बृद्ध बाबुको आग्रहः एक पटक फोन मात्रै गरिदेउ

रञ्जना लम्साल, नवलपरासी- 

उमेरले ७० नाघिसकेको छ । छोराछोरी मात्र नभई नातिनातिनीहरुको समेत व्यवहार सकेर अव त आनन्दले बस्ने उमेर हो । तर तरक प्रसाद रिजालको भाग्यमा त्यो लेखिएको रहेनछ । बुढ्यौली आँखा अझै पनि छोरो शिबराम घर फर्किने आशमा बाटोतिरै सोझिइरहन्छन् । 

कमाउने र रमाउने सपना बोकेर कान्छो छोरोले घर छोडेको पनि अव त १५ बर्ष बितिसक्यो । तर मलेशिया गएको छोरो नफर्किएपछि अव छोराको मुखै देख्न नपाईने हो की भन्ने चिन्ताले सताइरहन्छ उनलाई । 

कावासोती नगरपालिका वडा नं १३ का बासिन्दा तरक प्रसादका ६ जना छोरा मध्येका कान्छा हुन् शिवराम । ५ छोरा त साथै छन् तर पनि परदेशिएको छोरो यसरी अचानक बेखवर भएपछि आपत आइलागेको छ रिजाल परिवारमा । 

कान्छा छोराको मुख देख्नै नपाई श्रीमति वितेको देखेका तरकप्रसादलाई छोरो त्यति निष्ठूरी पनि थिएन भन्ने लाग्छ । सधैं छोराकै पिर गरिरहने आमाले तीन बर्ष अगाडी संसार छोडिन् । तर न त यो खवर शिवरामसम्म पुग्यो न त उनी घर नै फर्किएका छन् । १५ बर्ष भनेको चानचुने समय पनि त होइन । परिवारसँग अव उनको एउटा पारिवारिक फोटो र धमिलो हुँदै गएको उनको सम्झना मात्र बाँकी छ । 

गएको ३ बर्षसम्म राम्रैसँग घरमा फोन गर्ने गरेका र केहि पैसा पनि पठाएका शिवरामले तीन बर्ष पुगेपछि घर फर्किन्छु भनेका थिए रे । “आउँदो असारमा आउँछु भनेर फोन गरेको थियो” छोरो हराएको निवेदन बोकेर खोजिदिन आग्रह गर्दै हिंडेका तरक प्रसाद भन्छन् “खै उ यसरी किन एक्कासी हरायो पत्तै भएन ।” शिवरामले घर फर्किन्छु भनेको केहिदिन पछि पासपोर्ट हराएको र नागरिकता पठाइदिनु भनेपछि परिवारले नागरिकता पठाइदिएको थियो । उनले मैले नागरिकता पाएँ भनेर फोन पनि गरेका थिए तर त्यसपछि उनी चटक्कै हराए । बाबुलाई अहिले त्यो नागरिकता नपठाएको भए छोरो घर फर्किने रहेछ भनेजस्तै लाग्छ । 

एसएलसी फेल भएपछि पढाई छोडेर मलेसिया गएका शिवरामले कमाएको केहि पैसा घर पठाएका थिए । केहि आफ्नो साथमै रहेको र घर आउँदा लिएर आउँछु भनेका थिए । तर अकस्मात उनी हराए । 

कहाँ गए त शिवराम ? कसैलाई थाहा छैन । न वरपरका साथीले नै उनलाई देखेको भन्छन् न त १२ बर्षयता उनको एक पटक फोन नै आएको छ । छोरा सम्पर्कमा नआएको भन्दै खोज गरिदिन सुचना तथा परामर्श केन्द्र, कावासोतीमा निवेदन हाल्न आइपुगेका तरक प्रसादले भने: मलाई केहि चाहिन्न, छोरोले एकपटक फोन गरेर म बाँचेकै छु भन्दिए हुन्थ्यो । 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/n2_vN77ixAc?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय