भेटिए साउदीमा हराएका परदेशी

उमा पौडेल, नवलपरासी – खुशी बाँडे बढ्छ, दु:ख बाँडे घट्छ भनेको तपाई हामीले सुनिरहकै कुरा हो । यो सत्य पनि भएको छ । आफ्नो कान्छो छोरो हराएको दुःख ८ महिना अगाडी बाँडेकी नवलपरासी बर्दघाट चिसापानीकी मंगला बि.क.को खुशी फर्किएको छ । छोराले विदेशबाट फोन गरेपछि विक परिवारमा ठूलो खुशी छाएको छ ।

शुरुका हरेक भेटमा आँखाबाट बलिन्धारा आँशु झार्ने मंगला बिक र उनका श्रीमान पिताम्बर बिक सुरक्षित आप्रवासन परियोजना अन्तर्गत मनोसामाजिक परामर्श सेवा लिन थाले पछि पछिल्लो समयमा आफूले आफैंलाई सम्हाल्न त सिकेका थिए । तर कता कता उनीहरुको मनमा लागेको कालो बादल भने हट्न सकेको थिएन । बिक परिवारको पीडा प्रति सहानुभूति थियो र खोजी गर्ने चौतर्फी प्रयास पनि जारी नै रहेको थियो ।

उनका छोरा कृष्णको खोजीमा प्रवासी नेपाली समन्वयय समिति जुटिरहेको थियो । र उनको बारेमा देशपरदेश डटकमले पनिछोरो हरायो साउदीमा, लौ न खोजिदेउ’ समाचार प्रकाशित गरेको थियो । यहि बीचमा कृष्णले घरमा अचानक फोन गरे । यसले उनको खोजीमा जुटिरहेका सामी परियोजना, प्रवासी नेपाली समन्वय समिति, सीएमसी नेपाल, नेपाली राजदुतावास, कन्सुलर विभाग, देश परदेश डट कम लगायतलाई खुशी बनाएको छ ।  

६ बर्ष अगाडी पैसा कमाउन साउदी गएको छोरा डेड बर्ष अगाडी एकाएक हराएर मरेको वा ज्यूँदो रहेको थाहा नहुँदा कृष्णका बुवा आमा निराशामा डुबेका थिए । तर अचानक विदेशी नम्बरबाट फोन आयो । मंगलाले भनिन्ः ”सुरुमा त कसले फोन गरेको हो भन्ने थाहै पाइन । को बोल्नु भयो, कसलाई खोज्नु भयो भनेर सोधें, तर आमा म कृष्ण भनेको के थियो म त यति खुशी भए कि म रोएको बोलेको वरीपरीका छिमेकी सबैले सुनेछन् । घरका मान्छे कुरा गरेको, रोएको सुनेर छिमेकीहरु पनि रोए ।”

“आफ्ना बा आमालाई कसरी भुलेर बस्न सकेको भनेर सोध्दा भुलेको भए त फोनै गर्थिन नी, पैसा कमाएको भए त फोन गर्थे कमाएर घर पठाउन नपाए पछि किन टेन्सन दिन फोन गर्ने भनेर भन्यो” मलिन हुँदै मंगलाले भनिन् । ”त्यस्तो निष्ठुरी त होइन ५ बर्षसम्म लगातार फोन गथ्र्यो उसैले पठाएको पैसाले घर बनाएको हो कसरी माया मार्यो होला छोराले भन्ने मनमा लागेको थियो त्यसकारण पनि बिहे गरेर बसेको भएर फोन नगरेको होर भनेर सोधे, कहाँ हुनु ? नभएको कुरा नगर्नु भन्यो भन्दै मंगलाले सबै छोरा छोरी बिहेको कुरा गर्दा शर्म मान्छन्”  हाँस्दै थपीन् । 

अहिले आमा बाबा, दिदिबहिनी, दाजुहरुसंग नियमित जसो फोन सम्पर्क भइरहेको र एकपटक जसरी भए पनि घर आउ भनिरहेको बिक दम्पतीले बताए । निराशा र चिन्ताको साहारा लिएका बि.क. परिवार अहिले हर्षले गद्गद छन् । तर संगसंगै छोराले अझै २/३ वर्ष आउँदिन, पैसा कमाएर मात्र आउँछु भन्दा कतै फेरि सम्पर्क टुट्ने होकी भन्ने मनमा शंका पनि उब्जने बताउँछन् । ”भन्न त साउदीको राजधानी रियादमै छु भनेर भन्थ्यो, ६ बर्षसम्म हाम्रो अनी घरको याद आएन भनेर सोध्दा यत्रो समय भयो र मलाई त २/३ बर्ष भए जस्तो लाग्छ त । नआत्तिनु कम्पनीले राम्रो काम मिलाइदिन्छु भनेको छ । म पैसा कमाएर छिट्टै आउछु भन्यो” मंगलाले भनिन् । एक पटक उसलाई भेट्न साह्रै मन लागेको भन्दै नेपाल फर्के उसको विहेवारी गरिदिने इच्छा रहेको मंगलाले बताइन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय