मेघराज सापकोटा- ‘पत्रकारको कलम निरन्तर चलिरहन्छ, रोकिदैन’ केही समय पहिले युएईका एक नेपाली पत्रकारले रिसको झोकले फेसबूकमा यस्तै स्ट्याटस लेखे । यी पत्रकारले यस्तो लेख्नुको कथा बेग्लै छ, समय आए पछी पर्दा खुल्दै जानेछ ।
हुन त युएईमा कोही पनि नेपाली पत्रकार छैनन वा भनौ कोही पनि पत्रकार नेपाली छैनन । जो पत्रकार छन ती सबै पत्रकारिता पेशाका लागि यहाँको कानुनले अनुमती प्राप्त हैनन । अर्कै कम्पनीको कामदारको भिसामा रहेर पत्रकारको काम गर्नु अबैध हो । तर पनि पत्रकारले खाडीमा बसेर पत्रकारिता गरेकै छन ।
औंलामा गनिने बाहेक प्रायले नि:शुल्क खबर सम्प्रेशण गर्छन् । यस् अर्थमा यो उनीहरुको पेशा हैन, शोख हो । शोख पाल्नु बैध हो कि अबैध हो बहसको बिषय बन्ला । जे जसो भए नि खाडीका गतिबिधी खाडीमा हुने र नहुने सबैले थाहा पाउने गरेकै छन ।
पत्रकारहरु सकेसम्म सत्य र तथ्य सम्प्रेशण गर्ने जमर्को गर्छन् । परेको पनि आँफै भोग्छन । देशपरदेशकै थर्ड अम्पायर स्तम्भकार चर्चीत ढुङगेलले पनि कतार छोडेर मात्र मुख खोले । त्यसका कारणहरु कतारमा जे हुन यहाँ पनि फरक त अवश्य छैन । बसुन्जेल मुख बन्द गर्नै पर्दछ ।
अवस्था जे जस्तो भए पनि देशपरदेशले गरेको प्रस्ताव स्वीकार गरियो । अनुरोध सुनील दाईले गरे पनि त्यो अनुरोध पाठकका थिए भन्ने मैले बुझेको छु । आज देखी मेरो ब्लग निरन्तर साप्ताहिक स्तम्भको रुपमा पाठकहरु समक्ष पस्कनेछु । तितो किन नहोस् सत्य लेख्ने प्रण गर्दैछु, परेको बेहोँरुला ।
यो अरब हो । अरबमा जोखी जोखी हेर्नुपर्छ । जोखी जोखी बोल्नु पर्छ । जोखी जोखी लेख्नु पर्छ । जता पायो त्यता, जसलाई पायो उसैलाई हेर्न पाईन्न । बोल्न त झन पाईन्न । लेख्न पनि मिल्दैन । लेख्न कती मिल्ने कती नमिल्ने बारेमा पछी बोलौला, तर पनि बुझी राख्नुस्, मिल्दै मिल्दैन भने हुन्छ । शब्द शब्दमा डर छ । यती हुँदा हुँदै पनि लेख्न छोड्या हैन । यस् सम्बन्धी कुनै दिन मौका मिले इतिब्रितान्त अक्षरहरुमा पोखौला ।
गधालाई भारी थोरै भए गधा रुन्छ भन्थे । मास्टरले गाली गर्नुपरे होस् या जन्म दिने बा-आमाले गाली गर्नुपरे होस्, सबैलाई बहुत प्रिय लाग्ने अप्रिय शब्द ‘गधा’ कसरी रुन्छ होला भन्ने जिज्ञासा खुब लागेको थियो ।
कहिलेकाहिं साथीहरु बिचमा मायाले जिस्केर पनि गधा भनेर सम्बोधन गर्छन् । केटीहरुले आपसमा जिस्केर गधैनी पनि भन्छन । सानो हुँदा जाँतो बनाएर बेच्नेले गधालाई जाँतो बोकाएर गाउँघर डुलेको एउटा दुइटा गधा बाहेक नेपालमा धेरै गधाहरु देखेकै थिएन ।
नेपालमा कम देखिएका यी गधाहरु अरबमा खुब देखिए । नेपालमा भए यिनीहरु जङगली हुने थिए । किनभने यी गधाहरु घरपालुवा हैनन । अरबमा जङगल नै छैन । मरुभुमीमा खै के खाएर हो मोटाएर फुट्ला जस्ता यी गधाहरु रम्बले गधा हुन । मरुभुमीको पहेंलो जस्तो देखिने बालुवालाई रम्बल भनिन्छ । यी गधाहरु यिनै रम्बलमा बास बस्ने हुनाले रम्बले गधा हुन ।
यी गधाहरु मानिस जस्तै हुलमा बाँधिएर हिड्छन । कथम कदाचित बाटो बिराए बाहेक एक्लो गधा प्राय कम नै देखिन्छ । यिनीहरु सामुहिकता विश्वाश गर्छन् । कतै बाटोमा तपाईंले एउटा गधालाई जिस्क्याउनु भो भने सबै गधाहरुले कान ठाडो पारेर हेर्नेछन ।
अहिलेसम्म गधाहरुले झगडा गरेको पटक्कै देखेको छैन । मान्छे मारेको पनि सुनेको छैन । कती इमान्दार हुँदा रहेछन अरबी गधाहरु त । बिशाल रम्बल चाहर्दा जे जे खान हुने त्यही खान्छन । खानु नहुने त हेर्दा पनि हेर्दैनन । हाम्रा गधाहरु खान हुने खान नहुने सब हसुर्छन । अरबमा यती इमानी गधाहरु छन नेपालमा चाँही नाम किन काढेका होलान भनेर धेरै सोचेँ, अहिलेसम्म उत्तर पाएको छैन ।
नेपालमा बिदेशी भने पछी ‘वाह-वाह’ हुन्छ यहाँ भने ‘छ्या-छ्या’ हुँदोरहेछ । मान्छे मात्रै हैन, बिदेशी कुकुर, बिदेशी बिरालो, बिदेशी गाई, बिदेशी भैंसी सबको लुछाचुडी हुन्छ नेपालमा । यहाँको स्थिती अली फरक छ ।
अरबका यी गधाहरु बाहेक केही गधाहरु आयातीत रहेछन । बिदेशी गधाहरु । यी गधाहरु बडो गज्जबका छन । अलग अलग चरित्रका पनि छन । गधाहरुको बर्गिकरण नै त नगरौ, तर शुरु आँफैबाट गर्छु । आँफै (गधा) बाट शुरु गरे पछी त अरु गधाबाट नारा जुलुश नहोला कि भनेर हो । त्यसो त अरबमा जुलुश निकाल्न मनाही छ ।
नेपालमा कामको भारी कम भो । काम नभए पछी पैसा कम भो । पैसा कम भए पछी माम पनि कम हुने भो । अनिकालमा यो गधा कती रुनु ? आफु रोएर अरु गधालाई कती हसाउनु ? यो गधा पनि अरब टाप कस्यो । अहिले यो गधा डिलमा बसेर अरु गधाहरुको गतिविधि नियाल्दै छ ।
नेपालमा काम कम भएर म (गधा) जस्तै अन्य गधाहरु पनि अरबमा भासिए । यी गधाहरु अरब आउँदा आफ्नो चरित्र बोकेरै आए । दिल्लीमा पानी पर्दा काठमाडौमा छाता ओढ्ने पुरानो कथनलाई यहाँका नेपाली गधाहरुले उल्ट्याइ दिएका छन ।
आजकल काठमाडौमा पानी पर्दा दुबईमा छाता ओढ्ने गर्छन् । काठमाडौमा बुढो गधा किन नहोस् दुबईमा बसेर तन्नेरी देख्छन । रोगी गधा किन नहोस् दुबईमा बसेर निरोगी देख्छन । केही गधाहरु १० बर्षे युद्द छाडेर रम्बलमा उभिएका छन । परिवर्तनका मुद्दाहरु ज्युको त्यू छन, गधाहरु साम्यवाद लेख्छन । कोही मुर्दाघाटबाट राजतन्त्र ब्युताउने सपना देख्ने गधाहरु पनि छन । काठमाडौमा ठुला गधाले खाए दुबईमा डकार्ने साना गधा पनि धेरै छन ।
अरबका यी गधाहरु दुनोको सोझो गर्छन् । ट्रान्जिटमा आउने नेपाली ‘मन्त्री गधा’ का अगाडिका पाउ टक्र्याउन दगुरेर जाने होस् या कुनै न कुनै बहानामा दुबई चर्ने ठुला नेता गधाहरुलाई तेल लगाउन एअरपोर्ट पुग्छन यी नेपालका बिदेशी गधाहरु । बेला बखत अबुधाबी गोठमा हुने सोमरसको समारोह पार्टीमा यिनै गधाहरु चीयर्स गर्छन् । २ पेग व्हिस्की सँगै ३ लाख हामी गधाहरुका समस्याहरु भुसुक्कै !
भन्छन नि, सँस्कार घरबाट सिक्ने कुरा हो रे । घर पछी स्कुल । स्कुल पछी समाज । अनी देश रहेछ सँस्कार सिकाउने । अरबमा हामीले आफ्नो देशको सँस्कार छोड्न सकेनौ । राम्रोलाई राम्रो भन्न सकेनौ । नराम्रो लाई नराम्रो भन्न सकेनौ ।
अरबका स्थानीय गधाहरुले अरु गधाको रगत चुस्दैनन । हुण्डीको ब्यापार पनि गर्दैनन । सुनको तस्करी त झन उनीहरुलाई थाहै छैन । आयतीत यी गधाहरु भने हुण्डीको ब्यापार गर्छन् र देशको रगत चुस्छन । मान्छे बेच्छन र मान्छेकै रगत चुस्छन । खोल ओढेका छन राजनितीको । खोल ओढेका छन समाजसेवीको । के गर्ने लोकल गधाहरु नाङगा भएर इज्जतिला छन । आयतीत गधाहरु ब्राण्डेड कपडा ओढेर पनि नाङगा छन ।
यिनीहरुले देशमा युवाले शासन गरोस कहिल्यै भन्न जानेनन । स्वस्थ नेता भए स्वस्थ जनता हुने कहिलै देखेनन । हामी गधाहरुलाई शान्तीको कुरा कहिल्यै सिक्न दिएनन । न ठुला गधाहरुले इज्जत राख्न सके न त सानाले । साना गधा दिन दहाडै जाँड धोकेर हल्ली खल्ली गर्ने कम छैनन । लोग्नेलाई मलेसिया धपाएर अरबमा नाठो खेलाउने गधैनीहरुको बयान गरी साध्य छैन ।
अरब चर्ने गधे नेतालाई हाम्रो बारे बोल्ने फुर्सैदै छैन । ठुला ठुला महल देखेर मक्ख पर्ने यीनलाई महलका इँट बोक्ने बिचरा साना गधाहरुको ख्यालै छैन । श्रममा दोहोरो सम्झौता गर्ने फुर्सद छैन । मुर्दा बाकसमा अरबका मृत गधा आउँदा पनि मन दुख्दैन । घुस र कमिसनमा लिप्त गधाहरुको निक्रिस्टता बयान गरी साध्यै छैन ।
अनी उही गधे नेता । उही गधे मन्त्री । सलाम ठोक्नै पर्ने । नेपालमा रहे आन्दोलन गर्लान, बिदेश गए यस्तै गर्लान । हामी गधा यी खा !
यो पनि पढ्नुहोस् युएईमा १४ बर्षसम्म कहिल्यै नदेखेको अलौकिक स्वर्ग
कतारमा दर्शक राजनीति ! किन, कसले र कसरी ल्याइदिन्छन् दर्शक ?