
प्रेम प्राप्तीमा मात्र होइन त्यागमा पनि हुन्छ भन्थे । हुन त हो तर त्याग्न कति गाह्रो हुँदो रहेछ त्यसको अनुभव आज मलाई भईरहेको छ । हरपल तिम्रै मुहारमात्र आँखा अगाडि नाचिरहन्छ । म तिमीलाई बिर्सिन चाहन्छु । तर किन जत्ति भुल्न खोज्छु उत्ति नै सम्झनाको लहर मेरो मानसपटलमा तिब्र बेगको ज्वारभाटा झैँ आईरहन्छन् । हो सुप्रिया तिम्रै याद आईरहन्छ । तिमीले मलाई धोका दियौ । निष्ठुरी हौ तिमी ।
आत्मा साक्षी राखेर यो पनि भन्न सक्दिन म । अनि मैले तिमीलाई धोका दिएँ । यो पनि साँचो होइन । तर किन तिमी मेरी हुन सकिनौ ? तिमी प्रति अझै पनि चोखो माया छ । अगाध स्नेह छ ।
भारत गणराज्यको पश्चिम बंगाल राज्य, बिश्व बिख्यात नोवेल पुरस्कार बिजेता रबिन्द्रनाथ ठाकुरको जन्मनगरी शान्तिनिकेतन । त्यहिँ हो मैले सिनित्त पारेर भ्याएको मेरो बैँसालु वय । बैँसालु उमेरको अर्थ बुझाईदिने तिमी थियौ सुप्रिया । “सु” अर्थात् असल अनि “प्रिया” अर्थात् मायालाग्दी ।
मेरो मनोदलातको बुझाईमा तिम्रो नामको बिशेषणीय परिभाषा यसरी नै परिभाषित गरिदिएको छु । शान्तिनिकेतन साँच्चै मनोहारी ग्राम र सुन्दर शहरको संगम हो । सामान्य स्तरको सिर्जनशील व्यक्ति पनि कवि हृदय बोकेर फर्कन्छ रविन्द्रनाथ को गाउँबाट । रबिन्द्रनाथको कवित्वपनको भूतले जो कोहिलार्ई पनि नौनी बनाएर छोडिदिन्छ ।
कवि रविन्द्रनाथले चौवीस घण्टे रेलयात्रामा लेखेको गीतान्जलीले म पनि नौनी भएँ । अनि तिम्रो स्नेहालु व्यवहारबाट म फेरि नौनी भएँ । जातगत प्रजाति अनुरुप तिमी बंगाली अनि म नेपाली । मात्र धार्मिक र बन्धुत्व सोचमा एकरुपता । बाँकी पृथक राष्ट्र, पृथक राष्ट्रियता अनि भाषागत पृथकता ।
तर कत्ति सौम्य र सुरम्य दिव्य व्यवहार म प्रति तिम्रो सुप्रिया ? साँच्चै याद आउँछ अटेसमटेस गरेर तिम्रो मायालु सद्व्यवहार अझै पनि मेरो अन्तस्करणमा । मनको बलेसीबाट ओईरिदिन्छ तिम्रै सम्झनाको बर्षेझरिहरु ।
पश्चिम बंगाल राज्यको कलकत्ता शहर, हुग्ली नदीले काखमा लमतन्न पारेर सुताएको हावडा क्यानिङ्ग स्ट्रिट, धर्मतला, खिदिरपुर, पार्क स्ट्रीट, मोहनबगान विशाल शहर । आहा मनभरि सम्झना अझै ताजा तरोगा छ सुप्रिया तिम्रा कुममा हात राखेर बिचरण गरी भोगेका ति प्रेममय क्षण ।
भारत गणराज्यमा अंग्रेजले शासन गर्दै ताकामा निर्माण गरेको बिरला प्लानेटेरियम, भिक्टोरिया मेमोरियल कहाँ कहाँ चाहारेनन् हामी २ ज्यानका गोडाले । जहाँ घुम्न र चाहार्न सकिएन त्यहाँ हाम्रा आँखाहरुले चाहरेर सिनित्त भ्यायौं । उत्तर दक्षिण पूर्व पश्चिम अनि वायव्य कोण सर्वदिशा ।
तिमि सम्झन्छौ हौली हावडा ब्रिजको टाङमुनी हुँदै हुग्ली नदीको आङ्गमाथि स्टिमरमा चिप्लिएर हामी युगल जोडी कति पटक वारपार गरी बिताएका विनोदीक्षण । मलाई मेरो माटोको कोशीको तिर्सना मेटाएको थियो तिम्रो हुग्ली नदीले । मेरो देशको नारायणीको झल्कना पलाएको थियो तिम्रो देशको विद्या सागर सेतु त्यही जलगंगाले ।
जीवन र प्रकृतिको यही फाँटमा तिम्रो प्रेम र तिम्रो देशको प्रकृति प्रेमको सुस्मा–सौन्दर्य अझ पनि बासनादार बनेर मलाई स्मृति सुगन्ध दिईरहेको छ तिमी जन्मेको तिम्रो देशको माटोले ।
यसो भन्नुको अर्थ म तिम्रो देशको माटोलाई आफ्नो मातृभूमि भन्दा पनि प्रिय ठान्छु भन्ने चाहिँ पक्कै होइन । म प्रकृति प्रेमी हुँ ,सौन्दर्य पे्रमी हुँ । यसै अर्थमा तिमीलाई र तिम्रो देशलाई पनि त्यत्तिकै माया गर्छु भन्न पुगेको हँु । राम्रा राम्रा शव्द्ध गुच्छाहरु संगालेर सुन्दर कविता जन्माउन पोख्त कविताकी जननी तिमीलाई के पो भन्नु र ।
फूलको सौन्दर्यले सवैको हृदयलाई एकनास छुँदैन । हृदयलाई फूलले त्यत्ति मात्र स्पर्श गर्छ जत्ति उसले फूललाई पे्रम गर्न सक्छ । एक व्यक्तिले अर्को व्यक्तिलाई त्यत्ति मात्र मन पराउँछ जत्ति उसले प्रेम गर्न सकेको हुन्छ ।
प्रेम कहिलै शिथिल हुँदैन । यसै अर्थमा म तिमीलाई अझपनि पे्रम गर्छु सुप्रिया । वास्तवमा रमाईलो संसार होइन । रमाईलो त मन हो । त्यसै राम्रो कोहि हुन्न । आँखा सुन्दर तर हेराई तिरस्कारपूर्ण छ भने सुन्दर आँखाको अर्थ नै के रह्यो र ।
पिपलपाते राम्रो ओठ छन् तर वचन कर्णकटु छ भने त्यो कसलाई पो प्रिय लाग्छ र ? राम्रो रुपभित्रको नराम्रो स्वभाव भन्दा नराम्रो रुपभित्रको राम्रो स्वभाव नै सबैलाई प्रिय लाग्छ । यि तिम्रा अभिव्यक्ति अझ पनि मेरा मानसपटलमा छमछमी नाचिरहन्छन् ।
लैला र मजनुको कहानी सवैलाई थाहा छ । एकदिन मजनृुलाई कसैले सोधेछः मजनु, तिमी लैला प्रति किन यत्ति पागल हुन्छौ ? लैला भन्दा हजारौँ गुणा राम्री सुन्दरी पाउने सामथ्र्य तिमी भित्र छ र पनि ।
मजनुको सटिक उत्तर थियो । लैलाको सौन्दर्य तिम्रो आँखाले होईन मेरो आँखाले यदि तिमीले हेर्न सकेको भए तिमीले बुझ्ने थियौ लैला कत्ति सुन्दरी छे । आनी छोयाङ्गले आफ्नो गीत मार्फत त्यसै भनेकी होइनन् “फूलको आँखामा फूलै संसार, काँढाको आँखामा काँढै संसार” यथार्थ यहि हो पनि ।
अँ त कलकत्ता स्थित प्राविधिक शिक्षालयको हामी एकै विधाको सहपाठी । त्यहिँ त हो हाम्रो प्रथम साक्षात्कार भएको । क्लासको पहिलो दिनको परिचायत्मक कार्यक्रममा तिम्रो र मेरो बीच परिचय बिनिमय भएको थियो ।
“ओ तुमी नेपाली ? आमी तो भेवेछिलाम ना ” त्यहिँबाट त हो नि सुप्रिया हामी विचको बान्धवता नामक साइनो एक भावनात्मक सम्बन्धमा परिणत भएको । त्यहि साइनो आज स्मृतिको गर्तमा मिठो विम्व बनेर बाँचिरहेछ ।
प्रेमरञ्जित हाम्रा बैँसालु धरातलका भावनात्मक समागम आज एकै चिहान भईदियो । समाधिस्थ हुन पुग्यो हाम्रो बिगतका ति सम्वन्ध । किनकी तिमी कसैको अधिनस्थ भयौ ।
मेरो मनले आज पनि अप्रिय तीनवास भोगीरहेको छ । मष्तिस्कले दाम्लो फुकाएर मनलाई छोडिदिँदा पुरानै गोठमा फर्किन खोज्दो रहेछ एकल अनुभूत आक्रान्तित मेरो मन । यसै अर्थमा मेरो मनले अप्रिय तीनवास भोगिरहेको छ भनेको हुँ ।
अहिले मेरो मनलाई शान्त्वना र ढाडस दिने मन नै मेरो बशमा छैन । मनलाई उर्दी लगाउने मन नै तिम्रो सम्झनाले बशीकरण गरिदिए पछि अह्राई पह्राई गर्ने मष्तिस्क पनि रमिते बनेर टोलाएर बसिदिँदो रहेछ । छिचरो यो जिन्दगीले मौनता साँधिदिँदा नकचरो बन्न पुग्छ मेरो संयमता ।
उत्ताउलिएको मनलाई नैतिक बन्धनको अर्को खेमाले घिच्याउँदै पूर्ववत् अवस्थामा नै ल्याएर थेचारिदिन्छ । अनि फेरि मलाई भन्न कर लाग्छ । प्रेम प्राप्तीमा मात्र होइन त्यागमा पनि हुन्छ भनेर । यो माया भन्ने शव्द्ध पनि ज्वरोमा परेर रुचिहिन खान्की जस्तो भईदिएको भए साँच्चै यत्ति गाह्रो पार्ने थिएन सुप्रिया तिम्रो सम्झनाले ।
म कस्तोसंग झसंगिएँ सुप्रिया अहो ! कम्पित ओठ र थर्थराएका ओठले “तुमी रविन्द्रनाथेर ग्रामेर सुप्रिया ना ?” एकै सासमा सोध्न पुगेको थिएँ कतारको सिटी सेन्टरको सपिङ्ग कम्प्लेक्समा । अचम्भित भएको थिएँ म अनायास तिमीलाई कतारको सिटी सेन्टरमा भेट्दा । के तिमीलाई मैले कतारमा शाश्वत अवस्थामा नै देखेको हो त ? दिग्भ्रमित बनायो एकछिन् मलाई तिम्रो अप्रत्याशित उपस्थितिले ।
त्यस क्षण बेस्सरी कुँढिएको थियो मेरो अलौटो आरिसे मन तिमीसंगको अर्को प्रतिछाँयालाई देखेर । किनकी तिमी एक्लै थिइनौ त्यस अप्रिय दृश्यभोगकालिन क्षणमा । अति सुन्दर नवजात शिशु ट्रलीमा राखेर गुडाउँदै आउने तिम्रो पति हुनु पथ्र्यो । अड्कल यहि काटेको थिएँ । आखिर अड्कल पनि सत्य सावित भयो । त्यो तिम्रो लोग्ने नै थियो । कत्ति अचाक्लीसंग बिरक्तिएको थियो तिमी समकक्षको तिम्रो पतिलाई तिम्रो साथमा देखेर । कत्ति ईष्र्या जागृत भएको अन्तर्मन भित्र । एउटै समानान्तार रेखामा तिमीसंगै अघि बढ्दै आएको एउटा छाँयालाई तिम्रो रेखाबाट धकेलेर सिटी सेन्टरको माथिल्लो तल्लाबाट तलै खसालिदिउँ जस्तो कुत्सित साहसिकता नजागेको पनि कहाँ हो र ? अनर्थ नसोच्नु पर्ने थियो तिमी प्रति । डाहा नगर्नु पर्ने थियो तिम्रो दाम्पत्य जोडीप्रति । रवि तुमी एखाने कतारे ? कबे थेके ? चाकरी कोथाय ? कोथाय थाको ? मैले पनि तिम्रो प्रश्नको क्रमश: जवाफ दिँदै गएको थिएँ ।
त्यस क्षण आफ्नो पतिलाई मेरो परिचय दिएकी थियौ । “आमार स्कुलेर बन्धु । खुव भालो मानुष । अनेक भद्रलोग जानेन् ?” भनेर आँखी भौँ उचाल्दै आफ्नो पतिलाई भनेकी थियौ । “तोमार संगे गल्प कोरे अनेक आनन्द पेलाम् रवि बावु । माझे माझे आसवेन् ।” भन्दै तिम्रो पतिले औपचारिकता जताएको थियो । अनि तिमीले आफ्नो मोवाईल नम्वर मलाई दिएकी थियौ समय समयमा कल गर्नु भनेर ।
तिमीसंग भलाकुसारी गर्ने अधिकार नै बसाईं सरी सकेपछि अब मैले तिमीसंग कुन शिर्षकमा कुराको सिलसिला सुरु गरौँ सुप्रिया ? प्रसंगहीन अप्रासांगिकतामा कुरा गरेर चिहानभित्र गाडिईसकेको मृतपे्रमलाई किन पुनर्जीवित गरौँ ? बैवाहिक बन्धनमा बाँधिएर दाम्पत्य जीवनको सुखद सांसारिकतामा सुखमय जीवन व्यतित गर्नु । मेरो तर्फबाट तिमीलाई यहि शुभकामना सुप्रिया ।
[email protected] (कतारमा बसेर पत्रकारिता गर्ने रवि रोषी साहित्यमा पनि कलम चलाउँछन्)