काठमाडौँ । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेमा सबैभन्दा धेरै धनुषा जिल्लाका रहेका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२-८३ को नौ महिनामा धनुषाबाट मात्रै २८ हजार ५८२ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् ।
जिल्लागत रूपमा चालु आवको विश्लेषण गर्दा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेमा धनुषा पहिलो र दोस्रोमा झापाका छन् । तेस्रो र चौथो जिल्ला क्रमशः मोरङबाट २३ हजार ३५४ जना र महोत्तरीबाट २० हजार १७२ जना छन् ।
पाँचौँ स्थानमा पर्ने सिराहाबाट १९ हजार ८२४ जना, छैटौँमा सर्लाहीबाट १९ हजार ३७२ जना, सातौँ र आठौँमा क्रमशः रुपन्देहीबाट १८ हजार ३१८ जना र सुनसरीबाट १७ हजार ४२४ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन् ।
यस्तै नवौँ र दसौँ जिल्लामा क्रमशः सप्तरीबाट १५ हजार २०८ र चितवनबाट १५ हजार ७९ जनाले श्रम स्वीकृति लिएर विदेश गएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
