
हरीकृष्ण न्यौपाने, कुवेत
गत अप्रिल ५ मंगलबार एमआरपी (राहदानी) नबिकरणका लागि सेवाग्राहीका रुपमा नेपाली दुताबास पुगे । बिहानको करिब १० बजे जाब्रिया स्थित नेपाली दुताबास ब्यस्त थियो। काउन्टरको अगाडि करिब १२, १५ जना आफ्नो काम सक्ने आशामा पालो कुर्दै थिए । काउन्टर नं १ मा मैले पनि नाम लेखाउदै सेवा शुल्क बुझाएँ।
केही समय आफ्नो पालो कुर्न कर्मचारीले भनिन । म बाहिरै पालो कुर्न निस्किएँ। त्यतिकैमा एक हुल महिलाहरु स साना बच्चाहरु (४/५ बर्ष) कालाई अगाडि लगाउदै बिचको ढोकाबाट पहिलो तल्ला तिर गए । मैले सोचेँ राहदानी वा अन्य कुराहरुका लागि आएका होलान।
बाहिर घरेलु कामदारहरु आफ्ना साहुहरुसंग आउने जाने क्रम जारी थियो।केही समय पछी म पनि कोठा नं २ मा पुगेँ । त्यहाँ राहदानीका लागि फारम भरिदो रहेछ। केही सेवाग्राहिहरु आफ्नो कामका लागि पालो कुर्दै थिए भने कर्मचारिहरु आफ्नै काममा ब्यस्त थिए। ५/६ जना बच्चाहरु बाहिर खेल्दै बालपन देखाउदै कहिले यता त कहिले उता गर्दै थिए । हल्लाखल्ला गर्दै थिए । राहदानीका लागि फारम भरीरहेका कर्मचारी शिरिराजलाई सोधें होइन उस्तै उमेरका ५ जना बच्चाहरुको हल्लीखल्ली त धेरै छ नि । उनले भने यिनिहरु अबैधानिक रुपमा कुवेतमै नेपाली महिलाहरुद्धारा जन्मिएका बच्चाहरु हुन। ति एकल र अविवाहित आमाहरु बिना बाउका बच्चाहरु सहित जन्मभुमी फर्किने अन्तिम तयारीका प्रकृयाहरु मिलाउनका लागि आएका रहेछन।
म बाहिरिदै गर्दा उनीहरु पाचैजना आफ्नो काम सकेर फर्कदै थिए। मैले उनीहरुलाई पच्छ्याएँ। केही कुराहरु गर्न चाहेँ तर उनीहरुले मुख खोल्न मानेनन। मैले धेरै अनुरोध र ब्यक्तिगत कुराहरु सुरक्षित राख्ने भने पछी फोटो नखिच्ने सर्तमा सबैको तर्फबाट ताप्लेजुङ्की साबित्री चौलागाइ (नाम परिवर्तन) बोल्न राजी भइन् ।
उनी कुवेतको एक घरमा काम गर्थिन। एकजना नेपाली केटा मोरङका शिव गिरी (नाम परिवर्तन) संग फोनमा कुराकानी हुन थाल्यो । सधैं फोनमा कुरा हुँदा हुँदै माया बस्यो । त्यो घरमा २ बर्ष काम गरीसके पछी उनी शिव संगै बस्ने सर्तमा घरबाट भागीन । उनी मंगफमा रहेको शिवको कोठामा पुगिन। उनीहरु अविवाहित तर श्रीमानश्रीमतिको हैसियत (लिभिङ टुगेदर) का रुपमा बस्न थाले।
शिव एक कन्ट्याक्टिङ कम्पनीमा काम गर्थे पैसा राम्रै कमाउथे। साबित्री भागेर अबैधानिक भए पनि कुनै स्कुलमा ३-४ घण्टा काम गर्थिन । महिनाको ८० केडी कमाउथिन। दुबैजनाको आत्मियता बढ्दै गयो। साबित्री गर्भबती भए पछी भने उनीहरु बिच उतारचढाव आयो। शिवले साबित्रीलाई छोडे। ७ महिनाको गर्भ कसरी तुहाउनु ? उनले रुदै भनिन, जे पर्ला पर्ला आफ्नो सन्तान जन्माउने अधिकार म आँफै राख्छु भनेर गर्भ तुहाउने कोशीस गरिनन।
उनले केही नेपाली महिलाहरुको सहयोगमा आफ्नो ख्याल राख्दै शिवले छोडेको २ महिनामा कोठामै छोरा जन्माइन। छोरा त जन्माइन तर कसरी हुर्काउने र नेपाल लैजाने चिन्ताले हरेक पल उनलाई घोची रह्यो। रहदाबस्दा बच्चा ठुलो हुँदै गयो । उनले अरुको बच्चा हेर्ने काम गर्दै बच्चा ठुलो परिन।गम्म परेको र गोरो अनुहारको करिब ५ बर्षे छोरोलाई सुम्सुम्याउदै उनले भनिन आफ्नो बच्चाको कसलाई माया हुँदैन र ?
शिव नेपालमा विवाहित र २ सन्तानका पिता थिए। शिव जस्तै साबित्री पनि विवाहित र एक छोरीकी आमा हुन। श्रीमान प्रहरीमा जागिरे । तर सम्बन्ध अझै राम्रो छ । तर कुवेतमा जोडीएको पिरतीले अबको पारिवारीक सम्बन्ध कस्तो रहला उनी अनभिज्ञ छिन । तर जे पर्ला पर्ला जसरी नि निर्बाह गर्नु त हो । १२ बर्षिय छोरी र कुवेतको ५ बर्षिय छोरोलाई निमेख गरेर नि पाल्छु। उनले थपिन, शिवसंग नेपालमा सम्बन्ध प्रगाढ हुनै सक्दैन, यही त संपर्क छैन । श्रीमानले पनि के स्विकार्लान र ? छोरीको मायाले कहिले काही कुरा भए पनि श्रीमानले तेरो सुर तैं गर भनेका छन।
माथि उल्लेखित साबित्रीसंग कुवेतको फर्मानिया र जिलिब बस्दै आएका अन्य ४ जना नेपाली अबैधानिक आमाहरु आफ्ना बच्चा सहित छिट्टै नेपाल फर्कन कागजी प्रकृयाको लागि दुताबास आएका थिए। उनीहरुसंग त्यही ४, ५ बर्षका तामाको मुना जस्ता बच्चाहरु थिए। ३ छोरी र २ छोरा उस्तै उमेर, उस्तै ब्यथा, अनी उनै ५ नेपाली अबैधानिक आमाहरु उनीहरुको पनि उस्तै ब्यथा, उस्तै कथा । सबै चिन्तीत र थकित थिए। अधिकारिक बाउ बिनाका बच्चाहरुलाई जसरी पनि आफैं साथ डिपोर्टेशन (देश निकाला) को कारबाही हुँदै नेपाल लैजान आतुर थिए।
नेपाली दुताबासका अनुसार, यही हप्ता मात्र ६ जना अबैधानिक सम्बन्धबाट आमा बनेकाहरुको ट्राभल डकुमेन्ट बनाइएको छ। त्यसमा १ जनाको अलिक समस्या देखिए पनि ५ जना छिट्टै नेपाल फर्कन पाउने छन। दुताबासका अनुसार पहिला त्यही ट्राभल डकुमेन्टका आधारमा उनीहरुलाई डिपोर्टेशन मार्फत मुलुक फर्काइन्थ्यो । तर अहिले इमिग्रेशनले दुताबासको चिठ्ठी मागेका छन। नियम झन कडा हुँदै छ, दुताबासका कर्मचारीले भने, कतिलाई त यसको बाउ खोइ भनेको समेत पीडितहरु बताउछन। दुताबासले पनि सकेसम्म कुवेतमा रहेका सम्पूर्ण नेपालीहरुलाई अबैधानिक सम्बन्ध नराख्न अनुरोध गर्दै आएको छ। यता दुताबासको सम्पर्कमा नआएका र आउने क्रममा रहेका अन्य अबैधानिक आमाहरु पनि कुवेतमा भेटिन्छन्।
साबित्री र ति अन्य ४ अविवाहित अनी अबैधानिक आमा जस्तै अरु नेपाली महिलाहरुले यस्तो समस्या भोग्नु नपरोस। सबै नेपाली चेलीहरु समयमै सचेत रहुन र भोलीका नेपाली सन्ततीले बिना बाउका बच्चाको बिल्ला भिर्न नपरोस।