कोरोना संकट, आर्थिक मन्दि र नेपालका लागि अवसर

 

अर्जुन अर्याल
हतियारको युद्द र युद्द व्यापारमा आफ्नो अर्थतन्त्र मजबुत बनाउदै रगतको होलि खेल्न पल्केका पूँजीवादी महाशक्ति राष्ट्रहरु यतिबेला जीवाणुसंगको युद्दमा फसेका छन् । संसार जित्न सक्छु भन्ने अभिमानले अर्थतन्त्र बचाउन खोज्दा अमेरिका जस्तो महाशक्ति राष्ट्र नराम्रोसंग जिवाणुको घेराबन्दीमा परेको छ । यो घेराबाट बाहिर निस्कनका लागि जीवाणु माथिको बिजय अनिवार्य छ ।

माओको मुखमा माक्स लगाइदिएर गरिएको व्यंग्यले आज व्यंग्यकारहरुको छाती पोलिरहेको छ । यो जटिल परिस्थितिबाट बाहिर जति चाडो निस्किन सक्यो उति फाइदा छ भन्ने कुरामा कसैको दुईमत छैन । अब एकपटक सबै शक्ति,राष्ट्रहरु शिथिल हुने निश्चित छ । तर यो कहरबाट तुरुन्तै अर्को राष्ट्र महाशक्ति भएर आउँछ भनेर कल्पना गर्न त्यति सजिलो छैन । यो आक्रमण अणुबम होइन जसले हिरोशिमा मात्र ताकेको थियो यो जीवाणु आक्रमण सबै ठाउँमा व्याप्त छ ।

पूँजीवादी अर्थव्यवस्था अमेरिका लगायत पश्चिमी मुलुकहरुको शक्ति हो र, कमजोरी पनि । सन् ‘३० ताकाको अमेरिकी आर्थिक मन्दीका कारणबारे धेरै पुस्तक लेखिए । यसको प्रमुख कारण अतिउत्पादन थियो । सन् ‘२० को दशकमा अमेरिकी उद्योगमा यान्त्रिक प्रविधिको चामत्कारिक प्रवेश पछि उपभोग्य बस्तुको प्रचूर उत्पादन र समुदायको क्रयशक्ति बीचको असन्तुलनको परिणाम थियो त्यो आर्थिक दुर्घटना । अमेरिकी मोटरगाडी कम्पनी ‘फोर्ड’ ले उच्च प्रविधियुक्त कारखानाबाट हरेक दिन सयौंको संख्यामा सवारी साधन बजारमा ल्याउन थाल्यो । त्यसै भेलमा अन्य उपभोग्य सामग्री द्रूत गतिमा बजारमा आउन थाले । तर मध्यमवर्गीय अमेरिकीहरुसंग ती नयाँ उत्पादन उपभोग गर्ने आर्थिक सामथ्र्य थिएन । फलतः बजारमा बिक्री हुन नसकेका उत्पादनहरुको चाङ लाग्न थाल्यो । कारखानाबाट मजदूर निकालिन थालिए । बेरोजगारी बढ्यो । जनताको क्रयशक्ति झन् घट्यो ।

यो आर्थिक दुर्घटनाबाट त्राण पाउन दोश्रो विश्व युद्ध अमेरिकाका लागि वरदान सावित भयो । युद्धले विश्वमा लडाईंका औजारहरुको बजार खोलिदियो । सन् १९४२ सम्म जापानले पर्ल हार्वरमा हवाई आक्रमण नगरुन्जेल “तटस्थ” बसेको अमेरिकाले बेलायत, तत्कालीन सोभियत संघ र अन्य गठबन्धन मुलुकहरुलाई तीन बर्षको अवधिमा एक सय ८५ बिलियन डलरको युद्ध सामग्री बेच्यो । सन् १९३९ मा १ दशमलव ५ मा झरेको अमेरिकी कूल गार्हस्थ उत्पादन सन् १९४५ सम्म ह्वात्तै बढेर ४० प्रतिशतमा आकाशियो । अर्कातिर, फोर्ड र जनरल मोटर जस्ता कम्पनीहरुले युद्ध अघि नै जर्मनीमा खोलेका आफ्ना उत्पादन केन्द्रहरुबाट आफ्नै मुलुक विरोधी हिट्लर र जापानका सेनाका लागि युद्ध सामग्री उत्पादन गर्ने काम रोकेन, न यसबारेमा कसैले ध्यान नै दियो । अमेरिकाको मृत अर्थतन्त्र युद्धले ब्यूँताएको थियो । कारखाना खुले, जागिरको छेलोखेलो भयो ।

युद्दले मौलाएको अर्थतन्त्रमा फोर्ड र आइबीएम जस्ता अहिलेका नाम चलेका ६० वटा कम्पनीहरुले ७५ प्रतिशत भन्दा बढी ब्यापार गर्ने मौका पाए । कर्पोरेट अमेरिकाको उदय भयो । अमेरिका युद्दमा होमिइसकेको थियो, युद्द सामग्रीको माग बढ्दै थियो । कर्पोरेटको आफ्नै साधन र श्रोतले मागको आपूर्ति गर्ने सम्भावना थिएन । अमेरिकाले राज्यकोषबाट १७ बिलियन डलर बजेट निकाल्यो । नयाँ हतियार कारखाना खुले । तर उत्पादनको जिम्मा उनै कर्पोरेट मालिकहरुलाई दिइयो । युद्द पछि ती कारखानाहरु कर्पोरेट साहुहरुलाई नै कौडीको दाममा बिक्रि गरियो । राज्यको सम्पत्ति निजी भयो । औंलामा गन्न सकिने धनीहरु अझ धनी भए ।

सरकारले ५५ प्रतिशत रकम पुस्तौं देखि बैंकिंग व्यवसाय गरेर थुपारेको गाड्धनका उत्तराधिकारी परिवारहरुबाट ऋण लियो । बाँकी ४५ प्रतिशत भनें, आर्थिक मन्दीको मारबाट भर्खर बौरिएका कामदार अमेरिकी नागरिकमाथि कर लगाएर निकाल्यो । कर्पोरेट क्षेत्र करको यो दायराभित्र परेन । न त बैंकहरुलाई नै करको त्यो दायरामा ल्याइयो । युद्धको धङधङ्गीमा पाएको रोजगारीको खुशी मनाउने श्रमजीवी बर्गले आफुलाई ठगेर राज्य र कर्पोरेट मोटाएको पत्तै पाएन ।

कर्पोरेट अमेरिकाले बुझ्यो, युद्धमा नाफा छ । दोश्रो विश्व युद्धपछि, आ आफ्नो आर्थिक सामाजिक नीतिमा जतिसुकै विरोधाभास भएपनि, तत्कालीन सोभियत संघले अमेरिकासंग जोरी खोजेको थिएन । युद्धले जर्जर सोभियत संघको अर्थतन्त्र रसातलमा पुगेको थियो । एकल आणविक अस्त्रधारी अमेरिकासंग साम्यवादी सोभियत संघ पाखुरी सुर्किने हैसियतमा थिएन । यता कर्पोरेट अमेरिका युद्धका लागि नयाँ शत्रुको खोजीमा थियो । भौतिक युद्धको कुनै जायज कारणको अभावमा, कर्पोरेटले आफ्ना मूलप्रवाहका संचारमाध्यमहरुको भरपूर दुरुपयोग गर्दै मनोबैज्ञानिक युद्धको सिर्जना गर्यो जसलाई नाम दिईयो, शीत युद्ध ।

नक्कली युद्धले विश्वमा आणविक युद्धको सन्त्रास फैलायो । युरी गागरीनलाई पहिलो पटक पृथ्वीको गुरुत्वाकर्षण नाप्न पठाएर अन्तरिक्षको अध्ययन शुरु गरेको सोभियत संघलाई आणविक अस्त्र विकासतिर मोडिन बाध्य तुल्यायो । हतियारको होडमा कर्पोरेट अमेरिका नयाँ प्रविधिले विकसित, झन् प्रभावकारी क्षमताले युक्त ट्याँक, विमान, रकेट र जैविक तथा रसायनिक नरसंहारकारी हतियारको नमूना लिएर ‘पेण्टागन’ धाउन थाल्यो ।

पेण्टागनलाई कुनै आपत्ति थिएन । आवश्यक बजेटका निम्ति ऋण दिन कर्पोरेट अमेरिका आफंै तयार थियो । उत्पादन उसैले गथ्र्यो । उसैले फेरी राज्यलाई नै बेच्थ्यो । ऋण तिर्न मध्यमवर्गीय अमेरिकी श्रमिकहरुसँग उठाइने करको दायरा फराकिलो पार्न सजिलो थियो । मूल प्रवाहका सञ्चार माध्यमहरुले नागरिकलाई मनोबैज्ञानिक रुपले प्रशिक्षित गरिसकेका थिए । साम्यवादी शासन विरुद्ध आफ्नो मुलुकलाई शक्तिशाली तुल्याउन अमेरिकीहरु आफ्नो गाँस काट्न तयार बनाइएका थिए । सन् १९४५ मा अमेरिकी सरकार २५८ बिलियन डलर ऋणमा थियो भने, शीत युद्धको अन्त्यसम्म त्यो राशी बढेर, ३ दशमलव २ ट्रीलियन पुग्यो । यो अवस्थाको मन्दी हटाउन अमेरिका मौद्रिक नीति सुधार भन्दा पनि हतियारको उत्पादन र व्यापारमा लाग्यो ।

अर्थतन्त्र उपभोक्ताद्धारा सञ्चालित हुन्छ । उपभोक्ताको खर्च मूलतः आय, सम्पति, व्याजदर तथा आय तथा सम्पतिमाथि भविष्यमा आउने जोखिमको अनुमानले निर्धारण गर्नुपर्छ ।

मन्दीको समयमा कामदार कर्मचारीको रोजगारी कटौति हुन्छ । रोजगारी कटौति तथा मन्दीको भयले उपभोक्ता आफनो खर्चलाई घटाउन थाल्दछन् । उपभोक्ताले खर्च कम गर्नु भनेको अर्थतन्त्रमा मन्दी आउनुको प्रमुख लक्षण हो । मन्दी व्यवस्थापन गर्न सरकारको प्रमुख भूमिका रहन्छ भने उपभोक्ताको खर्च बढाउनु अनिवार्य मानिन्छ ।

हाम्रो आफ्नै आर्थिक सूचक मजवूत हुँदाहुँदै पनि विश्व मन्दीका प्रभावहरु हामीसम्म आइपुग्छन् । मन्दीले अर्थतन्त्रको क्रियाशीलतालाई शिथिल बनाउने वा आर्थिक वृद्धिलाई रोकिदिने भएकाले विश्वव्यापी मन्दीको प्रभावले छोप्नुपूर्व मन्दी व्यवस्थापनका लागि सरकारले समयमा नै वित्तीय नीति र मौद्रिक नीतिलाई अनुकुल बनाउने तत्परता र सावधानी देखाउनु आवश्यक हुन्छ ।

आर्थिक मन्दी भनेको व्यापार चक्रको एउटा चरण हो, अर्थतन्त्रको संकुचन हो । जहाँ वस्तुको उत्पादन र विक्री घट्छ । रोजगारी घट्छ । उपभोक्ताको आय घट्छ । उपभोग घट्छ । बचत घट्छ र लगानी पनि घट्छ । अर्थतन्त्रमा आउने यसप्रकारको चक्रीय अवस्थालाई मन्दी भनिन्छ ।

मन्दीमा कुल ग्रार्हस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, उपभोग, मुद्रास्फ्रिति, लगानी र नाफा सबै घट्छन् । बजारमा वस्तुसेवाको माग कम हुनासाथ उत्पादकहरुले उत्पादनर्मा यासनिङ गर्न थाल्दछन् । वस्तुको उत्पादन घटाउने निर्णय साथसाथै उद्यमीहरु कारखानाका अस्थायी कामदार कर्मचारीहरुलाई पनि कामबाट हटाउन थाल्छन् ।

श्रम बजारमा वेरोजगारहरुको भीड बढ्छ । उत्पादन कटौति रोजगारीमा कटौती, आम्दानी कटौतीले गर्दा उपभोक्ता खर्च घटाउन बाध्य हुन्छन् । अर्थतन्त्रप्रति उपभोक्ताको विश्वास छ भने धेरै खर्च गर्छन् र विश्वास नभए खर्च नियन्त्रण गर्न थाल्छन् ।

अहिले विश्व जीवाणुसंगको युद्दमा होमिएको छ । निश्चित छ यो युद्दमाथि मान्छेको जीत हुनेछ । तर जीवाणुलाई पराजित गरि रहँदा उपभोक्ताको क्रयशक्तिमा ह्रास आउनेछ । विश्व बजारमा उपभोक्ता खर्च कम हुँदै जाने क्रम शुरु हुनेछ । उपभोक्ताको आय कम हुनासाथ बजारमा वस्तुसेवाको मागमा कमी आउँछ र औद्योगिक उत्पादन र व्यापार व्यवसाय दुवै संकुचन हुन

थाल्छ । उद्योग व्यापारको संकुचन हुनासाथ कर्पोरेशनहरुको आम्दानी घट्छ । खर्च जोगाउन कर्पोरेशनहरुलाई तत्काल शिरोभार लागत घटाउन सम्भव नहुने कारण सञ्चालन लागत कम गर्न थाल्छन् । उत्पादित वस्तु विक्री नभएपछि कर्पोरेशनहरु बंैकबाट लिएको ऋण भुक्तानी गर्न असमर्थ हुन्छन् ।

कर्पोरेशनहरुको बिग्रँदो आर्थिक अवस्थामा उनीहरुकोे शेयर मूल्य पनि कम हुन थाल्छ । बैंकहरु पनि कर्पोरेशनमा थप ऋण लगानी गर्न अग्रसर हुँदैनन् । कर्पाेरेशनहरुसँग लगानी गर्ने क्षमता पनि हुँदैन । उत्पादन झन झन घट्न थाल्छ र सँगसँगै रोजगारी कटौती पनि बढ्दै जान्छ । उद्योगको उत्पादन विक्री नभएर थुप्रिएर बस्छ । निजी लगानी घट्छ ।

विश्व अर्थतन्त्रको सवालमा अब व्यापक मुद्रा स्फ्रीती हुन्छ । हामीजस्ता गरिव राष्ट्रहरु एकपटक महँगीको चपेटामा फस्नेछौ । वैदेशिक रोजगारीको गन्तव्य साँघुरिने छ । विदेशमा रोजगारीमा गएकाहरुको स्वदेश फर्किने क्रम बढ्नेछ । स्टुडेन्ट भिषामा गएका विद्यार्थीहरु त्यहिं कमाएर पढ्न नसक्ने अवस्थामा पुग्नेछन । यस्तो अवस्थामा अर्को शक्ति राष्ट्रको उदयको कल्पना गर्नु सुखद सपना लागे पनि यो त्यति सजिलो छैन ।

साम्राज्यवाद मरणशील छ तर क्रान्तिकारी धक्का नदिइन्जेल त्यो बुढो, धोद्रो रुख उभिएजस्तै कायम रहिरहन्छ । जति जति संकट आउँछन, नयाँ जरा र पात हाल्दै सडेको पूँजीवाद बाँचिरहन्छ ।

पूँजीवादी–साम्राज्यवादी दुनियाँले आफूलाई केही सुधारेको नाटक गर्ने छ, केही लोककल्याणका काम शुरु गरेको देखाउने छ, जनताको आँखामा छारो हाल्ने छ । संकट हटेपछि पुनः पुरानै निजीकरणको दिशामा फर्कने छ ।

कोरोना कहरपछि विश्व अर्थतन्त्रमा कुनै निर्णायक प्रगतिशीलता देखिने छैन । बरु संरक्षणवादतर्फ प्रतिगमन हुनसक्ने खतरा छ । केही सुधारका नाटक अवश्य हुनेछन् पूँजीवादी दुनियाँमा । जवसम्म क्रान्तिकारी शक्ति बलियो हुँदैन र निर्णायक हस्तक्षेप गर्ने हैसियत राख्दैन तवसम्म संकटले पूँजीवादलाई नै नवीकरण गरिरहन्छ ।

यस्तो अवस्थामा नेपालमा लघु उद्यमको माध्यम, जल विद्युत, पर्यटन उद्योग जस्ता क्षेत्रका माध्यमबाट र स्वदेशी उत्पादनको उच्चतम प्रयोगबाट एउटा अवसर सिर्जना हुनसक्छ । संसार रुग्ण अवस्थाबाट बौरिने क्रममा संगसंगै हातेमालो गरेर नेपालले आफूलाई विकाशशिल राष्ट्रमा परिणत गर्न सक्ने अवसर प्राप्त गर्न सक्छ ।

यो पनि पढ्नुहोस् ‘वर्किंग फ्रम होम’: ‘लकडाउन’ को एउटा सिकाई

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय