मेघराज सापकोटा, युएई
झापाका कृष्ण भुजेल युएईको एक सेक्युरिटी कम्पनीमा कार्यरत छन । उनी महिनाको २,५०० दिर्हाम जती कमाउछन । उनको घरमा एउटी बुढी हजुरआमा, बुवाआमा, श्रीमती, १ छोरा, १ छोरी सहित २ जना बहिनी छन् । उनलाई आमाले त जन्म मात्र दिने काम मात्र गर्नु भो, हुर्काउने काम त हजुरआमाले गर्नु भएको थियो । घरमा श्रीमती सधैं न्यास्रो मान्छिन । छोराछोरीले कहिले फर्किन्छस भनेर सोधेको सोध्यै गर्छन् । त्यसैले उनी अबको २ महिना पछी घर फिर्ने तयारीमा छन ।
घर जाने पक्का भए पछी उनले झण्डै ४-५ महिना पहिलेबाट नै किनमेल गर्न सुरु गरिसकेका थिए । उनको किनमेलको सुचीमा आमालाई किनिदिएको सुनको गहना देखी दिदीबहिनीहरुलाई किनेको मोबाइल पनि छ । तर उनले हजुरआमालाई भने केही गहना किनिदिन सकेनन । किन भने युएईमा हजुरआमाले लगाउने कानका गहना भेटेनन, बुलाकी पनि छैनन । आमाले लगाउने नौगेडी पनि पाइएन । त्यसैले २० ग्राम काँचो सुन किने ।
नेपाल सरकारले काँचो सुन लान प्रतिबन्ध गरेको समाचार सामाजिक सञ्जालको मेरो वालमा देखे पछी उनी निकै चिन्तित देखिन्थे । नेपालको एक टेलिभजनले बहिनीको बिहेको लागि साउदीबाट काँचो सुन लिएर घर जादै गरेको एक जनाको सुन एअरपोर्टमा जफत गरेर र त्यती नै रकम बराबरको जरिवाना लिएको खबर देखेपछी त उनी आक्रोशित बने । उनी भन्छनः जन्म दिने मेरी आमा र हजुरआमालाई ८/८ ग्रामको तिलहरी र बुलाकी बनाउनको लागि सुन लान नपाउने यो कस्तो नियम ? दिदीबहिनीहरुलाई एक एक वटा मोबाइल लान नदिने कस्तो सरकार ?
………………………………………………………………………………..
नेपाल सरकारले गत श्रावण १ देखि लागु हुने गरी भन्सार नियममा परिवर्तन गरेको छ । यस् अगाडी ५० ग्राम काँचो सुन लान पाउने नियमलाई परिवर्तन गरी काँचो सुन लानै नपाउने नियम बनाए पछी खाडीमा काम गर्ने वास्तविक मजदुरहरु मर्कामा परेका छन । नेपाली बजारमा दैनिक १२-१३ केजी सुनको बिक्री हुने गरेको तथ्य नेपाल राष्ट्र बैंकको रहेको छ । तर सुनतस्करहरुले खाडीका मजदुरलाई सुन भरिया बनाएर दैनिक ७ केजी सुन नेपाल भित्र्याउने हुनाले अहिले दैनिक ३-४ केजी सुन मात्र बिक्री भईरहेको राष्ट्र बैंकले जनाएको छ । यसबाहेक चीनबाट अबैध रुपमा भित्रने सुनको लेखाजोखा नेपाल सरकारसँग छैन ।
अर्को तर्फ भन्सार सम्बन्धी नियममा भएको परिवर्तनको बारेमा स्वयम प्रधानमन्त्री पनि त्यति जानकार रहेनछन भन्ने कुरा सिधा कुराू कार्यक्रम मार्फत थाहा भयो । प्रधानमन्त्रीले त थाहा नपाएको कुरा साउदीको जेद्दाबाट ३ घण्टा दुरीमा रहेको स्थान जहाँ टेलिफोनको सिग्नल पनि राम्ररी टिप्दैन, उनले कसरी थाहा पाउनु ? बिचरा उनले बहिनीको बिहेको लागि भनेर सुन ल्याउँदा नेपाल सरकारले प्रतिबन्ध लगाएको काँचो सुन बोक्ने अपराधीको बिल्ला भिरे ।
त्यसरी नै अपराधीको बिल्ला भिरिने चिन्ता युएईका कृष्ण भुजेललाई पनि छ । कि त उनले त्यो सुन दुबईमै बेच्नु पर्यो र आमा, हजुरआमालाई भन्नु पर्यो काँचो सुन ल्याउन पाईन्न भनेर । कि त उनी अपराधी बन्न तयार भएर २० ग्राम सुन बोकेर नेपाल जानु पर्यो ।
सरकारको तर्क छ, काँचो सुनले तस्करी मौलायो । काँचो सुनले हुण्डी मौलायो । अनी हुण्डी र तस्करी रोक्न खाडीका मजदुरहरुको घाटी निमोठ्नु पर्यो । गज्जब तर्क । छिमेकीको गोरु फुकेर मेरो खेतको बाली खायो, गोरु समातेर बाँध्ने कि, गोरु मारिदिने ? कि बाली नै मासिदिने ? कान्छी औंलामा घाऊ आयो, कान्छी औंलाको उपचार गर्ने कि, हातै काटेर मिल्काउने ? गज्जब छ !
गत २१-२२ जुलाईमा कतारको दोहामा गैर आबासिय नेपाली संघ, मध्यपुर्ब क्षेत्रको पाँचौ भेलाले १३ बुँदे घोषणापत्र जारी गर्यो । मजदुरको हक र हीतको लागि भनेर जारी घोषणा पत्रको बुँदा नं. ५ मा काँचो सुनमा लगाईएको प्रतिबन्ध फुकुवा गर्न माग गरिएको छ । एनआरएनएले समेत मजदुरहरुले काँचो सुन लान पाउनु पर्छ भनेर वकालत गरेको देखे पछी यो बहस अझ पेचिलो बन्दै गईरहेको छ । कतिले एनआरएन स्वयम हुण्डी र तस्करीमा संलग्न भएको आशँका गर्दै उक्त निर्णय प्रती असहमती समेत जनाए । बहस जरुरी छ, हुनुपर्दछ ।
सबै एनआरएनएकर्मी गतिला नहोलान । या सबै गतिला पनि होलान । तर कुल ग्राहस्थ उत्पादनको ३० प्रतिशत थेग्ने रेमेन्ट्सका मालिकहरु प्रति सरकार यति निर्दयी बन्न मिल्छ कि मिल्दैन भनेर पनि त बहस गर्न मिल्ला नि ? मेरो जानकारीमा भए अनुसार अधिकांश मजदुरी गर्ने साथीहरुले केही न केही परिमाणको काँचो सुन लानेगर्छन् । म पनि लान्छु । के म सुन तस्कर हुँ त ? म जस्तै काँचो सुन लान पाउनु पर्छ भन्ने आवाज उठाउनेहरु सबै सुनतस्कर हुन त ? मेरो प्रश्न यो हो ।
एनआरएनको मध्यपुर्ब भेलामा नेपाल सरकारको प्रहरी निकायका उच्च अधिकारीको उपस्थिती रहेको थियो । म उहाँ र उहाँ मार्फत नेपाल सरकारलाई के भन्न चाहन्छु भने, यदी सरकार साँच्चै हुण्डी र सुनतस्करी रोक्न र तस्करलाई कारबाही गर्न चाहन्छ भने युएई लगायत खाडीका मुलुकहरु जहाँ हामी मजदुरी गर्छौ, आओस, घुमोस र हामीलाई भेटोस । एनआरएन त के, बिभिन्न सामाजिक संस्थाको बिल्ला भिरेर मजदुरलाई भरिया बनाउने दलालहरु, राजनीतिक दलहरुको भातृ संगठनको आवरणमा भिजिट भिषाको दलाली गर्नेहरु, सुनतस्करहरु र हुण्डी ब्यवसायीहरुको फेहरिस्त दिन तयार छन, युएईका नेपाली मजदुरहरु ।
यदी नेपाल सरकार ब्यक्तीको सुरक्षा र गोपनियतालाई प्रत्याभुत गर्न सक्छ भने युएईमा बसेर नेपाल सुन पठाउने दलालहरुको नामवली दिन जोकोही तयार छन । यदी नेपाल सरकार स्रोतको गोपनियतालाई कायम गर्छ भने हुण्डीका मालिकहरुको नामको फेहरिस्त दिन तयार छन यहाँका मजदुरहरु । अनी तयार छन युएईका मजदुरहरु भिजिट भिसाका दलालहरुको फेहरिस्त बुझाउन । के नेपाल सरकारसँग हिम्मत छ ?
अहँ मलाई त लाग्दैन नेपाल सरकार यो काम गर्न सक्छ भनेर । किन सक्दैन ? त्यसको पनि जवाफ छ ।
१. राजनीतिक संरक्षण
२. हुण्डीको व्यवाियमा ठुलै ब्यवसायीहरुको संलग्नता
३. भिजिट भिषामा स्वयम नेपाल सरकारको अप्रत्यक्ष संलग्नता ।
नेपालका केही ठुला ब्यवसायीहरुले आजभोली युएईका होटल र रियल स्टेटमा लगानी गर्दैछन रे । नेपाली जनताले बिदेशमा लगानी गर्न पाउने नियम कानुन छ र भन्या ? शायद छैन । अनी हुण्डी नमौलाए के मौलाउछ ? त्यसको लागि पनि त सुनतस्करी त गर्नु पर्यो । भिजिट भिषा रोके नेपाल सरकारका कर्मचारीले के घुस खाने ? नेपाल सरकारसँग हिम्मत छ कारबाही गर्ने ? हामी सयौँका संख्यामा सेटिङमा भिजिट भिषामा युएई आउनेहरुको भिषा र पासपोर्ट कपी दिन तयार छौ । उनीहरु कुन दिन, कति बजेको, कुन बिमानबाट युएई आएका हुन त्यसको प्रमाण दिन तयार छौ । के त्यो दिन, त्यो समयमा एअरपोर्टको अध्यागमन कार्यालयमा बसेर छाप लगाउने (अनुमती दिने) घुस्याहा कर्मचारीलाई कारबाही गर्ने हिम्मत नेपाल सरकारको छ ?
यिनलाई कारबाही गर्ने नेपाल सरकारको हिम्मत छैन । त्यसको मार चाहिं हामीले खेप्नु पर्ने ? त्यसैले ५० ग्राम काँचो सुन चाहिएन, आमा र हजुरआमाको लागि कम्तीमा २ तोला सुन त लान देऊ । नत्र खाडीका मजदुरहरुको आँशुको श्राप लाग्नेछ । पसिनाको बात लाग्नेछ । तिमीलाई पाप लाग्नेछ ।
यो पनि पढ्नुहोस्
काँचो सुन लैजान पाउनु पर्ने मागः कामदारको हीत की तस्करको भरिया ?