
दुबई रङगी बिरङगी छ । दुबई ठुलो छ । दुबई सानो पनि छ । लाम्चो छ । चेप्टो पनि छ । अग्लो कदको छ । होचो कदको पनि छ । दुबई मरुभुमी छ । दुबई हरियाली छ । दुबई रसिलो छ । दुबई सुख्खा पनि त छ नि । दुबईमा के छैन ? जे खोज्यो त्यही छ । दुबईमा नेपाल छ । दुबईमा भारत छ । दुबईमा युरोप छ अनी दुबईमा अमेरिका पनि छ । नदेख्नेलाई डोरी लाहुरे छ । नभेट्नेलाई तोरी लाहुरे छ । बुझ्नेलाई श्रीखण्ड छ, नबुझ्नेलाई खुर्पाको बीँड पनि यहीँ छ । सुनसरीका निर्मल ओझालाई दुबई मालामाल छ । महिनाको १० हजार दिर्हाम भन्दा बढी कमाउने उनी अझै २/४ बर्ष यतै बिताउने सुरमा छन । भन्छनः युरोप त कसैले सित्तैमा लगे घुमेर चाँही आउँला तर दुबई छोडेर गईन्न । अमेरिकामा हुने उनकी बहिनीले दाई दुबई नछोड्नु नि भन्दा अरब आएर ठीक गरेछु जस्तो लाग्छ रे । त्यसो त उनले दुबई आउँदा पनि युरोप जादैछु है भनेर ढोल पिटेका रे गाउँघर तिर । अब भने ढुक्क भो । खुशी हुँदै उनी भन्छन । नेपाल एअरपोर्टका कर्मचारीहरु अझै पनि दुबई भने पछी अरबे रैछ भनेर हेयको दृष्टिकोणले हेर्छन। यो गुनासो हैन दुबईका नेपालीहरुको आक्रोश हो। दुबईबासी नेपालीहरुलाई यिनीहरुले डोरी लाहुरे भनेको मनमा साँचेर राखेका छन । दुबईको एअरपोर्टबाट नेपालको एअरपोर्ट पुग्दा आफैंमा शरम त लाग्छ नै कर्मचारीको ब्यवहार देख्यो भने झनै वाक्क व्याक्क लाग्छ । पाखुरी बजारेर कमाउनेहरुलाई यी घुसखोरीहरुले हेप्नुसम्म हेप्छन। दुबईमा बस्नेहरु प्राय सबै यसै भन्छन । दुबईबासी नेपालीहरुलाई देशको चिन्ता छ । देशको माया बिदेशमा बसेपछि थाहा हुन्छ रे । हो रैछ ।
आज शुक्रबारको दिन हो । म यही रङगी बिरङी दुबईको नेपाली चोक बरदुबईमा उभिएको छु । जमिन मुनी (अन्डर ग्राउन्ड) मेट्रो ट्रेन दगुराउने र जमिन माथि नेपालीहरुको जमघट हुने ठाउँ हो यो । यसलाई सबैले नेपाली चोक भन्छन । आफन्त र नातागोताको दुःख सुखका कुरा सुन्ने यही चोक हो । पतिपत्नी अङ्गालिने चोक पनि यही हो । प्रेमी प्रेमिकाको मिलन बिन्दु पनि यही नेपाली चोक हो । सबको कुरा सुन्ने, सबको कुरा सुनाउने चोक पनि यही हो । सजिव भए शायद सबको पोल खोल्ने पनि यही चोक हुन्थ्यो कि ? यो चोकले सबैको गोप्य कुरा सुन्छ, सबैको गोप्य देख्छ । अनी सबैको गोप्यलाई इमान्दार साथ गोप्य नै राख्छ । जे होस् रेगिस्तानको यो चोकले पनि सबैलाई माया दिएकै छ । सबैलाई साथ दिएकै छ । आज म यही नेपाली चोकको केही रङगीन तथा रोमाञ्चक कथा लेख्दै छु ।
त्यसो त संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्याँक अनुसार झण्डै ७५ मुलुकका ९५ लाख जनसंख्या बोकेको युएईको प्रमुख शहर दुबईको यो चोकमा फाट्ट फुट्ट पठानी (पाकिस्तानी) बाहेक अन्य मुलुकका मान्छे बिरलै देखिन्छन । कहिले कही भेटिने २/४ जना फिलिपिनो युवती बाहेक यी पठानीहरु नेपाली युवतीहरुलाई हेर्नलाई भेला भएका हुन रे । तर ती २/४ जना फिलिपिनो युवतीहरु पनि हाम्रै नाता गोताका हुन रे । याने कि नेपाली दाजुभाइ कै गर्लफ्रेन्ड । भोली हाम्रा हुन् नहुन् आजका भने हाम्रै हुन । दस पाथी पसिना बगाउने नेपाली लेबर देखि दस हात्ती कमाउने नेपाली अफिसरहरु पनि यहीँ भेटिन्छन् । तर पनि यो गज्जबको ठाउँ हो । यहाँ आए पछि लेबरले अफिसर चिन्दैन । अफिसरले पनि लेबर चिन्दैन । सबै बराबर, सबै नेपाली । नेपाल पनि यस्तै भईदिए ! त्यती मात्र कहाँ हो र, नेपालको कोब्रा देखि टाईगर ग्रुपसम्म रैछन् दुबईमा । कोब्राको ठुङ्ग्ने र टाईगरको चुस्ने काम पनि उत्तिकै छ भन्छन यिनीहरुलाई चिन्नेहरु । जाजरकोट ढिमेकी कान्छी माया धामी (नाम परिवर्तन गरिएको) र सुर्खेतका सुरबीर सिंहको साप्ताहिक भेट्ने ठाम पनि यहीँ हो । विवाहित धामी र अबिबाहित सिंहको प्रेमको डोरी कस्ने यो नेपाली चोक उनीहरुको दुर्भाग्य हो कि सौभाग्य हो भोलीका दिनले बताउने नै छ । तर जे होस् रेगिस्तानको यो नेपाली चोकले नाता जोडिदिएकै छ उनीहरुको । हप्ताभरी घरको काम गर्ने कान्छी मायालाई साहुले हप्ताको एक दिन छुट्टी दिने रहेछ । आईतबार दिएको छुट्टी उनकै ढिपीले शुक्रबारलाई सारेकी रहिछन् । आजकल उनीहरु कुनै शुक्रबार यहीँ भेटिन्छन् भने कुनै शुक्रबार अन्तै कतै जान्छन । फेसबूकले जोडीदिएको प्रेमको यो गोपनियतालाई पनि यो चोकले सम्मान गरेकै छ । काभ्रेका जीवन श्रेष्ठको अन्तराष्ट्रिय लगनगाँठो पनि यही चोकले जुराईदिएको हो । फिलिपिन्सकी सालीना लिम्बागसँगको सुरुवाती प्रेमको प्रेमिल चटक पनि यही चोकले हेरेको थियो । नजिकै रहेको क्यारिफोरमा काम गर्ने लिम्बागले श्रेष्ठलाई पहिलो पल्ट चुमेको स्थान पनि यही हो । अनी प्रेमलाई विवाहमा पुर्याउन फैसला दिने चोक पनि यही हो । आधा उधी नेपाली बोल्ने लिम्बाग भन्छिन म त यो चोकलाई जीवनभर भुल्दिन । त्यसो त यहाँ राजनैतीक संगठनका नेताहरु पनि भेटिन्छन् । सित्तैमा बैठक गर्नु परेमा यिनीहरु यही चोकमा गोलो घेरा भएर बस्छन । नेपाली क्यालेण्डरमा कुन चाडपर्ब कहिले पर्ने हो त्यो दिनको लागि साँस्कृतिक कार्यक्रमको निधो पनि यहिं गर्छन् । कसैलाई टिकट भिराउनु परे गज्जबको ठाउँ हो यो । सहयोग संकलन गर्न पनि उत्तिकै काइदाको ठाउँ हो । किनकी यहाँ शुक्रबार हजारौ नेपाली भेटिन्छन् ।
यो चोकमा सामाजिक कार्यकर्ता पनि भेटिन्छन् । जिल्लाका नाममा खुलेका धेरै संस्थाहरु छन । ती संस्थाका नेताहरु पनि देखिन्छन । त्यो बाहेक यहाँ पत्रकार पनि भेटिन्छन् । यिनै पत्रकारहरु मध्ये धेरै जसो ठाउँमा भेटिने पत्रकार हुन खेमराज खनाल । त्यसो त दुबईमा चिनिने पत्रकार मध्ये केही पुराना चाहिं लाल बहादुर ढेंगा रै’छन । उनी आजकाल फोटो पत्रकारिता र भिडियो तिर अली ब्यस्त देखिन्छन । फोटो पत्रकारितामा पनि ढेंगाको क्यामेराको लेन्स अली राम्री युवती तिर बढी तानिन्छ भनेर जानकारहरु भन्छन । झनै राम्री भए आफै पनि उभिएर फोटो सेसन गर्छन् र झटपट फेसबूकमा पोखिदिन्छन रे । जे होस् लेखेकै छन । सबैलाई खबर बाँडेकै छन ।
तर दुबईको अहिलेको पत्रकारिताको प्रसिद्दीमा खनालले ढेंगालाई पछी पारेछन । हरेक शुक्रबार हुने नेपालीहरुको कार्यक्रम सकेसम्म खनाल पुगेकै हुन्छन । गत शुक्रबार मात्रै खनालले ४ वटा नेपालीका कार्यक्रममा उभिन भ्याए रे । अर्थात सोह्र श्राद्धको बाहुन जस्तै हरेक शुक्रवार यो रेगिस्तानमा कुदाकुद छ खनाललाई । क्यामेराले क्लिीक गरिएका यिनका फोटाहरु बेलुकी व्याकरणीय बलात्कारसँगै फेसबूकमा छताछुल्ल हुन्छन । भाषा ‘सञ्चारको माध्यम’ र पत्रकारिता ‘समाजको ऐना’ भन्ने परिभाषालाई मात्र मान्ने हो यिनको पत्रकारिताको लगाव अति उदाहरणीय छ । निःशुल्क उनको पत्रकारिताले समाजसेवा गरेकै छ । गत शुक्रबार तीन बजे तिर गोर्खा सेवा समाजको पिकनिकमा जबील पार्कमा भेटिएका यी दुखी पत्रकारलाई अर्को कुनै कार्यक्रममा हाजिर हुन हतारो थियो । यिनी बिगत ३ महिना देखि बेरोजगार छन । ‘मनकारीहरुको सहयोगले दुबईमा बिहान बेलुका हातमुख जोर्दैछु’ यसो भन्दै गर्दा उनको अनुहार मलिन देखिन्थ्यो । ‘सत्यको जीत निश्चित छ, २/४ दिन पख्नुस् है, अनी ठोक्नु पर्छ’ भन्दै उनी मबाट बिदा भए । उनको हिम्मत र जोस अझै हारेको छैन । दुईचार पैसा कमाउन भनेर रेगिस्तान पसेको एउटा नेपालीले समाजका गलत कुरा लेखेर खेपिरहेको समस्या र त्यससँग लड्ने उसको साहसलाई मेरो सलाम । निरन्तर चलिरहने उनको पत्रकारिताको मसी कहिल्यै नसुकोस । उनको कथाको दोस्रो भाग लेख्न बाँकी नै छ । अहिलेलाई भने यत्तिमै बीट मारौ कि ? मेघराज सापकोटा, दुवई यो पनि पढ्नुहोस् पूर्व लडाकुबाट टेलर्स सञ्चालकः फेरिएको परिचय (भिडियो सहित) अरबमा दुई पेग व्हिस्कीसँगै हामी ३ लाख गधाका समस्या भुसुक्कै! नत्र म साउदीबाट कहिल्यै फर्किन पाउने छैन