काठमाडौं । आप्रवासन र मानव बेचबिखनसँग सम्बन्धित विषयलाई प्रभावकारी रूपमा सञ्चार गर्न नागरिक पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुईदिने कार्यशाला सम्पन्न भएको छ। एलडब्लुएफ नेपालको सहयोगमा पौरखी नेपालले आयोजना गरेको सो कार्यशालामा २३ जना सहभागि थिए ।

‘सोसल मिडियामा नागरिक पत्रकारिता तथा डिजिटल स्टोरीटेलिङ, मानव बेचबिखनसम्बन्धी सामग्री सिर्जना र प्रभावकारी सञ्चार’ विषयमा केन्द्रित कार्यशालामा नागरिक पत्रकारिताको अवधारणा, आप्रवासनका सवाल, महिला आप्रवासी श्रमिकका समस्या, मानव बेचबिखन र तस्करीलगायतका विषयमा छलफल गरिएको थियो।

कार्यशालाको उद्घाटन सत्रमा पौरखी नेपालकी रणनीतिक निर्देशक मञ्जु गुरुङले आप्रवासनको महत्त्व, महिला आप्रवासी श्रमिकले भोगिरहेका समस्या तथा मानव बेचबिखन र तस्करीका विषयमा सहजीकरण गरेकी थिइन्। उनले आप्रवासनसम्बन्धी समाचार तथा सामग्री निर्माण गर्दा आप्रवासी श्रमिकलाई प्रस्तुत गर्ने दृष्टिकोण र नकारात्मक भाष्यले पार्न सक्ने प्रभावबारे पनि चर्चा गरिन् ।

कार्यशालामा पत्रकारिता र नागरिक पत्रकारिताबीचको भिन्नता, नागरिक पत्रकारको भूमिका तथा नेपालमा नागरिक पत्रकारिताको सम्भावनाबारे छलफल गरिएको थियो। डिजिटल प्रविधि र सामाजिक सञ्जालको बढ्दो पहुँचले स्थानीय समुदायका आवाज तथा मूलधारका सञ्चारमाध्यममा पर्याप्त स्थान नपाएका विषयलाई सार्वजनिक गर्ने अवसर सिर्जना गरेको विषयमा सहभागीहरूले धारणा राखेका थिए।

प्रशिक्षक सुनिल न्यौपानेले सहजीकरण गरेको सत्रमा आप्रवासनसम्बन्धी समाचार तथा सामग्री निर्माणका विभिन्न चरणबारे व्यावहारिक अभ्यास गराइएको थियो। समाचारका विषय छनोट, तथ्य तथा सूचना सङ्कलन, स्रोत पहिचान, अन्तर्वार्ता, समाचारको दृष्टिकोण निर्धारण, स्क्रिप्ट लेखन र भिडियोको स्टोरीबोर्ड निर्माणबारे सहभागीलाई अभ्यास गराइएको थियो।

विशेषगरी आप्रवासी श्रमिक तथा मानव बेचबिखनबाट प्रभावित व्यक्तिका अनुभव सार्वजनिक गर्दा उनीहरूको सहमति, गोपनीयता, पहिचानको सुरक्षा र सम्मानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो। पीडितलाई थप जोखिममा पार्ने, उनीहरूलाई दोषी देखाउने वा आप्रवासी श्रमिकप्रति नकारात्मक धारणा निर्माण गर्ने सामग्रीबाट बच्नुपर्ने विषयमा समेत छलफल गरिएको थियो।

कार्यशालाको दोस्रो दिन समाचार लेखन अभ्यास तथा मोबाइल फोनको प्रयोगबाट डिजिटल सामग्री निर्माण गर्ने सीपमा केन्द्रित अभ्यास सञ्चालन गरिएको थियो। मोबाइलबाट भिडियो खिच्ने तरिका, फ्रेमिङ, प्रकाश, ध्वनि, बी–रोल फुटेज भिडियो सम्पादन गर्ने विभिन्न मान्यमहरुको सहभागिहरुले समूहमा आधारित अभ्यास गरेका थिए । सहभागीहरूले समूहगत रूपमा तयार पारेका भिडियो तथा पोस्टर प्रस्तुत गरेका थिए। प्रस्तुत सामग्रीमाथि प्रशिक्षक र अन्य सहभागीले प्रतिक्रिया तथा सुझाव दिएका थिए।


कार्यशालामा एलडव्लूएफका सञ्चार प्रमुख दिपेन्द्र लम्सालले एलडव्लूएफ र यस अन्तर्गत सञ्चालित परियोजनाले नागरिक पत्रकारिताको विकासका लागि गर्दै आएको कामका बारेमा जानकारी गराएका थिए । उनले सो अवसरमा समसमसगसग वेभसाइटमा राखिएका विषयवस्तुहरु र त्यसमा नागरिक पत्रकारले गर्न सक्ने योगदानका बारेमा जानकारी गराए ।

कार्यशालाको समापन सत्रमा पौरखी नेपालकी अध्यक्ष सिन्धु अर्यालले सहभागीहरूको अनुभव, प्रतिक्रिया र आगामी कार्ययोजनाबारे छलफल गर्दै कार्यक्रमको समापन गरेकी थिइन्।

कार्यशालाले आप्रवासन तथा मानव बेचबिखनजस्ता संवेदनशील विषयमा तथ्यमा आधारित, जिम्मेवार र मानवअधिकारमैत्री सामग्री उत्पादन गर्न नागरिक पत्रकारहरूको सीप तथा क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय