काठमाडौं । साउदी अरेबियाको एक अस्पतालको शैय्यामा पल्टिरहेका श्रवण साह रौनियारका दुवै खुट्टा प्लास्टरले बेरिएका थिए। ठूलो फलामको बीम फोर्कलिफ्टबाट खसेर उनका खुट्टा च्यापिएपछि उनी कम्तीमा उचित क्षतिपूर्ति पाइएला भन्ने आशामा थिए। आखिर उनी संसारकै सबैभन्दा धेरै नाफा कमाउने कम्पनीमध्ये एक, साउदी अराम्कोको परियोजनामा काम गरिरहेका थिए।
नेपालका आप्रवासी श्रमिक रौनियार अराम्कोका प्रत्यक्ष कर्मचारी भने थिएनन्। खाडी मुलुकमा रहेका लाखौं अरु आप्रवासी श्रमिकझैं उनी एउटा सानो श्रमिक आपूर्ति कम्पनीमार्फत काम गर्दथे । उक्त कम्पनीले उनलाई इटालियन कम्पनी सायपेमले व्यवस्थापन गरिरहेको अराम्को परियोजनामा पठाएको थियो।
रौनियारका अनुसार दुर्घटनापछि सायपेमका कर्मचारीहरू अस्पतालमा उनलाई भेट्न आए। उनीहरूले फूल र चकलेट ल्याए, तर सँगै कठोर सन्देश पनि दिए, “क्षतिपूर्तिको कुरा हामीसँग नगर्नुहोस्। तपाईं हाम्रो प्रत्यक्ष कर्मचारी होइन। आफ्नो रोजगारदातासँग कुरा गर्नुहोस्।”
तर श्रमिक आपूर्ति कम्पनीले पनि आफूलाई पन्छाउन खोजेको रौनियारको आरोप छ। उनका अनुसार कम्पनीका मानिसहरू अस्पतालमै आएर धम्क्याउन थाले। “घर फर्क, नत्र मारिदिन्छौं। सडकमा फालिदिन्छौं, त्यसपछि तिमीलाई खाना र बस्न ठाउँ कसले दिन्छ ?” उनीहरूलाई उद्धृत गर्दै रौनियारले बताए।
रौनियारले हार मानेनन्। उनले आफ्नो करार र साउदी कानुनअनुसार पाउनुपर्ने क्षतिपूर्तिको माग जारी राखे। तर दुर्घटनाको तीन साताभन्दा कम समयमा श्रमिक आपूर्ति कम्पनीका कर्मचारीहरूले आफूलाई “जबरजस्ती” विमानस्थल लगेर नेपाल पठाएको उनको दाबी छ।
सायपेमले भने रौनियार घाइते भएको पुष्टि गर्दै उनको “पूर्ण स्वास्थ्य उपचारको व्यवस्था गरिएको” जनाएको छ।
रौनियारलाई आफ्नो अवस्थाको जिम्मेवारी अराम्कोले पनि लिनुपर्ने विचार छ । “अराम्को सम्झिँदा मलाई रिस उठ्छ। अरू कम्पनीबाट कामदार ल्याएर काम गराउँछ भने उनीहरूको अवस्थाप्रति ध्यान दिनु पर्दैन र ? त्यो उनीहरूको पनि जिम्मेवारी हो,” उनले भने।
रौनियारको कथा मानवअधिकार संस्था फेयर स्क्वायरले सार्वजनिक गरेको प्रतिवेदनमा समेटिएका २३ श्रम अधिकार उल्लंघनका घटनामध्ये एक हो। ती घटनाहरू साउदी अरेबियामा अराम्कोका ठेकेदार तथा उपठेकेदार कम्पनीमा कार्यरत श्रमिकसँग सम्बन्धित छन्।
प्रतिवेदनले अराम्कोको आपूर्ति शृंखलामा रहेका आप्रवासी श्रमिकहरू “गम्भीर सुरक्षा र स्वास्थ्य जोखिममा रहेको तथा दुर्घटना वा मृत्यु भएमा क्षतिपूर्ति दाबी गर्न ठूलो कठिनाइ सामना गर्नुपरेको” निष्कर्ष निकालेको छ।
फेयर स्क्वायरसँग कुरा गरेका श्रमिकहरूले अत्यधिक गर्मीमा काम गर्नुपरेको, १९ घण्टासम्मको लामो ड्युटी गर्न बाध्य भएको तथा “झुपडीजस्तो आवास” मा राखिएको आरोप लगाएका छन्।
फेयर स्क्वायरका निर्देशक निक म्याकगीहानले भने, “अराम्कोको स्पष्ट जिम्मेवारी यी श्रमिकहरूको सुरक्षा गर्नु हो। उसले साउदी अरेबियाभर रहेका सयौं हजार श्रमिकसम्म पुग्ने मापदण्ड तय गर्न सक्ने प्रभाव राख्छ। तर यसको आपूर्ति शृंखलामा देखिएको बेवास्ताले अराम्कोले आप्रवासी श्रमिक सुरक्षालाई साउदी राज्यले जत्तिकै गम्भीर रूपमा मात्र लिएको देखाउँछ।”
यी निष्कर्षहरू विशेष अर्थपूर्ण छन्, किनभने अराम्को विश्वकै सबैभन्दा धनी, नाफामुखी र प्रभावशाली कम्पनीमध्ये एक हो। साउदी अरेबियाको राष्ट्रिय तेल कम्पनीका रूपमा यसले सरकारको कुल आम्दानीको झण्डै दुईतिहाइ हिस्सा उपलब्ध गराउँछ। करिब १.७ ट्रिलियन डलर बजार मूल्य भएको अराम्को आम्दानीका आधारमा विश्वको चौथो ठूलो कम्पनी हो।
अराम्को केवल साउदी अर्थतन्त्रको आधार मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छवि सुधार्ने अभियानको पनि अगुवा बनेको छ। विशेषगरी खेलकुद क्षेत्रमा, जहाँ यो फिफाको मुख्य प्रायोजकमध्ये एक हो, यस वर्षको विश्वकपभर यसको नाम व्यापक रूपमा प्रचार हुनेछ।
अराम्कोमा ७६ हजारभन्दा बढी कर्मचारी कार्यरत भए पनि वास्तविक श्रमिक संख्या धेरै ठूलो छ। हजारौं ठेकेदार र उपठेकेदारमार्फत कार्यरत अधिकांश श्रमिक दक्षिण एसियाली आप्रवासी हुन्। उनीहरूको नाम वार्षिक प्रतिवेदनमा नदेखिए पनि कम्पनीका संरचना निर्माणदेखि पेट्रोल ढुवानीसम्मका कठिन र जोखिमपूर्ण काम उनीहरूले नै गर्छन्।
यति ठूलो श्रमिक आपूर्ति शृंखलाले अराम्कोलाई आफ्नो सम्पूर्ण कार्यबलप्रतिको जिम्मेवारीबाट मुक्त गर्दैन। संयुक्त राष्ट्रसंघको व्यवसाय तथा मानवअधिकारसम्बन्धी मार्गदर्शक सिद्धान्तअनुसार कम्पनीहरूले “आफ्नो सम्पूर्ण सञ्चालन प्रक्रियाभर मानवअधिकार उल्लंघन रोक्नुपर्ने” दायित्व हुन्छ।
अराम्कोले पनि आफ्नो वेबसाइटमा भनेको छ, “हामी हाम्रो कार्यबल र समुदायलाई सहयोग तथा सशक्त बनाउन प्रतिबद्ध छौं। कर्मचारी, उनीहरूका परिवार र ठेकेदारहरूको सुरक्षा तथा कल्याण हाम्रो रणनीति र सञ्चालनको मुख्य प्राथमिकता हो।”
हाल रौनियार नेपालको दक्षिणपूर्वी क्षेत्रमा भाडाको सानो कोठामा जीवन बिताइरहेका छन्। डाक्टरहरूले उनको दाहिने खुट्टाको हड्डी राम्रोसँग नजोडिएको र थप शल्यक्रिया आवश्यक पर्न सक्ने बताएका छन्। तर उनीसँग उपचारका लागि पैसा छैन। “हिँड्दा खुट्टा दुख्छ। भारी सामान उठाउन सक्दिनँ। खुट्टा नभाँचिएको भए कतै काम गर्न सक्थें, तर अहिलेको अवस्थामा सम्भव छैन,” उनले भने।
दुर्घटनाअघि पनि साउदीमा उनको अवस्था कठिन थियो। उनका अनुसार १० घण्टाको ड्युटीका लागि मासिक केवल १,००० रियाल पारिश्रमिक दिइन्थ्यो।
“यदि एक दिन बिदा लियौं भने कम्पनीले तीन दिनको तलब काट्थ्यो,” उनले भने। उनले आफूहरूलाई “सुँगुर राखेजस्तै” भीडभाडयुक्त कोठामा राखिएको र सडेको खानाका कारण श्रमिक बिरामी परेको दाबी गरेका छन्।
अहिले उनी आफ्नी श्रीमतीको मासिक ७,००० रुपैयाँ शिक्षकको तलब र गाउँका बालबालिकालाई पढाएर आउने सामान्य आम्दानीमा निर्भर छन्। “हामी गरिब छौं। मेरो आफ्नै घर छैन। मसँग केही छैन। मेरो जीवन ध्वस्त भएको छ,” उनले भने।
सन् २०३४ को फुटबल विश्वकपका लागि निर्माण भइरहेको अराम्को स्टेडियममा समेत गम्भीर श्रम उल्लंघन भेटिएको थियो। यस वर्षको सुरुवातमा एक पाकिस्तानी श्रमिकको स्टेडियममा काम गर्ने क्रममा मृत्यु भएको र उनको परिवार अझै क्षतिपूर्तिको प्रतीक्षामा रहेको समाचार सार्वजनिक भएको थियो।
साउदी कानुनअनुसार कामका क्रममा श्रमिक घाइते वा मृत्यु भएमा सरकारको बीमा योजना वा रोजगारदाताबाट क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ। तर फेयर स्क्वायरको प्रतिवेदनमा उल्लेख गरिएका ६ वटा मृत्यु वा चोटपटकका घटनामध्ये केवल एउटामा मात्र क्षतिपूर्ति दिइएको थियो। क्षतिपूर्ति नपाउनेमध्ये नेपालका मञ्जय कुमार साहको परिवार पनि एक हो।
डिसेम्बर २०२३ को एक बिहान साहले आफ्नी श्रीमती बबितालाई फोन गरेका थिए। चार साना छोराछोरीको भविष्यबारे सामान्य कुराकानी भएको थियो। त्यसपछि बबिता खेतमा काम गर्न गइन् भने साह पूर्वी साउदीमा अराम्को परियोजनामा स्काफोल्डरका रूपमा काम गर्न निस्किए। उनी अचानक ढले। एम्बुलेन्स बोलाइयो, तर ४० वर्षीय साहको केहीबेरमै मृत्यु भयो। उनको परिवारलाई पोस्टमार्टम गर्न तीन महिना लाग्ने भनिएको थियो। शोकमा डुबेको परिवारले शव पोस्टमार्टम नगरी नेपाल ल्याउन सहमति दियो। तर “मृत्युको कारण अज्ञात” भनिएको मेडिकल रिपोर्ट हुँदाहुँदै पनि मृत्यु प्रमाणपत्रमा “प्राकृतिक मृत्यु” लेखियो।
साउदी अरेबियामा आप्रवासी श्रमिकका मृत्यु प्रमाणपत्रमा “प्राकृतिक मृत्यु” भन्ने शब्द व्यापक रूपमा प्रयोग हुने गरेको छ। यसले वास्तविक कारण लुकाउने, गहिरो अनुसन्धान नगर्ने र केही रोजगारदातालाई क्षतिपूर्ति नतिर्ने अवसर दिने आलोचना हुने गरेको छ। साहका भाइले फेयर स्क्वायरलाई बताएअनुसार कसैले पनि मृत्यु वा क्षतिपूर्तिको जिम्मेवारी लिन चाहेन। “मैले धेरैपटक सुपरभाइजरसँग क्षतिपूर्तिबारे कुरा गरेँ, तर उनले सुनेनन्। ‘तिम्रो दूतावाससँग कुरा गर, उनीहरूले नै मिलाउँछन्’ भने,” उनले बताए।
साहको परिवारले पाएको एकमात्र सहयोग नेपालका बीमा योजनामार्फत आएको थियो। श्रीमानको मृत्युको खबर सुन्दा बबिता बारम्बार बेहोस भएको बताउँछिन्। “के भइरहेको थियो, मलाई केही थाहा थिएन,” उनले भनिन्। दुई वर्षपछि पनि त्यो पीडा कायमै छ। “हाम्रो घरको कमाउने व्यक्ति गुम्यो। जीवन धेरै कठिन भएको छ,” उनले भनिन्। “हामीले बच्चाहरूका लागि धेरै सपना देखेका थियौं, तर अहिले ती सबै सपना त्यागिसकेकी छु।”
अराम्कोले विज्ञप्तिमा भनेको छ, “सुरक्षा र कल्याण कम्पनीको मुख्य मूल्य हो। सुरक्षित कार्य वातावरण र गुनासा उठाउन सहज व्यवस्था गर्न हामी प्रतिबद्ध छौं।” कम्पनीले ठेकेदार श्रमिकहरूको कल्याणका लागि विशेष कार्यक्रम सञ्चालन गरिएको पनि जनाएको छ। सायपेमले पनि “आफ्ना परियोजनामा संलग्न सबै व्यक्तिको स्वास्थ्य र सुरक्षालाई अत्यन्त गम्भीर रूपमा लिने” बताएको छ। तर यो यथार्थमा परिणत भइरहेको छैन ।
(रोयटर्सबाट अनुवादित)
