सुनिल न्यौपाने, काठमाडौं । आज डिसेम्वर १८ तारिख, अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवस । रोजगारीका लागि घरपरिवार छोडेर परदेशिएका श्रमिकको योगदानलाई स्मरण गर्ने दिन । उनीहरुले परिवार, समाज र मुलुकका लागि पुर्याएको योगदानलाई सम्झने दिन । र, उनीहरुको पनि समान हकअधिकार छ है भनेर आवाज उठाउने दिन ।

हुन त एक दिन दिवस मनाएर न उनीहरुको योगदानका लागि पर्याप्त हुन्छ न त उनीहरुको हकअधिकार नै स्थापित हुन्छ । तर पनि आप्रवासी श्रमिकको योगदानलाई सम्झदै, परदेशी जीवनमै जीवन गुमाएकाहरुलाई स्मरण गर्दै र उनीहरुको हकअधिकारका लागि आवाज उठाउँदै आजको दिन अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवसको रुपमा विश्वभरी मनाउने गरिन्छ ।

नेपालमा पनि यो दिवसको अवशरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिंदैछन् । आप्रवासनका चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन भन्ने मुल नारा सहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्वमा यो साताभरी नै विभिन्न कार्यक्रमहरु आयोजना गरिंदैछन् । नेपालका सरकारी निकाय, गैरसरकारी संघसंस्था र ट्रेड यूनियनहरुले विविध कार्यक्रम सहित यो दिवस मनाउँछन् ।
यहि अवशर पारेर वैदेशिक रोजगारमा जाने श्रमिकलाई सही सुचना दिन श्रम मन्त्रालयले हेल्प अस टु हेल्प यू नामको कार्यक्रम सुरुवात गर्दैछ । मुख्य रुपमा श्रमिकलाई आवश्यक पर्ने जानकारीहरु १० वटा प्रश्नको उत्तरको रुपमा कल सेण्टर तथा देशका ७ सय ५३ वटै पालिकाहरु मार्फत दिइने सो जानकारीले वैदेशिक रोजगारीमा जानेहरुलाई सूसुचित बनाउने मन्त्रालयको विश्वास छ ।

मन्त्रालयले यसरी सुचना सम्प्रेषणका लागि नविन प्रयत्न गर्नु आफैंमा सकारात्मक कुरा हो । तर हाल कल सेण्टरबाट नै पर्याप्त सुचना प्रवाह हुन नसकिरहेको अवस्थामा देशका सवै पालिकामा रहेका रोजगार सुचना केन्द्र मार्फत एकरुपताका साथ सुचना प्रसारण गर्नु चुनौतीपूर्ण काम हो । यसलाई आगामी पुष ८ गतेदेखि नै सुरु गर्ने श्रम सचिव कृष्णहरि पुष्करको योजना महत्वाकाँक्षी भएपनि उत्तिकै चुनौतीपूर्ण पनि छ ।

नेपालीको श्रम बजार फेरिएको छ । पछिल्लो समयमा पूर्वी युरोपका मुलुकहरु नेपालीका रोजाईमा पर्न थालेपनि ति मुलुकहरुमा उपलव्ध रोजगारी सहज छैनन् । मुख्यतः शारिरीक श्रम पर्ने कामहरुमा संलग्न नेपालीलाई त्यहाँको मौषमी प्रतिकुलता चुनौती हो । अर्कातर्फ लाखौं लगानी गर्नुपर्ने बाध्यता छ । खाडीका मुलुकहरु र मलेसियाको रोजगारीमा नै चर्को लागतको बहस चलिरहेको अवस्थामा युरोपका मुलुकहरुको रोजगारीका नाममा असुल्न थालिएको लाखौं रकम अर्को समस्या हो । मिठो आश्वासनमा लाखौं खर्चेर पूर्वी युरोप पुगेका कतिपय नेपालीले लागत उठाउन नै एक बर्षभन्दा लामो समयसम्म काम गर्नुपर्ने अवस्था हुनु चिन्ताको विषय हो ।

अर्कातर्फ खाडी र मलेसियाको रोजगारी समेत नेपालीका लागि सुरक्षित हुन सकेको छैन । सीप सिकाएर दक्ष जनशक्तिलाई मात्र वैदेशिक रोजगारीमा पठाउने नेपाल सरकारको योजना केवल कागजमै सिमित छ । सरकारी निकाय वैदेशिक रोजगार बोर्ड मार्फत प्रदान गरिने सीपमूलक तालिम गुणस्तरीय हुन सकेको छैन । बोर्ड केवल मन्त्रालयको छायाँका रुपमा रहिरहेसम्म यसले श्रमिक पक्षिय भएर काम गर्न सक्दैन ।

यहिबीचमा मुलुकमा सत्ता पलट भयो । केहि महिनाको रिक्ततापछि श्रम मन्त्रालयको नेतृत्व पूर्व प्रहरी नेतृत्वको हातमा आइपुगेको छ । नयाँ श्रममन्त्रीले आफूलाई एक्सन चाहिने भन्दै केहि महिना भित्रै नतिजा दिने गरी देखाएको हुटहुटी साँच्चै श्रमिक पक्षिय कामका लागि हो वा अन्य केहि चटकी व्यक्तिहरुको चटककै निरन्तरता हो, त्यो केहि समयमा स्पष्ट हुनेछ ।

नेपालमा रोजगारीको पर्याप्त सम्भावना नभएर मात्रै होइन मुलुकभित्र उपलव्ध रोजगारी मर्यादित हुन नसकेर तथा श्रमको सम्मान नभएकै कारण लाखौैं नेपाली बर्षेनी विदेश जाने गरेका हुन् । हरेक बर्ष ७ लाख भन्दा बढी नेपाली रोजगारीका लागि विदेशिने तर भारत लगायतका मुलुकबाट ठूलो संख्यामा रोजगारीका लागि नेपाल आउने चक्रले नै यसलाई स्पष्ट पार्दछ । त्यसैले श्रम आप्रवासन चक्रलाई सुरक्षित, मर्यादित र उपलव्धीमूलक बनाउने योजनासँगै सरकारले स्वदेशमा नै रोजगारी सिर्जना र उपलव्ध रोजगारीलाई कसरी मर्यादित र सम्मानित बनाउने भनेर सँगसँगै योजना बनाउन जरुरी छ । त्यसो हुन सकेमा मात्र स्वदेशमा नै रोजगारीका अवशरहरु वृद्धि हुनेछन् र परदेशमा गएर न्यून कमाईमा पसिना बगाउने र जीवन गुमाउने क्रमको अन्त्य हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय