डिल्ली हुमागाई, युएई-
एक लाख दिराम ब्लडमनी तिर्न नसकेर चितवनका टोपबहादुर बिक युएईमा सहयोगको लागि हारगुहार गरिरहेका छन । ७० वटा भन्दा बढी संस्था रहेको नेपाली समुदायलाई अहिले १ लाख सहयोग गर्न भालुको कन्पट जस्तै भएको छ । हुन त कम्तीमा १५ जना कार्यसमिति सदस्य र सयौं सदस्य हुने संस्थाहरु मिल्दा १ लाख दिराम उठाउन उति गाह्रो नपर्नु पर्ने हो तर पनि आफूले गर्न सक्नेजति त उउनीहरुले गर्दैछन् । टोपबहादुर बिकको उद्दारमा जुटिरहेकाहरु स्तुत्य छन् ।
एनआरएनए, युएईको अगुवाइमा उद्धारका लागि संकलन समिति बनाएर नै रकम संकलन गरिंदैन छ । निकै जोड गर्दा पनि आजको मितिसम्म झण्डै ४ हजार दिरामले अपुग देखिएको छ । १० हजार भन्दा बढी प्रतिवद्दता गरिएको रकम जम्मा हुन बाँकी नै छ ।
युएईमा रहेको पुरानो समाज नेपाली समाज अहिले शंकाको घेरामा पर्न थालेको छ । अरु जिल्ला समाजहरुको अभिभावक भन्ने संस्थाको कोषमा २५ हजार दिराम भन्दा बढी रकम रहेको बताईन्छ । तर उक्त संस्थाले टोप बहादुरको उद्दारको लागि १ हजार दिराम पनि सहयोग गरेको छ । त्यही भएर एक नेपालीको उद्दारमा खर्च गर्न नसकिने कोषको रकम के कार्यको लागि खर्च गर्ने हो भनेर प्रश्न उठ्न थालेको छ ।
ब्लडमनी तिर्न रकम अभाव भएको समाचार आइरहेको अवस्थामा नेपाली समाज मात्र नभई अन्य केही सामाजिक संस्थाको कोषमा रकम अलपत्र अवस्थामा रहेको सार्वजनिक भएको छ ।
आपतबिपतमा काम लाग्ने भन्दै युएईमा ठुला, दरिला र पुरानो सामाजिक संस्थाहरुले कल्याणकारी कोषमा रकम लुकाएर राखेको रहस्य बाहिर आएको छ । एनआरएन युएईले चितवनका टोपबहादुर बिकको उद्दारका लागि यहाँका सबै सामाजिक संस्थाहरुलाई अपिल गरेको महिना दिनभन्दा धेरै भए पनि लक्षित रकम अझै पुगेको छैन । र, दुःखको कुरा त्यो बाँकी रकम अव ४ हजार दिराम हो जसका लागि यति धेरै शव्द खर्च गरिरहन नपर्ने हो ।
नेपाली समाज युएईकै पहलमा गत वर्ष बढीपीडितलाई सहयोग गर्ने भनी संकलन भएको करिब ५२ हजार दिराम मध्येको केही रकम सामाजिक सञ्जालमा खुल्ला रूपमा प्रश्न उठेपछी ताप्लेजुङ समाज सेवा युएईलाई संयुक्त बढीपीडित वितरण समितिका संयोजक तथा नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष पासाङ शेर्पाले यसै साता बुझाइएको बताएका छन् । एकातिर रकम अभाव हुनु अर्कोतिर रकम फ्रिज भएर बस्नुलाई अर्थपूर्ण रुपमा हेर्न थालिएको छ ।
यसैबीच गत वर्ष संयुक्त रूपमा मनाइएको बुद्ध जयन्ती समारोहको कोषमा पनि हजारौं रकम जम्मा भएको हो । संयुक्त बुद्ध जयन्ती समारोहको आयव्ययको विवरण एक वर्ष बित्दा पनि सार्वजनिक गरिएको छैन । संयुक्त रुपमा चलाइएका दुबै अभियानको पारदर्शि हिसाव सार्वजनिक नहुनुले नेपाली समुदाय भित्र गम्भीर प्रश्न उठ्न थालेको छ ।
नेपाली समाज युएईले युएईमा समस्यामा परेका नेपालीहरुको उद्दार गर्न भनेर गतबर्ष अलकुजको डलस्को हलमा एक कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा नेपाली एसोसिएनका अध्यक्ष दिनेश आचार्यले १० हजार दिराम दिने प्रतिबद्धता गरेका थिए भने युएईमा सबै भन्दा पुरानो सामाजिक सस्थाको नामले परिचित नेपाली समाजको आपत्तकालिन कोषमा २२ हजार दिराम रहेको जनाएको थियो । त्यो पैसा कता छ ? कि बिकको अहिलेको अवस्था आपतकालिन होइन र ?
युएईमा कार्यरत पत्रकारहरुले समेत सहयोग संकलन गरेर समितीलाई १ हजार दिराम बुझाईसकेका छन । अन्य संस्थाले पनि १, २ हजार जम्मा गरेका छन । टोप बहादुर बिकलाई ४ हजार दिराम अपुग भएको यो समयमा नेपाली समाज वा संयुक्त बुद्ध जयन्ती कोषमा रहेको रकम किन प्रयोग गर्न सकिन्न ? एक नेपालीको उद्दारमा खर्च गर्न नसकिने कोषको रकम के कार्यको लागि खर्च गर्ने हो ?
युएईमा धेरै सामाजिक संघसंस्थाले विभिन्न बहानामा विभिन्न कोषको स्थापना तथा कार्यक्रमको आयोजना गर्ने गरेका छन् तर त्यसको आर्थिक लेखाजोखा भने कुनै होटलको बन्द कोठामा मात्र हुने र सार्वजानिकिकरण नहुनाले संघसंस्थाको कार्यशैली प्रति नेपाली पनि सशंकित हुन थालेका छन् ।
मह काढनेले हात चाट्छ भने झै समाजसेवीहरुको यस्तै हालिमुहाली हुने हो भने यस्ता कोष र कार्यक्रमको कुनै अर्थ हुन्न । विभिन्न शिर्षकमा संकलन भएका रकमहरुको लेखा परिक्षण त परै जाओस्, चन्दादाता व्यक्ती वा समुहलाई समेत जानकारी नदिएर मनोमानी ढंगले अभियन्ताहरुले आफ्नै पकेटमा राखिदिनाले मन फुकाएर सहयोग गर्ने वातावरण विग्रदै गएको छ । चन्दादाताहरूले पनि आफुले दिएको रकम सहि ठाउँमा पुग्ला र भनी आशंका गर्ने क्रम बढ्दै गएको छ । त्यसैले समय हुँदै सच्चिनु राम्रो ।
यो पनि पढ्नुहोस् ‘विदेशबाट स्वदेश फर्केर काम गर्ने हो भनें’
