काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व अब रामजी यादवले सम्हाल्ने भएका छन्। सप्तरी निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य यादवलाई प्रधानमन्त्री बालेन्द्र साहले श्रममन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका छन्।

नव नियुक्त मन्त्री यादवले आजै राष्ट्रपति भवनमा आयोजित विशेष समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ। पूर्व श्रममन्त्री दीपक कुमार साहलाई पदीय मर्यादा विपरीत काम गरेको आरोपमा पदमुक्त गरेपछि यादवलाई उक्त जिम्मेवारी दिइएको हो।

सप्तरी–२ बाट निर्वाचित यादवले २८ हजार ४ सय ४ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उमेश कुमार यादवले १४ हजार २ सय ६३ मत ल्याएका थिए भने जनमत पार्टीका अध्यक्ष सिके राउत तेस्रो स्थानमा रहेका थिए।

३० वर्षीय यादव प्राविधिक पृष्ठभूमिबाट राजनीतिमा आएका युवा नेता हुन्। विद्युत इन्जिनियरिङमा स्नातक गरेका उनले नवीकरणीय ऊर्जा, कार्बन क्रेडिट तथा सार्वजनिक खरिद सुधारका क्षेत्रमा विशेष दक्षता हासिल गरेका छन्। उनी इजीवर्ल्ड इन्जिनियरिङ प्रालिका प्रबन्ध निर्देशकका रूपमा सात वर्षभन्दा बढी अनुभव बटुलेका व्यवसायिक प्राविधिक समेत हुन्।

स्थानीय स्तरमा सब–इन्जिनियरिङ कलेज स्थापना, राजविराजको फोहोर व्यवस्थापनका लागि प्रशोधन केन्द्रको पहल, राज रंगशाला खेलमैदानको पूर्वाधार निर्माण तथा राजविराज–९ मा स्वास्थ्यचौकी भवन निर्माणजस्ता विकास गतिविधिमा उनले भूमिका खेलेका छन्। यसैगरी दलित तथा मुसहर बस्तीमा सडक, कल्भर्ट र आवास पूर्वाधार विस्तारमा योगदान पुर्‍याउँदै उनले प्राविधिक ज्ञानलाई प्रत्यक्ष सेवा र विकाससँग जोड्ने प्रयास गरेका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय