”अंकल हाम्री आमा कहिले घर आउनुहुन्छ ?” 

सुभाष कार्की, झापा 

सुदुर पूर्वी नेपालको झापा जिल्ला बैदेशिक रोजगारीमा जानेहरुको संख्याका हिसावले अग्रस्थानमा पर्ने जिल्ला मध्येको एक हो । पुरुष मात्र नभई महिला पनि यस जिल्लाबाट रोजगारीका लागि विदेशिएका छन् ।

त्यसरी गएका मध्ये घरेलु काम गर्न गएका महिला सवैजसो भारतको बाटो हुँदै लगिएका छन् । गरामनी ६ की सुनिता देवि गामी तिनै मध्येकी एक हुन् । तीन महिनाको भिसामा भारत हुँदै साउदी पुर्याइएकी उनी ६ बर्ष भयो घर फर्किएकी छैनन । उनले जाँदा नै बनाएर गएको बाँसको घर पनि अव त लड्न आँटिसक्यो ।

सुनिताका श्रीमान श्रीनारायण गामीका अनुसार उनले साउदी अरवमा पुगेपछि आफू काम गर्ने ठाउँमा आइपुगेको भन्दै भाइलाई खवर गरेकी थिइन् । साउदी पुगेको १५ दिनपछि श्रीमतिले फोन सम्पर्क गरेको सम्झदै उनी भन्छन् “गइसकेपछि एकपटक म आइपुगें भनेर भाइलाई फोन गरिन् । त्यसपछि फोनै आउन छोड्यो । उताबाट फोन गरेको नम्वरमा यताबाट फोन गर्यो, साहुले फोन उठाउँदैन ।”

एक छोरा, एक छोरी र श्रीमान्लाई यहाँ छोडेर कमाउन हिंडेकी सुनिताले आफू फर्किन चाहेपनि साहुले घर फर्किन नदिएको जानकारी परिवारलाई दिएकी थिइन् । त्यसैले उनको खोजिका लागि श्रीनारायण गामीले धेरै ठाउँमा निवेदन हालिसके । तर श्रीमतिलाई फर्काउन सकेका छैनन । यसले दुई बच्चालाई पनि हुर्काउँदै घरव्यवहार चलाइरहेका श्रीनारायणलाई समस्या छ । उनी भन्छन् “भनेको बेलामा काम गर्न पाइन्न । समयमा खाना पनि बनाउनै पर्यो । सवै आफैंले गर्नुपर्छ । बच्चा स–साना छन् ।”

श्रीनारायण मिस्त्रीको काम गर्छन् । त्यसैले उनको घर फर्किने समयको पनि ठेगान हुन्न । त्यसैले दुई बालबालिका हजुरआमासँग केहि पररहेको घरमा बस्छन् र राती बाबु फर्केपछि उनको साथ लागेर घर आउँछन् ।

हुन त आमा जाँदा छोरी रविना केवल डेढ बर्षकी थिएन् । तर पनि उनले आफ्नी आमाको तस्वीर हामीलाई छानिछानि देखाइन् । २ कक्षामा स्थानीय विद्यालयमा पढिरहेकी रविनालाई आमा विदेश गएको भन्ने थाहा छ । तर उनी आफ्नी आमा भारत गएको ठान्छिन् । सुनिताका छोरा सञ्जयलाई भनें आमा साउदी गएको थाहा छ ।

लजालु स्वभावका ११ बर्षिय सञ्जयलाई आमा विदेश गएपछि घरधन्दाको जिम्मेवारी पनि आइपरेको छ । स्थानीय विद्यालयमा चार कक्षामा अध्ययन गर्दै गरेका सञ्जय बाबु काममा जाने भएकाले उनले नभ्याउँदा खाना पनि पकाउँछन् ।

श्रीनारायणले श्रीमतिको खोजिका लागि धेरैतिर हारगुहार मागिसके । श्रीनारायण भन्छन् “नजिकमा भए पो खोज्नु । विदेशमा हुने कत्तिलाई भन्छु खोज है भनेर । तर उनीहरुको पनि आफ्नै काम हुन्छ । उनीहरुले पनि खोज्न सक्दैनन् ।”

सुनिता झापाको धाइजनकै एक स्थानीय दलाल मार्फत भारत हुँदै साउदी पुगेकी हुन् । त्यसैले उनी बेपत्ता भएपछि श्रीनारायणले तिनै दलाललाई दवाव दिएपछि उनले साउदीसम्म खवर पुयाएकी छिन् नेपालमा गत बर्षको बैशाखमा आएको विनाशकारी भूकम्पमा परेर श्रीनारायणको मृत्यु भएको र दुई बालबच्चको विचल्ली भएको । मनमा दया पलाएर साहुले श्रीमतिलाई घर फर्काइदेला की भन्ने आश छ श्रीनारायणलाई ।

हामी फर्किने बेलामा रविनाले आफूलाई विस्कुट खान धेरै मन लागेको बताइन् । हातमा हालिदिएको ५० को नोट समात्दै उनले सोधिन् ”अंकल हाम्री आमा कहिले आउनुहुन्छ ?” यो प्रश्नको उत्तर हामीसँग पनि छैन । हामीले ”नेपाल बोलाउँछौं, अव कहिले आइपुग्नुहुन्छ, तिमि राम्रोसँग पढ्दै गर है” भन्दा उनले बालसुलभ ढंगमा ”हुन्छ” को भाकामा मुन्टो हल्लाइन् ।

साउदीको रियाद आसपासमा काम गर्ने सुनिताका बारेमा तपाईले कुनै जानकारी पाउनु भएमा नेपालमा ९८४२६७६८५७ मा परिवारलाई खवर गरिदिन सक्नुहुन्छ ।

भिडियो स्टोरी प्रकाशन भएपछि उहाँ परिवारको सम्पर्कमा आएका कारण भिडियो हटाइएको छ । सम्पादक

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय