श्रीमान विदेशबाट फर्केनन्, म कहाँ जाउँ ? 

नवलपरासी 

विवाह गरेर आएकी एउटी नारी विदेशिएको श्रीमान्ले वेवास्ता गर्दा कतिसम्म हण्डर खेप्न बाध्य हुन्छे भन्ने उदाहरण कतै खोज्नुछ भनें नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नं २ कोल्हुवाकी योगमाया महतोलाई भेटे पुग्छ । दुई छोराकी आमा योगमायाले विदेशिएको श्रीमान् पर्खिदै खेपेको हण्डर सुन्नेको मन पनि थामिंदैन ।  

योगमायाका श्रीमान बोधबहादुर महतो पहिले मलेसिया गएका थिए । तीन बर्ष त्यहाँ विताएर आएका उनी फेरी कुवेत हिंडे । सगोलको घरमा श्रीमति, दुई छोरा र बाबुआमालाई छोडेर गएका बोधबहादुर झण्डै ५ बर्षदेखि परिवारको सम्पर्कमा छैनन् । बेखवर हुनु अगाडी उनले श्रीमतिलाई घर छोडेर जा भनेका थिए रे । “फोनमा बुवा(ससुरा) सँग कुराकानी गर्नुहुन्थ्यो । एकपटक मसँग कुरा गर्दा तँ मेरो घर छोडेर जा भन्नु भएको थियो, तर दुई छोरा छन्, तिनिहरुलाई लिएर म कहाँ जाउँ ?” उनले भनिन् । 

श्रीमान् धेरै बर्षदेखि बेखवर भएपछि उनको खोजखवर कसरी गर्ने भन्ने योगमायालाई थाहा पनि थिए । उनी एक न एकदिन श्रीमान् कसो घर नफर्केलान् भन्दै बाटो हेरेर बसिरहिन् । यहिबीचमा छोरा विरामी भयो । उनी छोरो बोकेर अस्पताल पुगिन् । त्यहि एकजनाले हराएका मान्छे खोज्न सघाउने संस्था नवलपरासीमा नै भएको भन्दै त्यहाँ गएर श्रीमानको खोजिका लागि निवेदन दिन भनेपछि उनलाई हुटहुटी लाग्यो । 

घरमा पुगेर ससुरालाई सवै बेलिविस्तार लगाइन् । जेठाजुले पनि बाबुलाई निवेदन दिन जान कर गरे । २०७२ बैशाख १३ गते, भूकम्पले धेरैको सातो लिएको थियो । तर योगमायाका लागि त्यो भन्दा ठूलो भूकम्प ५ बर्षदेखि मनमा गइरहेको थियो । त्यसैले भूकम्पको वास्ता नगरी बैशाख १३ गते विहान ७ बजे नै उनी पुगिन् कावासोतीमा रहेको सुचना तथा परामर्श केन्द्रमा हराएका पति खोजिदिने निवेदन बोकेर । त्यहाँ निवेदन हालिन्, मनमा केहि आशा पलायो श्रीमानको पत्तो लाग्ला की भनेर । 

बोधबहादुर कुवेतमै बेखवर भएपछि सासुससुरा र दुई छोराको पालनपोषण योगमायाकै काँधमा छ । उनी विहान ९ बजे निर्माण श्रमिकका रुपमा पाएको ज्यालादारी काममा पुगिसक्छिन् । त्यसअघि विहान उठेर खाना बनाएर बच्चालाई खुवाउनु र विद्यालय पठाउनु तथा बेलुकी फर्केर पनि घरधन्दा गर्नु उनकै जिम्मेवारी हो । दिनभरी ढुँगा बोकेर ज्यान थिलथिलो हुने गरेका कारण रातभरी सुत्न सक्दिनन् । जीउ पुरै सुन्निएको हुन्छ । तैपनि भोलीपल्टको दैनिकी उहि हुन्छ ।   

बोधबहादुर कुवेतको कुन कम्पनीमा काम गर्न गएका थिए भन्ने परिवारलाई थाहा छैन । तर उनले पहिले फोन गर्ने नम्वर ००९६५ ६० ९६ ४० ४५ हो । अहिले सो नम्वरमा नेपालबाट फोन गर्दा सम्पर्क हुन सक्दैन । यदि तपाई कुवेतमा हुनुहुन्छ भनें एउटी चेलीको यो आँशु पुछ्न पक्कै सहयोग गर्नुहुनेछ । 

यो तस्वीरमा देखिएका बोधबहादुर महतोलाई तपाईले कुवेतमा देख्नुभएको छ भनें परिवारलाई नेपालमा ९८११४२८१३६ मा खवर गरिदिनुहोला । साथै सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, कावासोतीको टेलिफोन नम्वर ०७८-५४०९५७ मा पनि जानकारी गराइदिन सक्नुहुन्छ । यसैगरी हाम्रा कुवेत सहकर्मी हरिकृष्ण न्यौपानेको सम्पर्क नम्वर ९६५-६५०४२२१६ मा पनि जानकारी गराइदिन सक्नुहुन्छ ।  

भिडियो हेर्नुहोस् 

 {source}
<iframe width=”540″ height=”310″ src=”https://www.youtube.com/embed/wQ5LoECfQvQ” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय