परदेशीएको छोरो घर फर्किने आश (भिडियो सहितको सामग्री)    

रामकुमार कर्ण, धनुषा 

पूर्व पश्चिम राजमार्गको ढल्केवरबाट अढाई किलोमिटर पश्चिममा पर्छ जमुनीवास गाउँ । गाउँमा पस्ने वित्तिकै उखुको झोलबाट सख्खर बनाउँदै गरेको तिख्खर मिठो बास्ना आयो । कुनै विद्यालयमा चर्को आवाजमा माईक बज्दैछ । अर्थात गाउँमा उत्सव छ ।

तर हामी त्यो उत्सव हेर्न त्यहाँ पुगेका थिएनौं । कमाउन भन्दै बैदेशिक रोजगारीका लागि मलेसिया गएका दुर्गा आलेको परिवार भेट्न हामी त्यहाँ पुगेका थियौं । बैदेशिक रोजगारीबाट फर्केर गाउँमै चेनता जगाउने काममा खटिएकी जानकीमाया तामाङले हामीलाई दुर्गा आलेको घरमा पुर्याइन् ।

बाटो पूर्वपट्टी एउटा सानो घर । हामी त्यहाँ पुग्दा दुर्गाकी आमा चन्द्रमाया खाना पकाउँदै थिइन् । दिदी केसमाया हाम्रै प्रतिक्षामा थियन् । कुराकानी सुरु भयो ।

दुर्गा झण्डै तीन बर्षअघि कमाउन मलेसिया उडेछन् । उता पुगेपछि साथिभाइको मोवाइलबाट आक्कलझुक्कल आफू सञ्चै रहेको खवर गरेका दुर्गा हाल सम्पर्कमा छैनन । यसले परिवारलाई चिन्तित तुल्याएको छ । दुर्गाकी दिदी केसमायाका अनुसार उनको भाइसँग कुराकानी नभएको दुईबर्ष वितिसक्यो । गएपछि एकपटक भाइटीकामा फोन गरेका दुर्गाले त्यसयता फोन गरेका छैनन् ।

राम्रोसँग बस्नुस् है आमा म कमाउन जान्छु भनेर हिंडेको कान्छो छोराले आफूहरुलाई नसम्झिएको देखेर आमा चन्द्रमायाको चित्त दुखेको छ । हामीसँगको कुराकानीकै क्रममा छोरो किन यसरी बेखवर भएर बसेको होला भन्ने प्रश्नमा रुँदै घरभित्र पसेकी बृद्धाले “उसले किन बाबुआमा यसरी विर्सिएको हो, खै आमा विर्सियो की, बाउ विर्सियो की?” भन्दै घुँक्क घुँक्क गरिरहिन् ।

भाइले आफू मलेसियाको पेनाङमा रहेको कुनै एक तार सम्वन्धि फ्याक्ट्रीमा काम गर्ने गरेको बताएको केसमाया बताउँछिन् । “यहि गाउँबाट थुप्रै मान्छे त्यहि मलेसिया गएका छन् । उनीहरु कसैसँग पनि उसको भेटघाट, कुराकानी हुन्न रे । हामीले यहाँबाट जाने सवैलाई दुर्गाको खोजी गर है भन्छौं, अहँ कसैले पनि भेट्यौ भन्दैनन्” केसमाया भन्छिन् ।

दुर्गालाई मलेसिया पठाउँदा झण्डै दुईलाख ऋण लिएको थियो परिवारले । त्यो ऋण आमावुवाले यसबीचमा खेतीको आम्दानीले तिरे । यहिबीचमा केसमायाका विवाह भयो । त्यसका लागि लिएको दुई लाख ऋणको व्याज बढिरहेको छ । “छोराले कमाएर पठाउला र तिरौंला भनेको, तर फोन समेत नगरी बस्दा साह्रै मन पोल्छ” आमा चन्द्रमाया भन्छिन् ।

परदेशको ठाउँ कमाई भएन की भन्ने पनि लाग्छ आमालाई । त्यसो भएपनि घर फर्किन उनको आग्रह छ । “नेपालमै कतिले गरिखाएका छन्, उसले पनि गरिखान सकिहाल्छ नी” उनी भन्छिन् ।

तपाईले मलेसियाको पेनाङमा कार्यरत भनिएका दुर्गा आलेका बारेमा कुनै जानकारी पाउनु भएको छ भनें कृपया सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रको फोन नम्वर ०४१ ५३०४३७ मा जानकारी गराइदिनु हुन आग्रह छ ।

प्रभातकुमार मिश्रको सहयोगमा                                   

भिडियो स्टोरी प्रकाशन भएपछि उहाँ परिवारको सम्पर्कमा आएका कारण भिडियो हटाइएको छ । सम्पादक

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय