
जनकपुर, बैशाख ३०-
धनुषाको सदरमुकाम जनकपुरको रामानन्द चोक हुँदै झण्डै ७/८ किलोमिटर दक्षिण झरेपछि पुगिन्छ जनकपुर २०, रुपैठा गाउँ । घरमा छन् ७२ बर्ष पुगेका राम सिरिठ राम, उनकी श्रीमति र जेठो छोरा ।
रामसिरिठका कान्छो छोरा राजकुमार, कमाउन विदेशिएका छन् । झण्डै ६ बर्षअघि मलेसिया गएका उनी ५ बर्षयता परिवारको सम्पर्कमा छैनन । भने अनुसारकै काम र दाम पाएपनि ३ महिनामै कम्पनी छोडेर हिंडेका राजकुमार बेखवर भए । उनलाई खोज्न जाने पैसा समेत छैन परिवारको ।
जेठो छोरोको विहे भएकै छैन । विहे गरेर गएको कान्छो छोरो बेखवर भएपछि माइत गएकी बुहारी घर फर्किइनन् । त्यसैले कमाउने जिम्मा यीनै बृद्ध बाबुको काँधमा छ, घरायसी धन्दाको जिम्मा छ ७० बर्षिय आमा जलेश्वरी देवीको । चटक्कै माया मारेर हराएको छोरो सम्झिंदा पनि मन भक्कानिएर आउँछ यी बृद्धाको । उनी भन्छिन् “ए छोरा, तँ नभएर हामीलाई साह्रै अप्ठ्यारो भएको छ । ए छोरा के भनेर गइस्, के गरिस् ? छिटो घर फर्कि छोरा । बाउ आमाको मुख हेरेर, छिटो आइज ।”
छेउमै बसेका रामसिरिठ भनें श्रीमतिलाई सम्झाउँदै थिए, छोरो एकदिन त कसो घर नफर्केला भनेर । छोरोलाई सपनामा पनि देखिरहन्छन् उनी । उनी भन्छन् “म सपनामा देखिरहन्छु । कहिले काहिं म आफैं मलेसिया पुगेको देख्छु । म छोरालाई पनि देख्छु । मैले श्रीमतिलाई भनेको छु, छोरो एक न एकदिन घर आउँछ ।”
राजकुमारको कुनै तस्वीर छैन परिवारसँग । भएको नागरिकता हो जसलाई जतनसँग राखेकी छिन् आमा जलेश्वरीले । राजकुमार रामलाई तपाईले मलेसियामा कहिं देख्नुभएको छ की ? अथवा उनका बारेमा तपाईलाई कुनै जानकारी छ की ? यदि उनका बारेमा तपार्ईसँग कुनै जानकारी भएमा सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, धनुषाको फोन नम्वर ०४१ ४२० ६०५ मा खवर गरिदिनु होला ।
भिडियो स्टोरी प्रकाशन भएपछि उहाँ परिवारको सम्पर्कमा आएका कारण भिडियो हटाइएको छ । सम्पादक