
लक्ष्मण खनाल युएई
सामान्य अवस्था भन्दा नयाँ किसिमका सन्दर्भ नयाँ, परिस्थिति र परिवेश अनुसार समाचारहरु फरक फरक हुन्छन । ती समाचारहरुको तथ्यपुर्ण सम्प्रेषण गर्ने काम पत्रकारले गरेको हुन्छ । पत्रकार ले समाचार संकलन गर्दा विभिन्न कुराको मुल्यांकन गरेर आफुलाई उपयुक्त लाग्यो भने समाचार सम्पे्रषण गर्दछ । र समाचार मिडियामा पुग्छ । यदी सो समाचारको गहनता र आवश्यकतालाई हेरेर समाचार मिडियामा आउने नआउने हुन्छ । यो होइन की पत्रकारले पठाएका सबै समाचारले उ कार्यरत सञ्चार माध्यममा स्थान पाउँछन् ।
जमना बदलिदो छ । आधुनिकताले सञ्चारकोे क्षेत्रमा धेरै ठूलो फड्को मारेको छ । पल भरमै विश्वको एक कुनाबाट अर्को कुनामा समाचार पुगेका हुन्छन । अनलाइन मिडियाहरु, सामाजिक सञ्जालहरुले सुचनालाई यति छिटो प्रवाह गर्छन कि कहिले काही आफ्नै छिमेकमा घटेको घट्ना केहीवेरमा सामाजिक सञ्जाल मार्फत थाहा पाइन्छ ।
प्रसंग युएईको । युएईमा संघसंस्थाहरु बढ्दो छन । बैदेशिक रोजगारीमा नेपालीको चाप बढेसंगै संघसंस्थाहरु र युएईमा हुने नेपालीका कार्यक्रमका समाचार सम्प्रेषण गर्नको लागि कलम चलाउनेहरु पनि बढ्ने क्रम चलिरहेको छ । युएईमा अहिले नेपाल देखि नै पत्रकारितामा संलग्न भएर कलम चलाएकाहरु देखि लिएर यहाँ आएर पत्रकारितामा लागेका पत्रकार भेटिन्छन ।
तर सबै यहाँ रहेका सवै पत्रकार बैदेशिक रोजगारीको लागि आएका वा केही व्यवसायमा संलग्न रहेका छन । यहाँको कानुनले नेपाली पत्रकार जो युएईमा छन् उनीहहरुलाई बैधानिक मान्दैन । त्यसैले उनीहरुलाई समाचार संकलन गर्ने छुट पनि छैन । तर यहाँको कानुनको परिधी भित्र रहेर समाजमा नकारात्मक असर नपर्ने गरि गरिएका सामाजिक कार्यमा निगरानी भए पनि तत्काल प्रतिक्रिया देखीदैन ।
२००७ मा नेपाल पत्रकार महासंघ युएई शाखा पनि स्थापना भएर अहिलेसम्म निरन्तर कार्य सम्पादन गरिरहेको छ । अहिले युएईमा पत्रकार महासंघ युएई शाखामा आवद्ध र आवद्ध नरहेका गरि लगभग ४० को हाराहारीमा पत्रकारहरु छन ।
युएईको नेपाली समुदायका समाचार दिनुहुँ हुने गर्र्छन् । धेरैजसो रंग रमाइलोका समाचार सामाजिक सञ्जालमा छिनभरमै छरिएर आएका हुन्छन । केही यस्ता समाचार हुन्छन यहाँको कानुनले वर्जित गरेका । सामान्यतः युएईमा रहेका नेपाली पत्रकार ले यहाँ रहेका संघ संस्थाका गतिविधिहरु, नेपालीलाई परेका विभिन्न समस्या, नेपालीका भोगाई, अवसरहरु, प्रगति, जनचेतनाका खवरहरु र दुवावासका खवरहरु नै लेख्ने गरेका छन ।
युएईमा रहेका आधा दर्जनजसो पत्रकारहरु नेपालका राष्ट्रिय स्तरका मिडियामा संलग्न छन भने अन्य पत्रकारहरु आफ्नै अनलाइन मा ब्लगमा लेखेर समाचारलाई प्रवाहित गरिरहेका छन ।
युएईका नेपाली पत्रकार र संघ संस्थाका मानिसहरु बीच कहिले काँही सामाजिक सञ्जालमा जुहारी चल्ने गरेको देखिन्छ । सबै संघ संस्थाहरु माथी आरोप लगाउनु मिथ्या हुनेछ र संस्थामा रहेका सबै सदस्यहरुलाई पनि दोष दिनु मनासिब हुदैन । तर जिम्मेवार पदमा बसेको मान्छेले लगाएका आरोपहरु तथ्यपुर्ण छैनन भने अवश्य त्यहाँ केही स्वार्थ हुन सक्छ ।
युएईमा रहेका धेरै जसो पत्रकारलाई हेर्ने हो भने सोझो अर्थमा सामाजिक पत्रकारिता गरिरहेका हुन्छन । सानो भन्दा सानो समाचार जो राष्ट्रिय सञ्चार माध्यममा नअटाउने समाचारहरु पनि पत्रकारहरुले विभिन्न माध्यमबाट सम्प्रेषण गरिरहेका हुन्छन । युएईका नेपाली पत्रकार आफ्नो नियमित डिउटी सकिएपछि बचेको समयलाई विभिन्न कार्यक्रमहरुमा उपस्थित भएर समाचार मार्फत सेवा गरिरहेका छन । केही पत्रकार बाहेकका अन्य पत्रकार ले समाचार सम्प्रेषण वापतको पारिश्रमिक समेत पाउदैनन ।
युएईमा पत्रकारहरुलाई लाग्ने आरोपहरु धेरै छन । कहिलेकाँही सामाजिक सञ्जाल हेर्दा लाज लाग्छ समाजसेवीहरुको बौद्धिकता पोखिएर नांगो नाच नाचिरहेको हुन्छ । पत्रकारले समाचार लेखेनन, फलानो पत्रकारलाई भनेको समाचार लेखेन, पत्रकारले कार्यक्रमा फ्रि पासको व्यवस्थाको माग गरे, लोभी पत्रकार, पत्रकारले समाचारमा मेरो नाम लेखेनन्, समाचार लेख्न नजान्ने पत्रकार, मेरो सम्बोधन आएन समाचार पुर्ण भएन, मेरो व्यवसायको बारेमा लेखिदिएन, पत्रुकार आदी आदी ।
हुदाँ हुदाँ कहिलेकाँही पत्रकार पत्रकार विचमा पनि जुहारी चल्छ सामाजिक सञ्जालमा । मान्न सकिन्छ पत्रकार ले गल्ती गरे । पत्रकार पुर्ण रुपमा सही छन भन्ने मेरो आशय होइन । कहिले काही पत्रकारबाट गल्ती कमजोरी भएका होलान र हुन्छन । पत्रकारिता जोखिम हो । पत्रकारहरुले समाचार नलेखे समाचार लेखेनन भन्ने आरोप, समाचार लेखौ मेरो नाम आएन भनेर फोन आउँछन भन्ने गुनासा पनि छन् पत्रकारका ।
आशा गरौ युएईमा क्रियाशिल पत्रकारहरुमा विस्तारै निखार आउँदै जानेछ तर पत्रकार लाई आरोप लगाउने संस्थाहरु वा व्यक्तिहरुले दोष लगाउनु पहिले प्रक्रिया र पद्धतिको ख्याल गर्नु जरुरी छ । कुनै संस्थाले कार्यक्रम आयोजना गर्यो । सो विषयमा कुनै निश्चित व्यक्तिलाई भनिन्छ, यदी सो व्यक्ति व्यस्त भएको खण्डमा समाचार आउदैन । कार्यक्रम सकियो पत्रकारहरु सहभागी थिए पत्रकारहरुले समाचार बनाएर विभिन्न समाचार माध्यमहरुमा पठाउछन । सबै सञ्चार माध्यमहरुले त्यसलाई स्थान दिन्छन भन्ने हुँदैन । त्यहि कारणले समाचार नआउन सक्छ । समाचारले कुन महत्व बोकेको छ भन्ने विषयमा पनि ध्यान जानु जरुरी छ ।
विज्ञापनलाई समाचारको रुपमा बुझ्ने समस्या पनि युएईमा नभएको होइन । केही सामाजिक व्यक्तित्वहरुले समाचारमा भगेरे टाउके अक्षरमा आफ्नो नाम खोजेको पनि आभाष पाइन्छ । कार्यक्रम वा सन्दर्भहरुमा समाचार लेख्ने पत्रकारले कार्यक्रमको उद्देश्यलाई प्रमुख महत्व दिएको हुन्छ कार्यक्रमको प्रधानता के हो त्यता तिर महत्व दिन्छ, न कि सो कार्यक्रममा सहभागी व्यक्तिलाई । अनि पत्रकारले लेखेको समाचारलाई सम्पादकले आफ्नो माध्यमको स्थान परिधि हेरेर सम्पादन गर्छ । अनि आरोप लाग्छ समाचार अपुर्ण भो ।
कार्यक्रम आयोजना भो सो कार्यक्रमको आफ्नै महत्व हुन्छ कार्यक्रम आयोजना गरिसके पछि आयोजकले सकेसम्म पत्रकार सम्मेलन गर्नु । सकिदैन कार्यक्रमको बारेमा प्रेस विज्ञप्ती जारी गर्नु । अनि मात्र समाचारको स्रोत सबै पत्रकार माझ पुगेको हुन्छ । व्यक्तिगत रुपमा भनेर समाचार नआउने अनि पत्रकारहरु जतिलाई गाली गर्ने ? व्यवसायको समाचार लेखेन, व्यवसायिक समाचारको आफ्नै ठाँउ हुन्छ । बैठक बसियो समाचार आएन । बैठकको महत्वपुर्ण निर्णय प्रेस बक्तव्य मार्फत जारी गर्नुस अनि कसरी आउदैन समाचार ? निरन्तर भइरहने बैठकहरुमा समाजमा सकारात्मक प्रभाव पार्ने निर्णय र अभियानहरु हुनु पनि त परो नी ।
अन्तमा समाज र पत्रकारिता एक अर्कोका परिपुरक हुन । समाजमा हुने सकारात्मक कुरालाई सन्देशको रुपमा विश्वसामु पुर्याउन र नकारात्मक कुरालाई खबरदारी गर्ने काम पत्रकारले गर्नु पर्दछ । सामान्य कुरालाई कारक बनाएर सिंगो पत्रकारिता र पत्रकारलाई गाली गर्ने काम समाजका व्यक्तिले छोड्नु पर्छ । पत्रकारले पनि कार्यक्रमको महत्व र आवश्यतालाई बुझेर समाचार सम्प्रेषण गर्नु पर्दछ । अनि पत्रकार र संघ संस्थाको सहकार्यमा मात्र नेपाली जनमानसहरुमा सकारात्मक प्रभाव पार्न सकिन्छ अनि आउने समस्याहरुको न्युनीकरण, समाधान र पुर्वसर्तकता अपनाउन सकिन्छ ।