
खगेन्द्र कार्की, कतार । प्रवासमा नेपाली संस्कार संस्कृतिको जगेर्नाका निम्ति हरेक तह र तप्काबाट योगदान हुने गरेको छ । विभिन्न जात जाति, धर्म र सम्प्रदायका मानिसहरुको जमघटको थलो प्रवास (कतार)मा पनि विभिन्न जातजाति, धर्म र समुदायले मान्दै आएका पर्वहरुलाई साझा बनाउने अभियानमा नेपाली समुदाय जुटेको देखिन्छ ।
हिजोका दिनमा हिन्दु, मुस्लिम, बुद्धिष्ट, क्रिस्चियन भन्ने गरिएका चाडपर्वहरु यतिखेर सबैका साझा बन्दै गइरहेका छन् । साझा बन्दै गइरहेको एउटा चाड दिपावली पनि हो जो आज विश्वले मनाउन थालिसकेको छ ।
सनातन धर्मावलम्बीहरुको महान भनिदै आएको दिपावली पर्व यतिखेर नेपालीमात्रको महान पर्वमा रुपान्तरित भईसकेको छ । दिपावली कुनै खास धर्म, समुदायसँग जोडिएर गरिने विषय पनि होइन । हामी हरेक सफलताका सिढीहरुमा चढ्दा दिपावली गर्ने गरिन्छ । हरेक उमंग र हौषलामा दिपावली गरिन्छ । पवित्र, आकर्षण र मौलिकता बोकेको उज्यालोको पर्व हुनाले विदेशीहरुले समेत दिपावली गर्न थालेका छन् ।
हामी कर्म गछौं, सफल हुन्छौं, धन, दौलत, इज्जत र प्रतिष्ठा कमाउँछौं त्यसको खुशियालीमा दिपावली गर्छौ । कुनै घटना परिवेशका आधारमा सम्बन्धित पक्षसँग बसेर दिपावली गर्ने गरिन्छ । दिपावली छिमेकी विशाल राष्ट्र भारतले धुमधामपूर्वक मनाउने गर्दछ । दिपावलीमा धन धान्यकी देवी लक्ष्मीको पूजा आरधना गर्ने गरिन्छ । त्यो लक्ष्मीले सबैको घरआँगनमा बास गरुन् भन्ने आशिस दिइन्छ ।
दाजुभाई र दिदीबहिनीको बीचमा सामिप्यता, दीर्घायुको कामना गर्दै सुख, शान्ति, उन्नति र प्रगतिको कामनासहित टिका लगाइन्छ । यस पर्वले चराचुरुङ्गीदेखि जनावरसम्मको लागि प्रमुख महत्व दिएर पूजाआजा गर्ने गरिन्छ– यो सबैको साझा विषय हो ।
विश्वको साझा बन्दै गईरहेको छ दिपावलीले । अमेरिकी राष्ट्रपति बाराक ओबामादेखि अन्य विभिन्न शक्तिशाली राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरु दिपावली सरिक हुने र शुभकामना दिने गरेका छन् । दिपावलीलाई विश्वको साझा पर्वका रुपमा विकसित गर्ने माध्यम त्यो बन्छ जहाँ दिपावलीका दिन बिदा दिइन्छ । श्रीलंका, म्यानमार, भुटान, मरिसस, गुयाना, त्रिणिडाड एण्ड टोबेगो, सुरिनाम, मलेसिया, सिंगापुर, फिजीलगायत अन्य धेरै राष्ट्रले दिपावलीमा बिदा दिने प्रचलन बसाएको छ ।
यद्यपि नेपालमा भने दिपावली एउटा विषयले सदैव पिरोल्ने गरेको छ – गाई पुजा । सनातन धर्मावलम्बीहरुले गाईलाई भगवानको जिउँदो प्रतिमूर्तिका रुपमा मानेको छ । राज्यले राष्ट्रिय जनावरको रुपमा गाईलाई मान्दै आएको छ । अर्कोतिर त्यही गाई काटेर मासु खाने र नखानेको बीचको अन्तरद्वन्द्वको भूँमरीमा समाज फसेको देखिन्छ ।
एकातिर धर्म निरपेक्ष अर्कोतिर राष्ट्रिय जनावर अनि सनातन धर्ममा भगवानको प्रतिमूतिको बीचमा व्यवहारिक रुपमा तालमेल मिलाउन सरकार सकिरहेको छैन । एउटा विषयमा त्रिपक्षीय चरित्र प्रदर्शनबाट समाज (मातृभूमि) मा समेत विभेदको स्थिति कायमै छ, समाजमा कुनै बेला अकाल्पनिक घटनाबाट जाकिने हो कुनै पत्तो छैन ।
देश धर्म निरपेक्ष भईसकेको अवस्थामा व्यवहारिक रुपमा प्रयोग गर्न र गराउन नसक्नु सरकारको कमजोरी देखिएको हाम्रो समाजमा (मातृभूमि) मा यस्तो सम्वेदनशिल विषयमा सुसुचित गराउन नसक्नु वा एक धर्म वा समुदायले अर्को धर्म वा समुदायको संस्कार र संस्कृतिलाई आत्मसाथ गर्न नसक्नु, मर्म र भावना बुझ्न नसक्नुले अलिअलि कता कता खट्पट पक्कै भएकै छ ।
तसर्थ समाजप्रतिको तपाई हामीले दायित्वबोध गर्न, जिम्मेवारीलाई बुझ्न नसकिरहेको अवस्था अद्यावधिक छँदैछ । तथापि यसको निक्र्योल त आगामी संविधानमा होला नै । तर प्रवास (कतार) भने यस्ता विषयबाट अलग बसेको छ । यहाँ कुनै विभेद देखिँदैन– यहाँ इच्छा हुनेले गाईको मासु खाइरहेका छन् नहुनेले पुजा गरिरहेका छन् ।
दिपावलीमा हामी गाईको पूजा गरेर सनातनहरुको एउटा संस्कृति प्रस्तुत गर्दै गर्दा दिपावलीलाई विश्वव्यापी रुपमा साझा बनाउन सकिन्छ वा सकिन्न भन्ने सोच्नु पर्ने भएको छ । दिपावलीलाई साँच्चिकै साझा बनाउन बाधक बनेको यो विषयमा राज्य ठोस निष्कर्षमा पुग्नै पर्छ ।
यदि गाईलाई नै राष्ट्रिय जनावर मान्ने हो भने नेपालबाट धर्मनिरपेक्ष भन्ने शब्द हटाउँनै पर्छ । यदि धर्म निपेक्ष नै रहने हो भने कानुनी र व्यवहारिक रुपबाट अन्य समुदायको संस्कारमाथि अतिक्रमण हुने वा बाझिने विषयलाई हटाएर व्यवहारिक रुपमा लागु गरेर लान सक्नु पर्दछ– धर्म निरपेक्ष राष्ट्रले । त्यो अवस्थामा नेपालको राष्ट्रिय जनावर अरु नै बन्न सक्दछ ।
अब दिपावलीलाई पूर्ण र सार्थक रुपमा नेपालीको मात्र होइन विश्वकै साझा संस्कृति र संस्कारको रुपमा रुपान्तरण गर्न सकिने सम्भावनालाई जिउँदै जलाउनु हुन्न । त्यसलाई जिवित राखेर विश्वको मनोरञ्जनात्मक संस्कारको रुपमा अगाडि बढाउनु पर्छ ।
प्रवासमा रहेका नेपालीहरु त्यही मार्गतर्फ अवलम्बन भएको देखिन्छ । यहाँ जुनसुकै धर्म वा समुदायको संस्कृति र संस्कारलाई आत्मासाथ गर्दै महत्वका साथ उठान गर्ने, त्यो खालका कार्यक्रमहरु प्रस्तुत गर्ने, सहभागी हुने, शुभकामना आदानप्रदान गर्दै रमाइलो गर्ने प्रचलन प्रवास (कतार) मा बढ्दै गएको छ ।
दिपावली २०१४ भव्य र सभ्य रुपमा मनाउन कतारमा छाता संगठनको रुपमा स्थापित गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदले सामूहिक समन्वयको आधारमा विभिन्न संघसंस्थासँगको हातेमालोमा कतारस्थित नेपाली नियोगको दैलो र आँगनमा ७ गते शुक्रबार दिन आयोजना गरिने सूचना प्रकाशित गरेको छ भने त्यसमा मोरङसुनसरी सेवा समाज कतारलगायत अन्य दर्जनौं संघसंस्थाहरुको सहभागिता रहनेछ ।
यसैगरी केही संस्थाहरुले एकल रुपमा दिपावली मनाउने गरी सूचना प्रकाशित र प्रचारित गर्दै आइरहेका छन् । नेपाली महिला समाज कतार, गुल्मी सेवा समाज कतार, प्रवासी नेपाली मञ्च कतारलगायत अन्य केही संस्थाहरुले समेत दिपावली मनाउने गरेका छन् ।
अझ नेपालीहरुको चाडपर्वहरु अत्यन्तै धेरै भएका कारणले पनि यहाँ सामूहिक रुपमा धेरै पर्वहरुलाई एकै थलोमा मनाउने प्रचलन पनि बसिसकेको छ । दशैं, तिहार, छठ, नेवारी समुदायले मनाउँदै आएको नयाँ वर्ष, अन्य जातजातिहरुले मनाउँदै आएका पर्वहरुलाई एकै थलोमा एउटै ब्यानरमा मनाउने प्रचलन समेत बढेको छ ।
यसरी एकै थलोमा, एउटै ब्यानरमा बसेर कुनै पनि पर्व मनाइरहँदा समयको बचत, खर्चमा पारदर्शिता र फजुल खर्चको बचावटका हिसाबले समेत सामूहिक कार्यक्रमलाई सकारात्मक रुपमा हेरिँदै आएको छ र प्रवासको अवस्थामा त्यो नै उत्तम बाटो पनि हो ।
यसैगरी, लक्ष्मी पुजाकै दिन साहित्यिक धरोहर लक्ष्मीप्रसाद देवकोटाको जन्म दिन परेकोले दिपावलीसँगै साहित्यिक क्षेत्र र त्यस क्षेत्रलाई विजारोपण गर्न सफल महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीसमेत धुमधामले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गरिन्छ जहाँ दिपावली पनि जोडिने गरेको छ ।
कतारमा रहेका साहित्यिक श्रष्टाहरु एक थालोमा भेला भएर महाकविलाई सम्झना गर्न सूचना प्रकाशित गरिसकेका छन् । सबै कार्यक्रमहरु प्रायः कतारमा बिदाको दिन अर्थात २४ अक्टोबर २०१४ शुक्रबार दिन हुनेछन् ।
दिपावली झिलिमिलीका रमझम् । पाँच लाख नेपालीको कर्म थलो बनेको कतारमा अधिकांश कम्पनीहरुमा नेपाली कामदारको संख्या अत्याधिक रहेको छ । त्यसैले धेरै कम्पनीहरुमा दिपावलीमा बत्तिको झिलिमिली गर्न दिने र आवश्यकता परे उनीहरुलाई एक दिन कम्पनीले बिदा दिने गरेका छन् । त्यो बिदालाई प्रवासमा रहेका नेपालीहरुका माझमा मनोरञ्जनात्मक बनाउने प्रयास गर्दछन् ।
कार्यक्रम हलमार्फत, घरमै बसेर खानपिन गरेर, घरभित्र पुजाआज गरेर, बाहिर घुमेर, सामुन्द्रिक यात्रा गरेर दिपावलीलाई अझ रोचक र रोमाञ्चक बनाउँदै अन्य देशका समुदायलाई देखाउन नेपाली संस्कृति देखाउन सफल भएका छन् ।
नेपालीको संस्कार र संस्कृतिको विषयमा विदेशीले थाहा पाउने सुनौलो माध्यम पनि दिपावली, लक्ष्मी पुजा, छट पर्वलगायत विभिन्न जातजातिको संस्कार र संस्कृति बन्ने गरेको छ । अन्य देशमा रहेका नेपाली प्रवासीका क्रियाकलापभन्दा अत्याधिक कतारमा हुने गर्दछन् । यहाँ विविध खालका क्रियाकलाप हुन्छन् त्यसको प्रतिफल समाज र व्यक्तिहरुले प्रत्यक्ष रुपमा पाइरहेको छ ।
खेलमा रुचि भएकाहरु खेलाडी भएका छन्, कलाकारितामा रुचि भएकाहरु गायक, नृत्याङ्गना, हिरोहिरोनी, मोडल, नेता, बुद्धिजीवि, समाजसेवी बनेर छुट्टै पहिचान स्थापित गर्न सफल भएका छन् जुन नेपालीको लागि गर्व गर्न लायक छ ।