पुच्छरले कुकुर नहल्लाओस्

मेघराज सापकोटा-  प्रवासको पत्रकारिता नेपालको भन्दा अलिकति गाह्रो नै हुँदोरहेछ । त्यसमाथी पनि शब्द सापटी लिएर भन्छु, दिनभर अर्काको गुलामी गरेर बेलुकी फुर्सदमा २/४ शब्दहरु लेख्दै पत्रकार बन्न झनै गाह्रो हो । पत्रकारले कसैले गरेको राम्रो कामको उजागर गर्दा धन्यवाद दिंदै खुशीले बुर्कुसी मार्नेहरु अलिकती आलोचना लेख्यो भने खै कुन कानुनको धावा बोल्ने गर्छन । दण्डनीय कानुन मात्र देख्ने र बोल्ने यी एक झुण्डे कानुनबिद्हरुको जमातमा त झन् कलम चलाऊन निधार खुम्च्याउदै एक चोटि मात्रै हैन सयौ चोटि सोच्नु पर्दोरहेछ । आफैं नबोल्ने तर कसैलाई बोलाउने अनी घरफिर्तीको खबर पत्रकारको कानमा खुसुक्क हालिदिएर कलमको निव भाँच्न खोज्ने प्रवित्ति हाबी हुँदै गरेको महशुस गरिएको छ । Meghraj Sapkota Inside the storyयहाँ कसैले कसैलाई उचाल्ने, पछार्ने, धम्क्याउने र डराउने भन्दा पनि नेपालीहरुको सामुहिक हीतमा के गर्न सकिन्छ भनेर सोच्नु आवश्यक छ । तथापी समाजमा केही त्यस्ता तत्वहरु जसले समाजलाई नै भाँड्ने दुस्साहस गर्छन, हुनु स्वाभाविक हो । खैर जे होस, जसजसले यो प्रबृत्तिलाई अङ्गालेका छन आजै देखि छोडुन र यहाँ रहेका नेपाली समाजको हीतमा हातेमालो गर्दै अघि बढुन भन्ने मेरो यो लेखको आशय हो । पत्रकारहरु कुनै ग्रहबाट आएका पक्कै होइनन् । उनीहरु पनि यही समाजका ब्यक्ती हुन । उनीहरुमा पनि राजनीतिक चेतना हुन्छ । आआफ्नो बुझाई र बिश्लेषण अनुसारको पत्रकारिता उनीहरुले गरेका हुन्छन, यो नौलो कुरो पटक्कै हैन । तथापी पत्रकारले जहिल्यै पनि समाचारमा निस्पक्षता भने अपनाउने नै छन । पत्रकारको त्यो बुझाई र बिश्लेषण समाजका केही ब्यक्ती वा केही खेमालाई चित्त नबुझ्न सक्छ । उनीहरुले चित्त नबुझाउन पाउँछन । सबैकुरो सबैलाई चित्त बुझ्नु पर्छ भन्ने पनि हैन र त्यो असम्भव पनि हो । यदी कुनै अमुक बिषयमा लेखिएको लेख वा समाचारमा सम्बन्धित ब्यक्तीको असहमति रहेको खण्डमा पत्रकारले लेखेको समाचार वा ब्लगको मुन्तिर कमेन्ट्स लेख्ने अधिकार सबैलाई हुन्छ । पक्ष र बिपक्षमा आफ्नो आफ्नो भनाइ राख्न सकिन्छ । हैन यो समाचार भ्रामक नै छ भन्ने लागेको छ भने समाचारसँग सम्बन्धित पात्रले खण्डन गर्न पाउने अधिकार त सुरक्षित रहने नै भयो । मिडियाले पनि त्यो खण्डनलाई छाप्नु पर्छ । आफुलाई सर्वसाधारण भन्दा अली माथि राख्ने समाजका बिद्वत बर्गले बुझ्नु र गर्नु पर्ने त्यही हो । पत्रकारिताको यो विश्वब्यापी चलन नै हो । अपराधिक मनोब्रित्तीले गरिएका पत्रकारका केही हत्या बाहेक पत्रकारले हारेर कलम बिसाउनु परेको उदाहरण यो दुनियाँमा शायद छैन । जान अन्जानमा त्यो दुराशाय कसैले राखेको भए अहिले नै मिल्क्याए बेश । तसर्थ, मेरो यो लेख मार्फत अहिले उठान गर्दै गरेको बिषयबस्तु र निस्कर्ष प्रति असहमति राख्न पाउने अधिकार सबैमा निहित छ । अहिले हैन त्यो अधिकार जहिल्यै हुनेछ । असहमती सभ्य भाषामा राख्दा आफ्नै इज्जत बढ्ने हो लेखकको हैन । अब प्रसंग तिर प्रवेश गरौ । गत जुन १२ गतेको दिन अबुधाबीमा राजेश हमालसँगै नेपालका केही प्रख्यात कलाकारहरु आए । भुकम्प पीडितहरुको सहयोगार्थ भनेर आएका नेपाली कलाकारहरुले बिना शुल्क कार्यक्रममा आफ्नो प्रस्तुती दिए । कार्यक्रम उपस्थितीको हिसाबले सफल र ऐतिहासिक नै रहयो । यसमा कुनै दुई मत छैन । भुकम्प पीडितका लागि भनेर नै झन्डै ३०० किमी टाढा रहेको अबुधाबीमा भएको कार्यक्रम हेर्नको लागि रस अल खैमहाबाट काखमा बच्चा च्यापेर ७० जनाको जम्बो टोली हाजिर भएको साक्षी म आफैं हुँ । त्यस्तै अर्को राज्य फुजेराहबाट पनि त्यति नै टाढा रहेको अबुधाबीमा १०० भन्दा माथिको उपस्थिती रहेको थियो । दुबई, अबुधावी र अन्य राज्यका गरेर ३,००० भन्दा धेरै दर्शकको उपस्थिती रहेको दाबी आयोजकले नै गरेका छन । एनआरएन युएईका अध्यक्ष कृष्ण भुसालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली ४३ लाख भन्दा बढी उठेको आयोजकले जनाइसकेको छ । यस अर्थमा आयोजक र हामी सबै युएईबासी नेपाली धन्यवादको पात्र हौ । कार्यक्रमलाई लिएर आयोजक र पाठकहरुमा उत्पन्न भएका केही भ्रमहरुलाई क्रमश राख्ने जमर्को गरेको छु ।UAE program 2 पहिलो कुरो, ४५ डिग्रीको तातोमा भएको त्यो उपस्थिती आयोजकका कुनै रामे, श्यामे, चामे र धामे (नाम मिल्न गए माफ पाउँ) को मुख हेर्न वा उनीहरुको अनुरोध नकार्न नसकेर गईदिउँ न त भनेर गएका पक्कै हैन । देशको वर्तमान अवस्थालाई देखेर गएका हुन । कलाकारहरु निःशुल्क आएर भुकम्प पीडितलाई सहयोग गर्दैछन भने मैले किन नगर्ने भन्ने बोध जसजसले गरे उनीहरु आए । त्यो बोध सबैले गर्छन् वा गर्नु पर्छ भन्ने पनि हैन । ३,००० दर्शक आट्ने हलमा त्यो भन्दा धेरैले नै उपस्थिती जनाए । उपस्थिती धेरै राम्रो भो । कार्यक्रमको सफलता र असफलताको मापन दर्शकको उपस्थिती मात्रै हैन । कार्यक्रम सफल हुनु र असफल हुनुका बिभिन्न प्राविधिक र ब्यवस्थापकीय पाटाहरु पनि उत्तिकै महत्वपूर्ण सुचक हुन । केही दिन पहिले देश परदेशमा छापिएको निमेश गिरीको अबुधाबी कार्यक्रम महात्म्यले त्यसको अपरेसन गरिसकेको छ । उनले सुरुमै भनेका छन, भेला चाही क्या झकास भाको, कार्यबिधी भने सुपरडुपर फ्लप भाको । दर्शक उपस्थिती हुनुले सहयोग रकम संकलन गर्ने अभियान सफल त भयो होला तर अन्य सबै क्षेत्रले हावा खाएको कुरा लेख्न मैले कसैलाई सोध्नु पर्दैन । त्यो महात्म्य नै काफी छ । दोश्रो कुरो, यो कार्यक्रमले गर्दा कार्यक्रमका आयोजकहरु मध्येका केही आयोजकको मपाईंत्वलाई एकमुस्ट पारेर खाल्डामा पुर्न सकिएन भने हामी बिचको आत्मियता र सद्भाव कम हुँदै जाने र द्धेष बढ्दै जाने खतरा बढेको छ । हिले पनि त्यो टीमका केही ब्यक्तिहरुको रबैया सुनिसक्नुको छैन । टुप्पोबाट पलाएको त्यो घमण्डलाई चकानाचुर बनाइएन भने आगामी दिनहरुमा यस्तो किसिमको सामाजिक काम गर्नु परेमा गार्हो हुनेछ । ती ब्यक्तिहरुको ब्यवहार शैली सुध्रिन जरुरी छ । सानो ठुलो जो सुकै होस अर्कोलाई सम्मान गरे मेरो सम्मान बढ्ने हो भन्ने मगजमा घुस्न जरुरी छ । सबै नेपालीहरुले गरेको भनिएको कार्यक्रममा ती एकाध ब्यक्ति कसरी जङग बहादुर निस्किए भनेर समिक्षा आयोजक टीमले गरोस । सिधा कुरो, पुच्छरले कुकुर नहल्लाओस । तेश्रो कुरो, यो कार्यक्रममा सबै भन्दा बिबादित बनेको बिषय हो पत्रकारहरुलाई नदिएको प्रेस पास । पत्रकारितामा जहिले पनि प्रेस फ्रीडम अत्यन्तै महत्वपूर्ण हुन्छ । समाचार संकलन गर्न जाने पत्रकारको लागि प्रेस पास अधिकार र इज्जतको कुरा पनि हो । बिशेष गरी युएईको सन्दर्भमा भन्ने हो भने यहाँको पत्रकारिता पनि समाज सेवाको एउटा उच्चतम रुप नै हो। अन्य संघसंस्थाहरुले बिशेष परिस्थितीमा कुनै निश्चित परिवेश र समयमा सामाजिक काम गर्लान । तर पत्रकारहरु जतिनै बेला समाजसेवा गरिरहेका हुन्छन । समाजलाई सुसुचित गर्ने पत्रकारिताको कुनै घण्टा, दिन वा रातको समय छुट्याइदैन । जतिबेला जुन समाचार सम्प्रेशण गर्नु पर्‍यो उतिबेलै हाजिर जनाईरहेका हुन्छन पत्रकारहरु । यसरी चौबिसै घण्टा खटिने पत्रकारलाई निस्पक्ष समाचार छाप्नको लागि समाचारका कुना कुनासम्म पहुँच पुग्न जरुरी छ । कुनै पनि बहानामा पत्रकारलाई रोकियो भने हामीले पाउने समाचार अपुरो हुनसक्छ । अपुग हुनसक्छ । त्यसैले कार्यक्रमको समाचार सम्प्रेशण गर्ने हो भने पत्रकारलाई प्रेस पास चाहिन्छ भनेको हो । यहाँ केही उपबुज्रुकहरुले पत्रकारले पैसा तिर्न नपरोस भनेर सित्तैमा जानको लागि प्रेस पास मागे भनेर हौवा पिटाए ।UAE program 3 हामी पत्रकार सहयोग स्वरुप पैसा तिरेर मात्रै प्रबेश गर्छौ तर कम्तीमा प्रेस पासको ब्यवस्था गरियोस भनेर आयोजकसँग मैले कुरा राखेको थिएँ । तर आयोजकका एक जिम्मेवार ब्यक्तीले ठूलै मान्छेको आदेश भन्दै स्थानीय पत्रिकाका पत्रकार आए सोच्न सक्ने नत्र नदिने भन्ने जवाफ फर्काए । उनले पटक पटक पत्रकारलाई प्रेस पास असम्व रहेको समेत बताउन भ्याए । उनलाई प्रेस पासलाई टिकटको पैसासँग तुलना नगर्नुस, भुकम्प पीडितहरुको लागि हामी पनि सहयोग गर्न तयार छौ भन्दा पनि पत्रकार ४० दिर्हाममा रोए भन्दै पत्रकार र पत्रकारिताको धज्जी उडाउने काम गरे । कार्यक्रमको दिन पत्रकारहरु समय मै कार्यक्रम स्थल पुगे । आयोजकका केही जिम्मेवार सदस्यहरुले पत्रकारलाई पाँचवटा सःशुल्क पास ब्यवस्था गरिएको जानकारी हामीलाई आईसकेको थियो । पत्रकारहरु त्यहाँ पुग्दा कुनै पासको ब्यवस्था गरिएको थिएन । पासको कुरा गर्दा पत्रकारको बैधानिकता खोज्दै प्रश्नहरु तेर्साइयो । सबै पत्रकारहरु ठेलामठेल गर्दै टिकट काटेर भित्र पसे । हलमा पत्रकारको लागि कुनै डेस्कको ब्यवस्था गरिएको थिएन । उभिएर कुनाबाट फोटो खिच्न खोज्दा कठालोमा समातेर बाहिर धकेलियो । पत्रकार नचिन्ने जवाफहरु दिईयो । हदै सम्मको अपमान गरियो । पत्रकार महासंघ, युएईले यस्तो हर्कतको बिरोध गर्‍यो र उक्त कार्यक्रमको कुनै पनि समाचार सम्प्रेशण नगर्ने निर्णय गर्‍यो । एकाध बाहेक कुनै पनि अनलाइनमा त्यो कार्यक्रमको समाचार छपिएन पनि । पत्रकार बिरोधी तत्वहरु फेरी पत्रकारलाई तथानाम गाली गर्न थाले । हिजो प्रेस पास मागे भनेर गाली गरे आज समाचार किन छापेनन् भनेर गाली गरे । ती गाली गर्नेहरु आफुलाई समाजसेवी भनाउने युएईका केही बरिष्ठहरु देखि कलाकारका नेता हौं भन्नेहरु पनि देखिए । मानौ बर्षौ देखिको मनको भडास यसपाली नै बिसाए । यिनीहरुले गरेका गालीहरुले आफ्नै धरातल कति हो भन्ने पत्तै पाएनन् बिचराहरुले । अन्तत, आयोजकले प्रेस बिज्ञप्ती निकाल्दै पत्रकारलाई गरिएको अपमान प्रति क्षमायाचना गर्‍यो । केही क्षुद्र ब्यक्तीको कारणले सिङगो आयोजक र कार्यक्रम संयोजक भएको नाताले एनआरएन बद्नाम भएको स्वीकार गरियो । उता पत्रकार महासंघले पनि एक बिज्ञप्ती निकाल्दै आयोजकलाई क्षमा त दियो तर सबैको सामुन्ने त्यस्तो हर्कत गर्नेलाई सामाजिक कारबाही गर्ने माग समेत गरेको छ । चौथो कुरा, १२ जुन शुक्रबारको दिन कार्यक्रम सकियो ।१३ तारिक शनिबारको दिन महामहिम राजदूतले कलाकारहरुको सम्मानमा रात्रीभोजको आयोजना गरे । कलाकार, आयोजकका केही र अन्य बिशेष ब्यक्तीहरु निम्त्याइएको उक्त रात्रीभोज पेटमा पुगेर पच्न नपाउदै फेसबूक तिर भने भाईरल भईसकेका थिए । भोज खानेहरुले कतिले सेल्फी समेत पोस्ट गर्न भ्याए । राजदूत र बिशिष्ट कलाकारहरुले खाँदै गरेको र पिउदै गरेको फोटोहरु धमाधम फेसबूकमा छापिए ।UAE program 1 देश भुकम्पको पिडामा छ । अझै पनि कयौका आँखामा आँशु ओभएका छैनन । ८ लाख घर र ५ हजार हाराहारी विद्यालय भत्किएको प्रारम्भिक रिपोर्ट छ । त्यसैले नै हामी देश निर्माणको लागि सहयोग संकलन गर्न भनेर यत्रो मेहनतका साथ कार्यक्रम सम्पन्न गर्न लागेका थियौ । कुरो यहाँ कसले खुवायो वा कसले खर्च गर्‍यो र कसकसले खाए भन्नेमा रहेन । चाहे कसैको ब्यक्तिगत नै किन नहोस् । देश शोकमा छ भनेर मुलुकमा गणतन्त्र दिवस मनाईएन, दुतावासले ह्विस्की भोज गर्नु हुन्थ्यो कि हुन्थेन भन्ने हो । के यो ठीक समय हो त रात्रीभोजको लागि ? प्रश्न यो हो । त्यहाँ गरिएको ह्विस्की र बियर किन्ने पैसा गरीब पढ्ने बिद्यालय निर्माणमा लगाएको भए कसो हुन्थ्यो ? ४०-५० जनालाई भोज खुवाउने पैसा जस्ता पाता किनेर बर्षाको पानी छेक्ने घर बनाइदिएको भए के हुन्थ्यो ? प्रश्न यो हो । हरेक कुराको समय हुन्छ । पत्रकारलाई ४० दिर्हामको फुई दिनेहरुको जवाफ ह्विस्की भोज हैन महोदय । पाचौ कुरो, बिशिष्टहरुले हातमा ह्विस्की लिएको फोटो भाईरल भए पछि कुनै अमुक पत्रिकामा छाप्नु वा छापिनु गलत हैन । आधुनिक मिडियाको दुनियाँमा समाचारहरुको स्रोत सामाजिक सञ्जाल पनि हुन । मात्र पत्रकारले त्यसको अधिकारिकतामा विश्वसनियता खोज्ने कुरो हो । त्यो समाचारमा स्रोत खुलाइएको छ र त्यो स्रोत बिश्वसनीय पनि छ । त्यहाँ केवल दुतावासद्धारा आयोजित कार्यक्रममा भएको रमाइलो झल्काइएको छ, जुन तस्वीरहरु आफैंले बोल्छन् । समाचारमा नेपाली श्रमिकहरुबाट भुकम्प पीडितको नाममा पैसा उठाएर हिनामिना गरे भनेर लेखिएको छैन । र त्यसो नहोस् पनि । र अन्त्यमा, हो हामी प्रवासमा छौ । जहाँ रहेका छौ त्यो देशको कानुन सबैले मन्नै पर्छ । कसको बैधानिकता कति छ भन्ने हामी सबैलाई थाहा छ । कसले कति कानुन मिचिरहेको छ त्यो पनि प्रायः सबै बुज्रुकहरुलाई थाहा छ । तर त्यसो भन्दैमा हामी प्रजातान्त्रिक देशका मान्छेहरु प्रजातान्त्रिक अभ्यासलाई तिलान्जली दिंदै स्थानीय कानुनको धावा बोल्दै आफ्नै समुदाय भित्रका बिकृतिलाई उजागर गर्ने कलमहरु बन्द गर्ने प्रयास नगरियोस । अस्तु । यो पनि पढ्नुहोस्  नेपाली कामदारलाई बचाउने हो भनें …..

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय