वैदेशिक रोजगार विभागः डीजि नम्वर १९

वैदेशिक रोजगार विभाग । विगतमा एउटा कमाउ अड्डाका रुपमा परिचित सरकारी कार्यालय । कुनै समयमा चर्चा गरिन्थ्यो, भ्रष्ट कर्मचारीलाई भन्सार र वैदेशिक रोजगार विभाग मध्ये कुन रोज्छस् भनेर सोधेमा विभाग नै रोज्छ भनेर । यहि विम्वले विभागको तत्कालिन छवि प्रष्ट्याउँदछ ।

वैदेशिक रोजगार विभाग कतिसम्म चलायमान अड्डा हो भनें त्यहाँ २ महिने देखि ७ ८ महिने महानिर्देशक त कति भए कति । नेपाली क्रिकेट टीमका व्याट्स्म्यान जस्तै, तुँ चल मैं आया । तत्कालिन मन्त्री सरिता गिरी र तत्कालिन महानिर्देशक पूर्णचन्द्र भट्टराईबीचको टकराव, भट्टराईको सरुवा र मन्त्री गिरी बर्खास्तीमा परेको समेत ईतिहास छ । अर्थात सो विभागमा रकमको लेनदेनका लागि कुन स्तरसम्मको चलखेल हुन्छ भन्ने यो प्रकरणले पनि छर्लङ्ग हुन्छ ।

पछिल्लो एक बर्ष भनें त्यस्तो रहेन । हुनत हरेक व्यक्तिका आ–आफ्ना सवल, दुर्वल पक्ष हुन्छन् र विभागबाट सरुवा गरिएका महानिर्देशक भीष्म कुमार भुषालका पनि सवलसँगै दुर्वल पक्ष पक्कै होलान् तर ति उनको कार्यशैलीमा भनें देखिएनन् । गीताको पुस्तक आफ्नो कार्यालयको टेवलमा राखेर बस्ने सह–सचिव भुषालले आफ्नो कार्यकालको दौरान विभाग र काठमाडौंस्थित कार्यालयका सबै कर्मचारीहरुलाई सत्यनिष्ठा, भ्रष्टाचारप्रति शून्य सहनशीलता र सदाचारको दुईपटक तालिम पनि दिए । अर्थात उनी विभागको जे जस्तो छवि छ त्यो भन्दा फरक बनाउन चाहन्थे ।

नेपालीमा उखान नै छ जसो जसो बाहुन उसै उसै स्वाहा । त्यसैले जिम्मेवारीमा बसेको व्यक्ति सही हुन जरुरी छ । अझ वैदेशिक रोजगारका नाममा हुने गरेको लुट तथा पीडितका आँशु हेरेर उसलाई न्याय दिने की पीडितको त्यहि आँशुको मोलतोल गरेर पीडकबाट रकम झार्ने भन्ने निर्णय गर्न सक्ने ठाउँमा बसेको व्यक्ति लोभलालच विनाको हुनु आवश्यक छ । त्यसो भएमा मात्र पीडतले न्याय पाउन सक्दछन् । त्यो न्यायको धेरै हदसम्म अनुभूति यसबीचमा भएको छ ।

महानिर्देशक भुषालको कार्यकालमा भएको एउटा महत्वपूर्ण काम वैदेशिक रोजगारको नाममा हुने ठगि नियन्त्रण गर्न नेपाल प्रहरीसँग समझदारीमा हस्ताक्षर हुनु पनि हो । विगतमा हजारौं ठगले वैदेशिक रोजगारको नाममा कयौं व्यक्तिसँग करोडौं रकम उठाउने तर त्यस्ता उजुरी प्रहरीले नलिने र पीडित वैदेशिक रोजगार विभाग, काठमाडौंसम्म धाउन नसक्दा त्यस्ता ठगले उन्मुक्ति पाइरहेका थिए । यो अवस्थामा महानिर्देशक भुषालको निक्कै ठूलो प्रयास पश्चात वैदेशिक रोजगारका नाममा हुने ठगिका उजुरी प्रहरीले लिने र प्रहरी तथा विभागबीच सहकार्य गर्ने जुन समझदारी भयो यसले व्यक्तिगत ठगिका घटना नियन्त्रणमा ठूलै मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ ।

ढिलो न्याय पाउनु न्याय नपाउनु जस्तै हो । वैदेशिक रोजगार विभागमा त्यहि भइरहेको थियो । उजुरीका फाइलहरु बर्षौंसम्म कार्यालयको दराजमा थन्किरहेका हुन्थे । केहिपटक धाएपछि पीडितहरु गल्थे र घर फर्किन्थे । उजुरी हालेर न्याय पाइन्छ भन्ने आश रत्तिभर थिएन । त्यसैले त वैदेशिक रोजगारमा ठगिमा परेकाहरु बरु तिनै ठगसँग रोईकराई गरेर थोरै भएपनि रकम फिर्ता गर्न सकिन्छ की भनेर आश गर्दथे र त्यहि प्रयत्न गर्दथे । विभागमै सरकारी कर्मचारीले उल्टै पीडितलाई थर्काएको, धम्क्याएको दृष्य देखिन्थ्यो । पीडकलाई गर्ने ईज्जतको व्यवहार र पीडितलाई गर्ने तुच्छ व्यवहार कम से कम यसबीचमा कुनै कर्मचारीले गरेको देखिएन । एउटै ठगिको मुद्दामा झण्डै डेढ करोड जरिवाना तिरायो विभागले । कतार र टर्कीमा रकम डुवेका झण्डै एकसय जना नेपाली श्रमिकको लगभग १ करोड ८० लाख रकम तिराउन विभागले खेलेको भूमिका प्रशंसनिय छ । पुराना उजुरी फरफारकमा विभागका कर्मचारीले देखाएको तदारुकता उत्तिकै प्रशंसनिय । अर्थात गरे त सरकारी कार्यालयमा पनि काम छिटो छरितो हुने रहेछ । कार्यालय समय भन्दा अगाडी नै आएर कार्यालय समय सकिएपछि पनि काम गरेर बसिरहेका कर्मचारी भेटिनु सामान्य जस्तै थियो ।

स्वभावैले विभागले गर्ने आकस्मिक अनुगमन ठग वैदेशिक रोजगार व्यवसायी र तिनका मतियारलाई मन पर्ने कुरै होइन । त्यसैले त्यसको विरोध उनीहरु गरिरहन्थे । तर विभागले १० महिनाभित्रमा मेनपावर कम्पनीहरुमा नियमित र आकस्मिक गरी ७५ पटक अनुगमन गरेछ, कानून विपरितको काम गरेकोमा ९७ लाख ५० हजार जरिवाना तिराएछ । यो पर्याप्त होइन तर विगतको तुलनामा असाध्यै धेरै हो । धेरै रकम मागेको अवस्थामा ति संस्थामा अनुगमन गरेर विदेश जान चाहने त्यस्ता व्यक्तिलाई कानून बमोजिम तोकिएको रकममा विदेश पठाउन समेत लगाईयो जसले वैदेशिक रोजगारीका समस्यामा न्याय पाइन्छ भन्ने विश्वास जगाउने काम गरेको छ ।

अनलाइन मार्फत आवेदन दिने, माग प्रमाणीकरण हुने, श्रम स्वीकृतिका लागि टोकन लिने, बीमा, कल्याणकारी कोषको रकम तिर्ने जस्ता काममा प्रविधिको प्रयोग पछिल्लो समयका असल अभ्यास हुन् जसको विस्तार भविष्यमा अझ हुन जरुरी छ ।

वैदेशिक रोजगार विभागको १९ औं महानिर्देशकका रुपमा १० महिने कार्यकाल विताएका भीष्म कुमार भुषाल विभागबाट विदा हुँदै गर्दा गलत उद्देश्य बोकेका मेनपावर कम्पनीहरु, एजेण्टका नाममा ठग्ने दलालहरु र ति दलालका मतियारहरु अत्यन्त हर्षित छन् । यहि हर्षबढाईं श्रम मन्त्रीबाट गोकर्ण विष्ट विदा हुँदै गर्दा पनि देखिएको थियो ।

यसबीचमा मन्त्री फेरिएपश्चात यो मैले हेरिसकेको फाइल हो, काम गरिदिनु भनेर मन्त्रीका आसेपासेबाट विभागका कर्मचारीलाई सिधै फोन आउन थालेको र त्यसमा महानिर्देशक भुषालले म रहेसम्म त्यस्ता फाईल कानून अनुसार मात्र गर्नु, केहि परे म छु भनेको कर्मचारी नै भन्छन् । विभागमा आगामी दिनमा जिम्मेवारीमा आउने महानिर्देशकले त्यहिस्तरमा आफू मातहतका कर्मचारीलाई ढुक्क बनाउन सक्नु पर्दछ ।

परिवर्तनको गति चलिरहन्छ । विभागमा नयाँ जिम्मेवारीमा आउने व्यक्तिले भुषालले भन्दा अझ राम्रो गर्न र ठगहरुको जरो उखेल्न सक्छन् । त्यसो भएमा अहिले हर्षबढाईं गर्ने ति ठगहरु र तिनका मतियारहरुको खुशी दुईचार दिनको मात्रै रहन सक्दछ । वैदेशिक रोजगारमा देखिएको सुधारले अझ गति पक्रिने आशा गरेका भुषालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट चनाखोपूर्वक श्रम मन्त्रालय, विभाग र अन्य निकायमा हुने गतिविधिलाई हेर्ने काम गरे भनें पनि विगतको जस्तो भ्रष्टाचारको आहालमा विभाग डुव्ने छैन ।

महानिर्देशक भुषालले कुनै नौलो कुरा गरेका होइनन् । उनको जुन जिम्मेवारी थियो त्यसलाई पुरा गरेका हुन् । पीडितलाई न्याय दिलाउन, ठगलाई तह लगाउन खोजे । हो, नयाँ महानिर्देशकबाट पनि त्यत्ति हो आम नेपालीले गर्ने अपेक्षा ।
यो पनि पढ्नुहोस् तलव नपाई फर्किएकाले पाउने भए बाँकी रकम, ७ दिनभित्र विभागमा सम्पर्क गर्नुपर्ने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय