मेघराज सापकोटा, युएई
युएईमा गज्जब भो । १२ बर्षमा लाग्ने कुम्भमेला जस्तै युएईमा नेपाली दुतावास स्थापना भएको १२ बर्षपछी पहिलो पटक जुलाई १ तारिकको दिन एउटा अन्तर्कृया कार्यक्रम आयोजना गरियो । धेरै भन्दा धेरै नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई बोलाएर आयोजना गरिएको बैदेशिक रोजगार सम्बन्धी अन्तर्कृया कार्यक्रम युएईको नेपाली समाजमा एउटा कुम्भमेला नै थियो ।
कार्यक्रमको उद्धेश्य सह्रानिय थियो । कार्यक्रम आयोजना गर्दा केही छुटपुट कमी कमजोरी हुन्छन, भए होलान तर पनि जे जति भयो सोचेको भन्दा राम्रै भयो । ऐतिहासिक भन्दै उपस्थित अधिकांशहरुले दुतावासलाई धन्यवाद दिए । यसै सेरोफेरोलाई लिएर नेपाली समाजमा चलेको चर्चा, असन्तुष्टि र प्रशंसाका केही प्रसंगलाई आज मेरो रेगिस्तान एक्स्प्रेसमा पोख्ने जमर्को गरेको छु । केही ढिला भए पनि युएईको हकमा यो नलेखी नहुने ठानेर नै लेख्न लागेको हुँ ।
कार्यक्रममा केही नेपाली संघसंस्थाहरु छुटेको देखियो । केही महिना पहिले नेपाली दुताबासले सामाजिक संजाल र आफ्नो वेबसाइटमा युएईमा रहेका नेपालीहरुको संघसंस्थाहरुको विवरण मागेको थियो तर किन भनेर कारण खुलाएन । कतिले आफ्नो संस्थाको विवरण उपलब्ध गराए भने कतिपयले गराएनन वा गराउन आवश्यक ठानेनन । पंक्तिकारलाई जानकारी भएअनुसार उक्त दिनको कार्यक्रममा विवरण उपलब्ध भएका संस्थाहरुलाई मात्र निम्ता गरिएको थियो (रे) । तथापी काभ्रे सम्पर्क समितिका गोबिन्द पन्तले भने विवरण उपलब्ध गराउँदा पनि निम्तो नपाएको गुनासो गरे । त्यस्तै बिप्लब माओवादीका नेपाली जनप्रगतिशिल मोर्चाका अध्यक्ष बिराट लामिछानेलाई पनि उक्त कार्यक्रमको बारेमा कुनै छनक नभएको उनले बताए । जनजाति महासंघ युएईका अध्यक्ष डेरराज गुरुङले त अन्तर्कृया कार्यक्रममा आफु बिना निम्तो आएको भनिदिदा हलमा केही छिन हाँसो गुन्जियो । उनी युएईमा रहेको ११ वटा जातिय संगठनको छाता संगठन जनजाति महासंघका, युएईका अध्यक्ष हुन । उनी पनि झण्डै छुटे ।
नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ, युएईलाई पनि अधिकारिक निमन्त्रणा आएन । नेपाल पत्रकार महासंघ, युएई शाखाले गत १५ डेसेम्बर, २०१४ मै अधिबेशन पश्चात बनेको नयाँ कार्यसमितिको नामावली दुताबासमा तत्कालिन राजदुत धनञ्जय झालाई बुझाएको थियो । तथापी दुतावासले केही नजिकका पत्रकारहरुलाई मात्र छानीछानी निम्तो गरेको देखिन्छ । दुताबास युएईमा पत्रकार महासंघ छ भनेर जानकार नभएको पक्कै हैन । युएईमा बसेर युएईका नेपालीहरुका यावत समस्याहरुको बारेमा कलम चलाऊने म आफु पनि बिना निम्तो (मान्छे कुकुर भन्दा ज्ञानी प्राणी, आँफै बुझेर पनि जानुपर्छ) भन्दै लुरुलुरु गईयो । म जस्तै अरु ५-६ जना पत्रकारहरु पनि बिना निम्तो गए, कार्यक्रमलाई सफल पारे र भोज नखाई फर्के । तसर्थ कार्यक्रममा दुताबासको लिस्टमा १५० जनाको नाम भए पनि उपस्थिती १७५ जनाको रहेको थियो ।
कार्यक्रममा आशन ग्रहण, फुलमाला, ब्याच र खादा प्रयोग गरिएन । अतिथीहरुको आशन ग्रहण नभए पछी कार्यक्रममा नेपाली तथा गैर नेपाली अतिथीहरु को को थिए भन्ने बारे जानकारी पनि भएन । सुने र देखे अनुसार केही ठुला कम्पनीका प्रतिनिधिहरु उपस्थित थिए । यदी थिए भने ती ठुला कम्पनीका प्रतिनिधिहरुको भनाइ र अनुभव पनि राखिदिएको भए अझ सुनमा सुगन्ध हुने थियो । उनीहरु आए, बसे र गए । नेपाली भाषामा भएको कार्यक्रम बुझे कि बुझेनन् थाहा भएन । राष्ट्रिय गान बजाउँदा उपस्थितहरु आफैं जानेर नै उठेका थिए । कसैले राष्ट्रिय गीत बज्दैछ उठ है भन्नु परेन ।
ठुलो कार्यक्रम आयोजना गर्दा सानोतिनो कमजोरी हुने गर्दछ । ब्यवस्थापकिय कमजोरीहरु अर्को कार्यक्रममा सच्याउदै जानु पर्दछ । उल्लेखित कमजोरीहरु आलोचना हैनन, सुझावको रुपमा सम्बन्धित सबैले बुझिदिनु हुन अनुरोध गर्दछु ।
कार्यक्रम शुरु हुँदै थियो । पत्रकार मित्र भुपराज बस्याल जीले केही समय फेसबूक मार्फत लाइभ प्रसारण गर्नु भो । कार्यक्रम सुरु हुँदै गर्दा एनआरएन युएईका केन्द्रिय समिति सदस्य ॠषि बस्यालले लाइभ भिडियो कै मुन्तिर एउटा टिप्पणी गरे: दुताबासले बिना जानकारी ब्ल्याकलिस्टेड कम्पनीहरुलाई कामदार ल्याउन अनुमति ल्याउन दिएको गुनासाहरु हामीसँग प्रसस्त छन । दुतबासले किन यस्तो कार्य गर्छ ? उनले उपस्थितलाई यस बारेमा आवाज उठाउन अनुरोध पनि गरे । तर यो बिषयमा आवाज उठेन । केही साथीहरु सँग कुरा गर्दा उनीहरुले यो नयाँ कुरो नभएको बताए । शायद त्यही भएर पो हो कि, मुसाफामा रहेको एउटा कम्पनीले ७ जना नेपाली चेलीहरुलाई बिना तलब र बिना काम २-४ महिनासम्म राख्दा पनि केही गर्न सकिएन । पँक्तिकारलाई जानकारी मिले अनुसार त्यो कम्पनीको त्यस्तो हर्कत पहिलो पटक हैन रे । तर पनि उसले नेपाली कामदार ल्याउने अनुमति पाइरहन्छ ।
रस अल खैमहका अर्का मित्र राम तामाङले एउटा गम्भिर प्रश्न सोधेः दलालहरुले युएईलाई ट्रान्जिट बनाएर सिरियामा नेपाली चेलीहरुलाई बेचिरहेका छन । ३०० जना भन्दा बढी चेलीहरु द्वन्द्वग्रस्त सिरियामा छटपटिरहेका छन । यो बिषयमा आवाज उठाउनु होला । मैले आवाज उठाउन सकिन र राम जीलाई ‘सरी’ भनें । कारण तल लेखेको छु ।
अबुधाविकैअर्का मित्र शंकर फुयालले पाँच तारे होटलमा सम्पन्न कार्यक्रमको खर्चको स्रोतको बारेमा प्रश्न उठाए । उनले नेपाली दुताबासमा ३ लाख दिर्हामको बेरुजु रहेकोले त्यो बेरुजुलाई सल्टाउनको लागि यो कार्यक्रम गरिएको त हैन भन्दै शंका ब्यक्त गरे । शंकरजीको यो प्रश्न युएईमा रहेका बिभिन्न संघ संस्थाको चासोको बिषय पनि हुन । बिचल्लीमा परेका नेपालीहरुको उद्दार गर्नको लागि बजेट नहुने नेपाली दुताबासले यो कार्यक्रममा कति खर्च गर्यो र के उपलब्धी प्राप्त भो भन्ने बारेमा दुताबासले कुनै न कुनै माध्यमबाट सर्बसाधारणलाई जानकारी दिन आवश्यक देखिन्छ ।
साथै नेपाली दुताबासमा ठुलो रकम बेरुजु छ भन्ने कुरा केही दिन देखी युएईको नेपाली समाजमा सुन्ने गरिएको छ । शंकर जीले ३ लाख दिर्हाम नै भनेर लेखिदिए । यो बिषयमा पनि दुतावासले जानकारी दिन आवश्यक छ ।
अन्तर्कृया कार्यक्रममा उठेका बिषय, प्रश्न र तथ्यांकहरुको बारेमा यस भन्दा अगाडि नै बिभिन्न संचार माध्यमहरुबाट बाहिर आईसकेका छन । उठेका केही प्रश्नहरुको दुतावासले दिएको जवाफको बारेमा मेरो र सर्बसाधारणको चासोको बिषयलाई उठान गर्दछु ।
………………………………
दुबईमा कन्सुलेट अफिसको स्थापना अन्यौलतामा
कन्सुलेट अफिस खोल्ने बारेको प्रश्नमा कार्यबाहक राजदुत नेत्र बहादुर टण्डनले दिनुभएको उत्तरले मलाई निकै सोच्न वाध्य बनायो । अघिल्ला राजदुत धनञ्जय झाले काम भईसक्यो, खुलीसक्यो, बजेट निकासा हुन मात्र बाँकी छ भनेको सुन्ने मेरै कान थिए । तर उनी त एक नम्बरको झुट पो रहेछन । टण्डनका अनुसार त नेपाल सरकारले दुबईमा कन्सुलेट अफिस आवश्यक भएको नभएको बारे अध्ययन गर्न बनाएको एउटा समिति (नाम ठ्याक्कै याद भएन) ले सिफारिस मात्र गरेको रहेछ । युएई सहित स्पेन लगायत अन्य ठाउँमा पनि त्यो समितिले सिफारिस गरेको रे । युएई प्राथमिकतामा नपरेकोले अहिलेसम्म खुल्न नसकेको टण्डनको भनाइ रहयो । अरबमा काम गर्ने डोरी लाहुरेहरु सरकारको प्राथमिकतमा किन पर्थे र ? बरु स्पेन पर्यो । कहिले प्राथमिकतामा पर्ने र खुल्ने भन्न नसके पनि छिट्टै खुल्ने आशा उनले ब्यक्त गरे । त्यसको लागि उनले युएईमा रहेका ठुला राजनीतिक दलका भातृ संगठनहरुको सहयोगको पनि अपेक्षा राखे । सिधै भनौ, सरकारमा रहेका राजनीतिक दलका भातृ संगठनहरुले आफ्ना मन्त्री र नेतालाई गुहार्न उनले सुझाए । राजनीतिक दलहरुका भातृ संगठनले गुहार्न सक्ने पहुँच वा क्षमता भए त शायद अस्ती नै खुली सक्ने थियो होला । किनकी युएईमा यस्तो कुनै नेता नहोलान जसले प्रधानमन्त्री, मन्त्री र ठुला नेतासँग फोटो नखिचाएका हुन । (यसबारे अर्को ब्लगमा लेख्नेछु)
नक्कली सर्टिफिकेटको बिगबिगी नेपाली दुताबासमा पनि
द्धितिय सचिव कृष्ण अर्यालले एउटा खुलासा गरे । दुतावासमा दैनिक १-२ वटा नक्कली सर्टिफिकेट आउँछन दुतावासको छाप लगाउनको लागि । प्रायः ती सर्टिफिकेटहरु प्रहरी र आर्मीका हुन्छन । शैक्षिक प्रमाणपत्र जस्तो प्रहरी र आर्मीको नक्कली र सक्कली छुट्याउन सजिलो नभएको उनले भने । अब आउने नयाँ राजदुत पनि आर्मी ब्याकग्राउन्डकै भएकोले नक्कलीलाई चिनेर के कस्तो कारबाही गर्ने निर्णय गर्न सजिलो हुन्छ कि भन्ने उनको कथन थियो । अझ उनले त्यस्ता नक्कली काम त युएईमै हुने कुराको खुलासा पनि गरे । अहिलेसम्म त्यस्ता नक्कली सर्टिफिकेटधारीलाई कारवाही नगरिएको उनले बताए । नक्कली सर्टिफिकेट बोक्नेलाई नेपाल सरकारको कानुनले कारबाही गर्न किन मिल्दैन होला भन्ने मेरो प्रश्न ज्युको त्यु छ ।
यी माथिका बिषय सँगसङै हत्या अभियोगमा जेलमा रहेका अमर बहादुर बमको बिषयमा उपस्थितहरुको प्रश्नमा टण्डनले ३ पटक भन्दा बढी उच्चस्तरको कोसिस सफल नभएको बताए । अन्य धेरै कुराहरु उठे जुन सञ्चार माध्यममा आईसकेका छन ।
……………………………………………………
नेपाली दुतावासद्धारा आयोजना गरिएको उक्त कार्यक्रमले युएईमा रहेका नेपाली व्यवसायी, सामाजिक संघ संस्था र दुतावास विच सुमधुर सम्बन्ध स्थापित हुन सहयोग हुनेछ । प्रस्तुत गरिएको रिर्पोटले युएईको समस्यालाई मिहिन रुपले अध्ययन गरिएको देखियो । श्रम सहचारी हिरा यादव र द्धितिय सचिव कृष्ण अर्यालको प्रस्तुती उत्कृष्ट थियो । समस्याका समाधानका उपाय सहितको प्रस्तुतीको राम्रो लाग्यो । अझ खुशी त के लाग्यो भने दुतावास यहाँका समस्या र निराकरणको उपायका वारेमा जानकार पनि रहेछ । जानकार रहनु पनि नेपाली श्रमीकको हितमा रहेको मेरो ठम्याई हो ।
दुतावास समस्या र त्यसको निराकरणको उपायको जानकार रहँदारहँदै पनि समस्या सामाधान गर्न नसक्नु र यहाँको समस्यालाई नीतिगत रुपमा सम्बन्धित निकायबाट सम्वोधन गराउन नसकेको भने पक्कै हो । र अन्तर्कृया कार्यक्रममा ति कारणहरुको बारेमा केही पनि बोलिएन । तसर्थ अन्तर्कृया भाइचारा बढाउने र उत्कृष्ट प्रस्तुतीका लागि मात्र हो त ? भन्ने प्रश्न पनि छ । किनकी अन्तरकृयामा उठेका सवाल र रिपोर्टमा प्रस्तुत बिषयलाई म, हामी र हाम्रो दुताबासले यति दिन भित्र समाधान गर्न सक्छ भन्ने विश्वाश स्वयम दुतावासलाई थिएन । (टेलिफोन नउठ्ने समस्या चाँही ३ दिन भित्र समाधान गर्ने कार्यबहक राजदुतको भनाइ थियो) । जस्तै माथि राम तामाङ जीले उठाउनु भएको कुराः युएईलाई ट्रान्जिट बनाएर नेपाली चेलीहरुलाई सिरियामा बेचिन्छन । समाधान के ? भिजिट भिसामा दिनका दिन नेपालीहरु दलाल मार्फत युएईमा आएका छन । नेपाल सरकारको इमिग्रेसन पार गरेर । सामाधान के ? कसरी रोक्न सकिन्छ भन्ने कुरामा दुतावास मौन छ । किनकी उसलाई पनि थाहा छ कि नेपाल सरकारका कर्मचारी भ्रष्ट छन ।
सुचनाको हक सवैमा विस्तार गर्न पहल गरिने भनाई स्वागत योग्य छ । आफु निकट र दुतावाससंग नजिक रहन चाहने व्यक्तिलाई मात्र सुचना दिने गरेको केही पत्रकारहरुको गुनासोलाई सम्बोधन गर्ने गरी द्धितिय सचिव कृष्ण अर्याललाई सुचना अधिकारी तोकिनुले युएईका पत्रकार खुशी देखिएका छन ।
कार्यक्रम राम्रो उदेश्य अनुरुप संचालन गरीएको भएता पनि त्यसले वैदेशीक रोजगारीमा रहेका नेपालीको सेवा र समस्याको समाधानमा खास ठोस उपलब्धी नहुने तर्क गर्छन् पत्रकार निमेश गिरी । उपस्थित लगभग सवैमा रिपोर्टमा उल्लेखित कुराका जानकारी रहेको थियो । जानकारी त त्यसलाई थिएन जो बिल्कुल मजदुरी गर्छन् । त्यहाँ त सबै सुकिला मुकिला र अली अली पढेलेखेकै नेपालीहरु उपस्थित भएकोले वास्तविक कामदारलाई त्यसको फाईदा पुग्ला भन्नेमा उनलाई शंका छ । त्यसको विकल्पमा यहाँ रहेका दुर्गम क्षेत्रका नेपाली कामदार वाहुल्य रहेका ठाउँमा जनचेताना जोगाउने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको भए दुरगामी परीणाम दिने थियो, उनले थपे ।
युएईसँग सम्बन्ध स्थापित भएको २५ बर्ष भन्दा बढी भईसक्दा पनि नेपाली कामदारको हितको लागि दोहोरो श्रम सम्झौता गर्न नसक्ने नेपाल सरकार र तिनका निकाय दुतावासले श्रमिकको हितमा केही गर्छ भन्नेमा उनलाई शंका लागेको हो । जबसम्म मजदुरलाई २ वटा करारपत्रमा (एउटा नक्कली नेपाल सरकारको एअरपोर्टको लागि, अर्को सक्कली युएई सरकारको लागि) हस्ताक्षर गराइन्छ तबसम्म अरवमा रहेका नेपालीहरुको समस्या नसकिने, बरु बढ्ने उनको कथन छ । तर उनले नेपाली दुताबासको क्षमता र हैसियत अनुसार भने यो अन्तर्कृया कार्यक्रमलाई भने प्रशंसा गरे ।
नेपाली दुताबासले भने यस किसिमको कार्यक्रम युएईको सातै इमिरेट्समा गरिने जानकारी गराएको छ जुन स्वागत योग्य छ ।
मुख्य तस्वीर सौजन्यः मोहन बस्याल, युएई
यो पनि पढ्नुहोस्
थामिंदैन आमाको आँशु हराएको छोरो सम्झेर (भिडियो सहितको सामग्री)