कतारमा कहाँ हराए उनी ?

सुनिल न्यौपाने/प्रभातकुमार मिश्र, जनकपुर

मध्यतराईको धनुषा जिल्लाको सदरमुकाम जनकपुरमा नै छ मोहम्मद ताहिर राइनको घर । जनकपुर २० को भट्टीटोलमा रहेको उनको घरमा हामी पुग्दा उनको परिवार हामीलाई नै पर्खेर बसिरहेको थियो । एउटा सानो छाप्रो छ । त्यो पनि सगोलको घर हो । ताहिरका दाजु पहिले कतारमा थिए । उनैले भाइलाई कतार बोलाए । दाजुभाइको कमाइ चल्दै थियो । त्यसबीचमा दाजुको भिसा अवधि सकियो । उनी फर्केर साउदी गए ।

मोहम्मद ताहिर राइन, कतार गएको ६ बर्ष पुग्यो । सुरुमा गएको दुई बर्षपछि एकपटक छुट्टीमा घर आएर फर्केका उनी कतारमा सेक्युरिटी गार्डको काम गर्थे । तर झण्डै तीन बर्षयता उनी परिवारको सम्पर्कमा छैनन् । अन्तिम पटकको कुराकानीमा उनको श्रीमति रुवि खातुनसँग झगडा भएको थियो ।

रुविका अनुसार फोनमा भएको कुराकानीका क्रममा ताहिरको उनीसँग झगडा भएको थियो । त्यसपछि ताहिरले घरमा फोन गर्न छोडे । उनले कतारबाट फोन गर्न छोडेपछि रुविले यताबाट फोन गरिन् । फोन नउठाउने गरेपछि उनले सुपरभाइजरलाई फोन गरेपछि पुनः एकपटक कुरा भयो । त्यो कुराकानीमा पनि उनले गाली गरेर फोन राखेका थिए ।

तीन छोराछोरी र आफूलाई छोडेर कतार गएका श्रीमान किन यसरी बदलिए भन्ने रुविलाई थाहा छैन । अकस्मात झगडा गरेका उनी बर्षौंसम्म बेखवर हुँदा परिवारलाई मानसिक चिन्तासँगै आर्थिक अप्ठ्यारो आईपरेको छ । रुवीकी जेठानी निमा खातुन परिवारको गुजारा चलाउन रुवीलाई अप्ठ्यारो परिरहेको बताउँछिन् । निमा भन्छिन् “धेरै समस्या छ । खर्चको समस्या छ, त्यसैले म दिन्छु । बच्चा पढाउन पनि म नै खर्च दिन्छु । समस्या छ, रुन्छे । बच्चको पनि अवस्था राम्रो छैन ।”

ताहिर सम्पर्कविहिन भएपछि छोरी विरामी परिन् । उपचार गर्ने खर्च थिएन । त्यसैले रुवीले माइतीलाई गुहारेपछि छोरीको उपचार सम्भव भयो । पढाउन नसकेपछि छोरालाई भारतको समस्तीपुरमा रहेको माइती पुर्याएकी छिन् उनले । अरुका बाबुले फोन गरेको देख्ने ताहिरका छोराछोरी आफ्ना बाबुले किन फोन गर्दैनन् भनेर आमासँग सोधिरहन्छन् । उनी भन्छिन् “मलाई पनि बच्चालाई पढाउने मन छ । सवै बाबुआमाले आफ्नो बच्चालाई खुशी राख्न चाहन्छन् । मेरो बच्चाले बाबुको माया पाएनन् । मलाई पनि दुःख छ, श्रीमान् बेपत्ता छन् ।”

बैदेशिक रोजगारीमा गएर यसरी परिवारसँग सम्पर्कविहिन भएका मोहम्मद ताहिर राईन कतारको ग्रुप फर उडेन ईन्डष्ट्रिजमा काम गर्न गएका थिए । उनका बारेमा तपाईले कुनै जानकारी पाउनु भएमा परिवारलाई नेपालमा ९८१९८७१४९७ मा फोन गरेर जानकारी गराइदिनुहोला ।

तपाईले कतारमा पत्रकार दिपक पुडासैनीको नम्वर ६६९७८०५४ मा पनि उनका बारेमा जानकारी दिन सक्नुहुन्छ । यसैगरी सुरक्षित आप्रवासन, सुचना तथा परामर्श केन्द्र धनुषाको टेलिफोन नम्वर ०४१ ५३०४३७ मा पनि तपाईले जानकारी गराइदिन सक्नुहुन्छ । आशा गरौं तपाईको सहयोगले मोहम्मद ताहिर राईनले परिवारसँग सम्पर्क गर्नेछन् ।

भिडियो स्टोरी प्रकाशन भएपछि उहाँ परिवारको सम्पर्कमा आएका कारण भिडियो हटाइएको छ । सम्पादक

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय