मृत्यु नरोजौं, अनुशासनमा बसौं

नेपालमा कोरोना संक्रमणको ग्राफ अहिले पनि सानो विन्दुमा छ । पहिलो व्यक्तिमा कोरोना संक्रमण देखिएको निक्कै दिनपछि दोश्रो व्यक्तिमा संक्रमण देखियो । त्यसपछि संक्रमण भएका विरामीको संख्या फाट्ट फुट्ट गर्दै बढ्दै जाँदैछ । अन्य धेरैजसो मुलुकहरु जो अहिले कोरोना संक्रमणले आत्तिएका छन्, ति मुलुकहरुको अवस्था पनि केहि दिन अगाडीसम्म यस्तै थियो । अर्थात फाट्ट फुट्ट देखिंदै थिए कोरोना संक्रमितहरु ।

जव चीन, दक्षिण कोरिया, ईटाली, स्पेन लगायतका मुलुकहरुमा ह्वार हुर्वाती कोरोना संक्रमित भेटिंदै थिए, नेपालमा उतिधेरै सजगता अपनाइएन । न त सो समयमा विदेशबाट आउनेहरुको उचित तथ्याङ्क राखियो न त उनीहरुको चेकजाँच नै राम्रोसँग भयो । उल्टै गन्तव्य मुलुक रिसाउने भन्दै विना पर्वाह नेपाली श्रमिक पठाउने क्रम चलि नै रह्यो ।

विश्वका विभिन्न मुलुकहरुमा संकट सुरु भइसकेपछि नेपाल आउने यात्रीहरुको उचित तथ्याङ्क राखिएको थियो भनें अहिलेजस्तो सकस सरकारलाई हुने थिएन । कमसेकम त्यसरी आएका व्यक्ति वा निजका परिवारका सदस्यको फोन नम्वर सहितको ठेगाना मात्र राखिएको थियो भनें पनि सरकारलाई हरेक उडानबाट नेपाल आएका यात्रीको खोजी गर्न अहिले परेजस्तो सकस पर्ने थिएन । अहिले त संक्रमित व्यक्ति आएको जहाजका यात्री खोज्नै, कतिपयको ठाउँ, ठेगाना पत्ता लगाउन सरकारलाई समस्या परिरहेको छ । सरकारले हिजोका दिनमा गरेको गल्तीको नतिजा अहिले देखिन थालिसकेको छ । थाहा छैन, सो गल्ती निकट भविष्यमा कति महंगो पर्ने छ नेपाल र नेपालीलाई ।

तर अहिले सरकारले गरेको गल्तीको कुरा गरेर सञ्चो मानेर बस्ने समय होइन । न त कुनै मन्त्री, सरकारी कर्मचारीले गर्ने लापर्वाही वा गैरजिम्मेवारीपनलाई धारेहात लगाएर वा तिनको बद्ख्वाई गरेर स्वाद फेर्ने समय नै हो । विश्वका बडे से बडे मुलुकलाई हावाकावा खेलाइरहेको कोरोना भाइरसको संक्रमणको आगोको झिल्को सल्किइसकेको छ मुलुकमा । भुसको आगो झैं भित्रभित्रै सल्किने र जुनदिन त्यसको लप्का देखिन्छ, त्यो समयमा धेरै ढिला भइसक्ने विश्वका अन्य मुलुकहरुको अनुभव छ यस भाइरस विरुद्दको लडाई । त्यसैले यतिबेला स्वयं नागरिक आफैं जिम्मेवार हुनुपर्ने देखिन्छ ।

एउटा अनौठो चरित्र छ हाम्रो । हामी नेपाली नै विदेशमा बस्दा अत्यन्तै अनुशासनमा बस्छौं । सानो गल्तीमा पनि ठूलो आर्थिक जरिवाना देखि आफू रोजगारीका लागि पुगेको मुलुकबाट निश्कासन भएर स्वदेश फर्काइने त्रास हुन्छ हामीलाई । त्यसैले गन्तव्य मुलुकले लगाउने नियम सकेसम्म धेरै थाहा पाउने प्रयास गर्दछौं र थाहा पाएसम्म पालना पनि गर्दछौं । त्यहाँको सरकारले लगाएको नियमका बारेमा जानकारी नहुँदा, थाहा नपाउँदा पनि कुनै कसुरमा छुट हुन्न । त्यसो भएमा ठूलै मूल्य चुकाउँछौं पनि । अरुले मूल्य चुकाएको थाहा पाएपछि हामी थप डराउँछौं र थप अनुशासनमा रहन्छौं । तर नेपाल टेक्दै गर्दा वा टेकिसकेपछि ? हामीलाई लाग्छ यो त नेपाल हो । यहाँ जे गरेपनि हुन्छ ।

कोरोना संक्रमण सुरु भइसकेपछि विभिन्न देशबाट नेपाल आइपुगेकाहरुमा पनि त्यहि देखिएको छ । उनीहरु आए, त्यो उनीहरुको अधिकार हो । अहिले कतिपय व्यक्तिले विदेशबाट रेमिट्यान्स मात्र होइन, कोरोना समेत भित्रिंदैछ भनेर कटाक्ष गरेको पनि सुनिन्छ, पढिन्छ । विगतका केहि दशक तिनै श्रमिकले कठिन मजदुरी गरेर कमाएर पठाएको रकमले मुलुकको अर्थतन्त्र चलेको सायद बिर्सिए तिनिहरुले र अहिले कोरोनाका वाहकका रुपमा मात्र चित्रित गरिंदैछ वैदेशिक रोजगारबाट फर्केका नेपालीहरुलाई ।

हो, हालसम्म संक्रमण देखिएकाहरु मध्ये केहि वैदेशिक रोजगारबाट फर्केकाहरु थिए, केहि विदेशबाट फर्केका अन्य । तर एउटा नागरिक आफ्नो मुलुक फर्किन पाउनु उसको मानव अधिकार हो भन्ने हेक्का भनें रहनु पर्दछ । हाल पनि विभिन्न मुलुकहरुले विभिन्न मुलुकमा रहेका आफ्ना नागरिकको उद्दार गरिरहेका छन् । तर यस प्रसंगमा उदेकलाग्दो विषय भनेको त्यसरी फर्केका कतिपय व्यक्तिमा देखिएको अनुशासनहिनता हो जुन जतिछिटो सुधार हुन्छ, उति नै जोखिम कम हुन्छ ।

उदाहरणका रुपमा काभ्रेका एक व्यक्ति भारतबाट हालसालै फर्किएका थिए । उनलाई छिमेकीले स्वास्थ्य जाँच गराउन आग्रह गरे । तर उनले मानेनन्, घरमै बस्ने शर्तमा उनी आफ्नै घरमा बसे । कोरोनाको त्रासले सर्लक्कै निलिरहेको अवस्थामा उनलाई हल्का ज्वरो समेत आएको खवर गाउँमा डढेलोसरी फैलियो । उनलाई पुनः स्वास्थ्य जाँच गर्न आग्रह गर्दा पनि उनी त्यसका लागि तयार भएनन् । केहि सीप नचलेपछि गाउँलेले प्रहरीलाई खवर गरे र प्रहरी लगाएर उनलाई स्वास्थ्य संस्थामा पुर्याउनु पर्यो ।

यो त केवल एक उदाहरण हो । कोरोनाकी पाँचौं संक्रमितले कोरोनाको लक्षण देखिइसक्दा पनि जाँच गर्न नगएको, जाँदा पनि आफू विदेशबाट आएको विषय लुकाएको समाचार सार्वजनिक भएको छ । यसले कोरोनाको संक्रमणमा परेका व्यक्तिले आफैंले जोखिम निम्त्याउँदै गरेको स्पष्ट हुन्छ ।

कोरोना संक्रमण फैलिइसकेको मुलुकबाट फर्किएकाहरु मात्र होइन, पछिल्लोे दुई सातायता विदेशबाट आएकाहरुले क्वारेण्टाइनको नियम कडाईपूवर्क नमान्ने र कुनै लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा नजाने हो भनें तिनले आफ्नोे परिवार, आफ्नो गाउँ र सिंगो मुलुकमाथि घात गर्नेछन् । त्यसरी स्वास्थ्य समस्या लुकाएर बस्ने, विदेशबाट आएर पनि निर्धक्क गाउँ घुम्ने, आफन्त नातागोता भेट्दै हिंड्नेहरुका कारण कोरोना भाइरस संक्रमणको जोखिम धेरै छ । यो कुरा स्वयं विदेशबाट फर्केका ति व्यक्ति र तिनका परिवारले नै बुझ्नु पर्दछ । यसमा स्थानीय गाउँसमाज, स्थानीय तहले पनि निगरानी गर्नुपर्ने देखिएको छ ।

आग्रह, दुई साता घरमै क्वारेण्टाइनमा राम्रोसँग बसौं, समस्या छ भनें नलुकौं, मृत्यु नरोजौं । तर विदेशबाट फर्केकाहरुतिर मात्र चोर औंला तेस्र्याएर हुन्न । अनुशासनको चर्को खडेरी नेपालमै बस्नेहरुमा अझ धेरै देखिएको छ ।

त्यसैले अर्को आग्रह, सरकारले लकडाउन गरेको तपाई हामी नागरिकका लागि हो । यो बन्द होइन जो हरेक दिन बेलुकी ५ बजेपछि खुल्छ । त्यसैले लकडाउनको समयमा अत्यावश्यक काम नपरी बाहिर ननिस्कौं । यो नै कोरोना भाइरसको संक्रमणलाई जित्ने हालसम्मको एकमात्र उपाय हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय