बलराम भट्ट-मध्यम बर्गिय परिवारमा जन्मेको मेरो बाल्यकाल दु्ःख सुख सरावरीमै वित्यो । हुर्किएपछि जीविकोपार्जनका लागि अरु धेरैले पछ्याएको बाटो बैदेशिक रोजगारी नै मेरो पनि गन्तव्य बन्न पुग्यो ।
मलेसिया किन आएँ त म ? गाउँले नातामा दाइ पर्ने एकजनाको हात छ यसमा । उहाँ ४ बर्ष मलेसियामा काम गरेर फर्किनु भएको थियो । विदेश गएर राम्रो मौषम भएन भनें काम गर्न सकिन्न भन्ने लागेको थियो मलाई । त्यसैले उहाँले मलेसियाको हावापानी नेपालकै जस्तो छ भन्ने सुनेपछि मलाई मलेसिया आए काम गर्न सक्छु भन्ने लाग्यो । त्यसैले थोरै रहर अनि धेरै बाध्यताले मन मुटुलाई अलि बलियो बनाउँदै म मलेसिया हिंडे ।
जब मैले मलेसियाको यात्रा सुरु गरें तब मलाई अनुभव हुँदै गयो कि म बाध्यताको कारणले बेचिदै छु भनेर । विक्रिको पहिलो खुड्कीलो स्वदेशमै थियो । मेनपावरले १ लाख २० हजार लिएर एअरपोर्टमा देखाउनका लागि एउटा नक्कली कागजमा आफूहरुले ८० हजार मात्र लिएको व्यहोराको कागज थमायो पहिलो गाँसमै ढुँगो लाग्यो । मलाई छर्लङ्ग भयो कि म आफ्नै ठाउँमा नेपालीबाट नै लुटिएँ ! एक मन त लाग्यो यसरी जानु हुन्न । तर के गर्ने आफ्नो परिवारको अवस्थाले मलाई विदेश धकेल्दै थियो । त्यसैले मन सम्हालेर, आँखाभरी आँशु पार्दै नेपाललाई बाइ, बाइ गरियो । ठूलो जहाज चढेर उडिरहँदा पनि मलाई त्यहि कुराले चिमोटिरहेको थियो म आफ्नै भूमिमा त यसरी ठगिएँ भनें बिदेशमा त झन के होला भनेर ।
मनमा यस्तै कुरा खेलिरहेका थिए । तर्कवितर्क मनमै चलिरहेको थियो । त्यसो हुँदा हुँदै मलेसिया आइपुगिएछ । जहाजबाट झरियो । झर्नासाथको केहि दृश्यले झसङ्ग बनायो । त्यहाँ म जस्तै उज्वल भविस्यको सपना बोकेर आएका नेपालहरु म्लिन अनुहार बनाएर विमानस्थलमा आफ्नो रोजगारदाता पर्खेर थुप्रैदिन देखि बसिरहेका रहेछन्् । उनीहरुको त्यो विजोग देख्दा, सुन्दा आश्चर्य लाग्यो । न उनीहरुसँग खाने कुरा छ न त पिउने पानी नै ! त्यो कन्तविजोगमा विमानस्थलको चिसो भुईमा रात काट्नु साँच्चै कष्टकर थियो ।
केही समय पछि मलाई पिसाबले च्याप्यो । शौचालय जाँदै थिएँ केहि पर ओइ ! ओइ भन्ने निक्कै चर्को र रुखो स्वरमा आवाज आयो । हेर्दा एकजना कालो लुगा लगाएको मान्छे रहेछ । नियालेर हेर्दा देखियो उ प्रहरी रहेछ । ईसारा गरेर उसले आफू भएतिर बोलायो र उसले म जहाँ बसेको थिएँ त्यहिं बस् भन्ने संकेत गर्यो । मैले अंग्रेजीमा उसलाई भनें मलाई पिसाव गर्न शौचालय जानु छ । यसले लौ हिंड् को शैलीमा ईसारा गर्यो र मेरो पछि लाग्यो । लाग्यो म कुनै कैदीवन्दी थिर्एँ । अर्को अचम्म ।
विमानस्थलमा मलेसियाको प्रहरीले हामी माथी गर्ने कडा निगरानी र नेपालीको अवस्था देख्दा मलाई लग्यो यो त हामीजस्ता काम गरी खान आउने नेपालीका लागि विमानस्थल होइन त्यो कुनै अघोषित जेल हो । त्यहाँ नेपालीले पाउने दुःख, कष्ट देख्दा पनि त्यहि प्रतित हुन्थ्यो ।
केहिले त यो कष्टका बारेमा नेपालमा हुँदा नै जानकारी पाएका हुँदा रहेछन् र थोरैतिनो भएपनि मलेसियन पैसा बोकेर आउँदा रहेछन् । त्यसले रोजगारदाता पर्खिउञ्जेल उनीहरुलाई खानसम्म गाह्रो थिएन । पैसा साथमा नहुनेहरुको भनें कन्तविजोग नै हुने । सबैजना आकुलव्याकुल थिए । नजिकै एकजना स्थानीय मलायु कराउँदै थियो । बुझ्दा थाहा भयो एक नेपालीलाई त्यो मलायुले मोवाइलको सिमकार्ड किन्न जवर्जस्ती गर्दैरहेछ । त्यो व्यक्ति सिम कार्डको व्यापारी रहेछ र नेपालीलाई महंगो मूल्यमा बेच्न जवर्जस्ती गर्दैथियो । त्यो नेपालीले केवल त्यसको मूल्य सोधेको रहेछ, त्यहि आधारमा त्यो मलायु ति नेपालीलाई सिमकार्ड जवर्जस्ती भिडाउन खोज्दै थियो । एक्लै पारेर नेपालीलाई जवर्जस्ती सामान बेच्न खोजिरहेको त्यो मलायुसँग हामी अरु तीनचार जना नेपाली थपिएर अंग्रेजीमा सवालजवाफ गर्न थालेपछि बल्ल ति नेपालीले त्योसँग मुक्ति पाए । तिनले राहतको सास फेरे । परदेशको पहिलो अनुभव कडा हुँदै थियो ।

केही समय पछि एक नेपाली शौचालय जाँदै थिए । उनलाई प्रहरीले उहि मलाई हपारेको शैलीमा बोलायो । उनले सुनेको नसुन्यै गरेर हिंडे । प्रहरी फटाफट गएर तिनको नलिखुट्टामा बेस्सरी हिर्कायो । विचरा ति व्यक्ति त्यहिं भुईमा ढले । अझै कुट्न छोडेन प्रहरीले । उनी बसेर रुन थाले र मलाई बोलाए । उनले आफू शौचालय जान चाहेको, अंग्रेजीमा बोल्न नजानेर भन्न नसकेको र त्यहि कुरा प्रहरीलाई भनिदिन आग्रह गरे । प्रहरीलाई त्यहि कुरा उल्था गरेर बताइदिएपछि उसले जान दियो ।
यति धेरै अन्याय हुँदा पनि किन यसमा कसैको आँखा नपरेको होला ? किन हामी पराई देशमा यसरी हेपिएका होलाउ ? यस्तै सोच्दै बसें । म मलेसिया उत्रेको पनि ८ घण्टा वितिसकेको थियो । यसबीचमा मैले नेपालमा म्यानपावर कम्पनीमा फोन गरेर आफूलाई कोहि लिन नआएको जानकारी गराइ सकेको थिएँ । एकछिन पर्खिनु भन्ने जवाफ आयो । अचम्म । पर्खेको ८ घण्टा भइसकेको थियो । एकछिन रे ! तर पर्खिनुको विकल्प थिएन ।
म जसरी नै बसेका धेरै थिए । सवैको छटपटी उस्तै थियो । न मेनपावरले ठिक जवाफ दिन्छ, न त मलेसियाको कम्पनीको मान्छे लिन आउँछ । त्यसै अलपत्र बसिरहेकाहरु रोउँला झैं गरेर बसेका थिए । अकस्मात एकजना मेरो नाम लिएर कराउँदै आयो । मलाई लिन रोजगारदाता कम्पनीको मान्छे आएको रहेछ ।
अब मैले मेरै आँखा अगाडि आफ्नै नेपालीबाट बेचिएका आफ्नै नेपालिको केही उद्दार गर्न सकिन ! मलाई केही अबर पर्छ कि भनेर नेपाल देखि आरएम १ सय गोजीमा हालेर आएको थिए, आफ्नै खर्चपर्चमा आरएम ५० राखेर अरु बाँकी ५० त्यो रुने ब्याक्तिलाई दिएँ र म रोजगारदाताको पछि लागें । लामो सास तानें साँच्चै एउटा समस्याको जंगलबाट पार पाइयो भनेर । आखिर नेपालीको पहिलो कदम टेक्ने ठाउँ मलेसियाको विमानस्थल साँच्चै कष्टकर ठाउँ हो नेपालीका लागि ।
रोजगारदाताको गाडीमा चढेर एअरपोर्टबाट बाहिर निस्किए पछि मैले मलेसियाको रौनक देखें । नयाँ ठाउँ, त्यहाँका बस्तीहरु गाडीको झ्यालबाट नियाल्दै थिए । मलेसियाको विकास देखेर म चकित पनि थिएँ । म कहिल्यै विदेश नदेखेको मान्छेलाई यो अचम्म थियो । यहाको ठण्र ८० तलाको आकाश छुने घर, पुल माथी अर्को पुल । जताततै हरिया, सफा, फराकिलो सडक अनि दायाँबायाँको फूलको सजावटले झन वातावरणलाई निकै मोहक बनाएको थियो । मलेसिया देखेर मन रोमाञ्चित भइरहेको थियो ।
अलिक टाढा देखिएका हरिया डाँडामा हरियो बिरुवाहरु निक्कै पङ्तिबद्ध रुपमा लगाइएको थियो । त्यो के हो मलाई थाहा भनें भएन । मलाई लिन आएको मान्छेले ति खानेतेल उत्पादन गर्ने एक प्रकारको बिरुवा भएको बतायो जसलाई मलेसियाको भाषामा साबी भन्दो रहेछ । उसले मलेसियाका लाखौं मान्छे त्यस व्यवसायमा लागेको बतायो । त्यसमा लाग्ने लगानी, औजार अनि आवश्यक पर्ने अन्य सबै सामग्रीको बन्दोबस्त सरकारले नै गरि दिएको कुरा अर्को व्यक्तिले थप्यो । मनमा कुरा खेल्यो, कठै म प्राकृतिक रुपमा त्यति धनी मुलुकमा जन्मेको मान्छे । मेरो देशको सरकारले पनि त्यसै गरिदिए हामी जस्ता युवा यसरी हण्डर, ठक्कर खाँदै सास्ती खेपेर किन परदेशिनु पथ्र्यो होला र ? सरकारले वातावरण बनाइदिए पुग्थ्यो । बाँकी त काम गर्नेहरुले आफैं गरिहाल्थे होला भन्ने लाग्यो । तर त्यो केवल मिठो कल्पना न थियो ।
केहीबेरको यात्रा पछि मैले काम गर्ने कम्पनी आइपुग्यो । मेरो बस्ने कोठा कम्पनी नजिकै रहेछ । त्यहाँ पुराना केहि नेपाली कामदार पनि रहेछन् । भोलीपल्ट उठेर कम्पनीमा काम गर्न जान ठिक्क पर्दा अकस्मात पानी पर्न थाल्यो । अरु सवै छाता भएकाहरु हिंडिहाले । आफू नयाँ परियो । हिडेर कम्पनीमा पुग्न त्यस्तै १० मिनेट लाग्थ्यो । म रुझेर नै काम गर्ने ठाउँसम्म पुगें । आखिर नेपालमा पनि भिजेर नै गाउँबेसी गरेकै, मेलापात गरेकै हो, यस्तो झरीले केहि लछारपाटो लाउँदैन भन्ने ठानें । प्रवासी जीवनको कर्म सुरु भयो ।
प्रवास हो सहज जीवन कहाँ हुन्छ र ? विहानै उठ्यो खाना बनायो, अनि दिउँसोलाई पनि ज्यान धान्न अलिकति खानाको जोहो गर्यो । समयको यति कठोर नियम थियो की एक सेकेण्ड ढिलो भयो भयो भनें पनि कडा जरिवानामा परिने । काममा जाने बेलामा जे सुकै भएपनि पुग्नै पर्ने । परदेशी बसाई कठिन छ । बिहान उठ्, खाना पका, खा, डिउटी जा, फेरि दिउँसो खाना खान कोठामा आइज, फेरि कम्पनी जा, रातको १०, ११ बजे रुम आइपुगिन्थ्यो । फेरि थाकेको बेलामा तातोमा बसेर खाना बना, खा र भाँडा माझेर सुत्दा १२ बजिहाल्थ्यो । लुगा धोएर, जीउको पसिना केहि ओभाएर सुत्दा त रातको १ बज्ने । यस्सो एकछिन सुतेको छै विहान भइहाल्छ । हत्पत उठ्यो र फेरि उहि रुटिन सुरु । प्रायः परदेशीको दिनचर्या यहि हो ।
दिनमा १८ घण्टा ड्युूटी । असार, साउनमा गोरुको भन्दा पनि बढी पेलाइ हुन्छ प्रायः बिदेशका नेपालीहरुलाई । यहाँ समय आफ्नो हुँदैन । बिहान उठे देखि बेलुका सुत्नु भन्दा अघिसम्मको समयमा तपाईलाई जस्तोसुकै परिस्थिति वा चुनौती आए पनि कठिबद्ध भएर लाग्नु पर्छ । होइन भने कम्पनी प्रशासनबाट वा कम्पनी सुपरभाइजरहरुको भनाइ बडो नमज्जाले खानुपर्छ ।
यो त आफू सद्दे हुँदाको कुरा हो । म एकदिन बिराम भएँ । ज्वरो आउने, टाउको दुख्ने, रिंगाटा लाग्ने समस्या भयो । मैले कम्पनी सुपरभाइजरलाई आफू बिरामी भएको र काम गर्न नसक्ने कुरा बताएँ । तर उसले नसुनेको झैं गर्यो र एकातिर ब्यस्त भएको भान पर्दै कुद्यो । यो देखेर मन नराम्रोसँग कुँढियो । सधैं यति धेरै मेहनत गरेर पनि धिक्कारै रहेछ जस्तो लाग्यो । नयाँ भएका कारण मलाई मलायु भाषा आउँदैनथ्यो । त्यो कम्पनी सुपरभाइजर अंग्रेजी जान्दैनथ्यो । त्यसले मेरो कुरा बुझेन की भनेर एकजना मेरै विभागमा काम गर्ने पुरानो नेपाली दाईलाई भेट्न गएँ । उहाँलाई मलायु भाषा आउँथ्यो । उहाँको सहयोग मागें । उहाँले बताएपछि उसले एउटा कागजमा केहि लेखेर दियो र त्यही दाइको साथ लगाएर मेडिकलमा पठायो । डाक्टरले जाँचिसके पछि कमजोरी र धपेडिका कारण यस्तो भएको बतायो ।
डाक्टरले केहि औषधी लेखेर दिए । अनी साथमा बिल पनि थियो । आरएम १ सय १० अनि मैले आश्चर्य मान्दै सोधें यो त कम्पनीले बेहोर्ने कुरा कम्पनी र हाम्रो सम्झौता पत्रमा उल्लेख गरिएको छ । ति नेपाली दाइले भने कम्पनीले महिनाको जम्मा चm ३० दिने नियम छ । त्यहाँभन्दा बढी भएमा हामी आफैले व्यहोर्नु पर्दछ । मेरो साथमा पैसा नभएका कारण उहाँले नै तिरिदिनुभयो । तलव आएपछि मैले तिरे हुन्छ भन्नु भयो उहाँले । म उहाँकै कुरा मानेर पैसा तिरेर, औषधी बोकेर फर्किएँ ।
भर्खरै ज्वरोबाट तंग्रिदै थिएँ । काममा पनि जान सकेको थिइन । घरबाट फोन आयो । बुबाले गर्नु भएको रहेछ । सञ्चो बिसञ्चो नसोधि एकैचोटि उहाँले सोध्नुभयोः पैसा कैले पठाउँछस् ? खर्च सकियो, महंगी बढेको छ यस्तै उस्तै कुरा गर्नुभयो । मैले केहि दिनमा पठाइदिन्छु भनेर घरतिरको सञ्चोविसञ्चो साध्दा सोध्दै फोन काटियो । सायद पैसा सकियो होला ।
काममा गएका साथिहरु बेलुका फर्केर आए । मलाई अलिक विसेक भएको भए काममा गइहाल्न सुझाव दिए । एकजनाले भनें यो कम्पनीले त विरामी भएको बेलाको पनि पैसा काट्छ है । ज्यान उठेको छैन कसरी काममा जानु ? तर यहाँको नियम नै त्यस्तै के गर्ने ? त्यसैले भोलिपल्ट देखि सकिनसकी काममा जान थालें ।
हाम्रो सुपरभाइजर गाली गर्ने मौका खोजेर बस्थ्यो भन्दा हुन्छ । उ कुनै न कुनै बहानामा हप्काउने अवसरको खोजिमा हुन्थ्यो । एकदिन काम गर्दै थिएँ, एकासी निक्कै जोडले आइया आमा भनेर चिच्याएको आवाज आयो । मैले काम गर्ने डिपार्टको ठिक बिपरित साइटमा एउटा घर जत्रो मिसिन थियो । त्यहाँ एकजना सर्लाहीको दाइ काम गर्नु हुन्थ्यो । त्यही दाइको आवाज जस्तो लागेर के भए छ भनेर दगुर्दै उहाँ भए तिर गएँ । मैले मेसिनमा हेरे त्यो चलिरहेकै थियो । यताउति हेरेको भुईमा हेर्दा मेरो सातोपुत्लो उड्यो । ति दाइको दायाँ हात कुुहिनो देखि तल एकातिर उछिट्टीएको थियो भनें ति दाई रक्तमुछेल भएर भुईमा लडेका थिए । भुईमा रगतको पोखरी भइसकेको थियो । मलाई के गरौं, कसो गरौं भयो । ति दाइलाई उठाएर हल्ला गर्न थालें । सबै डिपार्टका साथिहरु आए । सुपरभाइजर पनि आइपुग्यो । सुपरभाइजरलाई हामीले उहाँलाई हस्पिटल लैजान आग्रह गरौ । उहाँलाई एउटा स्थानीय मेडिकलमा लगियो । त्यहाँ नसक्ने भए पछि त्यहाँको मेडिकलले एउटा रिफर पेपर लेखिदियो जसले गर्दा हस्पिटल भर्ना गराउन सजिलो भयो । त्यो दिन त्यसै बित्यो । बेलुका हामी घर फर्कियौ ।
भोलिपल्ट कम्पनीको कोही पनि बिरामी भएको ठाउँमा गएन रे ! हामी एकदुईजना भएर सुपरभाइजरलाई भेट्यौ र सोध्यौं हस्पिटलमा को बसेको छ ? भनेर । यदि मिल्ने भए हामी एकजना त्यहाँ जान्छौ भन्यौं । उसले भन्यो यहाँ कामदार नभएकोले तिमिहरु जान मिल्दैन, त्यो तिमिहरुको दायित्वको कुरो होइन । कम्पनीको जिम्मा हो भन्यो । हामी चुपचाप काममा फर्कियौ ।
बेलुका भयो हामी रुममा आयौं र बिरामिलाई फोन गर्यौं । उहाँ डाको छोडेर रुनुभयो । सारै अत्यास र बिरानो लग्यो ! उहाँले घाउमा सिलाई भएको, एकमात्रा मात्र औषधी दिइएको र कम्पनीले पैसा नतिरेका कारण त्यसभन्दा बढी उपचार नभएको अस्पतालका कर्मचारीले बताएको उहाँले भन्नुभयो । कम्पनीको सुपरभाइजरले फोन नउठाएपछि हामी आफूसँग भएको पैसा जम्मा पारेर अस्पताल पुग्यौं । दुईहजार रिङ्गेट जम्मा गर्न भनियो । हामीले जोरजम्मा गरेर त्यति पुर्यायौं । र उपचार हुन थाल्यो । दुईहप्ता पछि उहाँ कोठामा फर्किनुभयो । पहिले निक्कै हँसिलो रसिलो उहाँ निरास हुनुभयो । हरवखत चुप्प लागेर बसिरहन थाल्नुभयो । एकाएक उहाँको सपना भताभुङ्ग भयो ।
एकाबिहानैको कुरा हो म सधैं झैं डिउटी जाने क्रममा एउटा यस्तो दृश्य देखे जुन दृश्य मैले मेरो जीवनमा पहिलो चोटि देखेको थिएँ । एकजना ब्यक्तिलाई एउटा पसल अगाडि तीन जनाले पालैपालो कुट्दै थिए र उसको गोजीमा हात हाल्दै थिए । विहानको त्यस्तै साढे सात बजेको हुँदो हो । सवै मान्छे ड्यूटी गइरहेको भीडभाडको समय छ । त्यसरी मान्छेलाई कुट्दा पनि कोहि पनि देखेको नदेख्यै गरेर हिंडिरहेछन् । अचम्म लाग्यो ।
त्यो मान्छेको पाखुरा र छातीप्बाट रगत बग्न थालेको थियो । उ बचाउ बचाउ भनेर कराउँदै थियो । हाम्रै नेपाली पो रहेछ । कुट्ने चाहिं मलेसियन इन्डियन मुलका । मैले पनि ठूलो स्वरमा हारगुहार माग्न थालें । तत्कालै अरु तीनचारजना नेपाली जम्मा भए र नेपालीलाई मार्न लागे भनेपछि हामी हुर्रिंदै त्यतै कुद्यौ । हामी हुल बाँधेर आएको देखेपछि ति मान्छे भागे । विचरा ति नेपाली भाइको छात िर पाखुरामा छुरा हानेका रहेछन् । उनको साथबाट एउटा मोवाइल र ५० रिंगिट पैसा रहेछ, त्यहि लुटेर भागेछन् । हामी बेलैमा नआइपुगेको भए उनलाई तिनिहरुले मार्ने नै थिए सायद । यसले हामीलाई शिक्षा दियो एक्लै होइन समुहमा हिंड्नुपर्छ भनेर ।
अर्को एउटा अचम्म लाग्दो कुरो छ । दिनभरी डिउटी गरेर साँझ रुम आएर खाना खाएर सुतेको मान्छे सदाको लागि सुत्ने गर्छ । अरु कुराले पनि प्रभाव पारेको हुन्छ । तर रक्सिको अधिक सेवन र बेलामा खाना नखाने समस्याले पनि यस्तो हुने गरेको छ । कतिपय नेपालीलाई घरपरिवार भुलेर, आफू किन परदेश आएँ भन्ने कुरा विर्सेर रक्सि खाएर मातेर हिंडिरहेको देखिन्छ । कतिले भन्ने गर्छन् दुई दिनको जिन्दगी, के नै मरिलानु छ र ? चिन्ता त जति लियो उति बढ्छ, त्यसैले चिन्ता नलिन पनि रक्सि खाने, मोजमस्ती गर्ने कुरा गर्छन् उनीहरु । यसरी जानजान आफ्नो भविष्य वर्वाद पारिरहेकाहरु ध्ेरै भेटिन्छन् मलेसियामा । अचम्म लाग्छः कसरी उनीहरुले घर परिवार छोड्दा खाएको कमस विर्सेका होलान् ? कसरी उनीहरुले आफूलाई नै आश गरेर बसेका परिवार विर्सेका होलान् ?
म परेदश आएर यस्तै भोगिरहेको छु, देखिरहेको छु । यी यावत समस्याहरुका बाबजुद हामीले सन् २०११ फेब्रुअरी १७ तारिकका दिन श्रमिकहरुको एउटा साझा संगठन मेची महाकाली युवा समूहको गठन गर्न सफल भयौ । यो समुहले मलेसियामा कार्यरत पूर्व मेची देखि पश्चिम महाकालीसम्मका नेपाली श्रमिकलाई एकीकृत गराइ समस्यासँग लड्ने र नेपाली नेपाली बिच एक किसिमको भावनात्मक सम्बन्ध जगाउदै भाइचाराको व्यवहार सबै नेपालले सबै नेपालीलाई गर्न उत्प्रेरित गर्दै छौं । नेपालबाट भर्खरै मलेसिया आएका र आउने तर्खरमा हुनुहुन्छ भने आफ्नो काम के हो ? आफ्नो तलब सुबिधा कस्तो छ ? अनी तपाई आउन लागेको कम्पनी डाइरेट हो वा कन्ट्याक हो ? बुझेर मात्र आउनु हुन अनुरोध गर्दछु । किनकी कन्ट्याक भए अलि असुरक्षित छ मलेसियामा । अनि एअरपोर्ट हुने अमानविय क्रियाकलापबाट कसरी जोगिने ? त्यो पनि विचार गर्नुहोला । नेपालीका लागि मलेसिया अत्यन्तै असुरक्षित छ । चोरी, गुन्डागर्दी र लुटपाट हुन सक्छ । त्यसैले बाहिर हिड्दा एकलै नहिड्नु होला । दुईचार जना मिलेर मात्र हिंड्दा अलिक सुरक्षित भइन्छ । अनि मलेसिया आउँदा केहि मात्रामा भएपनि भाषाको ज्ञान भएमा उत्तम हुन्छ । हामी जे उद्देश्यले मलेसिया आएका हौ त्यही उद्देश्यका लागि दृढतापूर्वक लागि परौं । दुःख कष्ट, तनाव र विभिन्न समस्या तपाईका सहयात्री हुन । तिनिहरुसँग भागेर बिचलित नभइ आउने बेलामा परिवारमा आमा, बुबा र जीवनसंगिनीलाई दिएको प्रतिबद्धता कहिल्यै नभुलौं । उनीहरु तपाई कै बाटो कुरिरहेका हुन्छन् । आफ्नो दायित्व कहिल्यै नभुलौं ।
