सीता पन्थ
हरेक वर्ष डिसेम्बर १८ तारिखका दिन अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइन्छ । यो दिन संसारभरका आप्रवासी श्रमिकहरूको सम्मान, अधिकारको संरक्षण र उनीहरूको योगदानको कदर गर्दै मनाइन्छ । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसले संसारभरका श्रमिकहरूको योगदानको कदर गर्दै उनीहरूको अधिकारको रक्षाका लागि सबै पक्षलाई सचेत गराउँछ

नेपालमा आप्रवासन (वैदेशिक रोजगारी र अन्य उद्देश्यका लागि विदेश जाने प्रक्रिया) एउटा प्रमुख सामाजिक, आर्थिक र विकासको मुद्दा बनेको छ । नेपाली युवा जनशक्तिको ठूलो हिस्सा रोजगारीको खोजीमा विदेश गइरहेको छ, जसले देशको आर्थिक स्थिति, सामाजिक संरचना र पारिवारिक जीवनमा विभिन्न प्रभाव पारिरहेको छ ।

आप्रवासनको मुख्य कारण रोजगारीको खोजी, आर्थिक अवसर र जीवनस्तर उकास्न गरिने प्रयास हो । तर, यो यात्राले उनीहरूका लागि अवसरका साथै चुनौती र जोखिमसमेत ल्याउँछ । नेपालजस्ता देशहरूमा वैदेशिक रोजगारवाट प्राप्त रेमिट्यान्स अर्थात विप्रेषणले आर्थिक कृयाकलापको महत्वपुर्ण हिस्सा ओगटेको छ । आप्रवासनले अवसरका ढोका खोल्दै नेपाली अर्थतन्त्रलाई सशक्त बनाएको भए पनि यससँगै चुनौतीहरूको ठूलो चाङ पनि रहेको छ ।

वैदेशिक रोजगारीका लागि नेपालीहरुको प्रमुख गन्तव्य साउदी अरब, कतार, युएई, मलेसिया, दक्षिण कोरिया र युरोपका देशहरू हुन् । वैदेशिक रोजगारका लागि आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति (पुनः श्रम स्वीकृति समेत) लिई वैदेशिक रोजगारीमा गएका ७ लाख ४१ हजार २९७ जना श्रमिकले नेपालमा बस्ने परिवारको सुनौलो भविश्यको परिकल्पना गर्दै पठाएको रू. १४ खर्ब ४५ अर्ब ३२ करोड विप्रेषणले आप्रवासी श्रमिकहरूको घर परिवार मात्र नभएर नेपालको अर्थतन्त्रमा ठूलो सहयोग गरेको छ ।

तर वैदेशिक रोजगारमा जानेहरुले चकोै लागत शुल्क तिर्नु परिरहेको छ । खाडी मुलुकहरु (साउदी अरब, कतार, युएई लगायत) र मलेसिया जस्ता देशमा रोजगारीका लागि जाँदा नेपालीले कामको प्रकृति अनुसार २ लाख देखि ५ लाखसम्म लगानी गरिरहेको अवस्था छ भने युरोय जाने व्यक्तिहरुले १० लाख देखि २५ लाखसम्म लगानी गरि वैदेशिक रोजगारका नाममा ठगिएर अवस्था जिल्लामा दर्ता भएका निवेदनहरुमा स्पस्ट देख्न सकिन्छ । यसले उनीहरुले विदेशमा कमाउने ठूलो हिस्सा लगानीमा गइरहेको छ । कतिपय त कमाउन नसकि रित्तो हात स्वदेश फर्किनु पर्दा समस्या अझ धेरै खेप्न बाध्य छन् ।

अधिकांश आप्रवासी श्रमिकहरू कम दक्ष श्रमिकका रूपमा विदेश गइरहेका छन् । यसरी दुःख गरेर विप्रेषण भित्रियाएका श्रमिक एवम श्रमिकका परिवारले समाजिक लान्छना एवम परिवारको सदस्य गुमाएर एक्लिदो अवस्था सगैँ ठुलो सामाजिक मुल्य पनि चुकाउन बाध्य छन् । वैदेशिक रोजगारी र शैक्षिक आप्रवासनका कारणले नेपालमा भएका वृद्ध अवस्थाका सदस्यहरु एक्लिदो अवस्था छन् । नेपाली संस्कार अनुसार परिवारको सदस्य मृत्यु हुँदा समयमा काजकिरिया गर्न पनि नपाउने अवस्था छ । पछिल्लो समय उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरूको संख्या पनि तीव्र रूपमा बढेको छ । यसरी उच्च शिक्षाका लागि मुख्यगरी अष्ट्रेलिया, अमेरिका, जापान र युरोपका विभिन्न मुलुकहरुमा जाँदा उनीहरु स्वदेश फर्किने सम्भावना अत्यन्त न्यून हुन्छ । उनीहरुको आप्रवासन स्थायी हुन जाँदा यता नेपालमा रहेका उनीहरुका वृद्ध बाबुआमाको जीवनयापन कठिन भएको छ ।

किन नेपाली विदेश गइरहेका छन् त ? नेपालमा रोजगारीको अवसर कम हुनु मुख्य कुरा हो । कमाउँदै पढ्दै गर्ने अवसरको कमि, उच्च वेरोजगारी, श्रम प्रतिको सम्मान नहुनु र उन्नत जीवनस्तरको लालसा युवाले नेपाल छोड्नुका मुख्य कारण हुन् । यसैगरी देखासिकी, सामाजिक दवाव नेपालबाट युवा विदेशिनुका थप कारण हुन् । तर वैदेशिक रोजगारमा गएर फर्केकाहरुले आर्जन गरेको सीप भनें नेपाल फर्केपछि अत्यन्त कम मात्रामा सदुपयोग भइरहेको छ । यसमा सम्वन्धित सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।

नेपालमा आप्रवासनका मुख्य चुनौतिहरु ठगी ,श्रम शोषण एवम जोखिमपुर्ण कार्य वातावरण हो जसमा सामान्य मानव अधिकारको प्रत्याभुति हुन नसक्ने कार्यस्थल दुर्घटना एवम मृत्यु हुनु । यसले निम्त्याएको सामाजिक विखण्डन, साथै सीप र दक्षताको अभाव, बौद्धिक पलायनले गर्दा नेपालमा दक्ष जनशक्तिको अभाव देखिनु र आप्रवासीमा देखिएको मानसिक तनावले आत्महत्या जस्ता घटनाले गम्भीर चुनौती खडा गरेको छ । सुरक्षित आप्रवासन र स्वदेशमै रोजगारीको अवसरले मात्र नेपाल समृद्ध बन्न सक्छ ।

यसबर्ष सुरक्षित आप्रवासनको आधार, सूचना र सीप सहितको रोजगार भन्ने मुल नाराका साथ नेपाल सरकारले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाई रहँदा आप्रवासन दिवस डिसेम्वर १८ मा मात्र नभएर आप्रवासनका चुनौतीहरूको समाधानका लागि संघ, प्रदेश र स्थानीय तहले आफ्नो आफ्नो भुमिका अनुरुप यी विषयमा काम गर्नुपर्ने आवश्यकता देखिन्छ ।

ठगीरहित सुरक्षित आप्रवासनको सुनिश्चितताका लागि वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन प्रभावकारी श्रम कानुन र अनुगमन प्रणाली लागू गर्नुपर्छ । ठगी रोक्नका लागि बिचौलिया र गैरकानुनी कार्य गर्ने म्यानपावर कम्पनीमाथि कडा कारबाही समयमा नै गरिनुपर्छ । स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्न उद्योग, कृषि, पर्यटन र सूचना प्रविधिजस्ता क्षेत्रहरूको विकास गर्दै स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्छ । साथै वैदेशिक रोजगारी बाध्यता नभएर अवसरको रुपमा लिने वातावरण वन्नु पर्छ जसका लागि विदेश जाने श्रमिकहरूलाई सीपमूलक तालिम र प्राविधिक ज्ञान प्रदान गरी उच्च तलब हुने रोजगारीमा पठाउनुपर्छ । विदेशबाट कमाएर पठाएको रकमलाई उत्पादनसँग जोड्ने खालका कार्यक्रमहरु ल्याईनु पर्छ ।

यसैगरी विदेशमा रहेका श्रमिकहरूको सुरक्षा र मानसिक स्वास्थ्यका लागि आवश्यक संरचना र सहकार्य विस्तार गर्नुपर्छ । आप्रवासी श्रमिक दिवसले सवैलाई नेपालमा आप्रवासनले देशको आर्थिक उन्नतिमा महत्त्वपूर्ण योगदान पुर्याइरहे पनि यससँगै गम्भीर चुनौतीहरू पनि देखापरेका छन् भन्ने विषयमा समयमा सोचिनु पर्दछ । ठगी, शोषण र सामाजिक विखण्डनजस्ता समस्यालाई सम्बोधन नगरी दीर्घकालीन समाधान सम्भव छैन । सूचनामा पहुँच, सीप विकास र स्वदेशमा रोजगारीका अवसर सिर्जनाले मात्रै नेपाली युवाको उज्ज्वल भविष्य सुनिश्चित गर्न सकिन्छ । त्यसो हुन सकेमा सुरक्षित आप्रवासनको आधार, सूचना र सीप सहितको रोजगार भन्ने आप्रवासी श्रमिक दिवसको मुल नाराले सार्थकता पाउने छ ।

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय