
मेघराज सापकोटा- राजेश दाई अबुधाबी आउने भए । राजेश दाईको साथमा मधु भाउजु पनि आउँछिन रे । अनी अर्का बबाल हाँस्यब्यङ्य जोडी दीपकराज गिरी र दीपा श्री ले यसपाली भने अबुधाबी हँसाउने भए । भनौ, पुरै युएई हँसाउने भए । लोक गायक तिलक बम मल्ल, ईन्द्र जिसी र सम्झना मगर लगायतका लोकजोडीले युएईलाई छमछमी नचाउने भए । आगामी १२ तारिक सम्पन्न हुनगईरहेको च्यारिटी शोमा अन्य धेरै कलाकारहरु आउने भएका छन । नेपाली सिने क्षेत्र कलिवूडमा महानायकको उपाधि दिइएका राजेश हमाल र मधु भाउजुको जोडीलाई यूएईले सितिमिती हेर्न पाएको कहाँ हो र ? अनी हाँस्यब्यङ्य जोडी दीपक र दीपा श्रीलाई पनि यसै हेर्न साईत कहाँ जुरेको हो र ? यो सब बिनासकारी भुकम्पको कमाल हो । बैशाख १२ को पहिलो र २९ को दोश्रो बिनासकारी भुकम्पले गर्नु गर्यो । न धनी भन्यो, न गरीब । न बुढो भन्यो न तन्नेरी । न महिला न पुरुष । कसैलाई बाँकी राखेन । काठमाडौमा २-४ वटा ५/६ तले घर ठड्याएर भाडा असुलेर धनी हुनेलाई पनि सडकको पालमा सुताइदियो । को घरधनी, को डेरावाल ? को सुकुम्बासी, को ढुकुम्बासी ? आफ्नो घर जग्गा हुँदा हुँदै सरकारी घरजग्गा ओगट्ने, सबैलाई एकैठाउमा मिलाईदियो भुकम्पले । सबैको मिलन बिन्दु बन्यो सडकपेटी र खुला चौर । प्रकृतिले गराइदिएको अभूतपूर्व र दर्दनाक मिलन थियो यो सडकको बास । सबै रोए । घरबेटी रोए, डेरावाल रोए । सुकुम्बासी रोए, ढुकुम्बासी पनि रोए । नेता रोए, कार्यकर्ता पनि रोए । शिक्षक रोए, विद्यार्थी पनि रोए । ड्राइभर रोए, खलासी रोए । ठेकेदार रोए, कामदार रोए । देशी रोए, परदेशी रोए । बाँकी कोही रहेन जसले आँखाबाट आँशु नझारोस । धेरैको जीवनचक्रमा फुलस्टप लाग्यो । धेरैको जीवन गतिमा ब्रेक लाग्यो । प्रगतिमा ठेस लगायो । हाम्रो नेपालमा मान्छेले जीवनभर कमाएर सबैभन्दा पहिले घर जोड्छ रे । सके कमाएर जोड्छ नसके भनसुन गरेर बैंकबाट ऋण गरेर जोड्छ । यसपाली ती भनसुन गरी बैंकबाट ऋण गरेर ठड्याएका सपनाका घरहरु मात्रै ढेलेनन, जीवन भरका सपना पनि ढले । भुकम्पले कसैको श्रीमती लाग्यो, कसैको श्रीमान । आँखै अगाडि आफ्नै दुधे बच्चा लाग्यो । जन्म दिने बाउआमा लग्यो । कलकलाउँदा भतिज भातिजी लाग्यो । हुनेवाला/हुनेवाली जीवनसाथी लाग्यो । चौतारीमा खाएको कस्सम तोड्यो । छिनभरमा खुशी लाग्यो । नातेदार लाग्यो, छिमेकी लग्यो । पहाड खस्यो, पुरै गाउँ लाग्यो । बाटोघाटो रहेन, मन्दिर लग्यो । हेर्दा हेर्दै आँखै अगाडि सबैथोक लग्यो। तर यसपटकको भूकम्पमा देशी भन्दा धेरै परदेशी रोए । देख्नेले मन बुझाएर रोए होलान, नदेख्नेले मन तड्पाएर रोए । देख्नेले धक फुकाएर रोए होलान, बिचरा परदेशीहरुले त न मन खोलेर रुन सके न त आँशु नै थाम्न सके । कस्तो थप्पड हान्यो प्रकृतिले ? एउटै कोठामा बस्ने सबैको कोही न कोही मरेका छन । कि त घर छैन, कि त मान्छे छैन । न जागिर छाडेर कुदेर जान सके, न त कसैलाई २ शब्दका सान्त्वना नै दिन सके । सान्त्वना कसले कसलाई दिने ? उसले मलाई दिने कि मैले उसलाई दिने ? अब त रोकिन्छ कि भनेको रोकिएको हैन बा ! देशमा आउने भुकम्पको प्रत्येक पराकम्पनले बिदेशमा हल्लाउँछ । प्रत्येक पराकम्पनमा केही भयो कि भन्दै नेपालमा रहेका आफन्तलाई सोधिन्छ र मनको ढुकढुकीलाई अली शान्त बनाईन्छ । त्यसैले परदेश पनि शान्त रहेन । हो, देश रोएको छ । अशान्त छ । भनौ भने देशमा भुकम्पको ठुलो आतंक छ । के गर्ने त ? टुलुटुलु हेरेर बस्ने ? कि झोक्राएर बसिरहने ? कहिलेसम्म रोईरहने ? अब उठ्ने बेला हो । जुट्ने बेला हो । पुननिर्माणको बेला हो । नवनिर्माणको बेला हो । रोएर मन दुखाउने हैन हाँसेर बिपत्तीको सामाना गर्ने बेला हो । जसले जहाँ जति सकिन्छ सकेको गर्ने बेला हो । श्रमदान गरौ । पैसा दान गरौ । देशमा गरौ, बिदेशमा गरौ । सकेको गरौ ।
त्यसैले राजेश दाई र मधु भाउजु अबुधाबी आउने रे । हाँस्यजोडी आउने रे । लोककलाकार जोडी आउने रे । दुःखलाई बिर्साउने रे । अनी दुखी र पिडितलाई सहयोग गर्ने रे । कलाकार बिना पारिश्रमिक निःशुल्क आउने रे । कार्यक्रम हुने हल पनि सित्तैमा रे । हवाई टिकट सित्तैमा । होटल खर्च सित्तैमा । भिजा खर्च पनि सित्तैमा । सित्तैमा मात्र कहाँ हो र ? स्पोन्सरले अरु थपिदिने रे । कमाल हुने भो । धेरै सहयोग उठ्ने भो । सहयोग, दान र पुरस्कारको महत्व त्यसको रकमले मापन गर्नु हुँदैन भन्छन । कसैले १ रुपैँया सहयोग गर्यो भने पनि अहिले त्यो १ करोड बराबरको हुन्छ । एक थुकी सुकी सय थुकी नदी भने झै सबैले १-१ रुपैँया सहयोग गरे भने पनि त्यो निकै ठूलो रकम बन्न जान्छ । ३ लाख नेपाली रहने युएईमा ३ हजार क्षमताको हल पो सानो हुने हो कि भन्ने पीर लागेको छ ।
यति ठूलो कार्यक्रम आयोजना गर्ने अनेकस, एनआरएन सहित युएईमा रहेका सबै संघसंस्थाहरु धन्यवादका पात्र हुन । हामी सबै एनआरएन । हामी सबै नेपाली । तपाईंले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? म त राजेश दाईलाई भेट्न अबुधाबी जाने भएँ, तपाईं नि ? यो पनि पढ्नुहोस् खबर आयो,शव आएन