काठमाडौं । श्रमिक संगठनहरूको डिजिटल उपस्थिति सुदृढ बनाउने उद्देश्यले आइटीयूसी नेपाल आवद्ध कमिटीले डिजिटल क्याम्पेनका लागि सामग्री निर्माण सम्बन्धी दुईदिने तालिम सञ्चालन गरेको छ। तालिममा नेपालका प्रमुख तीनवटा राष्ट्रिय ट्रेड युनियन महासंघसँग आवद्ध विभिन्न युनियनका युवा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
तालिमको उद्घाटन गर्दै आइटीयूसी नेपाल आवद्ध कमिटीका संयोजक तथा जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठले सूचना प्रविधिको तीव्र विकाससँगै श्रमिक आन्दोलनले पनि आफ्नो कार्यशैलीलाई समयानुकूल परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए। उनले अहिलेको समय डिजिटल प्रविधिको समय भएकाले परम्परागत माध्यमसँगै सामाजिक सञ्जाल र अन्य डिजिटल प्लेटफर्ममार्फत धेरैभन्दा धेरै श्रमिकसम्म सही सूचना, संगठनका गतिविधि तथा श्रमिक अधिकारका विषयहरू पुर्याउन आवश्यक रहेको बताए।
श्रेष्ठले पछिल्लो समय ट्रेड युनियनका बारेमा विभिन्न किसिमका भ्रम, गलत सूचना तथा कुप्रचार फैलाउने प्रयासहरू भइरहेकाले त्यसको तथ्यगत जवाफ दिन र श्रमिक समुदायमा सही सन्देश प्रवाह गर्न युवा पुस्ताको भूमिका अझ महत्वपूर्ण हुने उल्लेख गरे। उनले डिजिटल माध्यममा दक्ष, सिर्जनशील र जिम्मेवार युवाशक्ति नै आधुनिक श्रमिक आन्दोलनको महत्वपूर्ण आधार बन्न सक्ने धारणा व्यक्त गरे।
तालिममा सञ्चारकर्मी सुनिल न्यौपाने, अमरध्वज लामा तथा विशाल कार्कीले डिजिटल अभियान सञ्चालनका विभिन्न पक्षबारे सहजीकरण गरेका थिए। उनीहरूले प्रभावकारी डिजिटल क्याम्पेनको योजना बनाउने तरिका, सामाजिक सञ्जालका लागि सामग्री तयार गर्ने विधि, भिडियो, फोटो, पोस्टर तथा छोटो सन्देशमार्फत प्रभावकारी सञ्चार गर्ने उपाय, दर्शकको रुचिअनुसार सामग्री उत्पादन गर्ने सीप तथा डिजिटल प्लेटफर्मको जिम्मेवार प्रयोगबारे प्रयोगात्मक प्रशिक्षण दिएका थिए।
सहभागीहरूले विभिन्न समूहमा विभाजन भएर सामाजिक सञ्जालका लागि सामग्री तयार गर्ने, सन्देशको प्रस्तुति सुधार गर्ने तथा अभियानलाई प्रभावकारी बनाउने अभ्याससमेत गरेका थिए। प्रशिक्षकहरूले डिजिटल माध्यम केवल सूचना प्रसारणको साधन मात्र नभई श्रमिकका आवाजलाई व्यापक रूपमा स्थापित गर्ने, सदस्यहरूसँग निरन्तर संवाद गर्ने र नयाँ पुस्तालाई संगठनसँग जोड्ने प्रभावकारी माध्यमका रूपमा विकास भइरहेको बताए।
विश्वभर श्रमिक संगठनहरूले पछिल्ला केही वर्षयता डिजिटल सञ्चारलाई आफ्नो अभियानको महत्वपूर्ण माध्यमका रूपमा प्रयोग गर्दै आएका छन्। विशेषगरी कोभिड–१९ महामारीपछि अनलाइन बैठक, सामाजिक सञ्जाल अभियान, डिजिटल प्रशिक्षण तथा भिडियो सामग्रीमार्फत श्रमिकसँग सम्पर्क विस्तार गर्ने अभ्यास उल्लेखनीय रूपमा बढेको छ। नेपालमा पनि ट्रेड युनियनहरूले श्रमिक अधिकार, सामाजिक सुरक्षा, श्रम कानुन तथा संगठनका गतिविधिबारे सूचना प्रवाह गर्न फेसबुक, युट्युब, टिकटक लगायतका डिजिटल प्लेटफर्मको प्रयोग बढाउँदै आएका छन्।
आइटीयूसी नेपाल आवद्ध कमिटीले यस्ता तालिममार्फत युवा नेतृत्वको क्षमता अभिवृद्धि गर्दै डिजिटल माध्यममा श्रमिक आन्दोलनको प्रभावकारी उपस्थिति विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। प्रशिक्षित युवाहरूले आगामी दिनमाआफ्ना युनियनमा डिजिटल अभियान सञ्चालन गरी श्रमिकका मुद्दालाई अझ व्यापक रूपमा उठाउने विश्वास आयोजकले व्यक्त गरेको छ।
