
सुनिल न्यौपाने-
गोकर्ण विष्ट । नेकपा एमालेका सचिव जसले उर्जामन्त्रीको जिम्मेवारी सम्हाल्दा राम्रै चर्चा कमाए । सरकारी कार्यालयहरुले नै लाखौं वक्यौता नतिरेर थिलथिलो बनाउँदै लगेको विद्याुत प्राधिकरणलाई तङ्ग्रियाउने काम मात्र गरेनन्, लोडसेडिङ पनि केहि कम भयो उनको कार्यकालमा । त्यसैले उनले राम्रै स्याव्वासी पाए सो कार्यकालमा । यसअघि विष्ट ‘टेष्ट’ भएको यहि घटना हो जसमा उनी पास भए । हालसम्म उनीप्रतिको क्रेज त्यहि कामको हो ।
अव उनको परिचय फेरिएको छ । यसअघि साह्रै हेपाइमा परेको मन्त्रालयको नेतृत्व गर्न उनी आइपुगेका छन् । श्रम तथा रोजगार मन्त्रालय यति हेपाईमा परेको मन्त्रालय हो जसका बारेमा तत्कालिन श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङको भनाईले नै प्रष्ट हुन्छ । उनी सार्वजनिक कार्यक्रमहरुमा नै भनिहिंड्थेः यो श्रम मन्त्रालय नभई शरम मन्त्रालय हो, जसको नेतृत्वमा आएकोमा मलाई मेरा नातासम्वन्धका मान्छेहरुले समेत जिस्क्याउँछन् । वहालवाला मन्त्रीको आफ्नै मन्त्रालय प्रतिको यो अनुभव नै काफी छ श्रम तथा रोजगार मन्त्रालयको हविगत बुझाउन ।
हरेक कार्यक्रमहरुमा कथा सुनाउने र यस्तै कुरा गरेर फर्किने गरेका गुरुङले सो मन्त्रालयमा बसुञ्जेल खासै राम्रो त केहि गरेनन् तर उनले नराम्रो पनि गरेनन् । अर्थात उनी त्यहाँबाट विना कलंक उम्किन चाहन्थे जुन उनी हरेक ठाउँमा भनिरहन्थे । “मलाई फसाउन धेरै तत्पर छन्, त्यसैले म चनाखो छु” गुरुङले धेरैजसो भन्ने कुरा यो पनि थियो । अर्थात फसाउनेहरुको जमात त्यहाँ तयार छ ।
तर पंक्तिकारको विचारमा श्रम तथा रोजगार मन्त्रालय न त शरम मान्नु पर्ने मन्त्रालय हो न त त्यहाँ कुनै काम गरेर देखाउने सम्भावना नै नभएको होस् । यो त काम गरेर देखाउनेका लागि असंख्य सम्भावना भएको मन्त्रालय हो जहाँ थोरै सुधारका काम गरेमा मन्त्री विष्टको कार्यकाल अघिल्लो पटक भन्दा कयौं गुणा धेरै चर्चित हुनेछ । त्यसका लागि गर्नुपर्ने केहि काम छन् । सूची बनाउँदै जाने हो भनें लामै फेहरिस्ता हुनसक्छ तर तिनिहरुको प्राथमिकिकरण हुन जरुरी छ ।
आन्तरिक बजारमा रोजगारीको अवशर सिर्जना पहिलो प्राथमिकता हो । त्यसका लागि श्रम तथा रोजगार मन्त्रालयले मात्र प्रयत्न गरेर पुग्दैन, सिंगै सरकारको ध्यान पुग्न जरुरी छ, तर बैदेशिक रोजगारलाई व्यवस्थीत बनाउन यहि मन्त्रालयले धेरै काम गर्न सक्छ ।
बैदेशिक रोजगारका क्षेत्रमा देखिएको सवैभन्दा ठूलो बेथिति भनेको दलाली नियन्त्रण हो । बैदेशिक रोजगारका नाममा अकुत सम्पत्ती कमाउन बैदेशिक रोजगार व्यवसायीको नाममा पसल थापेर बसेका फटाहाहरुको पहिचान र कारवाही पहिलो आवश्यकता हो । बैदेशिक रोजगारमा हाल पनि कतिपय व्यवसायीले ईमान्दारीपूर्वक काम गरिरहेका छन् । तर उनीहरुलाई जालीफटाहासँग जुधेर स्वच्छ ढंगले काम गर्न गाह्रो परिरहेको छ । हुन त फटाहा व्यवसायीलाई तह लगाउनु चानचुने काम होइन, तर मन्त्री विष्टले यसतर्फ पाइला चाल्ने हो भनें यसमा ति ईमान्दार व्यवसायीले पनि उनलाई पक्कै साथ दिनेछन् । हिजोका दिनमा बदमासी गर्ने व्यवसायीलाई नै बोकेर शिर्ष नेताको दैलो चहार्न नेकपा एमालेका तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने व्यक्तिहरुले लागेको कुरा भनें मन्त्री विष्टले हेक्का राख्न जरुरी छ । त्यसैले मेनपावर व्यवसायमा शुद्धिकरणको अभियान सुरु गर्दा पहिले यस्ता तत्वबाट आइपर्ने अवरोधको आँकलन हुन जरुरी छ ।
दोश्रो, १०/१५ बर्षमा नेपालमा सवैभन्दा सहज ढंगमा पैसा कमाउनेहरुमा पर्दछन् बैदेशिक रोजगारका एजेण्टको नाममा गाउँ–गाउँमा कृयाशिल दलालहरु । त्यसैले गाउँमा बैदेशिक रोजगारमा जाने व्यक्ति ठग्न बसेकाहरुलाई प्रहरी समेतको सहयोगमा तह लगाउनु अर्को महत्वपुर्ण काम हो । हुन त हालको बैदेशिक रोजगार ऐनले प्रहरीलाई यो भूमिका दिएको छैन तर गाउँमा हुने ठगि नियन्त्रणमा प्रहरीले पछिल्लो समयमा देखाएको तत्परता स्वागतयोग्य छ । त्यसैले आपसी सहकार्यमा यो कामलाई तिव्रता दिन जरुरी छ ।
तेश्रो, बैदेशिक रोजगार विभाग पछिल्ला केहि बर्षयता भन्सारको अर्को रुप हो भन्ने कसैबाट छिपेको छैन । श्रम तथा रोजगार मन्त्रालयका सचिवले एकपटक सार्वजनिक कार्यक्रममा भनेः कुन कर्मचारी कहाँबाट लाइन मिलाएर विभाग आइसक्छ, मलाई समेत पत्ता हुन्न । यसले बैदेशिक रोजगार विभागको आकर्षणलाई प्रष्ट बनाउँछ । अर्कातर्फ लाखौं रकम सहित सो विभागबाट कर्मचारीहरु समय समयमा समातिएकै छन् । त्यसैले त्यहाँ हुने भ्रष्टाचार नियन्त्रण अर्को चुनौतिपूर्ण तर नगरी नहुने प्राथमिक काम हो । पीडितले ठगिसम्वन्धि हालेका मुद्धाहरु मध्ये बैदेशिक रोजगार व्यवसायी विरुद्ध परेका मुद्धा बैदेशिक रोजगार न्यायाधिकरण नपुग्ने समस्यको अन्त्य हुनै पर्दछ ।
चौथो, बैदेशिक रोजगारमा जानेहरुलाई ठग्न बस्नेहरु स्वदेशमा मात्र छैनन् । गन्तव्य मुलुकका विभिन्न कम्पनीहरु नेपालमा आएर बसेका छन् जसले विविध शिर्षकमा ठूलो रकम उठाएर नेपालीलाई ठगिरहेका छन् । भिएलएन, माइग्राम वा गाम्का जस्ता नाममा रकम ठग्नेहरुलाई कुटनीतिक रुपमा ठेगान लगाउनु अर्को महत्वपूर्ण काम हो ।
र, गन्तव्य मुलुकमा पनि अप्ठ्यारो पर्दा मेरो राज्य छ भन्ने अनुभूति दिलाउन जरुरी छ । यसका लागि कानूनी प्रतिरक्षा र अत्यावश्यक पर्दा आर्थिक सहयोगको व्यवस्थामा मन्त्रालयको ध्यान पुगिरहन जरुरी छ । हो, सवै बदमासी गर्नेहरुलाई राज्यले सवै हिसावले सहयोग गरिरहन सक्दैन । तर कतिपय जायज मुद्धाहरुमा पनि राज्यको ध्यान पुग्न सकिरहेको छैन जसले गर्दा परदेशमा पुगेको नेपालीले राज्यविहिनताको अनुभूति गर्नु परिरहेको छ । त्यसको अन्त्यका लागि पनि नयाँ मन्त्रीले काम गर्न सक्दछन् ।
नेपालमा धेरै केहि गर्नै पर्दैन । थोरै काम गरियो भनें पनि खुशी हुनका लागि त्यो भन्दा धेरै कारण चाहिन्न । यसअघि लालबाबु पण्डित, कुलमान घिसिङ र स्वयं गोकर्ण विष्टले उर्जा मन्त्री हुँदा कमाएको चर्चा यसका उदाहरण हुन् । चुनौतीको चाङका बीच असंख्य सम्भावना भएको मन्त्रालय सम्हाल्न आइपुगेका मन्त्रीले चाल्ने प्राथमिक कदमहरुले नै आगामी दिन उनको कस्तो होला भनेर आँकलन गर्न सकिएला ।
यो पनि पढ्नुहोस् हुण्डी, सुन र मानव तस्करी, कहिले हुन्छ पर्दाफास ?