सुनिल न्यौपाने,
सिन्धुलीको रतनचुरा सुन्तला र जुनारका लागि नाम कमाएको ठाउँ हो । पुषको पहिलो सातामै गाउँबाट जुनार सुन्तला लगभग निख्रिसकेका थिए । तर सुलोचना थापाको बगैंचामा भनें रसिला र रहरलाग्दा सुन्तलाका दाना बोटमा लटरम्मै झुण्डिरहेका थिए । सुलोचना र उनका श्रीमान् त्यहाँका मेहनती किसानको परिचय बनाएका व्यक्ति हुन् । तर सुलोचनाको परिचय यत्तिमै सिमित छैन । उनी स्वास्थ्य स्वयंसेविका पनि हुन् जो २० बर्षदेखि आफ्नो गाउँका कुना कुना घुमेर गर्भवती, सुत्केरी, नवजात शिशुको जीवन बचाउने काममा तल्लीन छन् । उनीजस्ता ५४ हजार हाराहारी महिला स्वास्थ्य स्वयंसेविकाहरु मुलुकभर खटिएका छन् ।
गएको फाल्गुण २७ गते काठमाडौंमा एउटा सार्वजनिक छलफल कार्यक्रम थियो जहाँ तिनै महिला स्वास्थ्य स्वयंसेविकाहरुले हामी र हाम्रो समाजलाई पुर्याएको योगदान, उनीहरुले गर्नुपर्ने काम तथा त्यसवापत उनीहरुले पाउने सुविधाका बारेमा छलफल गरिदै थियो । वक्ताका रुपमा रहेका केहि स्वास्थ्य स्वयंसेविकाहरुले आफूहरुले बर्षौंदेखि सेवा गरिरहेपनि राज्यले आफूहरुलाई पटक्कै नहेरेको गुनासो गरे । तर वक्ता मध्येका एक, स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेका निवृत्त सह–सचिवले भनें यदि महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मासिक तलव दिइयो भनें त्यसले स्वयंसेवि भावनाको मर्म मर्ने धारणा राखे । हो, स्वयंसेवि भनिसकेपछि स्वयंसेवा उनीहरुको धर्म हो । तर त्यसको अन्तर्य बुझ्न विचारमा थप स्पष्ट हुन जरुरी छ । सँगसँगै बुझ्नु पर्ने कुरा रह्यो पितृसत्ताका विषयमा पनि । त्यसैले पितृ सत्ताका विषयमा पहिले बुझौं ।
पितृ सत्ता के हो ?
पितृसत्ता भनेको समाजमा पुरुषलाई शक्ति र प्राधिकार प्रदान गर्दै महिलालाई निर्णय गर्ने र शक्तिको पदबाट विमूख गराउने सामाजिक प्रणाली हो । पितृसत्ता अन्तरगत व्यक्तिगत रुची र क्षमताका आधारमा नभई लैंगिक मापदण्डका आधारमा केहि निश्चित भूमिका तथा विशेषताहरु पुरुष र महिलालाई प्रदान गरिन्छ । सामान्यतया, पुरुषलाई नेतृत्व गर्ने तहमा, निर्णय तहमा तथा आयआर्जनको तहमा हेरिन्छ । महिलालाई धेरैजसो उनीहरुको काम र योगदानको मूल्य कम आँकलन गरी स्याहारसुसार, घरायसी भूमिकाहरुमा संकुचन गरिन्छ । यसले महिलाको श्रोत तथा अवसरहरुको पहुँचलाई सिमित गरिदिन्छ ।
पितृसत्तात्मक मनोभावले महिलालाई घरायसी काम र स्याहार÷हेरचाहको भूमिकाका लागि उपयुक्त मान्दछ । उनीहरुको कामलाई मर्यादित ज्याला तथा संरक्षण दिनुपर्ने नभई “प्राकृतिक” उत्तरदायित्व ठान्दछ, नतिजा उनीहरुको श्रमको मूल्याङ्कन गर्नु जरुरी नै ठानिदैन । यसले महिलालाई शोषण तर्फ डो¥याउँछ ।
महिला स्वास्थ्य स्वयंसेविकाहरु पनि पूर्णतः महिला नै छन् । सरकारले निर्धारण गरेका स्वास्थ्यका लक्ष्यहरूलाई पुरा गर्न सहयोग गर्ने र स्थानीयस्तरमा सामुदायिक सहभागिता बढाउने उद्देश्यअनुरूप नेपाल सरकारले आर्थिक वर्ष २०४५/४६ देखि स्वास्थ्य स्वयं सेवक कार्यक्रमको शुरूवात गरेको थियो । पछि सो कार्यक्रमलाई महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमको रूपमा परिणत गरियो । आमा समूहको संलग्नतामा समुदायमा स्वास्थ्य क्षेत्रका कार्यक्रमहरूमा सहयोग गर्न सरकारले तालिममार्फत् स्वयंसेवी तयार पारी कृयाशिल बनाउँदै आइरहेको छ । महिला स्वास्थ्य स्वयंसेविकाहरुले गाउँटोलमा कोहि गर्भवती भएमा नियमित रुपमा स्वास्थ्य चौकीमा जाँच गर्न जाने सुचना दिने देखि गए÷नगएको यकिन गर्ने, नवजात शिशुको खोपको सुनिश्चितता, स्वास्थ्य सम्वन्धी विभिन्न अभियानहरु सञ्चालनमा सहयोगि भूमिका खेल्ने देखि सरकारी स्वास्थ्य केन्द्रको तथ्याङ्कका श्रोत र सुचनाका सम्वाहकको भूमिका निर्वाह गर्ने गर्दछन् । नवजात शिशु, बाल र सुत्केरीको मृत्युदर घटाउन नेपालले हासिल गरेको उपलव्धीको मुख्य हिस्सेदार यीनै महिला स्वास्थ्य स्वयंसेविकहरु हुन् भन्दा फरक पर्दैन ।
यति महत्वपूर्ण काम गरिरहेको भएपनि नेपालमा मात्र होइन दक्षिण एशियाका धेरैजसो देशहरुमा उनीहरुलाई विना ज्याला वा न्यून ज्यालामा काम गराइएको छ । यसो हुनुको कारण स्याहारको कामलाई महिलाको प्राकृतिक कामका रुपमा लिइनु हो । राज्यले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलव्धीहरु हासिल गरिरहेको छ तर त्यसका लागि खम्वाका रुपमा गाउँगाउँमा काम गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदानलाई पूर्णतः नजरअन्दाज गरिएको छ ।
एकपटक कल्पना गरौं, यदि अहिले महिला स्वास्थ्य स्वयंसेविकाहरुले गर्दै आएको काम पुरुषहरुले गरिरहेको भए के हुन्थ्यो होला ? के उनीहरु यसरी नै चुपचाप बर्षौ देखि विना पारिश्रमिक, विना सुविधा गाउँ गाउँमा खटिन्थे होला ? सिन्धुलीकी सुलोचना थापा जस्तै घण्टौं पहाड उक्लेर गर्भवती र नवजात शिशुको हालचाल बुझन् र त्यसको तथ्याङ्क लिएर स्वास्थ्य चौकीमा बुझाउन आउँथे होला ?
यति हुँदा हुँदै पनि महिला स्वास्थ्य स्वयंसेविकाहरु आफूले गर्दै आएको काम चटक्कै छोडिहाल्न सक्दैनन् । पहिलो उनीहरुले बर्षौं सेवा गरेर बनाएको सामाजिक पहिचान हो । गाउँका डाक्टर भनेर समेत चिनिने उनीहरुलाई स्वयसेवामा अल्झाउने त्यो सम्मान जाडोको सिरक जस्तै हो । आफूले गर्ने कामलाई काम नै नमानिएको, त्यसवापत आर्थिक उपार्जन नभएको जान्दा जान्दै उनीहरु त्यहि बर्षौंको लगानी सम्झेर छोड्न सक्दैनन् जसको लाभ राज्यले उठाइरहेको छ ।