
सन्तोष कुमार राई, खोटाङ्ग, फागुन १५-
हलेसी तुवाचुङ्ग नगरपालिका वडा नं. ६ मंगलटार ढुङ्गामुनि टोल । पुरानो शैलिको एउटा घुमाउने घर । बिहानी पख घरछेउको बारीमा गाईभैसीलाई घाँस हाल्दै थिइन् लेखकुमारी बस्नेत ।
घरमा दुईजना छन् । छोरो पुष्प र उनी । दुई छोरी, एक छोरा र श्रीमान गरी ५ जना हुन् परिवारमा । ठुली छोरी दुर्गा कुमारी बस्नेतको बिवाह भई सक्यो । कान्छी छोरी मनिषा मामाघर गाईघाटमा बसेर कक्षा ७ मा पढ्दै छिन् ।
लेख कुमारीका श्रीमान देव बहादुर(जसलाई गाउँमा कुमार भनेर बोलाउने पनि गरिन्थ्यो) १२ बर्ष अगाडि कतार गएका हुन् जो अहिलेसम्म फकिएनन् । उनी कतार गएको दुई बर्षसम्म सम्पर्कमा नै थिए । त्यसपछि न उनको फोन आयो न त उनी घर फर्किए ।
छोराछोरी पढाउन र कमाउन भन्दै २०६२ पुस ५ गते घरबाट हिडेका हुन् उनी । महिनादिन पछि उनी कतार उडेको खवर गाउँकै काका पर्नेले दिए परिवारलाई । कतार पुगेपछि दुई बर्षसम्म उनले घरमा पैसा पठाइरहे, बेला बेलामा फोन पनि गर्दैथिए । तर त्यसपछि न फोन न चिठ्ठी भएको छ ।
श्रीमानसँग अन्तिम पटक कुरा हुँदाको घटना सम्झिंदै लेख कुमारी भन्छिन् “फोनमा पैसाको कुरा गर्दा अव म घर आउँछु, छिमेकीसँग सरसापट गरेर चलाउँदै गर्नु, म आए पछि तिर्छु भन्नु भएको थियो । त्यो नै अन्तिम कुराकानी थियो हाम्रो ।”
श्रीमान् यसरी वेखवर भएपछि खोज्ने अरु धेरै उपाय थिएन लेख कुमारीसँग । उहि आफ्नै गाउँबाट कतारमा रोजगारीका लागि गएका मध्ये कोहि फर्कियो भनें उनी आफ्ना श्रीमानका बारेमा कुनै खवर छ की भनेर बुझ्न पुग्थिन् । तर कसैले पनि उनलाई देखेको कुरा गरेनन् । एकातिर यसरी श्रीमान बेखवरको हुनुको पीडा अर्कोतिर तीन छोराछोरीहरुको पालन पोषणको दायित्व पनि एक्लै उनको काँधमा आइपर्यो । हिम्मत नहारी उनले छोराछोरीलाई पालनपोषण गर्दै र पढाउँदै आएकी छन् । छोरा १२ कक्षामा पढ्दै छन्, ठुलो छोरीको बिहे भइसकयो भनें कान्छि छोरी ७ मा पढ्दै छन् ।
कान्छी छोरी ६ महिनाकी हुँदा देव वहादुर कतार उडेका थिए । सानै हुँदा त कान्छि छोरीलाई बाबुको खासै वास्ता हुने पनि भएन । तर हिजोआज भनें उनी आमासँग आफ्ना बाबुका बारेमा सोधिरहन्छीन् । चाडबाडको बेलामा र मामाघरबाट घर आएपछि उनी आफ्ना बाबुका बारेमा आमासँग सोध्न थालेकी छन् । उनी सोध्छिन्ः आमा मेरो बाबा, काका जस्तै अनुहारको हुनुहुन्थ्यो हो ?
उनले बाबाको फोटो ठुलो बनाएर राख्ने कुरा गर्दा आमाको मन भक्कानिएर आउँछ । अरुको बाबा त बिदेशबाट आउँछन् तर हाम्रो बाबा किन नआएको होला भनेर सोध्ने छोरीको प्रश्नको जवाफ पनि हुन्न लेख कुमारीसँग ।
ठुली छोरीको विहेमा जव कान्यादान गर्ने बेला भयो, देव बहादुरलाई सम्झेर परिवारमा सवैको रुवावासी चल्यो । आँखाभरी आँशु बनाउदै देब बहादुरका भाई तोया बहादुर बस्नेत भन्छन् “हुन त दाईको छोरी पनि मेरो छोरी नै हो तर बिहेको बेला मैले कन्यादान दिंदा साह्रै दाईको याद आयो ।”
तोया पनि बैदेशिक रोजगारका क्रममा मलेसिया थिए । देब बहादुरले कतारबाट भाई तोयालाई फोन गरेर भाई तँ घर निस्की बा, आमा अब बुढाबुढी हुनुभयो, घरखेति गर्ने कोहि भरपर्ने छैन, म पनि अब आउँछु भनेर फोनमा भनेका थिए ।
हुन त देव बहादुरले घरमा फोन नगरेको १० बर्ष भयो । तर पनि परिवारले उनी फर्किने आशा मारेको छैन । परिवारमा कुनै नयाँ नम्वरबाट फोन आयो भनें पनि कतै उनैले फोन गरेकी भन्ने आश लाग्छ । सानो छँदा उनले छोरा र ठुली छोरीलाई हातमा डोर्याएर स्कुल पुर्याउन र लिन जाने गरेको कुरा सम्झेर बसेको छ परिवार ।
तपाई कतारमा कार्यरत हुनुहुन्छ ? यदि तपाईले कतै यी देब बहादुरलाई भेट्नु वा चिन्नु भएको छ भनें ९८१८९८९१७६ मा फोन गरेर जानकारी गराइदिनु होला । अथवा दिक्तेलस्थीत सुचना केन्द्रको फोन नम्बर ०३६ ४२०५२७ मा फोन गर्न सक्नुहुन्छ ।
यो पनि पढ्नुहोस् ‘म चरा भएपनि भुरुर्र उडेर साउदी जान्थें छोरी खोज्न’