खेत बाँझै छ, भकारी साँघुरिसक्यो

निलाम्वर बडाल- भनिन्छ साहित्य अनौपचारिक ईतिहास हो । रूपरेखा साहित्यिक मासिकमा २०२४ सालको अंकमा भूपी शेरचनको ‘यो हल्लै हल्लाको देश हो’ शिर्षकमा छापिएको कविता (जुन पछी घुम्ने मेचमाथि अन्धो मान्छे कृतिमा समाविष्ट भयो) मा लेखिएको छ, “ ….र जहाँ स्वतन्त्र आमाहरुले, छोरा होइन लाहुरे मात्र जन्माउँछन् ..” यसले के स्पष्ट पार्छ भने नेपालमा वैदेशिक रोजगारीको चर्चा (सम्बत्) २० को दशकमा नै चुलिमा थियो । साथै ‘कर्म लिएर बर्मा जाने’ उखानको प्रचलन होस् वा मुना मदनको वैदेशिक रोजगार प्रसङ्ग नेपाली साहित्यमा हुनुले वैदेशिक रोजगारी घरायसी कुरा भएको स्पष्ट हुन्छ । पछिल्लो समय विभिन्न गित, सिनेमा, नाटक तथा अन्य साहित्यिक विदा मार्फत वैदेशिक रोजगारीको विभिन्न आयामहरुबारे धेरै चर्चा हुन थालेको छ । पशुपति शर्माको “मलाई जापान पनि यै, मलाई सिंगापुर नि यै………..” बोलको गीत लोकप्रिय हुनुमा नेपालमा वैदेशिक रोजगारीले पारेको प्रभावका रुपमा लिन सकिन्छ ।

नेपालमा वैदेशिक रोजगारी अपरिहार्य सत्यको रुपमा स्थापित भई सकेको छ । कोही यसलाई लाहुरे सँस्कृतिको रुपमा पनि चित्रण गर्दछन् जसको फलस्वरुप विदेश नगएको ‘पट्ठो’ काम लाग्दैन भनिने अवस्था आएको छ । नेपालको आधा घरधुरीमा वैदेशिक रोजगारीबाट आएको कमाईले चुल्हो बल्ने गर्छ । यसले गर्दा अहिले वैदेशिक रोजगार प्रत्येक घरको कुराकानीमा राजनीति पछीको दोस्रो विषयको रुपमा प्रवेश पाईसकेको छ । अनि नेपालमा वैदेशिक रोजगारीलाई अर्थतन्त्रको आधारका रुपमा सबैले मान्न थालिसकेका छन् । नयाँ धनि वर्गको उदयले मध्यम बर्गिय परिवारको संख्यामा भएको वृद्दीलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ । नेपाली समाजको वर्गिकरण वैदेशिक रोजगारीको गन्तव्यका आधारमा हुन शुरु भईसकेको छ । अमेरिका, यूरोप जाने वर्ग, कोरिया जापान जाने वर्ग, खाडि मलेशिया जाने वर्ग र भारत जाने वर्ग छुट्टिन थालिसकेको छ । नेपालमै केही उद्दयम गरेर बस्ने मानिसलाई कसैले असफल नागरिक वर्ग भनेमा मलाई अचम्म लाग्ने छैन ।

यसरी घर परिवारकै स्तरमा प्रभाव पारेको वैदेशिक रोजगारी लामो विकासक्रमको परिणति हो । नेपालबाट विभिन्न समयमा विभिन्न प्रकृया मार्फत यूवाहरु विदेशिएको उदाहरण पाईन्छ । वीर बलभद्र कुँवर वैदेशिक रोजगारीका क्रममा विदेशी सेनाका लागि लडेको अवस्था देखि दैनिक १५०० नेपाली यूवाहरु खाडि र मलेशियामा रोजगारीको लागि जान त्रिभुवन अन्तररष्ट्रिय विमानस्थलमा भेटिने अवस्थासम्म आईपुग्दा वैदेशिक रोजगारी क्षेत्रले विभिन्न कालखण्डहरु पार गरेको छ । बहुसंख्यक कृषक नेपालीहरु आफ्नो घर, बारी, खेत बेचेर वा वन्धकी राखेर विदेशको राम्रो कमाईको मिठो सपना बोकेर हिंड्न थालेको पनि दशकौं भईसक्यो फलस्वरुप खेत बाँझै छ, भकारी साँघुरिसक्यो तर कमाईमा खासै प्रगति हुन सकेको छैन ।

नेपालको वैदेशिक रोजगारीको ईतिहास केलाउँदा ठ्याक्कै यही समय देखि नेपालबाट वैदेशिक रोजगारीका लागि मानिसहरु विदेशिन शुरु गरे भन्ने किटान गर्न मिल्ने देखिँदैन । यद्यपी ३०० वर्ष अघि पनि सामुहिक बसाईं सराई रहेको प्रमाण भेटिने विज्ञहरु बताउँछन् । तर १९ औं शताब्दीको शुरुमा अमर सिंह थापा र डेभिड अक्टरलोनी बीच सन् १८१५ मा भएको सम्झौता पश्चात नेपालीहरु अंग्रेज सेनामा भर्ती हुन थालेको समयलाई नै नेपालको वैदेशिक रोजगारीको प्रस्थान बिन्दु मान्नु पर्ने राय समेत बेलाबखतमा सुनिन्छ । 

सन् १९५० को नेपाल भारत सन्धि पश्चात खुला सिमानाको प्रयोगमा सहजता भएसँगै नेपालीहरु रोजगारीको क्रममा भारत पस्ने क्रममा व्यापक वृद्दी भयो भन्दा अत्युक्ति नहोला । सन् १९७० को दशकमा मध्यपूर्व नयाँ गन्तव्यको रुपमा उदाउँदा भारतियहरुको रोजाईको गन्तव्य वन्न पुगेको देखिन्छ भने भारतमा रोजगारीमा रहेका नेपालीहरु समेत व्यक्तिगत पहलमा मध्यपुर्व जाने क्रममा शुरु भएको मान्न सकिन्छ ।

१९८० को दशकमा महाथिर मोहम्मदले मलेशियामा औद्योगिक तथा आर्थीक विकासको गतिलाई तिब्र बनाए लगत्तै मध्यपुर्वको रोजगारीको अनुभव भर्खर सुरु गरेका नेपालीहरुको रोजाईमा मलेशिया पनि पर्न गएको देखिन्छ । यस सँगै १९९० को दशकमा जापान र कोरिया यूवाहरुको रोजाईको गन्तव्य राष्ट्रको रुपमा विकसित भयो भन्न सकिन्छ । यसरी १९८० को दशकलाई नेपालको वैदेशिक रोजगारीको औपचारिक स्थापनाकाल मान्न सकिन्छ जसलाई सन् १९९० को जनआन्दोलनले बल दिएको थियो ।  यसको उदाहरण स्वरुप नेपालले पहिलो पटक १९८५ (विस २०४२ साल) मा वैदेशिक रोजगार ऐन पाएको तथ्यलाई लिन सकिन्छ । 

यसै गरी नेपालमा २०५२ सालमा राजनीतिक द्वन्द शुरु भए लगत्तै नेपाली यूवाहरु वैदेशिक रोजगारीको लागि विदेशिने क्रममा व्यापक वृद्दी भएर गएको तथ्याङ्कहरु पाईन्छ । हुन त सन् १९९९ देखि हालसम्मको तथ्याङ्कहरु हेर्ने हो भने विदेश जानेको संख्या त्यस बर्ष देखि सधैं बढ्दो क्रममा रहेको पाईन्छ । नेपालको राजनीतिक अस्थीरतालाई अहिलेसम्म पनि कारणका रुपमा देखाई वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ । नेपाली यूवाहरुको विदेशिने क्रमको तिब्रता तथा देशमा आएको ठूलो राजनीतिक परिवर्तनका कारण नेपालले सन् २००७ (विस २०६४ साल) मा दोस्रो वैदेशिक रोजगार ऐन पायो । यस ऐन अन्तरगत नियमनकारी निकायको रुपमा श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवर्धन वोर्ड र श्रम सहचारीको व्यवस्था भयो । यसलाई नेपालको वैदेशिक रोजगारको आधुनिकिकरण मान्न सकिन्छ ।

यसरी विशिष्ट घटनाक्रमको आधारमा नेपालको वैदेशिक रोजगारीलाई सामान्य रुपमा पाँच कालखण्डमा बाड्न  सकिन्छ, पहिलो कालखण्डमा ३०० बर्ष अघि भएको सामूहिक बसाईसराई लगायत व्यक्तिगत तवरमा रोजगारीका लागि नेपालीहरु विदेशिएको समय, दोस्रो कालखण्डमा सन् १८१५ को नेपाल अंग्रेज बिचको सम्झौता पछी भारतिय अंग्रेज सेनामा नेपालीहरु भर्ती भएको समय, तेस्रो कालखण्डमा सन् १९५० को नेपाल भारतको सन्धि पश्चात भारत आवतजावतमा भएको सहज परिस्थिति पश्चात रोजगारीका लागि भारत जाने बढ्दो क्रमको समय, चौथो कालखण्डमा सन् १९८५ मा पहिलो वैदेशिक रोजगार ऐन लागु भए पश्चातको समय र पाँचौं  कालखण्डमा सन् २००७ को वैदेशिक रोजगार ऐन लागु भए पश्चातको समय । 

हामीले औपचारिक वा अनौपचारिक ईतिहासहरु हेर्दा शताव्दियौं अघिदेखि वैदेशिक रोजगारी नेपालको एक अभिन्न सामाजिक पक्ष भएको देखिएता पनि पूर्ण कृषिमा आधारित अर्थतन्त्रबाट परिवर्तित भएर नेपाल वैदेशिक रोजगारमा आधारित अर्थतन्त्रका रुपमा भने सन् २००० को दशक पछि मात्र विकास हुन थालेको देखिन्छ । त्यसभन्दा अघिको समयमा नेपालीहरु वैदेशिक रोजगारका लागि जाँदा पनि राहदानी (पासपोर्ट) मा पेशा कृषि नै लेखिरहेका थिए । खेतबारीमा बर्षैभरी भ्याई नभ्याई काम भएकै हुन्थ्यो, अन्न उब्जिएकै हुन्थ्यो अनी बालि भित्राउँदा भकारीमा बर्षभरिको लागि चाहिने अन्न भरेपछिमात्र नेपालीहरु ढुक्क सँग निदाउँथे ।  

(बडाल सुरक्षित बैदेशिक रोजगारका क्षेत्रमा समेत कृयाशिल गैरसरकारी संस्था माइग्रेण्ट्स सेण्टरसँग आवद्ध छन् ।)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय