
सुनिल न्यौपाने-
भाई के काममा जान लाग्नु भो ?
– सेक्युरिटी गार्ड
तलव कति हुन्छ भनेको छ नी मेनपावर कम्पनीले ?
– १ हजार ५० (रिंगिट) को ग्यारेण्टी छ, ओटी( ओभरटाइम) गर्दा मासिक १६ सयसम्म पुग्छ भनेको छ
लेखेर दिएको छ सम्झौता पत्रमा ?
– हजुर छ
कति लेख्या छ ?
– खै कागज झोलामा छ, मलाई पढ्न आउँदैन
कहिले दिएको थियो ?
– प्लेन चढ्न आउँदा
अनी पैसा कति तिर्नु भो नी ?
– १० हजार
तपाई आएकै मेनपावर कम्पनीबाट आउनेले १ लाख १० हजार तिरेको रैछ, झुट नबोल्नुस् न, कति तिर्नुभो ?
– केहि बेरको मौनता
तपाईलाई एयरपोर्टमा केहि नभन्नु भनेको थियो होला, अव त प्लेन चढिसक्नु भो, भन्दा हुन्छ
– मैले १ लाख ५ हजार तिरेको हो
मकवानपुरका मोहन लाल थिङ २१ बर्ष पुगे । झट्ट हेर्दा त्यति उमेरका लाग्दैनन् । गत हप्ता मलेसिया जाने क्रममा विमानभित्र उनीसँगको संवादको यो एक अंश हो । उनीसँगको कुराकानीले दुईवटा टड्कारो समस्या उजागर गर्छ । पहिलो उनी मासिक १६ सय रिंगिट तलव पाउनेमा आशावादी छन् । त्यसैले उनले १ लाख ५ हजार बुझाएर मलेसियाको यात्रा तय गरे ।
दोश्रो ४ कक्षासम्म पढेका उनी त्यो सम्झौता पत्रमा लेखिएका धेरैजसो कुरा पढ्नै जान्दैनन् । यसले बैदेशिक रोजगारका नाममा ठग्न पसल खोलेर बसेकाहरुलाई सहज बनाएको छ ।
मोहनको मलेसिया यात्रा
गाउँकै एक एजेण्ट छन् । काठमाडौं–गाउँ आउजाउ गरिरहन्छन् । उनैले प्रकृया गरिदिए । उनैको भर परेर मोहन मलेसिया उडेका हुन् ।
धेरैजसो कुरामा उनी वाल्ल परेर सुनिमात्रै रहे । कागजपत्र घरमा छोड्नु पर्ने कुरा, विदेशमा पुगेर भने अनुसारको काम तलव नपाइएमा कहाँ जाने भन्ने कुरा सुन्दा उनी छक्क परिरहेका थिए । कागजपत्रको महत्वका बारेमा थाहा पाएपछि उनी केहि आत्तिए झैं देखिए अव कसरी त्यो घर पठाउने भनेर । उनकै सिटसँगै बसेका अर्का नेपालीसँग उपाय निकालियो । क्वालालम्पुरमा उत्रिनासाथ मोवाईलबाट फोटो खिचेर उनको आफन्तको फेसबुकमा पठाउने र सुरक्षित राखिदिन भन्ने । निक्कै राहतको अनुभव गरे उनले ।
उनीसँगको कुराकानीले कसरी आम नेपाली युवा जो गाउँबाट सिधै विदेशको कुनै शहरमा उत्रिन्छन्, उनीहरुले भोग्ने समस्या चित्रित गरिरहेको थियो । धन्य उनीसँगैको सिटमा यात्रा गरिरहेका राम अवध कुम्हार, जो छुट्टीमा नेपाल आएर पुनः मलेसिया फर्किंदै थिए उनी मोहनलाई सहयोग गर्न तयार भए । यसले एयरपोर्ट बाहिर निस्कनसम्म मोहनलाई सहज भयो होला ।
प्रहरीको जागिर छोडेर मलेसियाको चौकिदारी
जहाजमा भेटिए सुनसरीका राजाराम शर्मा । सुट लगाएका राजाराम प्रहरीको १२ बर्षे जागिर ६ महिना अघि छोडेर मलेसियामा चौकिदारको काममा हिंडेका थिए । प्रहरीमा पेन्सन नपाउने भएपछि बाँकी समय किन थोरै तलवमा काटौं भनेर हिंडेका उनको सरकारसँग ठुलै आक्रोश थियो । उनी सरकारले नै देशमा बसेर खान नदिएको भन्दै निक्कै रिसाएका थिए । कुराकानीको शुरुवात देखि नै आक्रोश पोखिरहेका उनीसँगको कुराकानीको अन्त्यसम्म पनि त्यो साम्य भएको थिएन । उनी बेलाबेलामा यसरी आक्रोश पोख्दथे मानौं उनको छेउमा बसेको पंक्तिकार नै सरकारको सवैभन्दा उपल्लो निर्णय गर्ने अधिकारी हो जसलाई उनी त्यहिं मेख मर्नेगरी भकुर्न चाहन्छन् ।
२९ बर्षे राजाराम पनि सेक्युरिटी गार्डको काममा हिंडेका हुन् । राजधानीको कुनै मेनपावर कम्पनी मार्फत रोजगारीका लागि उडेका उनले मेनपावर कम्पनीले मागेको १ लाख १० हजारमा कुनै मोलमोलाई नगरी रकम तिरे । उनको एउटा शर्त थियो, काम र तलव भनेकै हुनुपर्छ नत्र नेपाल फर्केर बदला लिने धम्की दिएका छन् रे उनले । मेनपावर कम्पनीले फरक नपर्ने र फरक परे रकम फिर्ता दिने आश्वस्त तुल्याएर पठाएको थियो । के छ त प्रमाण ? उनले मेनपावर कम्पनीले दिएको रसिद देखाए जहाँ १० हजार तिरेको प्रमाण थियो । अनी १ लाख ? अप्ठ्यारो परेर फर्किनु परेछ भनें बल लगाएर भएपनि तिराईहाल्ने आँट बाँकी नै थियो राजारामको ।
बद्रीको अनुभव
मलेसिया जाँदै गरेका अर्का पात्र थिए बाराका बद्री नारायण चौधरी । ३५ बर्षे बद्रीसँग ६ बर्ष मलेसिया बसाईको अनुभव छ । साथिले बोलाएर मलेसिया पुगेका उनी उतै रमाए । सुरुमा ९ सय रिंगिट तलवमा मलेसिया गएका बद्रीको तलव अहिले २१ सय पुगेको छ । एउटा अपार्टमेण्टमा चौकिदारी गर्ने बद्री बेखुस थिएनन् मलेसियाको कामबाट । “हतियार छैन, त्यसैले सुरक्षा गर्ने भनेको आफ्नो ज्यानको मात्रै हो” उनी प्रष्ट छन् । उनी भन्दैथिए “कतै केहि भईहाले प्रहरीलाई खवर गर्ने मात्र हो, ज्यान माया मारेर चौकिदारी गरिन्न ।” ६ बर्षे जागिरको दौरान दुईतीन पटक त्यस्तो समस्या आइपरेको र प्रहरीलाई खवर गरेर आफू जोगिएको उनको अनुभव छ ।
यात्राका दौरान ११ जनासँग कुराकानी भयो । एकजनाले आफूले १० हजारभन्दा धेरै तिर्दै नतिरेको बताए । बाँकी १० जना मध्ये घटीमा ६५ हजारदेखि १ लाख ३० हजारसम्म तिरेर गएकाहरु भेटिए । तर सवैसँग रसिद थियो केवल १० हजारको । यसले फ्रिभिसा, फ्रिटिकटको नाममा भइरहेको बेथितिलाई प्रष्ट्याउँदै थियो ।
मुलुकमा बैदेशिक रोजगार विभाग नामको अड्डा पनि छ जसको जिम्मेवारी अनुगमन गर्ने पनि हो । तर फ्रिभिसा, फ्रिटिकटको घोषणा गरिदिने तर कार्यान्वयन नगर्ने सरकार छ । अनुगमन गर्ने जिम्मेवारी बोकेको तर कहिल्यै अनुगमन नगर्ने विभाग छ जसको मूल्य चुकाउने रोजगारीमा जानेहरु छँदैछन् । फाइदा मेनपावर कम्पनीहरुले उठाइरहेछन् । यो फाइदाको निश्चित हिस्सा तालुकदार अड्डातिर पनि पुग्दो हो । त्यसैले त उनीहरु पनि तैं चुप मैं चुप छन् ।
सम्झौतापत्रमा लेखिएको कुरा समेत पढ्न नसक्ने मोहनजस्ताहरुको पक्षमा काम गर्ने जाँगर नहुनेहरु मन्त्रालय, विभागतिर घुमिरहेसम्म यो वेथिति रोकिने पनि छैन । हजारौं मोहनहरु यसरी नै १० हजार भन्दै १ लाख ५ हजार बुझाउन बाध्य भइरहनेछन् ।
यो पनि पढ्नुहोस् विदेश जाने नाममा कतै तपाई पनि यसरी नै आफ्नै खुट्टामा बन्चरो त हान्दै हुनुहुन्न ?