कुमार कार्की
जिन्दगीमा व्यवसायिक कामकाजी भएको लगभग १५ वर्ष भयो । हुन त व्यवहारिक कामकाजी भएको चाहिं २५ वर्ष नै पुग्यो होला । यसको मतलव वाल्यकाल देखि नै कामकाज गर्न सिकियो । पहाडी जिल्ला तेह्रथुम स्थित म्याङलुङको मध्यम वर्गिय परिवारमा जन्मेपछि घरायसी कामकाज नगर्नु भनेको वेकम्मा अर्थात काम नलाग्ने हुनु हो । तर त्यो वेलाको काम गराई आफ्नो लागि भन्दा पनि फलानोको छोरो राम्रो भनेर देखाउन र वावुआमाको ईज्जत राख्न नै गरिन्थ्यो । त्यो एउटा संस्कारले कहिं न कहिं जिन्दगीमा सहजता ल्याएको छ ।
तर एउटा वास्तविक के हो भनें नेपाली परिवेशमा घरको काम गर्नु वा घरमा बसेर काम गर्नुलाई काम मानिंदैन । काम भनेको कसैले देख्ने गरि नै गर्नु पर्छ भन्ने मानसिकता हामी सवैमा छ । तर सवै काम देखाउनका लागि भन्दा पनि प्रतिफल पाउनका लागि गरिन्छ जुन अहिले व्यवसायिक कामको रुपमा हामी गर्दैछौं ।
नेपालमा कहिलेबाट ईन्टरनेट सेवा प्रारम्भ भयो यकिन जानकारी त मलाई छैन । तर मैले पहिलो पटक ईन्टरनेट २०५९ सालमा प्रयोग गरें, त्यो पनि मेरो जन्म जिल्ला तेह्रथुममा सम्भव थिएन । मैले मोरङ (हालको स्थायी वसोवास) मा एउटा क्याफेमा प्रयोग गरेको हुँ । त्यो वेला पनि ईन्टरनेट मनोरञ्जनका लागि चलाईएको थियो । ईन्टरनेटले अहिलेको आधुनिक जमानालाई वदलेर कामलाई यति सहज बनाउला भन्ने कुनै कल्पना पनि गरेको थिईन । त्यो वेला क्याफेमा ईन्टरनेट चलाउँदा मैले केहि कुराचाहिं सिकेको थिए जसले मलाई उत्साहित पनि बनाएको थियो । त्यसबेला एकजना साथी थिए योगेन राई, उनले नै पहिलो पटक याहु सर्च ईन्जिनमा सर्च गर्न र म्यासेन्जरमा च्याट गर्न सिकाएका हुन् । पहाडको सरकारी विद्यालयमा पढेको म, म्यासेन्जरमा अंगे्रजीमा कुरा गर्न त्यो बेला सिकेको थिएँ ।
आजभोली कोरोना भाईरस अर्थात कोभिड १९ को कहर छ । संसारभर हालसम्म ७ लाख भन्दा बढि मानिस प्रभावित भईसके र ३३ हजार भन्दा बढिले ज्यान गुमाई सके । यो अवस्थामा संसारभरका मानिस आतंकित छन् । यो विषम अवस्थामा कार्यस्थल गएर काम गर्ने अवस्था छैन । संसारभरका कामकाजी मानिसहरुका कतिपय कामहरु कार्यस्थल नगई गर्न नमिल्ने छन् भने कतिपय घर मै बसेर पनि गर्न मिल्ने छन् । तथापि कार्यस्थलमा गएर काम गर्नु र घरमा वसेर काम गर्दाको उत्पादनशिलता भने धेरै फरक छ ।
म भनें पछिल्लो १४ दिनदेखि घरमा नै बसेर काम गरिरहेको छु । हाल संसारभर नै ट्रेन्डिंग भईरहेको शव्द हो “स्टे एट होम”, “वर्क फ्रम होम”, “वर्किंग फ्रम होम” आदि ईत्यादि । घरमा नै बसेर पनि काम हुन्छ र ? भन्नेहरुका लागि यो एउटा सिकाई पनि हो । नेपालका प्रधानमन्त्रीले घरबाट नै सरकार चलाई रहेको अभिव्यक्ति उनको ट्विटर ह्याण्डलमा दिएका थिए ।
यो घरबाट नै काम गर्ने अर्थात “वर्किंग फ्रम होम” ले मलाई पनि धेरै कुरा सिकाएको छ । त्यति मात्र हैन, सिकाई यस्तो कुरा रहेछ जति सिक्यो उति नौलो लाग्ने रहेछ । अनि सिकाई यस्तो कुरा रहेछ जसले नयाँ कुरा सिकाउँछ र आफुलाई कमजोर महशुष गराई अझ सिक्न वाँकी छ भन्ने सन्देश दिने रहेछ किनकी सिकाई असिमित रहेछ ।
यो ‘लकडाउन’ वा ‘सेल्फ क्वारेन्टाईन’ को कारण घरबाट नै काम गरेर अफिस सञ्चालन हुने रहेछ भनेर म आफु भने आत्मविश्वासी भएको छु । एक्लै वसेर काम गर्दा फाईदा र वेफाईदा वरावरी रहेछन् तथापि आफ्नो जिम्मेवारीको काम भनें आफु अनुकुल गर्न सकिने रहेछ । त्यति मात्र होइन प्रविधिको समुचित प्रयोग कसरी गर्ने भन्ने थप ज्ञान समेत प्राप्त गरेको अनुभुति गरिरहेको छु । एउटा कोठामा बसेर संसारभरका साथीभाईसँग गफ गर्न, योजना वनाउन र कार्यक्रमहरु लागु गर्नका लागि त मैले एनआरएनए, मोसु र एनएनजेमा आवद्द भएर र अनि विभिन्न जिम्मेवारी वहन गरेर नै सिकिसकेको थिए । यस पटक कोरोनाको कहरले व्यवसायिक कामलाई अझ बढि तिखार्ने र संसारका विभिन्न कुनामा रहेका आफ्ना वरिष्ठ तथा सहकर्मीहरुसँगको समन्वयले अझ पे्ररणा मिलेको छ । मलाई आशा छ मेरा धेरै मित्रहरुले त्यो कुरा महशुश गरिरहनु भएको होला ।
यो संक्रमणकालिन अवस्था र देश वा शहर लकडाउन भएर घरबाट नै काम गर्नेहरु वा कार्यस्थल जान नमिल्ने भएर “नट वर्किंग बट सिटिंग एट होम” वालाहरुले सिक्नै पर्ने केहि कुरा रहेछन् जसले भोलीको दिनलाई सहज बनाउन मद्दत गर्नेछ ।
बढाउनु पर्ने रचनात्मकता
मानिस रचनात्मक प्राणी हो । रचनात्मक भएर नै व्रम्हाण्डका ठुला ठुला कुराहरुको सिर्जना भएर हामी आजको आधुनिक युगमा छौं । तथापि हाम्रो पुस्ताले अझ रचनात्मक हुन आवश्यक देखिन्छ । यो कोरोनाको कहरले फुर्सदिला भएका अधिकांशको फुर्सदिलोपन सामाजिक सञ्जालमा देखिन थालेको छ । तर त्यहाँ रचनात्मक भन्दा पनि समय खेर फाल्ने सामग्रीको प्रचार धेरै देखिन्छ । केहि कम मात्र त्यस्ता सामग्रि छन् जसले समयलाई उपयोगि बनाई रहेका छन् । अझ भन्ने हो भने अरुले जे गर्यो मैले पनि त्यहि गर्नु पर्छ प्रवृत्तिले मान्छेलाई गाँजी रहेको देखिन्छ ।
सामाजिक सञ्जालमा नदेखिएका तर रचनात्मक काम गर्नेहरु पनि प्रशस्तै होलान् । जसले देखाउन चाहदैनन् तर उनिहरुको नतिजा अदृष्य देखिनेछ । यहाँ सवै कुरा देखाउनका लागि मात्र गर्न जरुरी छैन । यो फुर्सदिलो समयमा गर्न सकिने धेरै कुरा छन् । उदाहरणका लागि अफिसमा नसकिएको काम सक्ने । पढ्न नभ्याएको किताव पढ्ने । लेख्न नभ्याएको लेख लेख्ने । वर्षौ देखि गर्न चाहेको तर गर्न नभ्याएको कामको योजना बनाउने । रंगाउन नपाएको घरको कोठा रंगाउने । सम्पर्क नभईरहेको साथीलाई म्यासेज लेख्ने वा फोन गर्ने । बनाउन नभ्याएको चित्र वनाउने । व्यायाम गर्ने फुर्सद नभएर बढेको शरिरको आयतन घटाउने आदि आदि । तर यहाँ गर्न हुँदैन भनेको कुरा गर्न हामी तम्सिरहेका छौं तर गर्न पर्ने कुरा भुलिरहेका छौं । त्यसैले हामीले औपचारिकता भन्दा रचनात्मकता लागि बढाउन आवश्यक छ ।
पालना गर्नपर्ने अनुशासन
कोरोनाको महामारीले विश्वमा ठुलो धनजनको क्षति भयो, भईरहेको छ । अझै कति हुने हो अनुमान लगाउन सकिंदैन । तर यसले हामीलाई अनुशासित बन्नु पर्छ भन्ने पाठ चाहिं पक्कै छोडेर जानेछ । नेपाल सरकारले कोरोनाको संक्रमण फैलिन नदिन देशव्यापि एकहप्ते “लक डाउन” घोषणा गरेको एक साता सकिंदा अर्को एक साताका लागि म्याद थप गरि सकेको छ । यस विचमा सरकारको निर्देशन र अनुरोधलाई स्वीकार नगरि अनुशासनको वन्धन तोडेर भेला हुने, घर वाहिर घुम्न जाने लगायतका धेरै गतिविधिहरु सामाजिक सञ्जालमा निक्कै नै भाईरल भए । यो आफैंमा आफैंमाथि र समाजका विरुद्ध सचेत तर अटेरी नागरिकले चालेको कदम हो । आफ्नो विरुद्धको अपमान र जोखिम हो । विदेशमा काम गरिरहेका पनि सरकारको निर्देशनको अवज्ञा गरेका कारण नेपाल फिर्ता पठाईए । यो पनि हामीमा भएको अनुशासन कै कमिका कारण भएको हो ।
उदाहरण दिने गरिन्छ, ईटाली सरकारको निर्देशन ईटालीका जनताले मानेको भए अहिलेको जस्तो भयावह अवस्था व्यहोर्नु पर्ने थिएन । यो लेख लेख्दासम्ममा ईटालीमा ९८ हजारको हाराहारीमा कोरोना संक्रमित भए भने ११ हजारको हाराहारीले ज्यान गुमाए । यो अनुशासित नहुनु र जोखिम आँकलन नगर्नुको परिणाम हो । यसबाट हामीले प्रत्येक जोखिम न्यूनिकरण गर्नका लागि अनुशासित बन्न सिक्नु पर्ने अति आवश्यकता छ ।
यति मात्र होइन, तपाई हामी दैनिक वानी व्यहोरा, सामाजिक चलन, व्यवसायिक काम सवैमा अनुशासित हुन जरुरी छ । तपाई घरबाट नै अफिसको काम गर्दै हुनुहुन्छ भने पनि तपाई जिम्मेवार र अनुशासित भएर काम गर्न आवश्यक छ ताकि यसले भोलीको जोखिमलाई न्यूनिकरण गरोस् । अनुशासन अरुका लागि होईन आफ्नै लागि हो भन्ने बुझ्न आफ्नो मुल्यांकन आफैंले गर्न जरुरी छ ।
अपनाउनु पर्ने सतर्कता
हामी धेरैजसो प्रोएक्टिभ भन्दा पनि रियाक्टिभ बढि छौं । जस्तै रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु राम्रो भनेर धेरै पढेका छौ सुनेका छौं वा सुनाएका पनि छौं । तर रोग नलागि उपचार नगर्ने हाम्रो परम्परागत व्यवहारमा भने कहिल्यै सुधार गर्दैनौं । हामी पूर्वसतर्कता कहिल्यै गर्दैनौं । हुन त कोरोनाका कारण नेपाल मात्र होईन धेरै देशमा त्यो सतर्ककता रहेनछ भन्ने पनि देखियो । जस्तै चीनले कोरोना संक्रमितको संख्या बढेपछि १ हजार वार्डको अस्पताल वनाएर संसारलाई आश्चर्यमा पार्यो तर त्यहाँ पनि यस्ता सरुवा रोगको उपचारका लागि पूर्वसर्तकता वा पूर्वाधारहरुको निर्माण रहेनछ भन्ने हो । तथापि सवै कुराले सक्षम देश भएको कारण समयमा सवै कुरा सम्भव भयो । संसारको शक्तिशाली देश अमेरिकाले पनि यस्ता महामारीका लागि पूर्वसतर्कता नअपनाएको रहेछ । त्यसैले गत शुक्रवार मात्र राष्ट्रपति ट्रम्पले ८.३ विलियन डलरको आकस्मिक खर्च विधेयकमा हस्ताक्षर गरे किनकी त्यहाँ पनि यस्ता महामारीको पूर्वानुमान र पूर्वतयारी रहेनछ भन्ने एउटा प्रमाण हो ।
यी भए ठूला कहानीहरु, हामी सानै कुरा र व्यवहारमा मात्र सतर्कता अपनाउने भने हामी, हाम्रो समाज र हाम्रो देशलाई सुरक्षित राख्न सक्छौं । प्रत्येक गतिविधिका अगाडी र पछाडी हात धुने सतर्कता अपनाउने भने पनि धेरै रोगबाट बच्न सकिने रहेछ भन्ने उदाहरण कोरोनाले दिईरहेको छ । हातका माध्यमबाट अनुहार, मुख, आँखा र नाकबाट मानव शरिर भित्र जाने धेरै भाईरसलाई हातमा नै मार्न सकियो भने रोगको शिकार हुन नपर्ने यो गतिलो उदाहरण हो । तसर्थ यस्ता सतर्कता रोग वा महामारीका लागि मात्र होईन आफ्नै दैनिक कृयाकलापमा पनि अपनाउनु अति आवश्यक छ ।
विर्सन नहुने संस्कार
हाम्रा कतिपय संस्कार अहिले आएर हामीलाई ठिक लाग्ने गरेका छन् । कहिंबाट घर फर्केपछि आगो र पानी छोएर घर पस्ने संस्कार हामीले भुल्न हुन्न । त्यो भनेको आज कहिंबाट आए स्यानिटाईजर स्पे्र गरेर घरभित्र पस्नुपर्ने अवस्था आउँदैन । भान्सा कोठा, पुजा कोठा, वा सयन कक्षमा जानु अघि नुहाउनु वा सफा सुग्घर गरेर मात्र जानु पर्ने प्रावधान हाम्रा पुर्खाले त्यसै गरेका हैनन् । मन्दिर, मस्जिद वा गिर्जाघरमा पस्दा जुत्ता चप्पल खोलेर जाने प्रावधान पनि त्यसै राखिएको होईन । यो संस्कार मात्र हैन वैज्ञानिक दुरदर्शिता पनि थियो भन्ने आज प्रमाणित हुँदैछ ।
अभिवादनका लागि गरिने नमस्कारको संस्कार विर्सन हुँदैन जसले आज कोरोना वा यस्तै महामारीका कारण आफन्त र प्रियजनको छेउमा बस्न पनि नसक्ने अवस्था सिर्जना हुँदैन । हामीले आफूभन्दा ठूलालाई मात्र होईन सानालाई पनि नमस्कार गर्ने संस्कारलाई निरन्तरता दिन जरुरी छ जसले हामीलाई भविष्यमा धेरै कुराबाट बचाउन मद्दत गर्दछ ।
अन्त्यमा यो वेला घरमा नै बसेर महामारीलाई पराजित गर्ने समय हो । वा घरबाट काम गरिरहनु भएको छ भने पनि आफुलार्ई प्रमाणित गर्ने समय हो । घरलाई सुरक्षित राख्नुस् । सफा राख्नुस् । स्वस्थ रहनुहोस् । आफु स्वस्थ रहे परिवारलाई स्वस्थ राख्न सकिन्छ । परिवार स्वस्थ रहे समाज स्वस्थ रहन्छ र समाज स्वस्थ भए देशलाई स्वस्थ राख्न सकिन्छ । बाँचिरहे संसारका धेरै कुराको अनुभव लिन सकिन्छ ।
यो पनि पढ्नुहोस् मृत्यु नरोजौं, अनुशासनमा बसौं