विदेश मोहले गर्दा ………….

बागलुङ – लेखानी ३ का ७० वर्षीय भागीरथ कँडेललाई जन्मे हुर्केको घर र गाउँ उराठ लाग्न थालेको छ । छोराछोरी विदेशिन थालेपछि गाउँका अधिकांश घर भत्केको र खेतबारी बाँझिएपछि उनलाई उराठ लागेको हो । कँडेल दम्पतीलाई अमेरिकामा रहेका छोराबुहारीले खानलाउन पुर्‍याएका छन् ।

‘छिमेकी ५० घर रित्ता भइसकेपछि आफ्नो खानेलाउनेभन्दा समाजै नभएकामा चिन्ता लाग्छ,’ उनले भने । लेखानी ३ कै टीकानिधि कँडेलको गत वर्ष निधन भयो । उनका चार छोरामध्ये तीन युरोपमा छन्, बाँकी एक भाइ पनि विदेशिने तयारीमा राजधानीमा छन् । घरमा टीकानिधिकी पत्नी एक्लिएकी छन् ।

पृथलाल कँडेलका पनि छोराबुहारी अमेरिका गएपछि दम्पती मात्र घर कुरेर बसेका छन् । यस्तै व्यथा लेखानी २, ३ र ५ वडामा बढिरहेको छ । घर रुँगेर बसेका वृद्ध दम्पतीले खेतीपाती र सरसफाइ गर्न नसक्दा भत्किन थालेको लेखानी प्राविका प्रधानाध्यापक भीमप्रसाद कँडेलले बताए । ‘विदेश मोहले गाउँको सयौं रोपनी जमिन पनि बाँझिएको छ,’ उनले भने, ‘युवा विदेशिएपछि श्रीमतीले छोराछोरी लिएर बजार झर्ने क्रमले पनि समस्या जटिल बन्दैछ ।’

रित्ता घरका छिमेकीलाई पनि काम गर्ने जाँगर मरेको अनुभव उनको छ । ‘गाईवस्तु पाल्न छाडेपछि रूख बढेका छन्, बाँस सुकेको छ,’ उनले भने, ‘खरबारीको घाँस नकाटेरै फुलेर उराठलाग्दो भएको छ । गाउँमा बस्न पनि डर लाग्नेजस्तै भयो ।’

दशकअघि एक मुठी घाँसका लागि झगडा गर्नेहरूको खरबारी पूरै सुकेको छ । विद्यालयमा बालबालिकाको संख्या पनि घटन थालेको छ । गत असारमा लेखानीमा ल्याइएको कुलो भत्किंदा बनाउने युवा नपाएरै सयौं रोपनी जमिन बाँझिएको थियो ।

शिक्षक र केही गैरसरकारी संस्थामा काम गरेकाको परिवारमात्र स्थायी रूपमा गाउँमा रोकिएको स्थानीय कृष्णप्रसाद निउरेले बताए । ‘बाबुआमा छन् भनेर घर छाडन नसकेका फाट्टफुट्ट तन्नेरीले गाउँ धानिएको छ,’ उनले भने । उनका अनुसार विदेश नगएका पनि कतिपय परिवार खेतबारी बाँझै छाडेर चितवनलगायत स्थानमा झरेका छन् ।

युवा अभावमा दशकअघि गाउँमा खुलेको नेपाली हाते कागज उद्योगले पनि राम्रो उत्पादन दिन सकेको छैन । मनग्ये कमाउन नसकिने, सूचना र सञ्चारका साधन अभाव, स्वास्थ्योपचारको समस्यालगायत कारणले बसाइँसराइ तीव्र भएको स्थानीय दिलकमल छेत्रीले बताए । ‘गाउँघरमै रोजगारीको अवसर छ ।

बस्न सकिन्छ भन्ने नबुझेर पनि रित्तिने क्रम बढेको हो,’ उनले भने, ‘कृषि, पशुपालन र साना उद्योगको संरक्षणमा चासो बढे पलायन कम हुन्थ्यो कि । तर कसले पो बुझाइदिने ?’ लाखौं खर्चेर युवा अमेरिका र युरोपेली देशमा जाने क्रम बाक्लिएको उनले बताए । बागलुङ उद्योग वाणिज्य संघले एक गाउँ एक उत्पादन कार्यक्रम सुरु गरेको छ ।

कान्तिपुरबाट

यो पनि पढ्नुहोस् 

एक नेपाली ९ महिना जेलमा कष्टकर जीवन काटेर नेपाल फर्किए

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय