भूकम्प आउँदा नि तैंले सम्झिनस् है

रञ्जना लम्साल, नवलपरासी

घरपरिवार अनी साथिसंगी चटक्कै छोडेर विरानो देश जाने एउटै कारण हुन्छः केहि पैसा कमाउने । दैनिक सरदर १५ सय युवा विदेशिइरहेका कारण मुलुकलाई त तत्कालिन हिसावमा फाइदा नै भएको छ । उनीहरुले बर्षेनी पठाउने खर्वौं रकमले देशको कुल गार्हस्थ्य उत्पादनमा पनि झण्डै ३० प्रतिशत योगदान गर्न थालिसक्यो । तर त्यसको मूल्य चुकाउने आप्रवासी श्रमिक र उनीहरुका परिवारको संख्या पनि त्यहि गतिमा बढ्दै गएको छ । चितवनको भण्डारा १ का गोवर्धन कँडेलको परिवार त्यस्तै एउटा परिवार हो ।

पैसा कमाउन भनेर मलेसिया हिंडेको छोरो एकाएक सम्पर्क विहिन भएपछि कँडेल परिवार चिन्तामा डुवेको छ । चार बर्ष अगाडी मलेसिया उडेका विकाश कँडेल गत चैत्र महिनादेखि सम्पर्र्क विहिन छन् । त्यसैले छोरो खोजिदिन मद्धत माग्दै विकासका बाबु गोवर्धन यताउता दौडधुप गरिरहेका छन् । त्यसका लागि उनको काठमाडौं दौडाहा हिजोआज बढेको छ । मलेसियाको जोहरबारुमा रहेको एभरग्रिन फाइबरबोर्ड नामको कम्पनीमा काम गर्न चारबर्ष अगाडी गएका विकाश आफूले पैसा कमाउन नसकेको भन्दैै घरमा बताइरहन्थे । घरपरिवारले पैसा भन्दा पनि नेपाल फर्किन आग्रह गरिरहँदा एकाएक उनी परिवारसँगको सम्पर्क टुटाएर बेपत्ता भएका छन् ।

हाल उनी कहाँ छन् न त परिवारका सदस्यहरुलाई थाहा छ, न त उनीसँगै काम गर्ने साथिहरुले नै फेला पार्न सकेका छन् । देशमा भूकम्प आयो । हजारौ मान्छेको मृत्यु भयो । अझ त्यसभन्दा धेरै घाइते भएका छन् । घर भत्किनेहरुको संख्याको चुली लागेको छ । परदेशीहरुको मनमा छटपटी चल्यो । नेपालमा आफन्तसँग एकबचन बोल्न पाउँदा र सञ्चसुविस्ताको खवर सुन्न पाउँदा पनि धेरैले मनमा सन्तोष माने । त्यहि आशा थियो कँडेल परिवारलाई पनि ।

एकाएक हराएको छोराले एकचोटी फोन गर्ला र खोजखवर गर्ला भन्ने । तर यत्रो विपत्तिमा पनि छोरोले फोन नगर्दा गोवर्धनको मन कुँडिएको छ । तर अझै मनले हरेश खाइसकेको छैन । हराएको छोरोले एक न एकदिन कसो घर, बाबुआमा नसम्झेला र भन्ने लागेको छ उनलाई । विकास काठमाडौंमा रहेको क्याराभान इम्प्लोयमेण्ट सर्भिस मार्र्फत २०६८ चैत्र ७ गते मलेसियाका लागि उडेका थिए । उनी केहिसमय अघिसम्म काम गर्न गएको कम्पनी एभरग्रिनमै कार्यरत थिए । तर अहिले उनी परिवारसँग बेखवर भएपछि गोवर्धन सोधिखोजी गर्दै उनलाई पठाउने मेनपावरसम्म पुग्दा विकास कम्पनी छोडेर भागेको जानकारी दिएको छ ।

प्रोडक्सन अपरेटरको काममा गएका विकासको त्यसपछि कुनै अत्तोपत्तो छैन । “उ(विकास) सम्पर्क विहिन भएपछि मेनपावर देखि बैदेशिक रोजगार बिभाग, परराष्ट्र मन्त्रालय सबै ठाउँ पुगेर खोजविन गरिदिन हारगुहार गरेपनि केहि भएको छैन” गोवर्धनको भनाई छ । उनले भने – छोरोलाई पठाउने मेनपावरले त हामीले पठाएको कम्पनीमा तपाईको छोरा छैन, त्यसैले तपाई आफै खोज्नुस् हामी सक्दैनौं भन्यो । परराष्ट्र मन्त्रालयमा मौखिक कुरा भयोे, बिभागले चाहिं खोजिका लागि मलेशियामा रहेको नेपाली दुतावासलाई पत्र लेख्ने आश्वासनसम्म दिएको छ ।”

“एक्लो छोरालाई बिदेश पठाउने रहर नभएपनि केहि कमाएर आएपछि बिबाह गरिदिउला, उसको भबिष्य राम्रो होला भनेर पठाएका थियौं” गोर्बधनले भने । घरमा पहिले पनि उति धेरै फोन नगर्ने विकासले आफूले कमाउन नसकेको भन्दै गुनासो गर्ने गरेका थिए । उनले मलेसिया गएपछि दुई पटक गरेर घरमा ८४ हजार रुपैंया पठाएका थिए । “मैले समय सकिएपछि आईज फेरि राम्रो ठाउँमा जालास् भनेर सम्झाउँथे, तर खै किन माया मार्यो हाम्रो छोराले” आँखामा आँशु छचल्काउँदै सुचना तथा परामर्श केन्द्र कावासोतीमा गोवर्र्धन छोरो हराएको पीडा पोख्दै थिए ।

बिकाशले यसअघि चलाउने गरेको मोवाइल नम्वरमा फोन सम्पर्क नहुने र साथीभाइको फोन नम्बर पनि नभएकाले उनलाई सम्पर्क गर्न गाह्रो भएको सुचना केन्द्रका संयोजक रीतुराम सोती थापाले जानकारी दिएका छन् ।

उनको खोजिमा तपाईले पनि महत्वपूर्ण सहयोग गर्न सक्नुहुन्छ । तस्वीरमा देखिएका विकाश कँडेलका बारेमा तपाईसँग कुनै सुचना भएमा सुचना तथा परामर्श केन्द्र, कावासोतीमा जानकारी गराइदिनुहुन वा देशपरदेशको फेसबुक पेजमा अथवा यहि समाचारमा कमेण्टका रुपमा उपलव्ध गराइदिनुहोला । तपार्ईको सुचनाले एउटा परिवारको मानसिक तनाव कमगर्न धेरैठूलो सहयोग गर्दछ । 

यो पनि पढ्नुहोस्

३५ लाखको छातीमा टेकेर किन ७ सय ५० को पक्षमा ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय