महामारी पछिको संकटः नेपालले गर्नुपर्ने तयारी

 

सुनिल न्यौपाने

अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) ले कोरोना भाइरस (कोभिड १९) का कारण विश्वव्यापी रुपमा विनाशकारी रुपमा रोजगारी कटौती हुने आँकलन सहित रिपोर्ट सार्वजनिक गरिरहँदा त्यसको प्रत्यक्ष मारमा नेपाली श्रमिक पनि पर्ने देखिएको छ । मुख्यगरी खाडी क्षेत्रका मुलुकहरु, मलेशिया, भारत लगायतमा हुने रोजगारी कटौतीको असर नेपालमा पनि पर्ने निश्चित छ ।

गत मंगलवार आईएलओले प्रकाशित गरेको रिपोर्ट अनुसार खाडी क्षेत्रका मुलुकहरु, युरोप र एशिया तथा प्रशान्त क्षेत्रमा आगामी दिनमा ठूलो संख्यामा रोजगारी कटौती हुनेछ । यो सन् २०२० को दोश्रो चौमासिक अर्थात अप्रिल देखि जुनको बीचमा हुनसक्ने जोखिमको विश्लेषण मात्र हो । कोभिड १९ को महामारी वर्तमान गतिमा नै अरु केहि महिना जारी रहेमा त्यसले निम्त्याउने रोजगारी संकट र त्यसका कारण सिर्जना हुने आर्थिक मन्दी अझ गम्भीर हुनेछ ।

अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) ले वर्तमान समयमा ६२ प्रतिशत मुलुकहरु कडाउनको अवस्थामा रहेको र कोभिड १९ का कारण विश्वका करोडौं श्रमिकहरु आर्थिक संकटमा पर्ने अवस्था रहेको जनाएको छ । श्रम संसारको क्षेत्रमा आईपर्ने संकटको आँकलन गर्दै त्यसलार्ई कसरी पार लगाउने भन्ने विषयमा सम्वद्द सवै पक्ष यसमा जुट्नु आवश्यक रहेको आइटीयूसीको निश्कर्ष छ ।

नेपालको सन्दर्भमा स्वदेशमा रोजगारीका अवसरहरु विस्तार हुन नसकिरहेको अवस्थामा मुलुकमा सुरु भएको सशस्त्र द्दन्दका कारण वैदेशिक रोजगारमा जाने प्रचलनले तिव्र गति लिएको हो । मुख्यगरी खाडीका मुलुकहरु तथा मलेशियामा भइरहेको तिव्र विकास र त्यसका लागि आवश्यक पर्ने श्रम शक्ति तथा नेपाली युवाका लागि रोजगारीको आवश्यकताबीचको तादात्म्यताका कारण नेपालबाट बर्षेनी लाखौं युवा जनशक्ति विदेशिन थाल्यो । मुलुकमा रहेको काम गर्न सक्ने उमेरको युवा जनशक्तिलाई स्वदेशमा रोजगारीका अवसरहरु विस्तार हुन नसक्दा त्यो क्रम गएको बर्षसम्म पनि खासै ओरालो लाग्न सकेन । नयाँ श्रम स्वीकृति लिएर जानेहरुको संख्यामा कमि आएपनि पुनः श्रम स्वीकृति लिएर जानेहरुको संख्यालाई समेत जोड्ने हो भनें त्यो अहिले पनि ५ लाखको आँकडा भन्दा माथि नै छ । यकिन तथ्याँक स्वयं सरकारसँग समेत नभएपनि हाल पनि झण्डै २०-२५ लाख नेपाली विदेशमा श्रमरत रहेको अनुमान छ जो कुनै न कुनै समय पश्चात नेपाल फर्केर आउनेछन् ।

यो समाचार लेखिरहँदा नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या नौ पुगेको छ जसमध्ये एकजना निको भएर घर फर्किसकेका छन् । उपचाररत आठजनाको स्वास्थ्य अवस्था पनि ठिक रहेको सरकारी अधिकारीहरुले बताइरहेका छन् । त्यसैले कोरोना भाइरस संक्रमितको संख्याका हिसावले यो महामारी नेपालका लागि अहिलेसम्म ठूलो विपत्ति बोकेर आइसकेको नदेखिन सक्दछ तर यसले नेपाल र नेपाली अर्थतन्त्रमा गम्भीर प्रभाव पार्ने निश्चित छ ।

नेपाली श्रमिक धेरै जाने मुलुकहरु मध्येमा पर्दछन्, मलेशिया, कतार, साउदी अरेविया । पछिल्लो समयमा युएई जानेहरुको संख्या पनि उल्लेख्य छ । यसैगरी कुवेत, ओमान, बहराइन लगायतका मुलुकहरुमा पनि केहि लाख नेपाली कार्यरत छन् । ति मुलुकहरु झण्डैै एक महिनायता कोभिड १९ फैलिन नदिन संघर्षरत छन् ।

एकातर्फ ति मुलुकमा कार्यरत नेपाली श्रमिक कोभिड १९ को संक्रमणको जोखिममा छन् भनें अर्कातर्फ या त उनीहरुको रोजगारीको सुनिश्चितता छैन वा गरेको कामको पूरा ज्याला पाउने निश्चित छ । केहि मुलुकहरुमा जोखिमका बीच र विना कुनै सुरक्षा साधन नेपाली श्रमिकहरुले काम गर्न बाध्य हुनु परिरहेको गुनासो सुन्ने गरिएको छ जसले उनीहरुलाई थप जोखिममा पारिरहेको अनुमान गर्न सकिन्छ । यसका अलावा युएई तथा साउदी अरेवियाले कोभिड १९ का कारण व्यवसाय अप्ठ्यारोमा परेको भएमा श्रमिकसँगको सहमतिमा तलव कटौती वा वेतलवी विदा दिन, कामदार हटाउन समेत सक्ने र विशेष परिस्थीति उत्पन्न भएका कारण रोजगार सम्झौता लागु नहुन सक्ने समेत नीतिगत निर्णय नै गरिसकेका छन् जसको प्रत्यक्ष मारमा ति मुलुकहरुमा कार्यरत नेपाली श्रमिकहरु पनि पर्ने निश्चित छ । गन्तव्य मुलुकमा कार्यरत श्रमिकलाई रोजगारदाताले कुनै अन्याय गरेमा त्यसको विरुद्दमा श्रमिकले उजुरी गर्न सक्ने व्यवस्था ति मुलुकहरुले गरेको भएपनि अन्य मुलुकमा गएर काम गरिरहेका श्रमिकले आफ्नो रोजगारदाता विरुद्द उजुरी गर्ने सामथ्र्य धेरै कम हुने कतारमा नै कार्यरत राजु कट्टेल बताउँछन् । यसैगरी कसैले उजुरी गरिहालेमा पनि त्यसको सुनुवाईमा हुने ढिलाई वा रोजगारदाताको पहुँच र प्रभावका कारण श्रमिकमा उजुरी गर्ने आत्मविश्वास समेत कमजोर हुने उनको भनाई छ ।

वैदेशिक रोजगार, आप्रवासी श्रमिक लगायतका विषयहरुमा अध्ययन, अनुसन्धान गर्दै आएको संस्था सेस्लमका सहायक निर्देशक डा. जीवन बानियाँ कोभिड १९ को प्रभाव दिर्घकालिन रुपमा पर्ने बताउँछन् । साना तथा मझौला उद्योग व्यवसाय देखि लिएर ठूला उद्योगसम्म यसबाट नराम्ररी प्रभावित हुने भएका कारण खाडीका मुलुकहरु, मलेसिया, भारत लगायतमा श्रम बजारको क्षेत्रमा गम्भीर असर देखिने उनको विश्लेषण छ ।

कोभिड १९ को महामारी फैैलिन नदिन नेपाल सरकारले केहि हप्तायता लगातार लकडाउन गरिरहेको छ । उद्योग, कलकारखाना लगभग ठप्प छन् । खाद्यान्न उत्पादन लगायतको काम गर्ने केहि उद्योगहरुमा श्रमिकलाई स्वास्थ्य सुरक्षाका सामग्री उपलव्ध गराएर सञ्चालन गर्न दिने नीति सरकारले बनाएको छ । तर कतिपय मुलुकहरुमा कोभिड १९ का विरामीहरुको संख्यामा वृद्दि हुँदै जाँदा समेत श्रमिकहरुलाई जोखिमपूर्ण रुपमा काममा लगाउने गरिएको छ । विशेषगरी सप्लाई कम्पनीमा काम गर्ने श्रमिकहरुले यस्तो समस्या भोगिरहेका छन् । वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकको उद्दार लगायतको काममा संलग्न संस्था प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) का अध्यक्ष कुल प्रसाद कार्की आफूहरुलाई त्यस्ता गुनासाहरु प्राप्त भइरहेको भन्दै सम्वन्धित मुलुकमा रहेका नेपाली राजदूतावासहरुलाई यसका बारेमा अवगत गराउने गरिएको बताउँछन् ।

महामारीको समयमा अलेखवद्द श्रमिकहरु तथा घरेलु श्रमिकहरु अझ बढी जोखिममा पर्दछन् । नेपाल सरकारलाई समेत त्यसरी कति नेपाली कुन मुलुकमा छन् भन्ने जानकारी नभएको अवस्थामा उनीहरुको उद्दारमा कठिनाई हुने सहज रुपमा अनुमान गर्न सकिन्छ । आईएलओले सार्वजनिक गरेको पछिल्लो रिपोर्टमा पनि यी दुई समुह बढी जोखिममा रहेको औंल्याईएको छ ।

कोभिड १९ को महामारीका कारण श्रमिकको तलव कटौती हुने र ठूलो संख्यामा रोजगारी गुम्ने अवस्था सिर्जना भएको छ । समस्या कुन रुपमा टुँगिन्छ भन्ने यकिन छैन, तर अवस्था अझै केहि समय यस्तै रहेमा समस्या अझ थपिने छ । यसको अर्थ अझ धेरै रोजगारी गुम्नेछ र आप्रवासी श्रमिकहरु थप जोखिममा पर्नेछन् । विभिन्न मुलुकमा उत्पादन, सेवा, खाद्य उत्पादन लगायतका क्षेत्रको रोजगारीमा यसअघि नै गम्भीर असर देखिन थालिसकेको छ जुन क्षेत्रको रोजगारीमा नेपाली श्रमिक बढी कार्यरत छन् ।

सरकारको दायित्व
कोभिड १९ को संक्रमण फैलिएसँगै नेपालले गत चैत्र ११ गतेदेखि लकडाउन गरिरहेको छ र अन्तराष्ट्रिय हवाई उडानमा आगामी बैशाख १८ गतेसम्मका लागि बन्देज लगाइसकेको छ । यो अवस्थामा स्वदेश फर्किन चाहेर पनि धेरै नेपाली स्वदेश फर्किन पाएका छैनन् । सवै नेपाली नागरिकलाई स्वदेश फर्काएर उनीहरुको व्यवस्थापन तत्काल गर्न नेपाल सरकारलाई सहज नहुन सक्दछ । तर यस अवस्थामा सरकारले गन्तव्य मुलुकहरुसँग निरन्तर सम्वाद सम्पर्कमा रहिरहनु र आफ्ना नागरिकको सुरक्षाको यकिन गर्नु आवश्यक छ । सेस्लमका सहायक निर्देशक बानियाँ नेपाल सरकारले आफ्ना नागरिकको उद्दार, उनीहरुको परिक्षणको तयारी थालिहाल्नु आवश्यक देख्छन् । “आफ्ना नागरिकको संरक्षण गर्नु राज्यको दायित्व हो” बानियाँले भने “जुनसुकै मुलुकमा र जुनसुकै समयमा परिस्थीति नियन्त्रण बाहिर हुनेगरी महामारी फैलिन सक्दछ र त्यो अवस्थामा नेपाललाई ठूलो संख्यामा त्यहाँ कार्यरत नेपाली नागरिकलाई उद्दार गर्न मुस्किल पर्ने भएकोले तयारी गरेर विस्तारै आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउनु आवश्यक छ ।”

तत्कालिन सहयोग तथा समन्वयका लागि गन्तव्य मुलुकमा रहेका गैरआवासिय नेपाली संघ लगायत संघसंस्थाहरुसँग सहकार्य गरिनुपर्ने उनको भनाई छ । यद्यपी आप्रवासी श्रमिकको पक्षमा काम गर्न चाहँदा चाहँदै पनि गन्तव्य मुलुकमा रहेका सामाजिक संस्था तथा व्यक्तिहरुलाई आफू बसिरहेको मुलुकमा कोभिड १९ फैलिन नदिन ति मुलुकले आवतजावतमा लगाएको आँशिक वा पूर्ण बन्देजका कारण उनीहरुलाई सहज परिस्थीति भनें नभएको बानियाँले औंल्याए ।

सरकारले गन्तव्य मुलुकको श्रम बजारको अध्ययन निरन्तर गर्नुपर्दछ र यो महामारीले पार्ने प्रभावको विश्लेषण गरिरहनु आवश्यक छ । यसले तात्कालिन र दिर्घकालिन योजना निर्माणका लागि सरकारलाई सहयोग पुग्दछ ।

तर महामारी, विपद चुनौति मात्र बोकेर आउँदैन, सम्भावनाको अवसर पनि लिएर आउने बानियाँ विश्लेषण गर्दछन् । उनी भन्छन्ः यो अवस्थामा नेपालले विदेशबाट सीप सिकेर फर्केका श्रमिकलाई रोजगारीमा संलग्न गर्ने गरी उद्योगि व्यवसायीसँगको साझेदारीमा मुलुकभित्रै रोजगारीको अवसरमा वृद्दि गर्न सक्नु पर्दछ ।
सम्वन्धित विषयको यो लेख पनि पढ्नुहोस्  “महामारी, आप्रवासी श्रमिक र गर्नुपर्ने काम”

यो पनि रुचिकर हुन सक्दछः नेपाली श्रमिक भन्छन्ः कि ‘लकडाउन’ गर, कि हामीलाई पनि सुरक्षित बनाउ