काठमाडौं, मेरो नाम टिकबहादुर तामाङ हो । म विल्डिङ कन्स्ट्रक्सनको काममा रोमानिया आएको एक बर्ष भयो । मेरो कम्पनीले बुखारेष्ट सहित चारवटा शहरमा काम गर्छ । कम्पनी एकदमै राम्रो छ । हामी २३ जना नेपाली सहित ७० जना जति काम गर्छौ । नेपाली बाहेक भारतीय, बंगलादेशी, पाकिस्तानी र स्थानीय रोमानियन छन् । हामी विदेशीलाई बस्न कोठा दिएको छ । खान पैसा दिन्छ । मासिक तलव बैंक खातामा हालिदिन्छ । ओभरटाइम काम भयो भनें त्यो पैसा नगद नै दिन्छ । एक बर्षमा म छुट्टीमा नेपाल गएर फर्केको हुँ । कम्पनीले एक महिनाको तलव र एकतर्फी टिकट पनि दियो । म खुशी छु । जो मान्छे सिधा कम्पनीमा आउँछ, सजिलो छ, सप्लाईमा परेमा चाहि गाह्रो छ ।

नेपालमा मेरो ठेगाना सुनसरी हो । हामी एकैपटक २३ जना नेपाली यो कम्पनीमा काम गर्न आएका हौं । यो कामका लागि नेपालमा मेनपावर कम्पनीलाई ५ लाख तिर्नुपर्यो । मासिक ५५० डलर तलव हुन्छ भनिएको थियो । यहाँ आएपछि त्यति पायौ । यहाँ आएको तीन महिनापछि जनवरी देखि तलव बढेर ६ सय ५० डलर बरावर भयो । तर बिल्डिङ कन्स्ट्रक्सनको काममा खास ओभरटाइम हुन्न ।तलवमा मात्र काम गर्नुपर्छ ।

म कन्स्ट्रक्सन हेल्पर हो । तर ड्राइभिङ पनि गर्न जान्ने भएकाले कम्पनीले रुचाएको छ । त्यसैले मलाई चारवटा शहरमा पठाइसक्यो ।चिसोमा बाहिरको काम गर्न गाह्रै हुन्छ । विल्डिङ कन्स्ट्रक्सन, गार्डेनको काम र सडकको काम अलिक गाह्रो काम रहेछ । काम सिकेर आएकाहरुलाई कम्पनीले पनि मन पराउँछ । भाषा नजानेर खास समस्या भएको छैन । स्थानीय रोमानियनहरुसँग कुरा गर्न मोवाइलमा अंग्रेजी, नेपालीमा लेख्यो, रोमानियनमा उल्था हुन्छ । उनीहरुले बुझिहाल्छन्, खासै गाह्रो परेको छैन ।

सुरुमा आउने वित्तिकै हामीलाई कम्पनीले सेफ्टी सम्वन्धी प्रशिक्षण दियो । कम्पनीले भिडियोहरु देखाएर बुझायो । काम गर्ने ठाउँमा हेल्मेट, बेल्टहरु छ । त्यो लगाएर मात्र काम गर्ने हो ।

हाम्रो कम्पनीले प्राथमिक उपचारको व्यवस्था गरेको छ । डाक्टर राखेको छ । केहि चोटपटक लाग्दा त्यहिं उपचार गर्ने हो । कुनै गम्भीर चोट लाग्यो भनें गाडीमा हालेर अस्पताल लैजान्छ । मैले एक बर्षभित्र केहि प्राथमिक उपचार त गराएको छु, तर अस्पताल जानुपर्ने गरी चोट लागेको छैन ।

कम्पनी चलेन भने रिलिज दिन्छ । अर्को कम्पनीमा काम गरेका र त्यो कम्पनी नचलेर रिलिज लिएर भर्खरै २० जनाजति नेपाली हाम्रो कम्पनीमा आएका छन् । तर उनीहरु हाम्रो कम्पनीको स्टाफ भइसकेका छैनन । काम गर्न थालेपनि बाहिर नै बस्छन्, कम्पनीले पुरै जिम्मा लिएको छैन ।

नेपालमा तालिम सिकेर आउँदा कमाई राम्रो हुन्छ । मेरै कम्पनीमा म ६५० डलर बरावर तलव पाउँछु, कार्पेण्टर, वेल्डिङ गर्ने, स्टील फिक्सरको काम गर्नेहरुले १ हजार डलर जति तलव पाउँछन् । नबुझी आउने, सप्लाईमा पर्नेहरुले चाहिं एकदमै धेरै दुःख पाएका छन् । भाषा पनि जानेको हुँदैन, त्यसैले कम्पनी छोडेर जाँदा पनि अर्को कम्पनी खोज्न दलाल नै लगाउनु पर्छ । जहाँ पनि कमिसन खाइदिन्छन् ।
(रोमानियामा कार्यरत तामाङसँगको कुराकानीमा आधारित)

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय