‘खै किन हो मलेसियाबाट उहाँ फोन पनि गर्नुहुन्न’ 

सुनिल न्यौपाने/रञ्जना लम्साल, नवलपरासी  

नवलपरासीका मणिराम राना, मलेसिया गएका हुन् । पहिले साउदीमा दुई बर्ष काम गरेर फर्केका उनी मलेसियामा सेक्यूरिटी गार्डको काममा थिए । गएको केहि समयसम्म सम्पर्कमा रहेका उनी एक्कासी परिवारसँग सम्पर्कमा छैनन् । मणिरामकी श्रीमति खुममाया भन्छिन्ः “खै के भयो भयो, केहि बुझ्न सकेको छैन । के भयो, एक्कासी यसरी हरायो ।”

मणिराम पहिले साउदी अरव गएर ३ बर्ष बसेर फर्केका हुन् । उनी पुनः साउदी नै गएका थिए । ड्राइभरको काममा भनेर गएका उनी भनिए अनुसारको काम नपाएपछि एक महिनामा नै फर्केका थिए । त्यसपछि नेपाल फर्केका उनी मलेसिया गएका हुन् ।

साउदी जाँदा त मणिरामले कमाएर ल्याएका थिए । त्यसैले पुरानो ऋण तिरे उनीहरुले । त्यसपछि पुनः उनी १ लाख ६० हजार ऋण लिएर मलेसिया गएका थिए । उनले एकपटक ७० हजार पठाए । तयसबाट केहि ऋण तिरेपनि ठूलै रकम बाँकी नै रह्यो । उनी सम्पर्कविहिन भएपछि ऋणको व्याज बढ्दै छ । साहुले ऋण तिर् भनेर कचकच गरिरहे पनि खुममायासँग त्यसको कुनै बाटो छैन । परिवारको गुजारा चलाउन खेती किसानी गर्ने उनी केहि महिनायता चटपट पनि बेच्न थालेकी छिन् । यसले नुनतेल किन्ने पैसाको जोहो हुन थालेको उनी बताउँछिन् ।

एक छोरी र दुई छोराका बाबु मणिरामलाई गाउँकै अरु केहिले मलेसियामा देखेको कुरा गर्छन् । तर उनले घरमा फोनसमेत नगर्दा परिवार चिन्तित छ । आफैंले रोजेको मान्छेसँग छोरी केशमायाले पनि विवाह गरिन् । आमा खुममायालाई छोरीको रीत समेत पुर्याउन नसकेर अप्ठ्यारो परेको छ । उनी भन्छिन्ः “अव कसरी रीत फुकाउने ? नसकेपछि नफुकाउने त होला, अव जहिले आउँछ(बुवा) तहिले फुकाउने त होला । अव भोलिपर्सी छोराहरुले कमाएर भएपनि फुकाउने त होला ।”

केशमायाले एसएसलसी दिइन् । छोराहरु जेठो ७ कक्षामा पढ्दैछन्, कान्छो ५ मा । मणिरामकी छोरी केशमाया बाबुआमा बीच ऋण तिर्ने पैसाका कारण ठाकठुक परेको बताउँछिन् । उनलाई बाबु यसरी सम्पर्कविहिन हुनुको कारण त्यहि हो भन्ने लाग्छ । “पहिले देखिको ऋण थियो । ममीसँग साहुले माग्न आएको आयै गरिरहेको थियो । त्यसैले आमाले बुवालाई एकैचोटी अलिक धेरै पैसा पठाउनु आधा भएपनि ऋण तिरौंला, यसरी घर खर्च चलाउने मात्रै पैसा नपठाउनु भन्नुभयो । त्यसैले झगडा भएको हो” केशमाया भन्छिन् ।

खुममायालाई ऋणको किचकिचले हैरान पारेको छ । बैंकबाट ऋण निकालेर तिरौं जस्तो त लाग्छ तर जग्गाको धनीपुर्जा जेठाजुले बनाइदिएका छैनन् । त्यसैले किचकिच सहेरै बस्नुपरेको उनी बताउँछिन् ।

यो तस्वीरमा देखिएका मणिराम रानालाई तपाईले मलेसियाको पोर्ट केलाङ आसपासमा कहिं देख्नुभएको छ की ? उनका बारेमा तपाईसँग कुनै जानकारी छ भनें परिवारको फोन नम्वर ९८ ११ ४८ ४१ ९४ मा खवर गरिदिनुहोला । साथै सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, कावासोतीको टेलिफोन नम्वर ०७८ ५ ४० ९५७ मा पनि जानकारी गराइदिन सक्नुहुन्छ । देश परदेशका मलेसिया सहकर्मी सुदिप निउरेको सम्पर्क नम्वर ०१ ६७ १० ५२ ३० मा पनि तपाईले उनका बारेमा जानकारी गराइदिन सक्नुहुन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय