काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरुका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा अनिवार्य रुपमा आवद्ध हुनुपर्ने व्यवस्था सरकारले गरेको तीन बर्ष पुग्न लागेको छ । २०७९ चैत्र देखि अनिवार्य गरिएपश्चात हालसम्ममा २० लाख ३६ हजारभन्दा बढी वैदेशिक रोजगारमा गएका श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भइसकेका छन् । सामाजिक सुरक्षा कोषमा आवद्ध कुल २६ लाख ९५ हजार श्रमिक मध्ये वैदेशिक रोजगारमा जानेहरुको हिस्सा ७५ प्रतिशनत भन्दा बढी हुन आउँछ ।

सरकारले अनिवार्य गरेपश्चात सामाजिक सुरक्षा कोषमा आवद्ध हुने श्रमिकको संख्या उल्लेख्य रुपमा वृद्धि भएपनि योगदान निरन्तर गर्नेको संख्या भनें तुलनात्मक रुपमा कमजोर छ । वैदेशिक रोजगारीमा रहेकाहरुको योगदानको नियमितता केवल १५ देखि २० प्रतिशत मात्र छ । किन ८० प्रतिशत भन्दा धेरै श्रमिकले योगदानलाई निरन्तरता दिएका छैनन् ? ६ सम्भावित कारण यी हुन सक्दछन्ः

१. श्रमिकलाई थाहै नहुनु
वैदेशिक रोजगारमा जाने श्रमिकहरुका लागि योगदानमा आधारित सामाजिक सुरक्षामा आवद्धतालाई सरकारले अनिवार्य गरेपनि आफूले श्रम स्वीकृति लिंदा कोषमा आवद्ध भइसकेको विषय श्रमिकलाई थाहा नहुन सक्दछ । उनीहरुको सम्पूर्ण कागजी प्रकृया मेनपावर कम्पनीहरुले गरिदिने भएका कारण श्रमिकहरुलाई कोषका बारेमा जानकारी नहुने सम्भावना बढी हुन्छ । उनीहरुलाई कोषमा किन आवद्ध हुन जरुरी छ भन्ने जानकारी नहुनुका साथै त्यसमा योगदान नियमित गर्नुपर्ने तथा त्यसवापत प्राप्त हुने सुविधाका बारेमा थाहै नहुन सक्दछ । तसर्थ वैदेशिक रोजगारमा गएका श्रमिकले योगदान नियमित नगरेका हुन सक्दछन् ।

२. सिष्टममा पहुँच नहुनु
वैदेशिक रोजगारमा जाँदा श्रम स्वीकृति लिन कोषमा रकम बुझाउनका लागि युजर नेम र पासवर्ड सहितको सिष्टम सिर्जना गर्नुपर्दछ । यो काम श्रमिक स्वयंले गर्ने नभई उनीहरुका लागि श्रम स्वीकृतिको प्रकेया गर्ने मेनपावर कम्पनीहरुले गर्ने गर्दछन् । त्यसो गर्दा श्रमिकको मोवाइल नम्वर नराखिदिने, युजरनेम र पासवर्ड केवल एकपटकका लागि चाहिने जसरी मेनपावर कम्पनीले नै तयार गरिदिने र यसका बारेमा सम्वन्धित श्रमिकलाई जानकारी नदिने गरिएको हुन सक्दछ । त्यसो हुँदा चाहेर पनि सिष्टममा पहुँचका लागि सम्वन्धित श्रमिकलाई अप्ठ्यारो हुन्छ ।

अर्कातर्फ अनलाइन मार्फत कोषमा रकम जम्मा गर्न केहि प्राविधिक ज्ञान पनि आवश्यक पर्ने र डिजिटल ज्ञानको कमिका कारण पनि श्रमिकले योगदानलाई निरन्तरता नदिएका हुन सक्दछन् ।

अनलाइन मार्फत सामाजिक सुरक्षा कोषमा रकम भुक्तानीका लागि जानकारी लिन यहाँ क्लीक गर्नुहोस्

३. आम नागरिकलाई सरकारप्रति विश्वास कमजोर हुनु
आम नागरिकको सरकारप्रति विश्वास कमजोर हुनु अर्को कारण हुन सक्दछ । आफूले जम्मा गरेको रकम सरकारले हिनामिना गरिदिने, भोलीका दिनमा आफूले रकम निकाल्ने समयमा सरकारले नदिने जस्ता अफवाहलाई पत्याउनु वा विश्वासमा कमिका कारण पनि योगदानको निरन्तरतामा कमि आएको हुन सक्दछ । पछिल्ला केहि बर्षयता सरकारप्रति सिर्जित अविश्वास चरम चुलीमा पुगेका कारण पनि यो अझ बढी समस्या भएको हुन सक्दछ ।

४. सामाजिक सञ्जालले सिर्जना गरेको नकारात्मक धारणा
सामाजिक सञ्जालको प्रयोगकर्ताको संख्यामा जति वृद्धि भएको छ, त्यहाँ नकारात्मकता उत्तिकै मात्रामा वृद्धि भएको छ । नेपालका प्रणाली, कार्यक्रम प्रतिको नकारात्मकता सामाजिक सञ्जालमा तिव्र छ । सामाजिक सुरक्षा कोषका विषयमा सचेतनात्मक जानकारीका लागि सामाजिक सञ्जालमा राखिएका सामग्रीहरुमा आउने गरेका नकारत्मक टिपपणीहरुले नै यसलाई पुष्टि गर्दछ । तसर्थ त्यहि नकारात्मकताको भावनाले आम श्रमिकलाई प्रभाव पारेको हुन सक्दछ जसका कारण योगदानको निरन्तरतामा कमि आएको हुन सक्दछ ।

५. मलाई किन चाहियो र भन्ने बुझाई
मान्छेले आफू दुर्घटनामा पर्न सक्ने, अपाङ्ग हुन सक्ने, कामै गर्न नसक्ने हुने वा आफ्नो मृत्यु समेत हुन सक्ने कुरालाई सहजै स्वीकार्दैन । अर्कातर्फ आफू एउटा समयमा बुढो हुने र कमाइ गर्न नसक्ने तर सो समयमा पनि आर्थिक आवश्यकता हुने कुरालाई पनि विचार गर्दैन । त्यहि कारण भविष्यको सहारका रुपमा खडा गरिएको सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्ने विषय वैदेशिक रोजगारमा रहेका व्यक्तिहरुको प्राथमिकतामा नपरेको हुन सक्दछ ।

६. श्रमिकले खोजेजस्तो योजनाहरु नहुनु
नेपालमा श्रमिकका लागि विभिन्न योजनाहरु छन् । कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोष सामान्य रुपमा हेर्दा उस्तै उस्तै प्रकृतिका कार्यक्रमहरु देखिन्छन् । तिनिहरुले प्रदान गर्ने सुविधाहरुका बीचमा हरेक श्रमिकले तुलना गर्दछन् जुन स्वभाविक हो । अर्कातर्फ वैदेशिक रोजगारमा जाँदा वैदेशिक रोजगार कल्याणकारी कोष, बीमा तथा सामाजिक सुरक्षा कोषमा योगदान गर्नुपर्ने अवस्था छ । कमसे कम यी तीनवटा कार्यक्रमलाई एउटै बनाउने हो भनें पनि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रति वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको चासो र आकर्षण वृद्धि हुने तथा योगदान नियमित हुन सक्ने सम्भावनामा वृद्धि हुन्छ । कोषको योजना तुलनात्मक रुपमा अझै पनि धेरै आकर्षक नहुनु र वैदेशिक रोजगार कल्याणकारी कोष, बीमा र सामाजिक सुरक्षा कोष तीनवटै ठाउँमा आवद्ध हुनु पर्ने विषयले वैदेशिक रोजगारमा रहेका श्रमिकहरुलाई आकर्षित नगरेको हुन सक्दछ ।

वैदेशिक रोजगारमा गएका व्यक्तिहरुका लागि सामाजिक सुरक्षा कोष मार्फत के कस्ता सुविधाहरु उपलव्ध छन् भन्ने थाहा पाउन यहाँ क्लीक गर्नुहोस् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय