमा कुनै खवर नै आयो । तर अझै पनि आश भनें मरेको छैन मिना छेकीको ।
म भेट्न पुग्दा घरमा थिए मिना र उनकी विरामी जेठी बुहारी कल्पना । बुद्धिमानसँग अन्तरजातिय विवाह गरेकी कल्पनाको जीवन १७ बर्षदेखि उल्लासविहिन छ । ६ महिनाको छोरो सहित उनलाई घरमा छोडेर वेपत्ता भएका उनका श्रीमान बुद्धिमान एक दिन त कसो घर नफर्केलान् भन्ने आशा छ उनको ।

बुद्धिमान र कल्पनाको अन्तरजातीय विवाह हो । घर नजिकैकी ब्राम्हणकी छोरी कल्पनालाई जेठो छोरोले भित्रियाउँदा उनका बाबु विरामी थिए । एकातिर छोराहरुको इलम त्यति थिएन, अर्कातिर श्रीमान विरामी, त्यसैले मिना रोजगारीका लागि साउदी अरव पुगिन् । तर यता श्रीमान् झन झन विरामी हुँदै गए । त्यसैले दुई बर्षपछि घर फर्किन् उनी । उनी घर फर्किइन्, केहि समयमै जेठो छोरो बुद्धिमान बेपत्ता भए चंगा उडेसरी । नाती ६ महिनाको हुँदै गर्दा छोरो बेपत्ता भयो, विरामी बुहारीलाई माइतीले लगे । नाती विवेकलाई दु:खजिलो गर्दै हजुरआमा मिनाले हुर्काइन् ।

मिनाको दु:ख कम छैन । एकातिर जेठो छोरो बुद्धिमान बेखवर भएको १७ बर्ष भयो । कान्छो छोरो विक्रम पनि मलेसियामा बेखवर नै थिए । काम गर्न मलेसिया गएका उनले धेरै बर्ष घरमा फोन गरेनन् । पैसा पठाउने त कुरै भएन । तर उनका बारेमा देशपरदेशमा समाचार प्रकाशित भएपछि भनें विक्रम परिवारको सम्पर्कमा आए । पैसा पनि पठाउन थाले । शेर्पा परिवारको चुँडिएको सम्वन्धको डोरी पुन जोडियो । विक्रम घर पनि फर्किए र तीन महिना यतै बसे । पुन: रोजगारीका लागि मलेसिया जान उनले विराटनगर पुगेर श्रम स्वीकृति पनि लिए । तर अकस्मात उनी विरामी परे । धरान र विराटनगरका अस्पतालहरुमा स्वास्थ्य परीक्षण गराउँदा उनको मृगौलाले काम गर्न छोडेको पत्तो लाग्यो । गत बैशाख १७ गते उपाचारकै क्रममा उनको निधन भयो । शेर्पा परिवारमा बल्ल फर्केको थोरै खुशी फेरी लुटियो । विक्रमकी श्रीमति १० बर्ष अगाडी नै ज्वरो आएर बितेकी हुन् । त्यसैले विक्रममा एक छोरा अर्थात अर्को एउटा नाती पनि उनै मिनाको जिम्मामा छन् ।

मिनाले हराएको छोरो बुद्धिमान भेटिएला कि भनेर धेरै ठाउँ चाहरिसकिन् । तर कसैले पनि बुद्धिमान भेटिएको खवर दिन सकेका छैनन् । तर आमाको मन न हो, जो कोहि नयाँ मान्छे घरमा आइपुग्यो भनें पनि उनको भक्कानो छुटिहाल्छ हराएको जेठो छोरो सम्झेर । बुद्धिमान घर फर्केलान अनी नातीहरु जिम्मा लगाएर मर्न पाए हुन्थ्यो भन्ने इच्छा छ उनको ।

श्रीमानको मृत्यु पछि सहारा बनेका दुवै छोरा साथमा नभएपछि र आफूलाई बुढेसकाल लाग्न थालेपछि मिनालाई थप चिन्ताले सताएको छ । शरिरमा तागत हुञ्जेल त नजिकको जंगलबाट घाँस वोकेर, बाख्रा पाठा पालेर घर व्यवहार चलाउने गरेको तर अहिले रोगले च्याप्न थालेपछि काम गर्नै मुस्किल परेको उनी बताउँछिन् । नशाको रोग छ । चिकित्सकले आराम गर्नु भन्छन् । दैनिक खान एक झोला औषधी छन् । देशपरदेशसँगको कुराकानीका क्रममा उनले भनिन्, मैले आराम गरें भने मेरा दुईवटा नाति भोकै हुन्छन् । अनी म कसरी आराम गरौं ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय