मध्यम वर्गका परिवार आँफैपनि कुनै न कुनै श्रम क्षेत्रमा लागिरहनुभएको हुन्छ । उहाँहरुले जसलाई घरेलु श्रमिकको रुपमा राख्नुहुन्छ उ पनि श्रमिक हो भन्ने बुझ्नुहुन्छ । उच्च वर्गका रोजगारदातामा त्यस्तो सोच हुँदैन । यो घरेलु श्रमिक हो भनेर मानवताको व्यबहार त्यहाँचैं हुँदैन । त्यस्ता घरमा काम गर्ने घरेलु श्रमिकको बाहिरको व्यक्तिसँग सम्पर्क पनि हुँदैन ।
घरेलु श्रमिक भन्नाले घरको काममा सघाउने श्रमिक भन्ने बुझिन्छ । मानिसमा व्यस्तता बढ्दै गएपछि घरको काममा श्रमिक राख्ने चलन बढ्दै छ । चाहे त्यो सुत्केरी स्याहार्ने काममा होस् वा घरको भाँडाकुँठा माझ्ने, लुगा धुने तथा खेतीपातीको काम सघाउनेनैं किन नहोस् । यस्तो श्रमिकको माग भने शहरमा बढी छ । अहिले यस्तो खालको श्रममा झण्डै दुई लाख महिलाले काम गरिरहेका छन् । तर घरेलु श्रमलाई कामको रुपमा नहेरिँदा र यस्ता श्रमिकको प्रयोग दिनानुदिन बढ्दै जाँदा समस्या पनि सँगसँगै उत्तिकै आउन थालेका छन् । यसै सेरोफेरोमा रहेर देशपरदेशका लागि विनोदकुमार चौलागाईले नेपाल गृह श्रमिक ट्रेड युनियनकी महासचिब सोनु दनुवारसँग कुरा गरेका छन् ।
अहिले घरेलु श्रमिकको अवस्था कस्तो छ ?
पहिलाको तुलनामा अहिले केहि सुधार भएको छ । उहाँहरु बाहिर निस्कन र हामीसँग जोडिन सक्नुभएको छ ।
घरेलु श्रमलाई कामका रुपमा अझै पनि स्विकार गरिसकिएको अवस्था छैन । तपाईहरुको लडाई भनेकै घरेलु श्रमलाई कामको पहिचान देउ भन्ने पनि थियो । के अहिले केहि परिवर्तन पाउनुहुन्छ ?
धेरै मान्छेले अहिले घरेलु श्रमलाई काम हो भन्न थाल्नुभएको छ । हामीले अहिले घरेलु श्रमिकलाई तालिम पनि दिन थालेका छौं । तालिमपछि उहाँहरुको काम गर्ने तौरतरिकानैं व्यबस्थित हुँदै गएको छ । यो पनि रोजगारीको एउटा क्षेत्र हो भन्ने भएको छ ।
काममा लगाउने मान्छेले तपाईहरुलाई कस्तो व्यबहार गर्नुहुन्छ ?
अहिले पनि घरेलु श्रमिकले दुःख पाईरहनुभएको छ । ‘ह्यारेस’ भईरहनुभएको छ । खासगरि उच्च वर्गमा घरेलु श्रमिकमाथिको दमन उच्च छ । मध्यमवर्गका परिवारमा भने समस्या कम भेटिन्छ । मध्यम वर्गका परिवार आँफैपनि कुनै न कुनै श्रम क्षेत्रमा लागिरहनुभएको हुन्छ । उहाँहरुले जसलाई घरेलु श्रमिकको रुपमा राख्नुहुन्छ उ पनि श्रमिक हो भन्ने बुझ्नुहुन्छ ।
उच्च वर्गका रोजगारदातामा त्यस्तो सोच हुँदैन । यो घरेलु श्रमिक हो भनेर मानवताको व्यबहार त्यहाँचैं हुँदैन । त्यस्ता घरमा काम गर्ने घरेलु श्रमिकको बाहिरको व्यक्तिसँग सम्पर्कनैं हुँदैन । घरभित्रमात्र सिमित हुनुपर्छ । स्वतन्त्रता भन्नेनैं छैन । संगठन विस्तार वा अरु कामका लागि हामीले उहाँहरुलाई भेट्न सम्भवनैं हुँदैन । स्कुलको बच्चा लिन आउँदा तथा किनमेलका लागि बाहिर निस्कँदा बाटोमा भेट भयो भनेपनि घरमालिकले देख्छकी भन्ने त्रासले कसैसँग कुरा गर्न चाहनुहुन्न ।
तर मध्यम वर्गका घरमा काम गर्ने घरेलु श्रीमकलाई कुरा गर्दा उहाँहरुले घरमैं बोलाउनुहुन्छ । आउनुस् अंकल/आंटीसँग सोध्नुस् भन्नुहुन्छ । तपाईहरु आएर बोलिदिनुभयो भने मलाई कार्यक्रम भएका बेलामा जान सजिलो हुन्छ भन्नुहुन्छ ।
उच्च वर्गका घरमा काम गर्ने घरेलु श्रमिक आँफैचैं यस्ता कुरालाई बाहिर किन ल्याउन चाहनुहुन्न ?
उहाँहरुमा एउटा त रोजगारी गुम्छ की भन्ने चिन्ता छ । अर्को भनेको उहाँहरु टाढा–टाढाबाट आउनुभएको हुन्छ । घरबाट निकालिदियो भने हामी जाने कहाँ भन्नुुहुन्छ । हामीले उहाँहरुलाई ‘तपाईहरु के गर्दा हामीसँग आउनुहुन्छ ?’ भन्दा त्यहाँबाट बाहिर निस्किएपछि अन्त काम नपाउञ्जेल एक/दुई महिना बस्ने ठाउँ पाए हामी पनि अगाडी आउँथ्यौं । धेरै साथीहरु पीडित हुनुहुन्छ त्यस्ता साथी पनि बाहिर निस्कनुहुन्थ्यो भन्नुहुन्छ ।
अहिले तपाईहरुले संगठन बनाएर अधिकारका क्षेत्रमा काम गर्न थाल्नुभएपछि केहि परिवर्तन त आयो होला ?
उहाँहरु अहिले हाम्रो सम्पर्कमा आउन खोजीरहनुभएको छ । केहि साथीहरु आउनुभएको पनि छ । हामीले दिएको सदस्यता कार्ड सिरानी भित्र सिलाई गरेर लुकाउनुभएको छ । कतिपय साथीहरु मन्दिर जान्छु, पसल जान्छु भनेर हामीसँग कुरा गर्न आउनुहुन्छ ।
भन्नाले यो क्षेत्रमा समस्या विकराल छ ?
धेरै विकराल छ । यौन दुव्र्यबहार हुने । गर्भवती बनाएर कोही चिनेका मान्छे वा ड्राईभरलाई विहे गरेर पठाएको उदाहरण छन् । अहिले अब जाडोको सिजन छ । घरेलु श्रमिकलाई सबभन्दा कष्टकर समय भनेको जाडोको सिजन हो । हातखुट्टा सबै फुटेको हुन्छ । हातखुट्टाबाट तरतर रगत आईरहेको हुन्छ तरपनि उहाँहरु काममैं लगाईरहनुहुन्छ । यस्तो मलम वा औषधी लगाउ भन्ने खालको मानवतानैं छैन । त्यो खालको मान्छेहरुपनि हामीले भेटिरहेका छौं ।
यस्तो समस्यामा परेका घरेलु श्रमिकलाई अधिकार दिलाउन बाधक के छ ?
सबभन्दा बाधक भनेको त हाम्रोमा घरेलु श्रमलाई कुनैपनि नियम–कानुनले नछोएको भएर पनि हो । यदि कानुन हुन्थ्यो भने त्यस्ता रोजगारदाताहरुमा दुव्र्यवहार गर्ने साहस पलाउँदैनथ्यो । उनीहरुमा कारबाही हुन्छ, कुराहरु बहिर जाँदा ईज्जत जान्छ भन्ने डर हुन्थ्यो । हामीकहाँ त्यस्तो खालको बन्धन छैन । अब बन्ने श्रम कानुनमा घरेलु श्रमलाई पनि समेट्नुपर्छ भनेर हामीले आवाज उठाउँदै आईरहेका छौं । र, प्रयास अझै जारी छ ।