गगनसँगका १० अपेक्षा, के उनले गर्लान् हिम्मत ?

 

मोहन बस्याल, युएई  

१.चितवनको पुल्चोकबाट बर्दघाट घर जान बस चढ्दा हरेक पटक जस्तो बिरामी मानिस चन्दा उठाउन आउँथे । एउटा हातमा पेटबाट पिसाब निकालिएको थैली अर्को हातमा गाविस वा नगरपालिकाले चन्दा उठाउन सम्बन्धित सबैका लागि भन्दै दिएको सिफारिस हुन्थ्यो । दुई ठूला मेडिकल कलेज समेत भएको मेडिकल सिटी भनेर चिनिएको चितवनमा बिरामीको यो हालत देख्दा साह्रै मन रुन्थ्यो । गोजीबाट पाँच दश रुपैया निकालेर हातमा थमाउनु भन्दा खासै विकल्प देख्दिन थिए । त्यो पाँच दश रुपैया उसको औषधि उपचार भन्दा पेट भर्नकै लागि पनि पर्याप्त हुँदैन भन्ने थाहा हुँदा हुँदै पनि । 

२. एक पटक विनोद बाबु रिजालले सिद्धी गाउँ घुमेर आउँदा एक जना चेपाङ महिलाको फोटो ल्याउनु भयो । शरिरले धान्नै नसक्ने गरि फुलेको पेट बोकेर ति महिला जेनतेन जिन्दगी घिसार्दै थिईन बर्षौदेखि । बिनोदले लेखेको समाचारमा स्थानीयस्तरमा उपचार गर्न जाँदा पाल्पा मिसन अस्पतालमा लैजान  सिफारिस गरिएको तर आर्थिक अभावले उपचार गर्न नपाएको भन्ने उल्लेख थियो । बिहान बिहान त्यो तस्बिर र समाचार हेरीपछि तत्काल केही गरौं भन्ने लाग्यो । मैले पाल्पा मिसन अस्पतालको प्रशासनको नम्बर खोजेर फोन गरे । प्रशासनले शल्यक्रिया निःशुल्क गराउन सकिने बतायो । आवतजावत र अन्य खानपिन लगायतका कुराको ब्यवस्था गरेर लिएर आउनु भन्ने जवाफ पनि आयो । मैले यो खबर बिनोदलाई पनि गरे । तर सिद्धीमा फोन सम्पर्क गर्न कठिन भएकाले तत्काल उहाँलाई सम्पर्कमा ल्याएर उपचारमा पठाउन सकिएन । ति महिला जिवित छन वा छैनन पनि मलाई थाहा छैन अहिले । कहिले काही फेसबुकले तस्बिर बाहिर ल्याउँदा अझै पनि मन अमिलो भएर आउछ । मेडिकल सिटिमा उपचार नपाएर कष्टकारक जिन्दगी विताएकाहरुको पिडा देखेर ।

३. रिपोर्टीङका लागि सिद्धी, कोराक, लोथर, शक्तिखोर, काउले, चण्डि भञ्ज्यांगका पहाडी भागमा पुग्दा टाउको भरी घाउ भएका बालबालिका, हात वा खुटटा भाँचिएर समयमा उपचार नहुँदा अपाङ्ग भएर बाँचिरहेका मानिस प्रसस्तै देखिन्थ्यो । समयमा उपचार नहुँदा हात खुटटा नै कुहिएर झरेको समेत सुन्नु पर्दा साह्रै नमज्जा लागेर आउथ्यो । मेडिकल सिटी भनेर चर्चा गरिने चितवनका पहाडी गाविसमा अझै पनि सुत्केरी हुन जंगल जाने चेपाङ महिला र उपचार पाए निको हुने विभिन्न घाउ र समस्या बोकेका बिरामी प्रसस्तै भेटिन्छन् । लायन, रोटरी जस्ता क्लवले कहिले काही लैजाने स्वास्थ्य शिबिरमा स्वास्थ्य परिक्षण गराएपनि उनिहरु उपचारबाट बञ्चित रहदै आएका हुन्छन् ।

४. एक पटक बिमल खतिवडाले कान्तिपुरमा समाचार लेख्नु भयो । परिवारका मानिसले छोडेपछि भरतपुर अस्पतालले उपचार गराउँदै आएका केही बृद्धलाई अस्पतालको शव राख्ने स्थान नजिदै बेवारिसे अवस्थामा राखिएको समाचार । काल पर्खदै गरेका ति बृद्धहरुको समाचारले धेरैको ध्यान खिच्यो । हेटौडामा क्रियाशिल रहेको मानवसेवा आश्रमले उनीहरुलाई आश्रय र उपचार दिने समाचार पनि केही दिनमा विमलले लेख्नु भयो ।

यि खाली चितवनका प्रसंग हुन् । तर यो समस्या मुलुकका हर शहर र गाउँमा छ । लाखौं मानिसहरु पैसाकै अभावमा उपचार नपाएका छन् । राज्यले अर्बौ रुपैया उपचार सेवा सहज होस भनेर बजेट बिनियोजन गरेपनि त्यसले ति नागरिकलाई छोएको छैन । आवश्यक अनावश्यक औषधी स्वास्थ्य चौकीका लागि पठाईन्छ । कति स्वास्थ्य चौकीसम्म पुग्छन् कति पुग्दैनन । पुगेका पनि कति काम लाग्ने कति काम नलाग्ने हुन्छन् । कति उपयोग गर्न सकिने मिति गुज्रीइ सकेका हुन्छन् । औषधी किन्ने बिषयमा हुने कमिसनको चलखेलको आफ्नै समस्या छ । राज्यको अर्बौको रकम दुरुपयोग भैरहेको छ । राज्यले अर्बौ रकम खर्च भएपनि जनताले यसको उपभोग गर्न नपाएको अवस्था छ । 

म बैदेशिक रोजगारीका शिलशिलामा युएई आई सकेपछि यहाँ नेपाली नागरिकले स्थापना गरेका बिभिन्न संस्थाका गतिविधिमा सामेल हुँदै आएको छु । यस्ता संस्थाले गर्ने प्रमुख गतिविधिमा आर्थिक अभावमा उपचारबाट बञ्चित भएकालाई सहयोग गर्ने हुँदो रहेछ । सम्बन्धित जिल्लाबाट आई रोजगारीमा रहेका वा सम्बन्धित जिल्लामा रहेका त्यस्ता समस्यामा परेकालाई उनीहरुले लाखौं रुपैया सहयोग गर्ने रहेछन् । मुटु, मृगौला, क्यान्सर जस्ता समस्या देखिएका बिरामीको लागि लाखौं रुपैया उपचार गर्न लाग्ने तर आर्थिक अवस्थाले नभेट्ने भएकाले यस्तो सहयोग आवश्यक पर्ने गर्दछ । 

राज्यले कुनै यस्तो कोष बनाओस जसको रकम यस्ता बिरामीका लागि खर्च गर्न सकियोस भनेर मैले कल्पना गरि रहन्थे । पछि अन्य मुलुकमा स्वास्थ्य बिमाको सुविधा रहेको भन्ने जानकारी पाएपछि यस्तो सुविधा नेपालमा पनि भए हुन्थ्यो भन्ने आशा राख्थे । तर राज्यको ढुकुटीबाट पहुँचका आधारमा लाखौ रकम बाँडिएका समाचार आउँथे तर पहुँच नहुनेहरु गाउँमै कष्टकर जीवन ब्यतित गरि रहेका हुन्थे । पटक पटक यस्ता समाचार पनि लेखियो तर न तिनिहरुले उपचार पाए न राज्यले त्यस्तो कार्यक्रम ल्यायो । केपि ओली नेतृत्वको सरकारले ल्याएको बजेटमा स्वास्थ्य विमा, मृगौला रोगको डायलोसिस जस्ता केही कार्यक्रम अगाडी सारेको थियो । कार्यान्वयन हेर्न बाँकी नै छ । स्वास्थ्य क्षेत्रमा केही हुन्छ भन्ने आशा गरिएको थियो । अहिले स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रिका रुपमा गगन थापा नियुक्त भएका छन् । नेपाली कांग्रेस भित्र आशा गरिएका नेता भएकोले यो आशा अझ बढेको छ ।

म पत्रकारिताका लागि चितवनमा भर्खर आएको बेला नेपाल विद्यार्थी संघको  केन्द्रिय अधिवेशन नारायणगढको गणेश हलमा चलिरहेको थियो ।  त्यतिबेला उनी संघको केन्द्रिय महामन्त्रि थिए । निर्वाचन प्रकृयामा भएको ढिलाईले एक सातासम्म चलेको अधिवेशनका बेला पटक पटक उनीसंग कुरा गर्ने र उनका भाषण सुन्ने मौका मिलेको थियो । त्यति बेला उनलाई नजिकबाट चिन्ने र संगठनमा उनको प्रभाव बुझ्ने मौका पाएको थिएँ । त्यसपछि पनि चितवनका थुप्रै कार्यक्रममा स्रोता भएर उनका भाषण सुनेको छु । व्यक्तिगत सम्बन्ध नभएपनि काग्रेशको लाज राख्ने एउटा नेता गगन थापा हो भन्ने कुरामा म आशाबादी बनेको थिए । त्यसैले उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा केही आशावादी हुनु स्वभाविक हो । गाँस बास र कपास पछि जीवनका लागि महत्वपुर्ण कुरामा स्वास्थ्य र शिक्षालाई लिईन्छ । त्यसैले आम नेपाली नागरिकलाई छुने गरि काम गर्न सकिने यो महत्वपुर्ण मन्त्रालय हो । ९ महिने कार्यकाल उति लामो समय होईन । तर त्यसपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने भएकाले उनलाई निरन्तरता दिने गरि काम गर्न थापाको काँधमा जिम्मेवारी र चुनौती छ ।

गगन थापाले पदभार ग्रहण गरेपछि युवा पुस्ता प्रतिको विश्वास कायम राख्नकै लागि पनि उल्लेख्य काम गर्ने प्रतिवद्धता जनाएछन् । उनले के के काम गर्ने भनेर सूचि नबनाई सकेपनि बैदेशिक रोजगारीमा जाने युवाको स्वाथ्य परिक्षणमा देखिएको समस्याका बिषयमा अध्ययन गर्ने समिति निर्माण गर्दै आफ्नो कार्यभार सम्हालेका छन् । प्रखर वक्ताका रुपमा छवि बनाएका थापालाई अब योजना बनाउने र त्यसको कार्यान्वयन गर्ने जिम्मेवारी आएको छ । अब उनी वक्ता मात्र हुन वा कर्तापनि हुन भन्ने देखाउने समय आएको छ ।

उनले दश वटा मात्र कामलाई ध्यान दिएर गरे भने पनि नेपालको स्वास्थ्य क्षेत्रमा ठुलो परिवर्तन देख्न सकिन्छ । खाली हिम्मत छ की छैन भन्ने कुरा हो । 

१.पुराना राम्रा कुराको निरन्तरता:

स्वास्थ्य मन्त्रालयले धेरै राम्रा निर्णय बिगतमा पनि गरेको छ । राम्रा योजना पनि अगाडी सारेको छ । तर ईच्छा शक्तिको कारण ति कार्यान्वयन नभएका अवस्थामा छन् । ति कार्यक्रमलाई निरन्तरता दिनु सबै भन्दा महत्वपुर्ण कुरा हुन्छ । पहिलो चरणमा पुराना राम्रा योजनाको समिक्षा गरि त्यसको प्रभावकारी कार्यान्वयनका लागि ध्यान दिनुपर्छ । 

२. हरेक नागरिकको स्वास्थ्य बिमा:

सबै नागरिकलाई स्वास्थ्यको पहुँच पुर्याउनु राज्यको दायित्व हो । संविधानमा स्वास्थ्यको अधिकार मौलिक हकका रुपमा उल्लेख भएपछि यो अनिवार्य कर्तब्य पनि बनेको छ । यसका लागि हरेक नागरिकको स्वास्थ्य बिमा हुने गरि कार्यक्रम अगाडी बढाउनु गगनको पनि दायित्व बनेको छ । सरकारको बजेटमा यो कार्यक्रम परि सकेकाले कार्यान्वयनमा गगनको भूमिकाको पक्कै पनि मुल्यांकन हुन्छ । 

३. हरेक विद्यालयमा नर्सको ब्यवस्था:

नेपालको औपचारिक शिक्षामा स्वास्थ्य सम्बन्धी बिभिन्न कुरा समावेश गरिएपनि यो पर्याप्त छैन । ब्यवहारिक रुपमा बाल्यकाल देखिनै स्वास्थ्य प्रति सचेत बनाउन तथा निगरानी राख्न हरेक विद्यालयमा स्वास्थ्यकर्मिको  उपस्थिति अव आवश्यक छ । यसका लागि स्वास्थ्यमन्त्रालय मार्फत कार्यक्रम अगाडी सार्न जरुरी छ । यस्ता स्वास्थ्यकर्मिले  बालबालिकाको नियमित स्वास्थ्य परिक्षण, प्राथमिक उपचार, खानपान र आचरणमा सुधारका लागि भुमिका खेल्ने ब्यवस्था हुनु पर्छ ।

४. हरेक वडामा स्वास्थ्यकर्मिको घुम्ती टोली:

स्वास्थ्य चौकिमा निःशुल्क उपचार गर्ने ब्यवस्था हुँदा हुँदै पनि अझै पनि धेरै जिल्लामा अन्तिम अवस्थामा मात्र स्वास्थ्य संस्था पुग्ने समस्या देखिएका छन् । यस्तो कार्यक्रम सबै जिल्ला सबै वडामा एकै पटक गर्ने ब्यवस्था हुनु पर्छ । यो दिर्घकालका लागि भन्दा पनि आवधिक रुपमा गर्दा पनि हुन्छ । तर घर घरमा पुगेर काम गर्ने टोलि ग्रामिण क्षेत्रम अनिबार्य जस्तै छ । 

५. निःशुल्क औषधीको नाममा भएको बजेट दुरुपयोगको अन्त्य: 

निःशुल्क औषधीका नाममा राज्यले अर्बौ रुपैया लगानी गरेको छ । प्रयोग अविधि सकिन लागेको औषधी खरिद गर्ने, कम्ति प्रयोगमा आउने औषधी ठुलो परिणाममा खरिद गर्ने जस्ता अनियमितता देखिने गरेको छ । स्वास्थ्य चौकिमा छाला र पेटको समस्या भएका बिरामी धेरै आउने तर ति औषधी पहिलो चौमासिकमै सकिने गरेको बिभिन्न स्वास्थ्य चौकिका प्रमुखले बताउने गरेका छन् । कतिपय हिमाली पहाडी गाविसमा रहेको स्वास्थ्य चौकिका औषधी त सदरमुकाममै बिक्री हुने गरेको तथ्य पनि बिभिन्न संचारमाध्यमले सार्बजनिक गरि सकेका छन् । यसको रोकथामका लागि स्थानीय नागरिकका प्रतिनिधि मुलक संस्थाको पनि सहभागिता सुनिश्चित गर्न जरुरी छ ।

६. जनचेतना मुलक कार्यक्रमको बजेटको सदुपयोग:

रोग लागि सकेपछि उपचार गर्नु भन्दा रोग लाग्नै  नदिनु उचित भन्ने कुरा बाल्यकाल देखिनै नेपाली नागरिकले पढ्दै सुन्दै गरेको भनाई हो । यसका लागि काम चाँही धेरै गर्नुपर्ने बाँकी छ । स्वास्थ्य मन्त्रालयमा यसका लागि ठूलो मात्रामा बजेट बिनियोजन हुने गरेको छ । तर त्यसको ब्यापक दुरुपयोग पनि हुने गरेको छ । स्थानीय संचारसंस्थासंगको सहकार्य पारदर्शी बनाउन उचित नीति नियम र निगरानीको आवश्यकता छ ।

७. दरबन्दीमा नजाने बर्खास्त:

स्वास्थ्य क्षेत्रमा देखिएको सबै भन्दा ठुलो समस्या तोकिएको कार्यक्षेत्रमा गएर काम नगर्ने नै हो । दुर्गम जिल्ला र क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा स्वाथ्यकर्मि पुग्दै नपुग्ने समस्या ब्यापक छ । जुन क्षेत्रमा बैकल्पिक स्वास्थ्य  संस्था छैनन ति ठाउँमा सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मि नहुँदा जनताले सरकारको अनुभुति हुन सक्दैन । त्यसैले आवश्यक ठाउँमा दरबन्दि पुरा गर्ने र आफ्नो दरबन्दि भएको स्थानमा गएर काम नगर्ने स्वास्थ्यकर्मिलाई सेवाबाट बर्खास्त गर्ने नीति कार्यान्वयन हुन जरुरी छ । 

८. पुर्बाधार र उपकरणको ब्यवस्था:

विभिन्न जिल्लामा भएका सरकारी स्वास्थ्य संस्थामा अझै पनि पुर्बाधार राम्रो छैन । उपकरणको ब्यवस्था राम्रो छैन । जसका कारण स्वास्थ्यकर्मिले आफ्नो सीप प्रयोग गर्न पनि नपाउने अवस्था छ । यसमा तत्काल कार्यक्रम अगाडी सार्नुपर्छ । 

९. हरेक जिल्लामा उपचार कोष:

स्वास्थ्य विमाको कार्यक्रम संचालन गर्न प्रकृयागत रुपमा केही समय लाग्ने भएकाले जिल्ला जिल्लामा वा नयाँ संविधान अनुसार स्थानीय तहमा एक स्वास्थ्य कोष निर्माण गर्न जरुरी छ । अक्षय कोषका रुपमा यसको बिकाश गर्न र यसमा स्थानीय संघ संस्थाको पनि सहभागिता जुटाउन सके यो अझ प्रभावकारी हुन सक्छ । यस्तो कोष आकस्मिक रुपमै प्रयोग गर्न सकिने कार्यविधि सहित निर्माण गरिनु पर्छ । 

१० . विश्वास आर्जन:

सरकारी स्वास्थ्य संस्था प्रतिको आम नागरिकको विश्वास घट्दो छ । राज्यले अर्बौ लगानी गर्ने तर लक्षित समुदायले विश्वास गरेर सेवा नलिदा लगानी बालुवामा पानि जस्तै छ । सरकारी स्वास्थ्य संस्थामा निर्धक्क सेवा लिन जान सक्ने वातावरण बनाउन सरकारी स्वास्थ्य संस्था प्रतिको विश्वास बढाउनु पर्छ । बिदेशमा उपचार गर्नका लागि राज्यले दिने अनुदान बन्द गर्नु पर्छ । 

दुर्भाग्य गगनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी शुरुवात गर्दै गर्दा उनकै पार्टिका सभापति तथा पूर्व प्रधानमन्त्रि शेर बहादुर देउवा सिंगापुर, पूर्व प्रधानमन्त्रि केपी शर्मा ओली  र पुर्ब राष्ट्रपति राम बरण यादब उपचारका लागि अमेरिका जाने खबर सार्बजनिक भयो । आफ्नै खर्चमा जहाँ गएर पनि उपचार गर्न पाईन्छ । तर राज्यको खर्चमा राज्यद्धारा संचालित स्वास्थ्य संस्थामा मात्र उपचार गर्न पाउने सुविधा हुनु पर्छ । त्यसका लागि क्षमता अभिबृद्धिमा पनि ध्यान दिनुपर्छ । 

आम रुपमा आशा गरिएका युवा नेता गगन थापालाई प्रवासबाटै सोध्न मन छ ।  हिम्मत छ यि १० कुरा गर्ने ?

www.facebook.com/deshparadesh

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय