छोरीको विलापः “बुबा तपाई मलेसियाबाट नफर्किंंदा पढ्न पाइन”

अरविन्दकुमार चौधरी, सर्लाही, चैत्र १८

छिमेकमा विवाहकोे मिति तय हुँदै थियो । केटा पक्षका मान्छेहरुको खातिरदारी राम्रैसँग हुँदै थियो । तर त्यहि घरसँग जोडिएको दिनेश साहको घरको कुरा फरक थियो । दिनेशकी श्रीमति किरणदेवी साह हामीलाई देख्ने वित्तिकै आँशु झार्न थालिहालिन् ।

६ बर्षअघि मलेसिया गएका दिनेश ५ बर्षभन्दा लामो समयदेखि बेखवर छन् । गएको ८, ९ महिनासम्म फोनमा कुराकानी गर्ने गरेका दिनेश एकाएक बेखवर भए । उनी मलेसिया गएको चैत्रमा एक बर्ष पुग्दै थियो । माघमा उनले फोन गरे । अन्तिम पटकको त्यो कुराकानीमा उनले आफु काम गर्ने कम्पनीमा चोरी भएको, आफू सुरक्षा गार्ड भएका कारण दोष आफ्नो थाप्लोमा आइपर्ने भन्दै आफूले कम्पनी छोडेर भागेको बताएका थिए । दिनेशको त्यहि फोन नै अन्तिम हो ।

सर्लाहीको सदरमुकाम मलंगवाबाट झण्डै १५ किलोमिटर पूर्वमा पर्छ हरिपूर्वा गाउँ । यस गाउँबाट थुप्रै युवा कमाउन भनेर विदेश गएका छन् । सोेही सिलसिलामा कमाउन भन्दै घरमा ४ छोरी र श्रीमतिलाई छोडेर उडेका दिनेशले कमाएर त पठाउन सकेनन् नै उल्टै जाँदा लागेको ऋण तिर्न नसकेपछि पुरानो घर पनि परिवारले छोड्नुपर्यो । उनी जाँदा लागेको ९० हजार ऋणमा व्याज समेत जोडेर डेढ बर्षपछि डेढ लाख तिरेपछि साह परिवारको बचेको ३५ हजार मात्र हो । त्यो पनि चुँड्दा चुँड्दै सकियो । त्यसैले अधियाँमा लगाएको खेतीको थोरै उव्जनी, बाख्रा पाठा बेचेर जोगाउने रकम नै गुजाराको माध्यम हो । पुरानो घर छोड्नु परेपछि दुई धुर जग्गामा हालेको छाप्रोमा साह परिवारको गुजारा चलिरहेको छ ।

अन्तिम पटकको कुराकानीमा उनले आफूले पैसा पठाउँछु लिन मलंगवा जानु भनेका थिए । तर न उनले पठाएको पैसा आयो न त फोन नै । यसले परिवारलाई ठूलो मानसिक पीडा दिएको छ ।

हामीसँगको कुराकानीमा डाकोे छोडेर रोइरहेकी किरणले आफूलार्ई एकातिर घरपरिवार चलाउन त अर्कातिर हुर्केका छोरीहरुको विवाह गर्न मुस्कील परेको भन्दै पतिको खोजि गरिदिन आग्रह गरिन् । दुई छोरीको विवाह माइतीको सहयोगमा गरेकी उनी अरु  दुई छोरीको विहे गर्ने उपाय केहि नभएको भन्दै पतिलाई छिट्टो घर फर्किन आग्रह गर्छिन ।

पति हराएपछि आफूहरुलाई आफन्तले पनि असहयोग गरेको किरणको गुनासो छ । “कसैले पनि मलाई मद्धत गर्दैनन्, म एक्लैले के गरेर गुजारा चलाउनु ?” रुँदै उनले भनिन् “भगवानले देखिरहेको होला मेरो दुःख, मेरो पतिलाई छिटो घर फर्काइदे ।”

कम्पनी छोडेर भाग्नु नै श्रीमान्को गल्ती भएको किरणको ठहर छ । उनलाई आफ्ना श्रीमान उति निष्ठुरी थिए भन्ने पनि लाग्दैैन । “भगवानलाई नै थाहा छ के भयो, तर मेरो मनले उसलाई कि त जेलमा थुनेको छ अथवा कुनै घरमा थुनेर राखेको छ जस्तो लाग्छ ।”

दिनेश यसरी वेखवर भएपछि उनको खोजि गरिदिन परिवारले धेरैतिर हारगुहार गर्यो । बैदेशिक रोजगार विभाग देखि परराष्ट्र मन्त्रालय सवैतिर उनीहरुले निवेदन हालेका छन् । तर उनको कुनै अत्तोपत्तो लागेको छैन ।

दिनेश वेपत्ता हुनुको चौतर्फी समस्या आइपरेको छ साह परिवारमा । उनकी साईंली छोरी अर्चनाले १० कक्षासम्म त पढिन् तर आर्थिक समस्याका कारण त्यो भन्दा माथि पढ्न पाइनन् । बाबु घर फर्किदिए आफूले पढ्न पाउने भन्दै उनले बाबुुलाई चाँडै घर फर्किन आग्रह गरिन् । आमासँग पैसा नै छैन, कसरी पढाउन भन्नु ? उनले भनिन् हरेक रात बुवाको धेरै याद आउँछ, तर बुवा आउनुहुन्न । उनलाई यसरी बाबु बेपत्ता हुँदा साथिहरु, गाउँले सवैले हेपेको अनुभव छ ।

दिनेश काठमाडौंको फेमस ह्युमन रिसोर्सेज प्राली मार्फत मलेसियको जोहरबारु स्थीत वीन साइन नामको कम्पनीमा फ्याक्ट्री वर्करको भिसामा गएका थिए । तर त्यहाँ पुगेपछि आफूलाई सुरक्षागार्डको काम लगाइएको उनले बताएको परिवारको भनाई छ । उनको पासपोर्ट नम्वर २४५२७१८ हो ।

तपार्ईले यो तस्वीरमा देखिएका दिनेश साहलाई मलेसियामा कहिं कतै देख्नुभएको छ भनें परिवारलाई ९८०७८०७१०४ नम्वरमा अथवा सुरक्षित आप्रवासन, सुचना तथा परामर्श केन्द्रको टेलिफोन नम्वर ०४६ ५२१५०२ मा जानकारी गराइदिन सक्नुहुन्छ ।

यसैगरी मलेसियामा तपाईले जानकारी दिन चाहनुहुन्छ भनें हाम्रा सहकर्मी सुदिप निउरेको फोन नम्वर ०१६७१०५२३० मा फोन गरेर जानकारी गराइदिन सक्नुहुन्छ । तपाईको सहयोगले एउटा परिवारको ठूलो खुसी फर्किन सक्छ । के तपाई उनको खोजिमा मद्धत गर्नुहुन्छ ?

भिडियो हेर्नुहोस्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय